मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले हेटौंडा ५ मा रहेको बालगृहलाई स्टेशनरी सामग्री सहयोग गरेको हो ।
बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडाध्यक्ष विष्णु गोपाल महर्जनले बताए । ‘जेष्ठ नागरिक आश्रमलाई कार्यक्रममै राखेर सहयोग गर्दै आएका छौ’ वडाध्यक्ष महर्जनले भने ‘ सियान, रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्ने छौं ।’
बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई खाद्यान्न तथा मकवानपुर रिकभरिङ समुहलाई कुर्सी सहयोग गरिएको छ ।
उक्त बालगृहका उपाध्यक्ष देव कुमारी चापागाईंलाई वडा कार्यालयमा वडाध्यक्ष महर्जन, वडा सदस्य सुरज बर्तौलाले स्टेशनरी हस्तान्तरण गरेका थिए ।
हाम्रो घर बालगृहमा २७ जना बालबालिका आश्रीत रहेका छन् । सन्चालनमा समस्या आएको भन्दै केही समय अघि बालगृहको अक्षयकोष स्थापनाको लागि भागवत पुराण सप्ताह लगाइएको थियो ।
मकवानपुर । पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरले ध्यानाकर्षण गराएकाे छ ।
पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालय हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको हाे । आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई बुझाइएकाे ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकको हत्या भएकाेले निष्पक्ष छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ ।
गत १५ चैतमा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा महासंघ मानव अधिकार आयोग पुगेकाे हाे ।
पत्रकार महासंघ मकवानपुर शाखाले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको अध्यक्ष अधिकारीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भए देखिनै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले १५ चैतको घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनले बताए ।
महासंघले यस अघि गृहमन्त्री रमेश लेखक समक्ष १८ चैतमा साेही विषयमा ध्यानाकर्षणपत्र पेस गरेकाे छ । सरकारले पत्रकार महासंघको माग पूरा गर्नेतर्फ पहल नगरेको अध्यक्ष अधिकारीले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा १६ मा स्कुटरले ठक्कर दिंदा घाइते भएका १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बेलुका हेटौडा उपमहानगरपालिका-१६ गुरुधामचोक स्थित हेटौंडा-चतरा-धरान सडकखण्डमा बा.प्र.०३-०४ प ९५२६ नम्बरको स्कुटरले पैदल यात्री स्थानीय अनिरुद्र बस्ताकाेटीलाई ठक्कर दिएकाे थियाे ।
हेटौंडा १८ बाट हटिया तर्फ आउँदै गरेकाे उक्त स्कुटरले ७६ वर्षीय बस्ताकोटी ठक्कर दिंदा घाइते भएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । स्कुटरकाे ठक्करबाट घाइते बस्ताकाेटीलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाे थियाे । उनलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएकाेमा त्यहाँबाट पुरानाे मेडिकल कलेज भरतपुर लगिएकाे प्रहरीले जनाएकाे छ । त्यहाँ उपचारकाे क्रममा बस्ताकाेटीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
स्कुटर चालक हेटौडा – १७ ठुलोगँगटे वस्ने २७ वर्षीय सन्दिप थापा समेत घाइते भएकाेमा सीमसी चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ । स्कुटर अस्थायी प्रहरी पोष्ट हटियाकाे नियन्त्रणमा रहेको बताइएकाे छ ।
मकवानपुर । बिहीबार बिहानैबाट देशका विभिन्नस्थानमा वर्षा भइरहेको छ । देशमा पश्चिमी र स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशैभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको समेत महाशाखाले जनाएको छ । वर्षासँगै हाल देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने मौसमविद् बताउाछन् ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम बिहीबार राति पनि जारी रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।