मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले शुभकामना जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरुलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिनु भएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालले यसै दिन अर्थात जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरेको छ । यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदुषण न्युनीकरणःहाम्रो दायित्व” भन्ने रहेको छ । प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणाम निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदुषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरुप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ सन्देशमा भनिएकाे छ ।
प्रदेश प्रमुख देवकोटाले जैविक विविधतामा संकट निम्त्याएको प्रति गम्भिर हुँदै प्लाष्टिकलगायतको प्रदुषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नतर्फ सचेत रहनु पर्ने सन्देश दिनुभएको छ । ‘पृथ्वी हाम्रो साझा घर’ उहाँले सन्देशमा भन्नुभएको छ ‘कुनैपनि देश वा क्षेत्रको वातावरणमा आएको विनाशले अर्को देश र क्षेत्रलाई पनि असर पार्दछ, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ,हामी सचेत हुनुपर्छ ।’
वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको उल्लेख गर्नुहुदै देवकोटाले भन्नुभएको छ, पृथ्वीको कोमलताप्रति खेलवाड गरेर आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका छौ ।’ मानव-प्रकृतिसंगको सम्बन्धलाई केवल उपयोगको हैसियतमा होइन, सह-अस्तित्वको भावनाबाट हेर्नु पर्ने उहाँले सन्देशमा उल्लख गर्नु भएको छ । प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न उहाँले आग्रह गर्नु भएको छ । वातावरणीय सचेतनाका लागि कालापत्थरमा मन्त्री परिषद बैठक, हालै सम्पन्न “सगरमाथा संवाद” जस्ता वातावरण संरक्षणमा संसारको ध्यान आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गरेर नेपाल सरकारले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि पहलहरु गरेको उहाँले उल्लेख गर्नु भएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे पाचौं संस्करणकाे मेयरकप फुटबल प्रतियाेगिता विजेता ७ नम्बर वडाकाे टोली सम्मानित भएकाे छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कमिटिले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेकाे हाे ।
नेकपा एमाले ७ नम्बर वडा कमिटीले मेयरकपमा सहभागी भइ उपाधी विजेता टोलीका सदस्यलाई सम्मान गरिएकाे पार्टी वडा उपाध्यक्ष किरण लामिछानेले जानकारी दिए । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा गत १५ जेठमा भएकाे फाइनलमा हेटौंडा–७ ले हेटौंडा–३ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियाे ।
७ नम्बर कमिटीका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा नेकपा एमालेका नेता तथा निबर्तमान वडाध्यक्ष राजन थापाकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा जिल्ला कमिटी सदस्य नवराज खतिवडा, आकाश अधिकारी, नगर सचिब,नगर सदस्य, जनसंगठनका नेता पूर्व जिल्ला कमिटी सदस्य लगायतको उपस्थिती रहेकाे थियाे ।
मकवानपुर । प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने छोटो दुरीको कान्ति लोकपथ आजबाट ४ दिन बन्द हुने भएकाे छ ।
कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुर र ललितपुरकाे सिमानामा पर्ने बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण कार्यका आज बुधबारबाट ४ दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
२१ जेठ २०८२ देखि २४ गतेसम्म सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ।
उक्त अवधिमा हेटौंडा–काठमाडौं आउजाउ गर्ने यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ।
चित्लाङलाई नजिकबाट नियाल्दा
Tags: No Comments
मकवानपुर । घुमफिर गर्न हरेक मानिसले चाहन्छन् । आफ्नो अनुकुलता हेरेर लामाे तथा छोटो यात्रामा समय समयमा कुनै रमणीय, पर्यटकीय, ऐतिहासिक लगायतका स्थलहरुकाे भ्रमण गर्नु सिकाई तथा रिफ्रेसमेण्टकाे लागि समेत उपयोगी हुन्छ ।
