मकवानपुर । मकवानपुरको मनहरीमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आईतबार अपरान्ह मनहरी गाँउपालिका वडा नम्बर-६ नँयाबस्ती स्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्ती तर्फ जादै गरेको ना १ क ९२५० नम्बरको बसले स्थानीय २ वर्षीय पुजा थिङलाई ठक्कर दिएकाे थियाे ।
बसकाे ठक्करबाट घाइते थिङलाई उपचारकाे लागि हेटौडा अस्पताल ल्याइएकाेमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीका अनुसार मृतक बालिका मनहरी गाउँपालिका ६ नँयाबस्ती बस्ने खडक बहादुर थिङको छोरी हुन् । उक्त बस मनहरीस्थित बिलिभर्स इङलिस बोर्डिङ स्कुलको रहेकाे बताइएकाे छ ।
बस चालक मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर ७ बिजौना बस्ने चन्द्र बहादुर तामाङ तथा ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर । मकवानपुरे लोक गायक सोमबहादुर घलान हेटौंडामा सम्मानित भएका छन् । शनिबार वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले घलानलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
‘आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतोलाई स्टकोट…’ गितका गायक पछिल्लो समय बिमारी छन् । उनलाई बिमारी अवस्थामै कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा तथा प्रतिष्ठान अध्यक्ष आरसी रिजाल लगायतले सम्मान गरेका थिए । घलान शिक्षण पेशाका साथै संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत भएका थिए । घलानको आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत रेडियो नेपालमा रेकर्ड भएको छ ।
कार्यक्रममा गायक घलानलाई रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले शब्दमा थप चिनाएका थिए । यसैगरी कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाललाई १५ हजार रूपैयाँ राशिको सम्मानबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले हेटौडा उपमहानगरपालिकाकाे सहयाेगमा हेटौंडका प्रथम प्रधान पञ्च वासुदेव रिजालकाे स्मृतिमा ग्रन्थ प्रकाशन गरेकाे छ । भैरवीदेवी रिजाल संरक्षक रहनु भएको प्रतिष्ठानद्वारा प्रकाशित गरिएकाे वासुदेव रिजाल स्मृति ग्रन्थकाे कार्यक्रममा विमोचन गरिएकाे थियो ।
स्मृति ग्रन्थकाे सम्पादन साहित्यकार निमेष निखिलले गरेका छन् । स्मृति ग्रन्थमा विभिन्न क्षेत्रका ३१ व्यक्तित्वहरूद्वारा वासुदेव रिजालका बारेमा लेखिएका सस्मरण समावेश छन् । कार्यक्रममा वासुदेव रिजालको व्यक्तित्व तथा योगदान बारे इतिहासकार केदार न्यौपानेले जानकारी दिएका थिए । न्यौपानेले रिजाल हेटौंडा नगरका योजनाकार रहेकाे बताए । १९९५ सालमा जन्मिएका हेटौंडा गाउँपञ्चायतको पछिल्लो तथा नगरपञ्चायतका प्रथम प्रधानपञ्च रिजालको निधन २०३७ सालमा भएको थियाे ।
कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले हास्यव्यङ्ग्य रचना वाचन समेत गरेका थिए । प्रतिष्ठानले मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय प्राङ्गणमा भानुभक्त आचार्यको शालिक निर्माण गरेको छ भने वर्षेनी भानु जयन्तिमा साहित्यिक जमघट समेत गर्ने गरेको छ ।
वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन सहयोग गरेको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तथा वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा कार्यक्रममालाई रामचन्द्र आचार्य फुर्सतीले स्वागत गरेका थिए भने प्रतिष्ठानकी सचिव अनिता न्यौपानेले सहजीकरण गरेकी थिइन् ।
मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति मकवानपुर अन्तर्गतका डोजाङ तथा विद्यालयहरूमा प्रशिक्षणरत खेलाडीहरूको बेल्ट टेस्ट भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार शनिबार ७ डोजाङका १०७ जना खेलाडीहरूको बेल्ट टेस्ट भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न ७ वटा डोजाङका ह्वाईट बेल्ट देखी रेड बेल्ट सम्मका खेलाडीहरूको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेश सचिव भोजराज पराजुलीले जानकारी दिए । बेल्ट टेस्टको नतिजा एक साताभित्र आउने पराजुलीले बताएका छन् ।
संघका केन्द्रीय सदस्य नारायण सिंह थिङको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मदन कुमार श्रेष्ठ, उपाध्यक्ष केशव बहादुर कार्की, सचिव रवीन्द्र राई, सहसचिव रावन कीष्म राई र कोषाध्यक्ष दीपेन्द्र नेपालीको सहभागिता रहेको थियो ।
