मकवानपुर । मकवानपुरे लोक गायक सोमबहादुर घलान हेटौंडामा सम्मानित भएका छन् । शनिबार वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले घलानलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
‘आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतोलाई स्टकोट…’ गितका गायक पछिल्लो समय बिमारी छन् । उनलाई बिमारी अवस्थामै कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा तथा प्रतिष्ठान अध्यक्ष आरसी रिजाल लगायतले सम्मान गरेका थिए । घलान शिक्षण पेशाका साथै संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत भएका थिए । घलानको आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत रेडियो नेपालमा रेकर्ड भएको छ ।
कार्यक्रममा गायक घलानलाई रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले शब्दमा थप चिनाएका थिए । यसैगरी कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाललाई १५ हजार रूपैयाँ राशिको सम्मानबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले हेटौडा उपमहानगरपालिकाकाे सहयाेगमा हेटौंडका प्रथम प्रधान पञ्च वासुदेव रिजालकाे स्मृतिमा ग्रन्थ प्रकाशन गरेकाे छ । भैरवीदेवी रिजाल संरक्षक रहनु भएको प्रतिष्ठानद्वारा प्रकाशित गरिएकाे वासुदेव रिजाल स्मृति ग्रन्थकाे कार्यक्रममा विमोचन गरिएकाे थियो ।
स्मृति ग्रन्थकाे सम्पादन साहित्यकार निमेष निखिलले गरेका छन् । स्मृति ग्रन्थमा विभिन्न क्षेत्रका ३१ व्यक्तित्वहरूद्वारा वासुदेव रिजालका बारेमा लेखिएका सस्मरण समावेश छन् । कार्यक्रममा वासुदेव रिजालको व्यक्तित्व तथा योगदान बारे इतिहासकार केदार न्यौपानेले जानकारी दिएका थिए । न्यौपानेले रिजाल हेटौंडा नगरका योजनाकार रहेकाे बताए । १९९५ सालमा जन्मिएका हेटौंडा गाउँपञ्चायतको पछिल्लो तथा नगरपञ्चायतका प्रथम प्रधानपञ्च रिजालको निधन २०३७ सालमा भएको थियाे ।
कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले हास्यव्यङ्ग्य रचना वाचन समेत गरेका थिए । प्रतिष्ठानले मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय प्राङ्गणमा भानुभक्त आचार्यको शालिक निर्माण गरेको छ भने वर्षेनी भानु जयन्तिमा साहित्यिक जमघट समेत गर्ने गरेको छ ।
वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन सहयोग गरेको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तथा वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा कार्यक्रममालाई रामचन्द्र आचार्य फुर्सतीले स्वागत गरेका थिए भने प्रतिष्ठानकी सचिव अनिता न्यौपानेले सहजीकरण गरेकी थिइन् ।