गत हप्ता चित्लाङकाे एक रातकाे बसाई सहितकाे भ्रमणमा जाने समय जुरेकाे थियो । यद्यपी चित्लाङ हुँदै सवारी साधनमा ओहाेरदोहोर कयौं पटक गरिएकै थियाे । बास बस्ने हिसाबले पहिलो पटक गएकाे हुँ ।
बागमती प्रदेशकाे राजधानी रहेकाे हेटौंडा मकवानपुर जिल्लाकाे सदरमुकाम हाे । मकवानपुरका १० स्थानीय तह मध्ये थाहा नगरपालिका पर्यटनकाे प्रसस्त सम्भावना बाेकेकाे स्थान हाे । जहाँ रहेकाे १२ वडा मध्ये हरेक वडामा घुम्नै पर्ने स्थानहरु छन् । त्यस मध्येकाे एक स्थान चित्लाङ थाहाकाे ९ नम्बर वडामा रहेकाे छ ।
त्रिभुवन राजपथकाे भैसें चुनिया लामिडाँडा सिमभन्ज्याङ्ग दामन पालुङ कुन्छाल बज्रबाराही हुँदै मार्खुलाई दाहिने पारेर चित्लाङ सम्मकाे यात्रा गरिएकाे हाे । चन्द्रागिरीकाे फेदमा रहेकाे चित्लाङकाे बसाई पश्चात भालेश्वर मन्दिर गयौं ४५ मिनेट पैदल यात्रा समेत गर्दै ।
त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । तराई झर्ने हुन् वा राजधानी प्रवेश गर्ने, यही नाका भएर ओहोरदोहोर गर्थे । राजधानी प्रवेश गर्ने अधिकांश बटुवाकाे बास हुन्थ्यो चित्लाङमा चित्लाङ काठमाडौं नजिककाे ऐतिहासिक तथा पुरानो गाउँ हाे । मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङ प्राचिन गाउँ हाे भने यहाँ रहेकाे “गुर्जुधारा” ले अझ महत्व बाेकेकाे छ । चित्लाङमा गुर्जुधारा मात्रै हैन थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन्।
भारत तथा नेपालका विभिन्न क्षेत्रबाट काठमाडौं प्रवेश गर्ने एक मात्र नाका चित्लाङ भएकोले यही मार्ग भएर आउजाउ गर्नु नेपाली र विदेशीको एकमात्र विकल्प रहेकाे बताइन्छ । लिच्छवीकालीन राजा अंशुवर्माले सातौँ शताब्दीमा चित्लाङ शहर बसालेको इतिहासकार बताउँछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले काठमाडौं प्रवेश गर्ने यही मार्ग हुँदै कयौँ पटक आवतजावत गर्ने गरेकाे स्वछन्द्र भैरव माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा होमस्टे संचालक बुद्धरत्न मानन्धर बताउँछन् ।
देवकाेटा गुर्जुधार नजिकै रहेकाे धर्मशाला बास बस्ने तथा धारामा नुवाउने गरेकाे हजुरबुबाहरुले सुनाउने गरेकाे मानन्धर बताउँछन् । मानन्धरका अनुसार महाकवि देवकोटा गुर्जुधारा नजिकै धर्मशालामा बास बसेका थिए । बास बस्ने क्रममा उनले पशुपति दर्शनका लागि भारतदेखि आएका तीर्थयात्रु पहाडी बाटोमा हिँड्न नसकेर भरियामार्फत बोकिएर हिँडेको, उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देखे। हेर्दा निकै नै धनाढ्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरि बसेका भिखारीकाे याचनालाई बेवास्ता गरेकोप्रति भावुक भएर ‘यात्री’ कविता लेखेको अग्रजहरुबाट सुन्ने गरेकाे बताउँछन् ।
यसै प्रसिद्धिको नाताले १५ वर्षअघी होमस्टे संचालन गरेकाे मानन्धर बताउँछन् । ऐतिहासिक व्यापारिक बाटोमा रहेको गुर्जुधारा चन्द्रागिरि पर्वतको फेदीमा अवस्थित छ भने ‘गुर्जुधारा होमस्टे’ धाराकै समिपमा छ। चन्द्रगिरिबाट एक घण्टाको पैदल दूरीमा पर्ने चित्लाङ प्राचीन बस्तीको झल्को दिने घरले मनमोहक देखिन्छ। सम्राट अशोकको प्रतिबद्धताअनुसार उनकी छोरी चारुमतीले बनाएको अशोक चैत्य अर्थात चारुमती बिहार यहाँको प्रमुख पर्यटकीय गन्तव्यअन्तर्गत पर्दछ। तीनवटा गजुर भएको ढुङ्गैैढुङ्गाले बनेको पौराणिक शिव मन्दिर पनि यहाँको अर्को आकर्षक गन्तव्य रहेकाे मानन्धरकाे भनाई रहेकाे छ ।
मानन्धरका अनुसार चित्लाङको प्राचीन नाम चित्रापुर हो। उसबेला थानकोटको नाम शोणितपुर थियो। त्यहाँका राजा बाणासुरको पुत्री राजकुमारी उषामैयाको सहेली ‘चित्रा’ ले यहाँको प्राकृतिक सुन्दरतालाइ मन पराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गयो। पछि भारतका सम्राट अशोकपुत्री चारुमती स्वयम्भूको दर्शनार्थ आउँदा चित्रापुरको बाटो हुँदै स्वयम्भूको दर्शन गरिन् र काष्ठमण्डपको उत्तरको विशाल मैदानबीचमा एउटा बौद्ध बिहार बनाइन् जसको नाम क्रमशः चाबहीर चाबहिल र चाबेल रहन गयो।
