मकवानपुर । डिजिटल प्रविधिको प्रयोग बढेसँगै अनलाईन सुरक्षाको चुनौती दिनानुदिन बढीरहेको छ । यसको मुख्य कारण इन्टरनेटमा प्रयोगकर्ता स्वंयमले कमजोर पासवर्ड राख्नु रहेको पाइएको छ ।
नेपालमा इन्टरनेटमा जुन जुन साइडहरु प्रयोग गरेपनि कमजोर पासवर्ड राख्नाले असुरक्षा बढी हुने गरेको छ । इन्टरनेट सेवा प्रयोगकर्तामध्ये ३१ प्रतिशतले कमजोर पासवर्ड राख्ने गरेको पाइएको छ । यसैगरी २१ प्रतिशतले त आफ्नो पासवर्ड नै अरुलाई शेयर समेत गर्ने गरेका छन् । यसको कारण साइबर अपराध, ठगीलगायतको समस्य बढ्ने गरेको ईन्टरनेट सेवा प्रदाएक संस्थाहरूको नेटवर्क कार्यकारी निर्देशक शुभास खड्का बताउँछन् ।
कमजोर पासवर्ड राख्ने, आपसमा शेयर गर्ने जस्ता कारण बालबालिकामाथि समस्या हुने गरेको खड्काले बताए । सिविन बाल हेल्पलाईन मकवानपुरको आयोजनामा बुधबार हेटौडामा बालबालिकाहरु अनलाइनबाटै शोषणमा पर्ने गरेकाले घटना रोकथाम सम्बन्धी इन्टरनेट सेवा प्रदायक र सरोकारवालाहरूलाई तालिम कार्यक्रम प्रदान गरिएको थियो ।
डिजिटल प्लेटफर्महरु मार्फत बालबालिकाको शोषण बाल यौन दुर्व्यवहार कसरी हुन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको सिविन मकवानपुर प्रमुख झविन्द्र ज्ञवलीले बताए । ईन्टरनेट सेवा प्रदायक र सरोकारवालाहरुबीच आपसी समन्वयबाट अनलाइनमा हुने बालयौन शोषणलाई रोकथाम गर्नुको साथै अनलाइनमा बाल संरक्षणलाई प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले बताए ।
कार्यक्रममा बागमती प्रदेश राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल टेलिकम, एनसेल, सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्क, ईन्टरनेट सेवा प्रदायकहरुलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । गत शुक्रबार ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी जमिनमुखी भासिएको थियोे ।
घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान गरी बुधबार काठमाडौ फर्किएको छ । भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो ।
बुधबार बागमती प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री एकालाल श्रेष्ठले घटनास्थलमै पुगेर खानी तथा भूगर्भ विभागको टोलीको प्रारम्भिक अनुसन्धानको बारेमा जानकारी लिएका छन् । प्रारम्भिक अनुसन्धानबारे जानकारी लिदै पुर्वमन्त्री श्रेष्ठले यस क्षेत्रको जोखिमको अवस्था समेतलाई समेटेर विस्तृत भुगर्भीय जानकारी सहितको रिपोर्ट तयार पार्न विभागको टोलिलाई आग्रह गरेका छन् ।
पछिल्लो समय विकसित शहरको रुपमा अघि बढिरहेको यस क्षेत्रमा भुगर्भीय हिसाबले जोखिमको अवस्था कस्तो छ भनी विस्तृत अध्ययनको लागी समेत विभागको ध्यानाकर्षण गराए । प्रारम्भिक अनुसन्धानबारे प्रदेश सभा सदस्य श्रेष्ठलाई जानकारी गराउदै विभागका भुगर्भविद कृष्ण पाण्डेले उक्त क्षेत्र वरपरका जमिन तरलिकृत रहेको बताए ।
जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याईलो रहेको र तल्लो तहको माटोमा बालुवा र पानी मिश्रित रहेको पाईएको टोलीले जनाएकाे छ । टोलिले ६ मिटर गहिराईसम्मको माटोको नमुना संकलन गरेको छ । संकलन गरिएको माटोको विभागको ल्याबमा परीक्षण पश्चात् यस क्षेत्रको भुगर्भीय रिपोर्ट तयार पारिने बताए । ‘हामीले २ वटा विधीबाट यस क्षेत्रको अध्ययन गरेका छौं । एउटा चुम्बकीय विधि र अर्को जमिनमुनि रड हालेर हेरिरहेका छौं । चुम्बकीय विधिबाट हेर्दा जमिनमुनि करिब ३ दशमलव ४ मिटर तल केही फलामजन्य धातु रहेको जानकारी प्राप्त भएको छ । तर उक्त वस्तु हराएको भनिएको गाडी नै हो वा अरु कुनै उपकरण हो भन्ने एकिन हुन सकेको छैन’ उनले भने ।
