मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिकाको १७औं नगरसभाले संशोधित बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव पारित गरेकाे छ । शुक्रबारकाे नगरसभाले विभिन्न शीर्षकको बजेट संशोधनसहित विभिन्न प्रस्तावहरु पारित गरेको हाे ।
नगरस्तरीय, वडास्तरीय तथा विषयगत समितिका योजनाहरुकाे संशाेधनसहित नगर उपप्रमुख भरत गोपालीले १७ औं सभामा पेश गरेको प्रस्ताव छलफलसहित सर्वसम्मत पारित भएको हो । यसैगरी सभाले नगर प्रमुख विष्णु बहादुर विष्टले प्रस्तुत गरेको चालु आर्थिक वर्षको २३ पुससम्मको प्रगति सर्वसम्मत पारित गरेको छ ।
सभाले ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतिको पुर्ननिर्माणमा संशोधित बजेट केन्द्रित रहेको बताइएकाे छ । विपदबाट क्षति भएका सडक खुलाउन तथा मर्मतका लागि १ करोड ३६ लाख रुपैयाँ बजेट संशाेधन सहित विनियाेजन गरिएकाे छ । हालसम्म नगरले कुल २३.७२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको सभामा प्रगति प्रतिवेदन पेश गरिएकाे थियाे । थाहा नगरपालिकाको चालुतर्फ ३३.४६ र पुँजीगततर्फ ११.२४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको सभामा पेश गरिएकाे प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाको आर्थिक विकासतर्फ १९.६९ प्रतिशत, सामाजिक विकासतर्फ ३३.०६, पूर्वाधार विकासतर्फ १०.५८, सुशासन तथा अन्तरसम्बन्धीततर्फ ८.०७ र कार्यालय सञ्चालन तथा प्रशासनिक विषय क्षेत्रर्फ २९ प्रतिशत वित्तीय प्रगती भएको नगर प्रमुख विष्टको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले चालु आर्थिक वर्षको हालसम्ममा १४.७२ प्रतिशत आन्तरिक राजश्व संकलन गर्न सफल भएको नगरपालिकाले जनाएको छ ।
सभामा छलफलका क्रममा नगरसभा सदस्य युवराज विष्ट, कृष्ण कुमार कार्की, सुन्दरराज केसीलगायतले मन्तव्य राखेका थिए । सभा सदस्यहरुले राखेको जिज्ञासा तथा छलफलमा उठेका सवालहरुकाे नगर प्रमुख विष्णु बहादुर विष्ट, थाहानगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तान, आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझीले जवाफ दिएका थिए ।