यो घटनाक्रम २२ सय वर्ष अघिको थियो र सोही बखत चारुमतीको सहयोगमा यता चित्रापुरमा पनि एउटा ‘चैत्य’ निर्माण भयो जसलाई अशोक चैत्य भनिन थालियो। चारैतिरका मान्छेहरुले चैत्य दर्शन गर्न आउन थाले । नेवारहरुले चैत्य आउँदा प्रयोग गरेको यहाँको बाटोलाई चैत्य लँ भन्न थाले। लँ को अर्थ बाटो हो। चैत्यलँ भनिँदै जाँदा यो चित्रापुर भन्ने ठाउँको नाम नै चैत्यलँ बाट चैत्यलङ चेतलङ हुँदै चित्लाङ हुन गएको बताइन्छ। यस ठाउँको नाम चित्लाङ नामकरण भएको करिब दुई हजार दुई सय वर्ष जति भएको मानन्धर बताउँछन्।

सत्तल
समुन्द्री सतहबाट दुई ५०० मिटरको उचाइमा रहेको चन्द्रागिरि पर्वतको दक्षिणीपट्टिको भाग चित्लाङमा पर्छ। ऐतिहासिक भालेश्वर महादेवको प्राचीन मन्दिर चित्लाङतिर पर्छ तर हाल नयाँ विशाल मन्दिर बनेपछि पुरानो मन्दिरको भने बेवास्ता भएको पाइन्छ। चित्लाङको मुख्यबस्ती समुन्द्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा पर्दछ।
दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौंसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ। देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाडी चउर चित्लाङमै पर्दछ।
यहाँ सरकारले विगतमा सञ्चालन गरेको भेडा फार्म र प्रदेश सरकारले बाख्रा विकास फार्मको रुपमा सञ्चालन गरिरहेको छ। बाख्राको दूध र त्यसबाट बनेको ‘चिज’ का लागि पनि चित्लाङ प्रसिद्ध छ । विगतमा मुलाको लागि प्रसिद्ध चित्लाङ खुर्सानीका लागि पनि उत्तिकै परिचित छ।
चित्लाङमा हाेमस्टे ४ वटाबाट सुरु गरिएकाेमा अहिले ३० वटा पुगेकाे मानन्धर बताउँछन् । यसका अलावा आधा दर्जन सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा रहेका छन् । विशेष गरी शुक्रबार र शनिबार चित्लाङसँगै मार्खु कुलेखानी भ्रमणकाे लागि काठमाडौं लगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन् । विदाकाे दिन भीडभाड हुने गरेकाे छ ।
दैनिक मोटरसाइकल वा गाडीमा घुम्न आउने र फर्कनेको सङ्ख्या सयौँ छ। केही विदेशी तथा अधिकांश नेपाली पर्यटकले भरिभराउ रहने चित्लाङमा एकरात बस्नेगरी जानेको सङ्ख्या बढी हुने होटल व्यवसायी बताउँछन्। शुक्रबार यहाँका अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छन्।
यहाँको अर्को आकर्षण हो, जैतुन खेती। जैतुन स्वास्थ्यवद्र्धक तेलका लागि विश्व प्रसिद्ध छ। अत्यन्तै महङ्गाे मूल्यमा बिक्री हुने तेल उत्पादन हुने जैतुन वातावरणमा सबैभन्दा अक्सिजन फाल्ने वनस्पती मध्ये पर्दछ। चित्लाङमा विदेशको मरुभूमिमा मात्र देख्न पाइने क्वाड बाइक भनिने चारपाङ्ग्रे मोटरसाइकलको मज्जा पनि लिन सकिन्छ। यहाँ आउने पर्यटकले भरपुर आनन्द लिएको पाइन्छ।

सातधारा
काडमाडौंकाे बानेश्वरबाट एक दिनका लागि यहाँ आएकी लक्ष्मी पाण्डेले चित्लाङले लोभ्याएको बताउँछिन्। ग्रामीण स्वच्छ वातावरण, पौराणिक चिजबिज, बगान ऐतिहासिक लगायतका स्थलले उनलाई आनन्दित बनाएकाे बताइन् । यो पटक साथीसँग समूहमा आएकाे छु । अब परिवारसहितकाे प्याकेज बनाएर फेरी आउने काेशिस गर्ने उनले सुनाइन् ।
हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयका शिक्षक मुकुन्द न्यौपाने चित्लाङ साह्रै मन पर्ने स्थान मध्येमा पर्ने बताउँछन् । शिक्षक कर्मचारी तथा जनप्रतिनिधि समेतकाे समूहमा आएका उनलाई जैविक खेती, ऐतिहासिक सातधारा, गुर्जुधारा, दरबार, पौराणिक स्थलले भ्रमणले आनन्दित बनाएको बताउँछन्।
चित्लाङको विकास र पर्यटकीय प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकार लागि परेको थाहानगरका प्रमुख विष्ण् बहादुर विष्ट बताउँछन्। हामीलेसङ्घीय सरकार प्रदेश सरकारसँग समन्वय गरेर चित्लाङको विकासका लागि थुप्रै योजना बनाएका छौँ, कतिपय काम भइरहेका छन् कतिपय हुँदैछन्”, उनले भने।
चित्लाङको ऐतिहासिक सन्दर्भ
१० हजार जनसंख्या भएको चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ । यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिस बस्छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने यात्रुहरु चन्द्रागिरी डाँडो उक्लिएर चित्लाङ हुँदै जाने गर्थे । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो ।
