मकवानपुर । मकवानपुरको मनहरीमा भएकाे सवारी दुर्घटनामा घाइते भएका मध्ये १ जनाको मुत्यु भएको छ । शनिबार दिउँसो भएकाे उक्त दुर्घटनामा १४ जना घाइते भएका थिए ।
दुर्घटनामा घाइते मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० को सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायप उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जनाकारी दिए ।
मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किएर भएकाे दुर्घटना १४ जना घाइते भएका थिए ।
घाइते मध्ये कार चालक श्रेष्ठकाे चितवन स्थित एलाईभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए । श्रेष्ठकाे शव भरतपुर अस्पतालमा पठाइएकाे छ । उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५५ वर्षीय ओम कुमार श्रेष्ठ, सोही स्थान बस्ने ५० वर्षीय सुनिता श्रेष्ठ, २१ वर्षीय सुमिना श्रेष्ठ घाइते भएका छन् ।
यसैगरी स्कार्पियोमा सवार पर्सा वीरगंज महानगरपालिका–२ छपकैया २६ वर्षीया पुजा देवी साह, निजको छोरी ८ वर्षीय प्रियान्सी साह, सोही स्थान बस्ने २३ वर्षीय सुरदी देवी, २१ वर्षीय निशा कुमारी साह, १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजिव कुमार साह, १९ वर्षीय आरती कुमारी साह, ४ वर्षीय दिव्या कुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीय रोशनी शर्मा घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार घाइते सवै जनाकाे स्थिति मध्यम रहेकाे तथा चितवन स्थित एलाईभ अस्पताल भरतपुर उपचार भइरहेको छ । स्कारपियाे चालक काे हाे भन्ने नखुलेकाे तथा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिकाको १७औं नगरसभाले संशोधित बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव पारित गरेकाे छ । शुक्रबारकाे नगरसभाले विभिन्न शीर्षकको बजेट संशोधनसहित विभिन्न प्रस्तावहरु पारित गरेको हाे ।
नगरस्तरीय, वडास्तरीय तथा विषयगत समितिका योजनाहरुकाे संशाेधनसहित नगर उपप्रमुख भरत गोपालीले १७ औं सभामा पेश गरेको प्रस्ताव छलफलसहित सर्वसम्मत पारित भएको हो । यसैगरी सभाले नगर प्रमुख विष्णु बहादुर विष्टले प्रस्तुत गरेको चालु आर्थिक वर्षको २३ पुससम्मको प्रगति सर्वसम्मत पारित गरेको छ ।
सभाले ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतिको पुर्ननिर्माणमा संशोधित बजेट केन्द्रित रहेको बताइएकाे छ । विपदबाट क्षति भएका सडक खुलाउन तथा मर्मतका लागि १ करोड ३६ लाख रुपैयाँ बजेट संशाेधन सहित विनियाेजन गरिएकाे छ । हालसम्म नगरले कुल २३.७२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको सभामा प्रगति प्रतिवेदन पेश गरिएकाे थियाे । थाहा नगरपालिकाको चालुतर्फ ३३.४६ र पुँजीगततर्फ ११.२४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको सभामा पेश गरिएकाे प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाको आर्थिक विकासतर्फ १९.६९ प्रतिशत, सामाजिक विकासतर्फ ३३.०६, पूर्वाधार विकासतर्फ १०.५८, सुशासन तथा अन्तरसम्बन्धीततर्फ ८.०७ र कार्यालय सञ्चालन तथा प्रशासनिक विषय क्षेत्रर्फ २९ प्रतिशत वित्तीय प्रगती भएको नगर प्रमुख विष्टको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले चालु आर्थिक वर्षको हालसम्ममा १४.७२ प्रतिशत आन्तरिक राजश्व संकलन गर्न सफल भएको नगरपालिकाले जनाएको छ ।
सभामा छलफलका क्रममा नगरसभा सदस्य युवराज विष्ट, कृष्ण कुमार कार्की, सुन्दरराज केसीलगायतले मन्तव्य राखेका थिए । सभा सदस्यहरुले राखेको जिज्ञासा तथा छलफलमा उठेका सवालहरुकाे नगर प्रमुख विष्णु बहादुर विष्ट, थाहानगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तान, आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझीले जवाफ दिएका थिए ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकाकाे १७ औं गाउँसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बिहीबार गाउँपालिकाकाे १७ औं गाउँसभाले आव २०८१/०८२ काे संशोधित बजेट तथा कार्यक्रम स्वीकृत गरेकाे हाे ।