टोलिले अपनाएको अर्को विधीबाट पनि हराएको गाडी जमिनको कुन भाग र कति तल छ भन्ने यकिन समेत हुन सकेको छैन ।‘उक्त क्षेत्रको जमिनको माटो तरलिकृत छ । सङ्गै ठूलो क्षेत्रमा फैलिएको माछा पोखरीहरु पनि छन् जसले गर्दा यस क्षेत्रमा ‘सिंक होल’ को जोखिम बढी देखिएको छ । हामीले विभिन्न स्थानको माटोको नमुना लिएका छौं’ अधिकारीले भने ।
२ दिन घटनास्थलको अध्ययन र माटोको नमुना संकलन गरि विभागको टोलि आज काठमाडौं फर्केको हाे । टोलीले संकलन गरेका तथ्य र नमुनाको प्रयोशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ ।पाँच दिन बितिसक्दा पनि गाडी फेला नपरेको अवस्थामा अनुसन्धान थप चासोको विषय बनेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी मकवानपुर महिला गोल्डकपको उपाधी रक्षाका लागि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै विभागीय टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन जिल्ला फुटबल टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । यस्तै दिउँसो भएको दोस्राे सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल २५ बैशाख बिहीबार हुनेछ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै पुलिस उपाधी नजिक पुगेको हो । पुलिसको जीतमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
दोस्रो सेमिफाइनल खेलमा संकटालाई २–० गोलले हराउँदै एपीएफले फाइनलमा पुलिससँगकाे भेट पक्का गरेकाे हाे । एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
रौतहटलाई ट्राइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने बीरगंज युथ स्पोट्र्स एकेडेमी विरुद्ध एपीएफले १२ गोल गर्दै सेमिफाइनल यात्रा तय गरेकाे थियाे । सिमराको नवजनजागृति युवा क्लबलाई ६–१ गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । उद्घाटन खेलमा पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा सातौं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप अन्तरगत १९ बैशाखबाट महिलातर्फकाे गोल्डकप सुरु भएकाे हाे । प्रतियोगिताकाे छैटौं संस्करणसम्म पुरुषतर्फ मात्रै हुँदै आएकाेमा सातौं संस्करण महिलातर्फका टिम बीच प्रतिस्पर्धा हुने गरी गोल्डकप आयोजना गरिएकाे हाे ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, मकवानपुरकाे भीमफेदी र कैलाश गाउँपालिकाको ३/३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रबाट सहयोग रहेकाे संघ महासचिव छवि सुवेदीले जनाकारी दिए ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा भएकाे प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब गरी तीनवटा विभागीय महिला टिमसहित मकवानपुर हेटौंडाकाे रिगल रिसोर्ट एन्फा महिला टिम मकवानपुर, बीरगन्ज युथ एकेडेमीकाे महिला टिम र नवजनजागृति युवा क्लब सिमरा बाराको महिला टिम, रौतहट र चितवन जिल्लाको महिला टिम गरी ८ बटा टिमकाे सहभागिता रहने महासचिव सुवेदीले बताए । महिलातर्फकाे गोल्डकप प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
पुरुषतर्फकाे गोल्डकप घाटामा गएपछि महिला फुटबल प्रतियोगिता