त्यति मात्र हैन, द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङको सम्पदा हो । वि.सं ३ सय १६ मा सम्राट अशोकद्वारा निर्मित अशोक चैत्य पर्यटकको अर्को आकर्षण हो । त्यहाँको भालेबास डाँडोलाई भगवान शिव मानेर पुज्ने गरिन्छ । त्यो डाँडोमा हरेक फागू पूर्णिमामा मेला लाग्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्लाङमै बसेर आफ्नो चर्चित ‘यात्री’ कविता लेखेका रहेछन् । लामो यात्राबाट थाकेर चित्लाङमा सुस्ताउँदा महाकविले पशुपतिनाथ दर्शनका लागि आएका भारतीय तिर्थ यात्रीलाई देखेछन् । अनि उनले चित्लाङमै बसेर ‘कुन मन्दिरमा जान्छौ यात्री’ भनेर लेखेका रहेछन् । चित्लाङका बासिन्दा यस्ता कथाहरु बडा रोचक पाराले सुनाउने गर्छन् ।
तपाईंसँग फुर्सदिलो समय कम छ, त्यसैले घुम्नका लागि छोटो दूरीको मनोरम पर्यटकीय स्थल खोज्दै हुनुहुन्छ भने चित्लाङ तपाईंका लागि उपयुक्त गन्तव्य हुन सक्छ । शुक्रबार र शनिवारको फुर्सदलाई सदुपयोग गर्दै हरियाली प्राकृतिक दृश्यावलोकन गर्नका लागि चित्लाङ निकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । एउटा ऐतिहासिक गाउँ जुन गाउँलाई तपाईं रमाएर हेर्न मात्र होइन, चाख दिएर पढ्न पनि सक्नुहुन्छ ।
चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ मा पर्ने चित्लाङ एउटा ऐतिहासिक गाउँ हो । नेपालका धेरै शासन र शासकहरूको साक्षी हो चित्लाङ । मल्लकाल र राणाकालपछि लगभग २०१२ सालसम्म निकै भीडभाड रहने ठाउँ हो यो । त्यसैले त चित्लाङलाई लिच्छविकालदेखिको प्रमाण मानिन्छ । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिसहरू चन्द्रागिरी डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे ।
चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ हो । त्यति मात्र हैन, द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तश्री धारा पनि चित्लाङको सम्पदा रहेको इतिहासविद् बताउँछन् । मकवानपुरको ऐतिहासिक स्थानको रूपमा रहेको चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ ।
वि.सं ३ सय १६ मा सम्राट अशोकले बनाएको ‘अशोक चैत्य’ पर्यटकको अर्को आकर्षण हो । अशोक चैत्य र किराँत राजाहरूले बनाएका मन्दिर र शिलालेखका कारण इतिहासका विषयमा अध्ययन गर्न आउने पर्यटकको संख्यासमेत बढिरहेको छ । चित्लाङको भालेवास डाँडोलाई भगवान शिव मानेर पुज्ने गरिन्छ ।
राजा अंशु वर्माले गोठालाहरूलाई उपहारका रूपमा दिएको भनिएको यो सानो गाउँ अहिले स्वर्गको टुक्राजस्तो सुन्दर बनेको छ । तीनतिर सल्ला, कटुस र विविध वनस्पतीले भरिएका हरियाली पहाडले जो कसैको पनि चित्त हर्छ । मैदानी फाँटमा हरिया मकै तरकारले लहलह फाँट घाँसे मैदान र नासपातीका बोट छन् ।

ऐतिहासिक पदमार्ग
विक्रम संवत् १९५५ मा त्रिभुवन राजमार्ग बन्नु भन्दा अगाडि यही बाटो हुँदै तराई र काठमाडौँको यात्रा हुने गर्दथ्यो । यो ठाउँ पहिलेपहिलेका यात्रीहरूले भारतसम्म जान र भारतीय तीर्थ यात्रीहरूको पशुपतिनाथ आउनका लागि प्रयोग गरिने बाटो हो ।’ स्थानीयहरू पनि यही बाटो हुँदै भिमफेदी देखि फर्पिङ कुलेखानी पुग्ने गरेको र थानकोट हुँदै काठमाडौँ छिर्ने गरेकाे मानन्धरले बताए ।
पुरातात्त्विक महत्त्व
चित्लाङमा कुनै समय धेरै नै पाटी पौवाहरू हुने गरेको र ती पाटी पौवाहरू यात्रीहरूका लागि बन्ने गरेको जनविश्वास रहेको छ । यस्ता पार्टी पौवाहरूमा हामीले काष्ठकलाको निकै नै महत्त्वपूर्ण सिर्जनाहरू देख्न सक्दछौँ । यहाँका स्थानीयहरू भन्ने गर्छन्, खासै प्रमाण नभेटिए तापनि यहाँका पाटी पौवाहरू १७औँ देखि १८औँ शताब्दीसम्म बनाइएका हुन् । अहिले यीमध्येका केही पाटी पौवाहरूमा इलाका प्रहरी कार्यालय र सामुदायिक पुस्तकालय स्थापित गरी संरक्षित गरी रहेका छन् ।
चन्द्रशमशेरको दरबार
विक्रम संवत् १९६० तिर बनेको भनी अनुमान गरिएका दुईवटा दरबारहरू पनि चित्लाङ छन् । यी दरबार तत्कालीन श्री ३ र श्री ५ का लागि बनाइएका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
त्याे समयमा राजा महाराजाहरू यही बाटो तराईदेखि भारतका विभिन्न सहरसम्म जाने हुँदा यही ठाउँमा आई बास बस्ने गरेको स्थानीयकाे भनाइ छ । कहिलेकाहीँ यहीँ आई पारिवारिक जमघट गर्ने गरेको समेत स्थानीयले बताउँछन् ।
किन जाने चित्लाङ ?