यसैगरी सभामा विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पेश हुँदा उक्त विधेयक समेत पारित भएकाे छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ । यस्तै न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा,खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ ।
७ नम्बर वडा चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिकाको १७ औँ गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
नेपालको संविधान (२०७२) को धारा ४२ ले अल्पसंख्यक सीमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तीकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको पालिकाकाे गाउँसभामा जानकारी गराइएकाे थियाे । सामाजिक सांस्कृतिक संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकीय क्षेत्र घोषण गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक मार्फत पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामकरण गर्ने निर्णय गरेको हाे । उक्त निर्णय कार्यान्वयनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै बजेट व्यवस्था गर्ने तयारी गरेको छ । गाउँसभाकाे बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकाेमा सर्वसम्मतले पारित भएकाे हाे ।
विपन्न चेपाङ समुदायकाे जिविकाेपार्जन कार्यक्रमअन्तर्गत संरक्षित क्षेत्रमा एक टाेल एक उत्पादन कार्यक्रम ल्याइने अध्यक्ष मल्लले बताए । साथै संरक्षित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले छुट्टै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने पनि उनले बताए । धादिङ र चितवनको सिमानामा रहेको वडा नं ७ मा राक्सिराङ्गको पनि विकट भूभागहरु जिराङ्ग, दाम्राङ्ग, गलिङ्ग, जुरेथुम, चरीमारा, रिङचाराङ्ग लगायतका गाउँ पर्छन् । वडा अध्यक्ष राम बहादुरका अनुसार वडा -७ मा हालसम्म गाउँपालिकाको सडक सञ्जाल जोडिएको छैन । चितवनको भण्डारा वा लोथरबाट जानुपर्ने बाध्यता छ ।
विपन्न चेपाङ जातिकाे उत्थानका लागि विभिन्न तहका सरकारले कार्यक्रमहरु घाेषणा गरे पनि त्याे प्रभावकारी नभएकाले स्थानीय तह आफैँ जागरुक भएर विशेष क्षेत्र घाेषणा गरिएकाे अध्यक्ष मल्लकाे भनाइ छ ।
संविधानको अनसुची (८) र अनुसुची (९) बमोजिमको सुचीमा भाषा संस्कृति र ललितकलाको संरक्षरण र विकास गर्ने कानुन स्थानीय तहले बनाउन सक्ने अधिकार दिएकाे छ भने स्थानीय सरकार सञ्चालन ऐनमा पनि गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका कुनै स्थानलाई संरक्षित क्षेत्र घोषणा गर्न सक्ने उल्लेख रहेकाे छ ।
यस्तै संविधानकाे मौलिक हक अन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषाको प्रयोग सांस्कृतिक जीवनमा सहभागिता हुने एवम् भाषा लिपी सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र समाधान गर्ने हक हुनेछ भनी उल्लेख गरेकाे छ । राष्ट्रिय जनगणना २०७८ अनुसार राक्सिराङ्ग–७ को जनसंख्या ३ हजार २ सय ८८ छ ।
गाँजा खेती वैध गर्नुपर्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध गर्नुपर्ने बताएका छन् । राक्सिराङ गाउँपालिकाकाे १७ औं गाउँसभालाई सम्बाधोन गर्दै उनले भने ‘संघीय सरकारले कानून निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्छ ।’
‘अभावका कारण मकवानपुरकाे राक्सिराङ, कैलाशका नागरिकले गाँजाकाे विकल्प पाउन नसक्दा अनाहकमा जेल जान बाध्य हुनु परेको छ’ मुख्यमन्त्री लामाले भने ‘नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहज रुपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व हाे ।’
