मकवानपुर । चितवन जिल्लाकाे भतरपुर महानगरकाे विभिन्न स्थानमा भएकाे घटनामा ५ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर – १, ३, ४, ७ र २९ मा भएकाे छुट्टाछ्ट्टै घटनामा ५ जनाकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका–१ मा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ । शुक्रबार मनास्लु होटल अगाडी पिपलको रुख मुनी नामथर नखुलेको अन्दाजी ५० वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हाे ।
यसैगरी भरतपुर महानगरपालिका–३, पुलचोकमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रेपलाञ्चोक जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–३, बस्ने ६० वर्षीय ताईसन तामाङ गम्भिर घाइते भएका थिए । घाइते ताईसनलाई उपचारका लागि चितवनस्थित भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा शुक्रबार राती नै डाक्टरले मुत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिका–४, गैंडाचोकमा एक जना पुरुषको शव फेला परेको छ । शुक्रबार नारायणी नदीको तिरमा हाल नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–७, प्रेमबस्तीचोकमा बलेरोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो गितानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको अण्डा लोड गरेको बलेरोले सोही दिसातर्फ जाँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा भरतपुर महानगरपालिका–६, ईन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्ले घाईते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बलेरो चालक मकवानपुरको मनहरी गाउँपालिका–६, बस्ने २५ वर्षीया पेमा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९, सिमतालमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला ठोरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय माधव प्रसाद बाँस्कोटा रहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । शुक्रबार बाँस्कोटा स्थानीय श्याम थकालीको घर अगाडि बरण्डामा अचेत अवस्थामा फेला परेका थिए । बास्कोटालाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे सवारी दुर्घटनामा नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् । आफैँले चलाएको स्कुटर दुर्घटना हुँदा अध्यक्ष पोखरेल घाइते भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–५, पुष्पलालपार्क अगाडि उनले चलाएकाे स्कुटर अनियन्त्रित भई दुर्घटना हुँला घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान पाेखरेलले चलाएकाे बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा उपचार भइरहेको छ । उनकाे स्वास्थ्यमा सुधार भएकाे तथा अवस्था खतरामुक्त रहेको बताइएको छ।
मकवानपुर । मकवानपुरकाे हेंटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यालयबाटै व्यवसायिक शिक्षालाई प्राथमिकता दिनु पर्ने बताएका छन् । हेटौंडा – ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयद्वारा विद्यार्थीहरूलाई व्यवसायिक सीप प्रदान गर्न आयाेजना गरिएकाे तालिमकाे उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेकाे सिग्देलले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुकाे चाैतर्फी विकासकाे व्यसायिक सीप सम्बन्धि तालिम विद्यालयकाे आन्तरिक श्राेतबाट खर्च हुने गरिएकाे बताए । ‘विद्यालयले सैद्वान्तिक पढाईकाे अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयाेजना गर्दै आईरहेकाे छ’ उनले भने ‘फरक पहिचानसहित शिक्षाकाे गुणस्तर सुधार गर्दै माथि उठाउन हामी लागि परेका छौं ।’
कार्यक्रम हेयर कटिङ्ग तालिममा २०जना, बेसिक व्युटीपार्लरमा २० जना र बेसिक ईलेक्ट्रिसियनमा २० जना विद्यार्थी सहभागी रहेकाे प्रअ माधव दाहालले जानकारी दिए । विद्यालयले सैद्वान्तिक शिक्षासंगै, अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने बार्षिक याेजना रहेकाे उनले बताए ।
कार्यक्रममा हेयर कटिङ्गका प्रशिक्षक किरण अधिकारी र ईलेक्ट्रिसियन प्रशिक्षक ज्ञानेन्द्र देवकाेटाले तालिमकाे महत्वबारे प्रकाश पारेका थिए । प्रअ दाहालकाे सभाध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकाेटी, सहायक प्रअहरू बेदराज काेईराला, भरत पाेखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरे, मावि तह संयाेजक संगीता उप्रेती, आधारभूत तह संयोजक श्याम बजगाईं, प्रावि संयाेजक मुकुन्द न्याैपाने लगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडालाई काठमाडौं जोड्ने कान्ति लोकपथ सडकमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै उक्त सडक खण्ड १५ दिन बन्द हुने जनाएकाे छ ।
वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडक विस्तार गर्ने कामकाे लागि सवारी आवागमन बन्द हुने भएकाे हाे ।
ठिङ्गन-बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा उल्लेख छ।
सडक बन्द हुने अवधिमा काठमाडौँ-हेटौडा वा हेटौँडा-काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गरेका छन्।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा माेटरसाइकलले ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार राती मनहरी -७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प. १११४ नम्बरकाे माेटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिंदा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
नामथर वतन नखुलेको अन्दाजी ६०/६१ वर्षीय महिलाले बाटो पार गर्ने क्रममा उक्त माेटरसाइकलले ठक्कर दिँदा घाइते भएकाेमा उपचारकाे लागि हेटौंडा अस्पताल ल्याइएकाे थियाे । उक्त महिलाकाे बिहीबार राती नै डाक्टरले मृत घाेषणा गरेका थिए । महिलालाई ठक्कर दिए पछि फरार माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटासहितको टाेलीले खोजतलाश गर्ने क्रममा बिहीबार राती माेटरसाइकल मनहरी – ६ प्रतापपुरबाट नियन्त्रणमा लिएकाे हाे ।
माेटरसाइकल चालक मनहरी-६ प्रतापुर बस्ने ३२ वर्षीय मन्शु गुरुङलाई निजकै घरबाट उक्त माेटरसाइकलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । गुरुङ र माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरी ल्याई थप अनुसन्धान भईरहेको छ । मृतक महिलाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।