कुनै पनि ठाउँमा हामी त्यत्तिकै घुम्न जाँदैनौं । त्यो ठाउँमा केही विशेषता पक्कै हुनु पर्छ घुम्नकाे लागि । चाहे प्राकृतिक दृश्य होस् वा ऐतिहासिक विशेषता यी दुवै चित्लाङमा पाइन्छ । यो गाउँ प्राकृतिक रूपमा त सुन्दर छँदैछ, इतिहासका धेरै अक्षरमा अटाएको पनि छ ।
एउटा ऐतिहासिक गाउँ, यसको प्राकृतिक सुन्दरता, यहाँ बस्ने स्थानीयवासीको मौलिकपन, सभ्यता, संस्कृतिबारे बुझ्न यो गाउँ जाने हो । हरिया फाँट र नजिकैको जंगल हेर्दै, गाउँ घुम्दै, स्थानीय मठमन्दिर नियाल्दै, घरेलु खानाको मजा लिँदै, चित्लाङमा रम्न सकिन्छ । त्यति मात्र होइन, अन्य धेरै महत्त्वपूर्ण चिजहरूले पनि सुशोभित छ चित्लाङ ।
पाहुनालाई गरिने आगत स्वागत हेर्न पनि चित्लाङ जानैपर्छ । यसमा चित्लाङवासीको आफ्नै चलन छ । उनीहरू नाङलामा सगुन सिजन अनुसारकाे फलफुलकाे लोकल रक्सीले स्वागत गर्ने गर्दछन् । होमस्टेमा रमाउनका लागि चित्लाङ पुग्नेले त्यहाँ पुगेर थाहा पाउनेछन्, उत्कृष्ट होमस्टे के हो भनेर । करेसाबारी उब्जिएका आर्गानिक तरकारी जाँतो पिसेको अन्नको स्वाद लिन पाइन्छ । यो ऐतिहासिक गाउँका स्थानीयसँग बसेर गफिदाँ अनुभव र यो गाउँका रोचक कुरा सुन्न पाइन्छ । जुन हाम्राे पुस्तालाई कथा जस्तै लाग्छ ।
अर्को रोचक पक्ष, चित्लाङका घर महारानी एलिजावेथको चित्र अंकित टिनका पाताले छाइएका छन् । नेपाल भ्रमणमा आउने बेलायती पाहुनाहरूले कुनै समय आफ्नो खाना र खजाना बोकेर ल्याएका टिनका बाकसहरू चित्लाङमा छोड्दै गर्दा गाउँलेहरूले उक्त टिनको पाताहरूले घर छाएका छन् । भीमफेदीबाट चित्लाङ हुँदै काठमाडौंमा राणाहरूका भाँडा र गाडी बोक्ने वाइवा थरका मानिसहरू जन्मेको थलो चित्लाङ नै रहेको स्थानीय बताउँछन् ।
चित्लाङको अर्को मज्जा भनेको चित्लाङमै उत्पादित ट्राउट माछा र लोकल बाख्राको दूधबाट उत्पादित चिजको स्वाद लिनु हो । अर्गानिक भिलेजको रूपमा परिचित चित्लाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र धार्मिक महत्त्वका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष राजकुमार बलामी बताउँछन् ।
चित्लाङमा अर्गानिक खेती हुन्छ । होटल, होमस्टे र रिसोर्टमा पनि अग्र्यानिक खानेकुरा प्राथमिकतामा हुन्छन् । पहिला–पहिला शुक्रबारमात्र थानकोटबाट हिँडेर आन्तरिक एवम् वाह्य पर्यटकहरू चित्लाङ पुग्ने गरेका थिए भने अहिले प्राय साता भरिनै होमस्टे भरिभराउ हुन्छन् । शुक्रबार र शनिवार त ठाउँ नपुगेर पर्यटकहरू टेन्ट गाडेर बस्ने गरेका गुर्जुधार हाेमस्टेका मानन्धर बताउँछन् । उनका अनुसार अहिले सबैभन्दा बढी काठमाडौं, त्यसपछि अन्य स्थानबाट पर्यटक बढी आउँछन् ।
जैविक विविधताले भरिपूर्ण रहेको ६० जातका अर्किड फूलहरू, चिराइतो, पाँचऔंले, जटामसी, सुनाखरी, लालीगुराँस, मालतागिरी, मजिटो, पाखनवेथजस्ता फूल तथा जडीबुटी पाइन्छन् । यस्तै नास्पाती, भुइँ स्याउ, आरुबखडाजस्ता फल फल्छन् । आरुबखडा तथा नास्पातीबाट वाइन तयार पारेर निर्यात पनि गरिन्छ ।

पैँयु
ओलिभ फार्मः करिब २० वर्षअगाडि स्थापना भएको ओलिभ फार्म यो ठाउँको प्रमुख आकर्षणमध्ये एक हो । अंग्रेजीमा ओलिभ नामले चिनिने जैतुनको तेल सलादमा प्रयोग गर्ने गरिन्छ ।
अल्पाका जनावरः एसियामै दुर्लभ मानिएको अल्पाका जनावर यही ठाउँमा मात्रै देख्न पाइन्छ । हेर्दा साना कोरेली गाईजस्ता देखिने यो जनावर ऊनका लागि पालिन्छ । फरक खालको अल्पाकाबाट निकालिने ऊन निकै महँगो हुन्छ ।
काँडे भ्याकुरः चित्लाङमा मृग, बँदेल, चितुवा, काठे भालु, भुइँ भालु, दुम्सीजस्ता स्तनधारी जनवार पनि देख्न सकिन्छ । यो बाहेक संसारको दुर्लभ चरा काँडे भ्याकुर बस्ने ठाँउ पनि चित्लाङ नै हो ।
ढुंगेसाँघुः चित्लाङको नयाँ पौवास्थित खोलामा विसं १९५० तिर बनाइएको १० मिटर लम्बाइ र साढे १ मिटर चौडाइको ढुंगेसाँघु छ । चित्लाङस्थित चन्द्रागिरी पाखाबाट ठूलो ढुंगा छिनाइ त्यसलाई ताछेर साँघुको आकार दिइएको थियो । महिनौं लगाएर साँघुको आकारमा ढुंगा कुँदेपछि पौवा खोलामा ल्याएर हालिएको थियो । करिब १ सय २४ वर्ष अघिदेखि सञ्चालनमा आएको यो साँघुको अहिलेसम्म मर्मत गर्नुपरेको छैन र जोखिम पनि मोल्नु परेको छैन । चित्लाङ पुग्ने स्वदेशी एवं विदेशी पर्यटक ढुंगाको यो साँघु देखेर अचम्मित हुन्छन् ।
