भरतपुर,चितवन । चितवनकाे भरतपुरमा एकै मञ्चमा ५ जना गजलकार सम्मानित भएका छन् । शनिबार भरतपुरमा भएकाे कविडाँडा राष्ट्रिय साहित्य सम्मान २०८१ बाट ५ जना गजलकार सम्मानित भएका हुन् ।
कविडाँडा साहित्य समाज चितवनले भरतपुरमा आयोजना गरेको गजल उत्सव कार्यक्रममा गजलकारहरु कृष्णहरि बराल, गोविन्दराज विनोदी, घनश्याम न्यौपाने परिश्रमी, बुँद राना र ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको हो । उनीहरुलाई समाजका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
गजलकार पौडेलले गजलको लागि उर्वर ठाउँ चितवनमा सम्मानित हुन पाउँदा गौरवकाे अनुभूति भएकाे बताए । उनले नेपाली गजलको विकासले फड्को मारेको बताउँदै नेपालमा गजल लेख्नेहरुबिच सैद्धान्तिक मतभेद भएकोले लेखनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने विचार व्यक्त गरे । ‘छन्द वा बहरमा नलेखिएको गजल छाप्न हुँदैन, गाउन हुँदैन भन्नु क्रुर विचार हो’ गजलकार पौडेलले भने,‘जसरी किनारको चट्टानले नदीको प्रवाह रोक्न सक्दैन, त्यसरी नै छन्द वा बहरको अवरोधले गजलको प्रवाहलाई रोक्ने सक्ने छैन ।’
‘नेपाली गजलको सैद्धान्तिकीकरण : आवश्यकता र प्रमुख सवालहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. दीपककुमार खड्काले कस्तो हुनु पर्छ भन्ने उपदेश सिद्धान्त हुन नसक्ने धारणा व्यक्त गरे । ‘नेपाली गजललाई फारसी गजलको विशुद्धताले मापन गर्ने दृष्टिकोणमा उपनिवेशवादी चिन्तन छ’ उनले भने, ‘नेपाली गजललाई नेपाली काव्यशास्त्रबाट अध्ययन गर्नुपर्छ ।’
त्यसैगरी ‘आजको नेपाली गजल : धारैधारको महामेलामा गुणस्तरको सकस’ शीर्षकमा प्यानल बहस गरिएको छ । गजलकार ज्ञानुवाकर पौडेल, भुवन बोहरा निस्तेज र रमेश प्रभातसँग विनोद अनुजले बहस गरेका थिए । कार्यक्रममा प्राध्यापक नारायणप्रसाद शर्मा गैरेले गजलको सैद्धान्तिक स्वरुप र समकालीन नेपाली गजलका प्रवृत्तिबारे धारणा राखेका थिए ।
गजलको बहस, विमर्श र वाचन कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले स्वागत मन्तव्य र गजलकार पुष्प अधिकारी अञ्जलिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदीप रोदन र प्रमिला सानु सगर तिमिल्सिना, निर्दोष जीवन लगायतले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए ।
कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटा तथा कविडाँडाका सहसचिव एवम् गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले कार्यक्रमहरुकाे सहजीकरण गरेका थिए ।