अघिल्लो छैटौं संस्करणहरूमा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको संघले प्रतियोगिता घाटामा गएपछि सातौँ संस्करण भने राष्ट्रिय महिला गोल्डकपका रूपमा अगाडि बढाएकाे हो ।
समयमै हिसाब–किताब सार्वजनिक नगरेसँगै स्थानीय तहले उपलब्ध गराउँदै आएको रकम कटौती गरेपछि संघले बाध्य भएर महिला फुटबल प्रतियोगिता आयोजना गरेकाे बताइएकाे छ ।
संघले महिला फुटबलको विकास र क्रेज बढेसँगै प्रतियोगिता आयोजना गर्न लागेको दाबी गरेको छ। संघले छैटौं संस्करणको गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ। आम्दानी र खर्चको विवरण अनुसार, गत वर्षको फुटबल प्रतियोगिता आर्थिक रूपमा घाटामा गएको देखाइएको छ ।
प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ। प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको आयोजकले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा बाेलेराे गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ६ जनाकाे अवस्था गम्भिर रहेकाे तथा ३ जना सामान्य घाइते भएका मकवानपुर प्रहरीले जनाएकाे छ ।
बुधबार बिहान राक्सिराङ – ९ अठारे स्थित भित्रि सडक खण्डमा खैराङबाट मनहरी तर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो सडकबाट ५० मिटर तल खसी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरत कुमार खड्कासहितकाे टोली घटनास्थल पुग्दा बोलेरोमा चालक सहित ९ जना सवार रहेकाे पाइएकाे बताइएकाे छ ।
उक्त बाेलेरो दुर्घटनामा घाइते ९ जना राक्सिराङ – ९ का रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा १६ वर्यीष हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल बहादुर घलान, निजको श्रीमति ६५ वर्षीय फुलमाया घलान, ३८ वर्षीय रुप बहादुर राउत, ४८ वर्षीय दिपक खड्का घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
यसैगरी ५० वर्यीय सुर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ दुर्घटनामा घाइते भएकाे अर्यालले बताए । घाईते सबैकाे स्थानीयसमेतकाे सहयोगमा उद्धार गरी उपचारको लागि मनहरी अस्पताल ल्याइएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको गाडी चौथो दिनसम्म समेत फेला परेकाे छैन । गाडी फेला नपरे पछि स्थानीय सरकारकाे समन्वयमा भूगर्वविद्काे टोलीले आज पाचौं दिन उक्त स्थानकाे अनुसन्धान थालेकाे छ ।
माछा बोक्ने ना.४ च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) हेटौंडा उपमहानगरपालिका – १६ र १७ को सीमा नजिकैकाे गैरीगाउँ सडकमा गत शुक्रबार एक्कासी भासिएकाे थियाे । उक्त स्थानमा पानीको दह बनेको छ । भासिएकाे पाचौं दिनकाे दिन विभागकाे टोलीले अनुसन्धान थालेकाे हाे ।
घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो । निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । गाडीका चालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।
भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए । गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँचवटा पोखरी र बोरिङसमेत छ । राईले नै दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासिएको हुन सक्ने अनुमान गरेका छन् ।