जंगल सफारीः चित्लाङ पुगेपछि जंगल सफारी, गाउँघरको वातावरण अध्ययन अवलोकन गर्न पाइन्छ । यसको लागी चित्लाङ महत्त्वपूर्ण स्थल मानिन्छ ।
हाइकिङः हाइकिङका लागि चित्लाङ आफैंमा उत्कृष्ट गन्तव्य हो । चित्लाङ पुगिसकेपछि हाइकिङका लागि राम्रा गन्तव्य धेरै छन् । चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर तालसम्म हाइकिङ गर्न सकिन्छ । विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ ।
कृषि पर्यटनः चित्लाङमा प्रसिद्ध मुलाका अलावा आलु काउली हरियो केराउ सागसब्जीकाे प्रशस्त उत्पादन हुन्छ । तरकारीका अलावा मकै धान ताेरी लगायतकाे सिजन अनुसारकाे बालीले चित्लाङका फाँटमा बाह्रै मास हरियाली रहन्छ । पानीकाे सुविधा तथा मलिलो माटोले उत्पादनलाई उर्वर बनाएकाे छ । कृषिमा रुची राख्ने तथा अवलोकनकाे लागि चित्लाङमा कृषि पर्यटनकाे सम्भावना समेत उत्तिकै रहेकाे छ ।
उत्पादित कृषि उपजले बजार पाए पनि कृषकले मूल्य नपाउने गरेकाे स्थानीय बताउँछन् । ‘बाली लगायो उत्पादन गर्यो ठकेदारले उत्पादन स्थलबाटै बाली उठाउने गर्छन्’ स्थानीय रामकृष्ण गोपालीले भने ‘हामीले हाम्रो उत्पादनकाे मूल्य पाउँदैनौ । त्यसो नगरे उत्पादन भएका बस्तु बिक्रि गर्न समस्या हुन्छ ।’ यहाँ उत्पादित तरकारी काठमाडौं हेटौंडा लगायतका प्रमुख शहरमा खपत हुने गरेकाे छ ।

बर्षौ पुरानो कुन्छाल गाउँः चित्लाङ नजिकै रहेकाे अर्काे रमणीय स्थान हाे कुन्छाल । नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको कुन्छाल काठमाडौंबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको छ । रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरहरु रहेका छन् । त्यहाँ बास बस्न हाेमस्टे संचालनमा रहेका छन् भने तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको चिसो र स्वच्छ पानी समेत पिउन पनि पाइन्छ ।
मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ हाे कुन्छाल । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेको कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ ।
नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।
‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन, हजारौं बर्ष इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।
नजिकै रहेका बाख्रा (भेडा) फार्म र कुलेखानीः चित्लाङ नजिकै बाख्रा फार्म कुलेखानी इन्द्रसरोवर मानव निर्मित सबै भन्दा ठुलाे ताल रहेकाे छ । बाध बाधेर निर्माण गरिएकाे यो तालबाट निकास गरिएकाे पानीबाट ६९ मेघावाट विद्युत निस्कासन हुँदै आएकाे छ । सरोवरमा डुंगा सयर गर्न सकिन्छ भने माछा पालिएकाे केजले अरु आकर्षण गर्छ ।
दामन पालुङः दामन पालुङ समेत पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य मानिन्छ। जुन चित्लाङ नजिकै रहेकाे छ । त्रिभूवन राजपथ हुँदै यात्रा गर्नु पर्दा यहाँकाे वातावरणीय हिसावले रमाइलो हुन्छ । नागवेली बाटो सँगै पुगिने सिमभन्ज्याङ र दामनबाट सर्वोच्च शिखर सगरमाथाका अलावा अन्य हिमश्रृखला अवलोकन गर्न सकिन्छ । पालुङका फाँटमा देखिने हरियालीले सधैं लोभ्याइरहन्छ ।
चन्द्रागिरी र भालेश्वरः काठमाडौ उपत्यकाको दक्षिण पश्चिम तर्फ रहेको डाँडा | यो डाँडाको दक्षिण तिर चित्लाङ बजार रहेको छ| थानकोटबाट सिधा दक्षिणमा रहेको यो डाँडा र यसमा रहेको भन्ज्यांङ ,काठमाडौबाट दक्षिण तर्फ आवत जावत गर्ने पैदल यात्रीको लागि प्रमुख नाकाको रूपमा रहेको थियो ।
चन्द्रागिरीमा रहेकाे भालेश्वर मन्दिरले समेत धार्मिक पर्यटनकाे सम्भावना बढाएकाे छ । महादेवले सतीलाई अग्निकुण्डबाट बाेकी संसार डुल्दै हिड्दा चन्द्रागिरीमा आइपुग्दा भाल (निधार) पतन भएकाेले उक्त स्थानमा भालेश्वर महादेव उत्पत्ती भएकाे स्कन्द पुराणमा उल्लेख छ । हिन्दुहरुले आस्थाका रुपमा लिने उक्त स्थानमा विदेशी पर्यटक समेत अवलोकनकाे लागि आउने गरेका छन् । अहिले चन्द्रागिरी केवलकार संचालनमा आएपछि थप चर्चामा रहेकाे छ ।

हालकाे भालेश्वर मन्दिर
कसरी जाने चित्लाङ ?