आन्तरिक समस्या र कानुनी अड्चन सुल्झ्याएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उनले बताए । ‘विकट क्षेत्रका नगरिकलाई विकासमा जोड्ने गरी र सिमान्तकृत वर्गको नागरिकको जिवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेछ’ उनले भने । ‘चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको उनले बताए । ‘आर्थिक उपार्जनमा नागरिकलाई जोड्न विशेष पकेट क्षेत्र मार्फत काम गर्नेपर्छ’ उनले भने ।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचन पछि राजनीतिक विचारभन्दा माथि रहेर काम गर्नुपर्ने बताए । उनले स्थानीय तहले नाकावन्दी लगाउँँदा जनताका विषयमा जनप्रतिनिधिसँग जोडिन सक्ने अवस्था नरहेको आरोप समेत लगाए ।
‘स्थानीय तहका प्रमुख/उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नु पर्छ’ उनले भने । ‘स्थानीय तहका प्रमुख/उपप्रमुखले नै सांसदहरुसँग विकास माग्ने गरेका छन्’ बर्तौलाले भने सांसदहरुसँग नीति, नियम तथा कानून विषयमा प्रश्न गर्नुपर्छ ।’ सांसदहरुसँग विकासका आयोजना आम नागरिकले माग्नुपर्ने उनले बताए । नागरिकहरुमा सहज सेवा प्रदान गर्नेगरी सरकारले काम गरिरहेको उनले बताए । ‘विकट राक्सिराङ, कैलाश गाउँपालिकाको विकासका लागि त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्छ’ उनले भने ।
चितवन । तनहुँ,चितवन र नवलपरासी(नवलपुर) काे संगमस्थल प्रसिद्ध धार्मिकस्थल देवघाटधाम २२औं शृङ्खलामा निरन्तर ‘मकर-काव्य-यामिनी’ हुनेछ ।
देवघाट क्षेत्रकाे तनहुँ जिल्लामा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा २९ पुस २०८१ काे साँझ ‘मकर-काव्य-यामिनी’को २२औँ शृङ्खला आयोजना हुने भएको हाे । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ ।
राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गर्दछ । महेश संन्यास आश्रमका संस्थापक ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजको सत्प्रेरणामा कविवर गोविन्दराज विनोदी, महेश गुरुकुलका आचार्य डा.गुरुप्रसाद सुवेदी, बुद्धिनाथ अधिकारी र छात्रहरुको सक्रियतामा २०६० सालबाट प्रारम्भ भएर निरन्तर सञ्चालन हुँदै आएको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो ।
दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको मकर काव्य यामिनीको २२औँ श्रृङ्खला लेखनाथ साहित्य प्रतिष्ठानको विशेष उपस्थिति र आतिथ्यमा सञ्चालन हुनेछ । तनहुँ, चितवन, मकवानपुर, कास्की, नवलपरासी र उपत्यकाका काव्यसाधकको उल्लेख्य उपस्थिति रहने बताइएकाे छ । यामिनीकाे आकर्षणका रुपमा गुरुकुलका नव प्रतिभाहरु रहनेछन् ।
यामिनीले मध्य नेपालको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । यामिनीले जन्माएका कुशल स्रस्टा र साहित्यिक कार्यक्रमहरुले राष्ट्रियस्तरमा समेत महत्त्व राख्ने गर्दछन् । माघ १ गते देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्य रसपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ ।
विगतका वर्षहरुमा जस्तै सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई यामिनीमा सादर निमन्त्रणा गरिएको छ । सबै अतिथिहरूलाई खाने र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।
भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् ।
कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।।
शब्दउद्यानका माली! अलङ्कारसुवासिनी ।
काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।।
कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी स्रोताहरूलाई कविता मार्फत यामिनीमा यसरी सादर निमन्त्रणा गरिएको छ ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा |
हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥“
मकवानपुर । मकवानपुरको हेटौंडा स्थित हाेटलमा १ जना मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको चण्डिका होटल १ जना पुरुष मृत फेला परेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाकाे राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह बिहीबार उक्त हाेटलमा मृत भेटिएका हुन् । शाह बिहान अबेरसम्म ढोका खोलेर बाहिर नआएपछि होटल संचालकले प्रहरीमा खबर गरेका थिए ।
शाह १५ पुसबाट हाेटलमा बस्दै आएकाे बताइएकाे छ । घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।