गाडी खोजीका लागि शनिबार दिनभर दुईवटा मोटरले पानी बाहिर फालिए पनि उक्त गाडी फेला नपरेको डिएसपी अर्यालले बताए । ‘शनिबार दिनभर गाडी खोजेका हौँ, आइतबार खोजेनौँ । विपत् व्यवस्थापन समितिको बैठकले विज्ञको टोली ल्याउने निर्णय गरेकोले आइतबारबाट खाेजी कार्य नगरिएकाे हाे’ उनले भने । गाडी भासिएको ठाउँ सुरक्षित राखेर विज्ञको टोली आएकाेले पुनः खोजी तथा अनुसन्धान सुरु गरिएकाे छ ’ उनले भने । गाडी भासिएको स्थानसँगै जोडिएको माछापोखरीको माछा र पानी निकालिएकाे छ । पोखरी खाली गरेपछि गाडी खोजी गर्न सहज हुने प्रवक्ता अर्यालले बताए ।
गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा दिनभरजसो मानिसहरूको भिड लाग्ने गरेको छ । गाडी भासिएको घटनापछि निरीक्षण र घटनाको वास्तविकता बुझ्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने सहितकाे टोलीले सोमबार अवलोकन गरी बस्तुस्थिति बझेकाे छ । यसअघी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उमप्रमुख राजेश बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगेर वस्तुस्थिति बझेका छन् ।
हेटौंडा उपमहानगरको विपत् व्यवस्थापन समितिको बैठकले गाडी भासिएको स्थान र आसपासको अध्ययनका लागि भूगर्भविद्काे टोली ल्याउने गरी निर्णय गरेको थियाे । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको उपस्थितिमा उपमहानर प्रमुख मीना कुमारी लामा, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सम्मिलित बैठकले खानी तथा भूगर्भ विभागलाई अध्ययन र अनुसन्धानका लागि टोली पठाइदिन पत्राचार गर्ने निर्णय गरेको हो ।
उपमहानगरका उपप्रमुख राजेश बानियाँले तत्कालका लागि गाडी भासिएको स्थानको भौगोलिक अवस्थाबारे अध्ययन गरी केही भन्न र गर्न नसकिने भएकाले अनुसन्धानका लागि भूगर्भविद्को टोली झिकाउने निर्णय गरिएकाे बताए ।
‘आइतबार दिउँसो विपत् व्यवस्थापन समितिको बैठक बसेर यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई अनुसन्धान टोली पठाई सहयोग गर्न पत्राचार गर्ने निर्णय गरेका हौं,’ उनले भने । गाडी भासिएको स्थान हेर्नेको भिड बढेपछि उपमहानगरले नगर प्रहरी परिचालन गरेको छ ।

भासिएकाे स्थानकाे अनेक अड्कलबाजी
गाडी भासिएको स्थान हेर्न पुगेका स्थानीयले घटनाबारे थुप्रै अड्कल लगाएका छन् । विगतमा यस क्षेत्रमा भास (दलदल) रहेकाले गाडी बेपत्ता भएको हुन सक्ने केही स्थानीयको दाबी छ । वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले गाडी भासिएर बेपत्ता भएको घटनाले आफू आश्चर्यमा परेको बताए । उनले उक्त फाँटमा जोत्दै गरेका हलगोरु नै भासिएर बेपत्ता भएको आफूले पनि सुनेको बताए ।
कोइरालाले करिब १० वर्षअघि गाडी भासिएको स्थानबाट पाँच–सात सय मिटरको दूरीमा जोत्दै गर्दा एउटा गोरु भासिएर मरेको घटना आफैँले देखेको सुनाए । उनले भासिएर कुनै पनि चिज बेपत्ता भएको पहिलोपटक देखेको बताए । ‘भासिएर बेपत्ता नै भएको पहिलोपटक सुने र भिडियो हेरेर थाहा पाएँ आश्चर्य लाग्यो’ उनले भने । ‘पहिले–पहिले जोत्दै गरेको हलगोरु नै बेपत्ता हुने गरेको गाउँले बुढापाकाले सुनाउथे, पत्यार लाग्दैनथ्यो’ उनले भने, ‘म आफैँले पनि यहाँभन्दा पाँच–सात सय मिटर पर १० वर्षअघि जोत्दै गरेको हलगोरुमध्ये एउटा गोरु दलदलमा भासिएर मरेको देखेको छु ।’