काठमाडौंबाट चित्लाङ जान त्यति समस्या छैन । केबुलकार वा आफ्नो सवारीमार्फत बढीमा ३ घण्टामा चित्लाङ पुग्न सकिन्छ ।
काठमाडौंको कुनै पनि ठाउँबाट गाडी चढेर कलंकीसम्म पुग्ने र त्यहाँबाट अर्को गाडीबाटै सिधै केवलकारको स्टेसनसम्म पुग्न सकिन्छ । थानकोट चेकपोष्टबाट करिब डेढ किलोमिटर बायाँतिर गएपछि केबुलकारको बेस स्टेसन पुगिन्छ । केबुलकारमा चढेर २५ सय ५१ मिटरमा रहेको चन्द्रागिरी पुगी चिसो र शान्त वातावरणले मन आनन्दित बनाउँदै घना र हरियाली वनको बाटोबाट २ घण्टामा पदयात्रा गरेर पुगिन्छ चित्लाङ ।
चित्लाङ काठमाडौं उपत्यकादेखि करिब १९ किलोमिटर दक्षिण पश्चिम मकवानपुरमा पर्छ । काठमाडौंको थानकोट गोदाम हुँदै सडक मार्गबाट चन्द्रागिरी पहाड पार गरी मोटर मार्गबाट पनि करिब डेढ घण्टाको यात्रापछि चित्लाङ पुग्न सकिन्छ ।
चित्लाङ जाने क्रममा शिरको टोपी खस्ने अजंगको पहाड देखिन्छ । काठमाडौंबाट पैदल जाँदा ४/५ घण्टामा पुगिन्छ । बल्खु, दक्षिणकाली, फर्पिङ हुँदै पनि चित्लाङ जान सकिन्छ । तर, यो बाटो अलि लामो पर्छ । बाटो भने चन्द्रागिरीतिरको भन्दा अलि सजिलो छ ।
हेटौंडा हुदैं चित्लाङ जान भैसै भीमफेदी देउराली कुलेखानी मार्खु बाख्रा फार्म हुदैं ५५ किमि २ घण्टाकाे यात्रामा पुगिन्छ । हेटौंडाबाट बाइरोडकाे बाटो चुनियाँ लामिडाँडा सिमभन्ज्याङ (२४८८ मिटर) दामन पालुङ कुन्छाल बज्रबाराही हुदै ५ घण्टाकाे यात्राबाट समेत चित्लाङ पुग्न सकिन्छ ।
सडक कस्तो छ ?
चन्द्रागिरीतिरबाट चित्लाङ जान अलि चुनौतीपूर्ण छ । पानी परेका बेला त दुईपांग्रे सवारीसाधनमा असम्भव जस्तै हुन्छ । अरु बेला पनि पहाड रसाउने भएकाले बाटो चिप्लोचिप्लो नै हुन्छ । यद्यपि, अलि हेभी मोटरसाइकलमा जान सकिन्छ । अहिलेको समयमा स्कुटरमा जान निकै कठिन हुन्छ । तर, चालक अनुभवी हुँदा भने असम्भव पनि छैन ।
झण्डै ७ किलोमिटर अफ रोड छ जहाँ ढुंगा, खाल्डो, चिप्लो बाटो पार गर्नुपर्छ । १ सय ५० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा डबल जान मुस्किल हुन्छ । त्यसरी गएको खण्डमा बीचबीचमा पछाडि बस्ने मान्छे ओर्लिनुपर्ने हुनसक्छ ।
बोलेरो पनि जान सक्छ । कार लैजान भने यो बाटोबाट असम्भव नै हुन्छ । फर्पिङको बाटोबाट भने सम्भव छ ।
त्रिभुवन राजपथ (नौविसे पालुङ खण्ड वा हेटौंडा टिष्टुङ खण्ड) काे यात्रा गरेर जादाँ भने केही लामाे तर रमाइलो यात्रा हुनेछ । बाटो १२ महिना राम्राे रहन्छ ।

पुरानो भालेश्वर मन्दिर
कति खर्च लाग्छ ?