सिनियर खेलाडीहरु सन्तोष बस्नेत, रिमेश अधिकारी, आदित्य पराजुली, श्रीया अधिकारी, सविना मोक्तान र अन्य खेलाडीहरु ले कार्यक्रम मा सहजीकरण गरेका थिए भने विभिन्न डोजाङको अविभावकको पनि सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरीमा भएकाे सवारी दुर्घटनामा मृतक संख्या २ पुगेकाे छ । दुर्घटनामा घाइते भएका मध्ये थप १ जनाको मुत्यु भएसँगै मृतककाे संख्या २ पुगेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शनिबार मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किएर भएकाे दुर्घटना १४ जना घाइते भएका थिए ।
घाइते मध्ये चितवन राप्ती नगरपापालिका वडा नम्बर २ गड्यौली बस्ने ५० वर्षीय सुनिता श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा शनिबार साझँ मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । उनी कारमा सवार रहेका थिए । यस अघी कार चलाक मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० को सुरेन्द्र लाल श्रेष्ठको उपचारकाे क्रममा चितवनमै मृत्यु भएको थियाे ।
उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५५ वर्षीय ओम कुमार श्रेष्ठ, २१ वर्षीय सुमिना श्रेष्ठ घाइते भएका छन् ।यसैगरी स्कारपियोमा सवार पर्सा वीरगंज महानगरपालिका–२ छपकैया २६ वर्षीया पुजा देवी साह, निजको छोरी ८ वर्षीय प्रियान्सी साह, सोही स्थान बस्ने २३ वर्षीय सुरदी देवी, २१ वर्षीय निशा कुमारी साह, १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजिव कुमार साह, १९ वर्षीय आरती कुमारी साह, ४ वर्षीय दिव्या कुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीय रोशनी शर्मा घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
घाइतेहरुकाे चितवन स्थित एलाईभ अस्पताल भरतपुर उपचार भइरहेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार स्कारपियाे चालक रौतहट घर भई पर्सा बीरगज बस्ने अन्दाजी १९/२० वर्षीय किशन जैसवाल फरार रहेकोले खोजी भइरहेको छ ।
भरतपुर,चितवन । चितवनकाे भरतपुरमा एकै मञ्चमा ५ जना गजलकार सम्मानित भएका छन् । शनिबार भरतपुरमा भएकाे कविडाँडा राष्ट्रिय साहित्य सम्मान २०८१ बाट ५ जना गजलकार सम्मानित भएका हुन् ।
कविडाँडा साहित्य समाज चितवनले भरतपुरमा आयोजना गरेको गजल उत्सव कार्यक्रममा गजलकारहरु कृष्णहरि बराल, गोविन्दराज विनोदी, घनश्याम न्यौपाने परिश्रमी, बुँद राना र ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको हो । उनीहरुलाई समाजका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
गजलकार पौडेलले गजलको लागि उर्वर ठाउँ चितवनमा सम्मानित हुन पाउँदा गौरवकाे अनुभूति भएकाे बताए । उनले नेपाली गजलको विकासले फड्को मारेको बताउँदै नेपालमा गजल लेख्नेहरुबिच सैद्धान्तिक मतभेद भएकोले लेखनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने विचार व्यक्त गरे । ‘छन्द वा बहरमा नलेखिएको गजल छाप्न हुँदैन, गाउन हुँदैन भन्नु क्रुर विचार हो’ गजलकार पौडेलले भने,‘जसरी किनारको चट्टानले नदीको प्रवाह रोक्न सक्दैन, त्यसरी नै छन्द वा बहरको अवरोधले गजलको प्रवाहलाई रोक्ने सक्ने छैन ।’
‘नेपाली गजलको सैद्धान्तिकीकरण : आवश्यकता र प्रमुख सवालहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. दीपककुमार खड्काले कस्तो हुनु पर्छ भन्ने उपदेश सिद्धान्त हुन नसक्ने धारणा व्यक्त गरे । ‘नेपाली गजललाई फारसी गजलको विशुद्धताले मापन गर्ने दृष्टिकोणमा उपनिवेशवादी चिन्तन छ’ उनले भने, ‘नेपाली गजललाई नेपाली काव्यशास्त्रबाट अध्ययन गर्नुपर्छ ।’
त्यसैगरी ‘आजको नेपाली गजल : धारैधारको महामेलामा गुणस्तरको सकस’ शीर्षकमा प्यानल बहस गरिएको छ । गजलकार ज्ञानुवाकर पौडेल, भुवन बोहरा निस्तेज र रमेश प्रभातसँग विनोद अनुजले बहस गरेका थिए । कार्यक्रममा प्राध्यापक नारायणप्रसाद शर्मा गैरेले गजलको सैद्धान्तिक स्वरुप र समकालीन नेपाली गजलका प्रवृत्तिबारे धारणा राखेका थिए ।
गजलको बहस, विमर्श र वाचन कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले स्वागत मन्तव्य र गजलकार पुष्प अधिकारी अञ्जलिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदीप रोदन र प्रमिला सानु सगर तिमिल्सिना, निर्दोष जीवन लगायतले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए ।
कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटा तथा कविडाँडाका सहसचिव एवम् गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले कार्यक्रमहरुकाे सहजीकरण गरेका थिए ।