स्थानीय पुडासैनीले उक्त स्थान दलदल नै भएकाे स्वीकार्छन् । उनका अनुसार २०७२ सालकाे भूकम्प आउँदा समेत उक्त स्थानमा चुन निस्किएकाे पानीकाे फोका उठेकाे देखेकाे बताए । स्थानीयहरु डिप बाेरिङका कारण दलदल भएकाे समेत बताउँछन् । ‘उक्त स्थानकाे पोखरी बनाउनका लागि यहाँ करिब ८ वर्षअघि बोरिङ गरिएकोमा पाइपबाट पानी भनेजस्तो नआए पनि त्यसको वरिपरिबाट लेदोसहितको पानी भने बगिरहन्थ्यो । अहिले जमिन भासिएको सोही बोरिङ खनिएको स्थलमै हो’ स्थानीय प्रकाश पराजुलीले बताए । उनका अनुसार हेटौंडा १६, १७ र १८ स्थित फाँटमा सानाठुला दर्जनौँ डिप बोरिङ खनिएकाले छन् भने करिब ५ सय मिटरको दायरामा मात्र झन्डै आधा दर्जन ठाउँमा पाइप गाडेर भूमिगत पानी निकालिएको छ । ‘यसकाे कारण भोलिका दिनमा कति ठाउँमा जमिन भासिने समस्या देखिएला अत्यास लाग्छ’उनले भने ।
‘यो भन्दा अलि माथिको स्थानहरू चाहिँ अलि धाप क्षेत्र नै हो। तर यो त त्यस्तो ठाउँ नै होइन’ स्थानीय निरन्जन ढकालले भने, ‘सडकको दुवै साइडमा माछा पोखरी रहेछ। सडकको भित्तामा बोरिङ पनि खनेको रहेछ। बोरिङ खनेको स्थानमा जमिन कमजोर भएर भासिएर गाडी दबिएको हो कि भन्ने लाग्छ।’
भूगर्भविद्काे टोलीले अनुसन्धान गरे पछि मात्रै उक्त स्थानकाे दलदलकाे बास्तविकता पत्ता लाग्ने उपमेयर बानियाँ बाताउँछन् ।
सवारी धनी राई घटना बारे यसो भन्छन्…
गत शुक्रबार साँझतिरको समयमा भित्री कच्ची सडकमा हिलोमा फसेको गाडी निकाल्न निकै प्रयास गरे। हिलोमा फसेको गाडी निकाल्ने प्रयास गर्दा झण्डै १ घण्टा लाग्यो।
केही गर्दा पनि गाडी निस्कने सुर नदेखिएपछि ट्याक्टर ल्याएर गाडी तान्ने प्रयास गरियो। स्थानीय एक व्यक्तिले ट्याक्टर बोलाउनको लागि फोन गर्दै थिए। म र रौतहट स्थायी ठेगाना भएका सहचालक मुक्तिलाल सहनीले गाडी निकाल्ने प्रयास गरिरहे। तर गाडीको अगाडीको भाग बिस्तारै दबिएको जस्तो मुक्तिलालले अनुभव गरे।
उनी चिच्याउँदै मलाई तुरुन्तै निस्कन भने। दुवैजनाले दुईतिरको ढोका खोलेर निस्किन भ्यायौं। तर हामी निस्किएर हेर्न पनि नभ्याउँदै गाडी जमिनमा बिलायो।
गाडीको अगाडीको भाग दबिएको चाल पाएपछि हामी धन्न भाग्न भ्यायौँ । ‘खटट्ट… आवाज निस्कियो। दुई सेकेन्ड जतिमा गाडीको अगाडीको भाग बिलायो। सहचालकले कराएपछि दुवैजना भाग्न भ्यायौं। त्यसको ३ सेकेण्ड पनि नहुँदै पूरै गाडी जमिनमा बिलायो। नत्र त हामी पनि गाडीसँगै भासिने रहेछौं ।
हामी हरेक दिन सोही बाटोमा माछाका दाना बोक्न, माछा लिनका लागि आउजाउ गर्ने गर्छौं । तर न कहिल्यै गाडी हिलोमा फसेको थियो, न त त्यस स्थान वरपर गाडी दबिएको घटना नै भएको थियो। विगत १ वर्षदेखि सोही स्थानमा ९ वटा माछा पोखरी सञ्चालन गर्दै आएका छु । यस्तो घटना भने जीवनमै पहिलोपटक घटेको र भोगे ।
गाडी त्यसरी जमिनमै दबिएको त मैलै पहिलो पटक देखेको हुँ । गाडी निकैबेर हिलोमा फस्यो। गाडी निस्किएला जस्तो भएपछि अगाडी बढाएँ। त्यतिबेला नै भूकम्प गएजस्तै गरी जमिन हल्लिएको महशुस भयो। यत्तिकैमा जमिनबाट केही ब्लास्ट भएजस्तो आवाज आयो। त्यसपछि गाडी जमिनमा दबिन सुरु भयो। जमिन भासिएपछि गाडी एकैछिनमा हरायो। धमिलो पानी घटट्ट गरेर भूमरी बन्यो। यत्तिकैमा वरपरको माटो झर्यो अनि गाडीको थोरै भाग पनि भेटिएन। त्यही समयमा सडक नजिकै रहेको माछा पोखरीका माछाहरू पनि असामान्य तरिकाले उफ्रिएको देखियो ।
अध्ययन गर्न भूगर्भ विभागको टोली हेटौंडामा
गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो ।
विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
विभागका भूगर्भविद्ले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने छ ।