काठमाडौंबाट चित्लाङ निकै सस्तो गन्तव्य हो । यद्यपि, खर्च भने व्यक्तिको प्रवृत्तिमा भर पर्ने कुरा हो । सामान्यतः ३ हजारदेखि ३५ सय रूपैयाँ खर्च गर्दा एक रात र एक दिनकाे यात्राकाे मजामा चित्लाङ भ्रमण गर्न सकिन्छ ।
२० वर्ष अघीकाे चित्लाङ यात्राः
२१ वर्ष अघी कामकाे सिलसिलामा मार्खुमा वस्नु पर्ने भयो केही समय । अझ रमाइलो त के भयो भने करिव १ वर्षकाे मार्खु बसाईमा त्यही बाटो भएर तीन पटक हिडेर हेटौंडाबाट काठमाडौं पुगेकाे छु ।
उती बेला प्रविधिले फड्काे मारिसकेकाे थिएन । यदी हुन्थ्यो भने पुरानाे यादलाई स्मरण गराइरहने केही थान याद सुरक्षित गरिन्थ्यो हाेला । तर उ बेलामा त्यहाँकाे याद मनमा सधै रहिरहेकाे छ । एक पटक खर्क सम्म पुगेर फर्किएकाे छु माघ महिना तिर । उती बेला माेटर बाटो थिएन । बन्ने क्रममा थियाे । यात्रा सहज थिएन हिडेर थानकाेट पुगेपछि बस चढ्नु पर्थ्यौ ।
अहिले यातायातकाे साधान प्रशस्त चल्छन् त्यही बाटो । तरकारीदेखि अन्य बस्तुलाई बजार पुर्याउन सहज भएकाे छ । चित्लाङ घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् । रोजगारी गाउँमै आएकाे छ । गाउँमा गाउँ फर्किएकाे छ । उ बेला शहर छिरेका युवालाई समेत गाउँमै भेटिन्छन् ।
चैत्र-बैशाख-जेठ महिनामा यात्रा गर्दा लालिगुराँस, काफल र ऐसेंलु लगायतले स्वागत गरिरहेकाे हुन्छ । हिउँदका मंशिर पुस र माघ महिनामा यात्रा गर्दा जाडो बढी हुन्छ । अन्य महिनामा यात्रा रमाइलाे हुन्छ, भरपुर मजा लिन सकिन्छ । गर्मी मौसमा जादाँ थप रमाइलो महसुस गर्नुहुनेछ । एक पटक चित्लाङ तथा वरपरका पर्यटकीयस्थल घुमेर हेर्दा समय खेर जादैन् ।

मकवानपुर । देशव्यापी रुपमा भइरहेकाे यातायात हड्ताल फिर्ता भएको छ । गण्डकी प्रदेश सरकारले सेयर राइडिङ नियमावली एक महिनाको लागि स्थगन गरेसँग देशभर जारी यातायात हड्ताल फिर्ता भएको नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौंडामा अध्यक्ष एवम् नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य गोकर्ण पराजुलीले बताए ।
आज मात्र संघ सरकारले उक्त नियमावली रोक्नका लागि प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी सरकारलाई पत्र लेखेको थियो। सो पत्रकाे जवाफ दिंदै गण्डकी प्रदेश सरकारले आजै ५ बजे प्रधानमन्त्री कार्यालयमा नियमावली स्थगत गरिएकाे बारे पत्र पठाएको हाे ।
‘नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएकोले यसपूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु) लाई वार्ताको लागि पुन: आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ’ गण्डकी सरकारको धारणा भनिएको पत्रमा उल्लेख छ।
मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताए ।यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीलाई सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै नियमावलीमा उल्लेखित प्रावधान कार्यान्वयन हाललाई स्थगित गर्न पत्र पठाएको थियो । त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री, वार्ता टोली संयोजक र सदस्यलाई छलफलमा बोलाएका थिए ।
गण्डकी प्रदेश सरकारले जेठ १ मा राजपत्रमा प्रकाशन गरेको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायी जेठ १६ देखि आन्दोलित छन् । रातो नम्बर प्लेटका सवारीलाई प्रयोजनविपरीत भाडामा लगाउन नियमावली ल्याइएको, आफूहरूको लगानीलाई बेवास्ता गरिएको भन्दै गण्डकीमा जेठ १६ देखि र अरु ६ वटा प्रदेशमा पनि १८ गतेबाट सार्वजनिक यातायात बन्द छ ।
संघ सरकार र व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातसम्म छलफल गरी राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति गरेको थियो ।
‘यातायात बन्दको कारण सर्वसाधारणहरुलाई परेकाे असुविधाप्रति हामी क्षमा चाहन्छौ यातायात व्यवसायीहरुलाई सहयाेग गरिदिनुभयाे धन्यवाद पनि छ’ नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौंडामा अध्यक्ष एवम् नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य पराजुलीले भने ‘अब यातायत सुचारु भैसकेकाे छ ।’