९ वर्ष अगाडि आज कै दिनबाट सहीखबर साप्ताहिकको प्रकाशन आरम्भ गरेका थियौ । आज सोही अवसरमा हामी अनलाईनको रुपमा आएका छौ । प्रविधिको युगसँगै यहाँहरुको हात हातमा रहेको मोबालमा पनि अब हामीले यहाँहरुलाई समाचार, सूचना, जानकारी मनोरञ्जन पस्कन सक्ने छौ ।
यहाँहरुलाई यो खबर सुनाउन पाउँदा औधि खुशी लागेको छ । आमसञ्चारलाई चुनौतिपूर्ण पेशा हो भन्दै र यसमा रमाउँदै रमाउदै हामी नवौं वर्षमा प्रवेश गरेका छौ । रहरै रहरमा प्रकाशन प्रारम्भ गर्ने र बाध्यता/ बिडम्बनाको भूमरीमा बन्द हुने पत्रिकाहरुको भीडमा सहीखबरसाप्ताहिकले आफुलाई ज्युँदो राख्न सफल भएको छ, र जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आएको छ । मोफसलमा जन्मेको यो पत्रिकालाई आजको अवस्थासम्म आइपुग्न जिल्लाबासी कै अथाह योगदान रहेको कुरा हरपल मनन गरिरहेका छौं ।
प्रकाशन सुरु गरेदेखि नै राजनीतिक विषय वस्तुलाई भन्दा सामाजिक विषय वस्तुलाई प्राथमिकतामा राख्दै आएका छौं । समतामुलक समाज निर्माण, महिला सशक्तिकरण, महिला अधिकार, सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, समाजको सकारात्मक रुपान्तरणमा जस्ता क्षेत्रमा आम सञ्चारको तर्फबाट झकझक्याउने हाम्रो अभियान जारी छ ।
जनताको सुशुचित हुने अधिकारका खातिर लागि पर्न जनताले नै सघाइरहेका छन् हामीलाई, आशा छ आगामीपलमा पनि यस्तै साथ मिल्ने छ । यही विश्वासका साथ आगामी यात्रामा पनि विगतको जस्तै सहकार्यको अपेक्षा गर्दछौं । संघीय लोकातान्त्रिक अभ्यासमा छौ, अझै धेरै चुनौतिहरु सामना गर्नुछ, जनताको घरदैलोमा लोकतान्त्रको आभाष हुनेगरी जनप्रतिनिधिले काम गरे नगरेको खबरदारी गर्नमा हामी सदैव जनताको पक्षमा उभिने छौ । हामीलाई यसैगरी बल निरन्तर मिल्नेछ भन्ने आशा गरेका छौं ।
यस साप्ताहिकले आफ्नो प्रकाशन सुरु गरेको ७ वर्ष पुरा भएसँगै आकारमा वृद्धि गरेका थियौं, ८ वर्ष पुरा भएसँगै आजबाट हामीले अनलाईन संस्करण पनि सुरु गरेका छौ । अब साप्ताहिक रुपमा मात्रै नभई हरपल यहाँहरुलाई अनलाई मार्फत पनि सूचना, जानकारीमा पस्कने छौं ।
यो सुखद अवसरमा हामी हाम्रा आदरणिय सहयोगी मनहरु, विज्ञापन दाताहरु, पाठक वर्गहरु, हामीसँग प्रत्यक्ष/परोक्ष रुपमा जोडिनु भएका हाम्रो असाध्यै प्रिय शुभचिन्तकहरु, जिल्ला भित्र तथा जिल्ला बाहिर रहेर हाम्रो यात्राको होस्टेमा हैसें गरी सहयोग दिनुहुने अग्रज तथा समकक्षि सञ्चारकर्मीहरु सबैप्रति हार्दिक आभारी छौ । आगामी यात्रामा पनि यहाँहरुको यस्तै अमिट सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ । सबैमा हार्दिक आभार ।
हेटौंडा/कोरोना संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनपछि व्यवसायहरु ठप्प भएको भन्दै कर तिर्न अनाकानि गरिए पनि कर संकलनमा भने अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ ।
आन्तरिक राजश्व कार्यालय हेटौडाले गत वर्षको तुलनामा यस वर्षमा ११ प्रतिशत बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा कुल ४ अर्ब २८ करोड ५२ लाख ७० हजार राजस्व संकलन गरेकोमा यस वर्ष ४ अर्ब ७८ करोड ६६ लाख ७ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय हेटौडाले जनाएको छ ।
व्याजदर, मूल्य अभिबृद्धिकर अन्तशुल्क र स्वास्थ्य सेवा तर्फको राजश्व संकलनमा बृद्धि आएपनि आयकर गत वर्षको तुलनामा ५ प्रतिशतले घटेको छ भने घरभाडा करमा ३१ प्रतिशतले घटेको छ ।कोरोना भाईरसको संक्रमणको कारण राजस्व संकलनमा कमि आएको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताए ।
गत वर्ष आयकर ८८ करोडभन्दा बढी संकलन भएकोमा यस वर्ष ८३ करोड मात्र संकलन भएको छ । त्यस्तै घरभाडा कर गत वर्ष २ करोड ६२ हजार संकलन भएकोमा यस वर्ष १ करोड ८२ लाख संकलन भएको छ । त्यसैगरि ब्याजकर भने गतवर्षको तुलनामा १६ प्रतिशत बढेको प्रमुख ढकालले बताए ।
सबैभन्दा बढी स्वास्थ्य सेवाकर अन्तर्गत ६२ प्रतिशत बढीले बृद्धि भएको छ । गत वर्ष २० करोड ९५ लाख राजस्व संकलन भएकोमा यस वर्ष ३४ करोड राजस्व संकलन भएको छ । लकडाउनको समयमा समेत यसरी राजस्व संकलन हुनु उपलब्धिपुर्ण नै भएको प्रमुख ढकालले बताए । अझै राजस्व संकलनका समयमा कार्यालयबाट हुने विभिन्न कारवाहीका प्रक्रियाहरु अघि बढाउन नपाईएको हुँदा राजस्व संकलनमा केही कमि आएको उनले बताए ।
यसैगरि आन्तरिक राजस्व कार्यालय हेटौडाले यस वर्ष २६ वटा उद्योगहरुको खाता तथा जग्गा रोक्का गरि कारवाहि गरेको छ । यव वर्ष २३ वटासम्म उद्योगहरुलाई कारवाहि गर्ने लक्ष्य राखिएको भएपनि २६ वटालाई कारवाहि गर्न सफल भएको कार्यालय प्रमुख ढकाल बताए । मूल्य अभिबृद्धिकर नतिरेकै आधारमा कारवाहिमा परेका उनले बताए ।
उक्त कारबाहिमा परेका उद्योगहरुबाट यस वर्ष ४ करोड ८१ लाख २० हजार मुल्य अभिवृद्धि कर राजस्व संकलन हुनुपर्ने तर नतिरेकै कारण कारवाहिमा परेका हुन् ।उक्त उद्योगहरुले राजस्व नतिरेपछि पहिलो पटक टेलिफोन मार्फत १५ दिनको म्याद सहित सूचना गरिनेलगायतको प्रक्रियागत चरण अगाडि बढाइने प्रमुख ढकालले जानकारी दिए ।
कोरोनाकै महामारीका कारण भने आयकर बक्यौतामा काम गर्न नसकिएको र कारवाहिका प्रक्रिया अघि नबढाईएको उनले बताए ।
सरकारले आज बेलुकादेखि लागु हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । अब उच्च स्वास्थ्य सतर्कताका साथ जीवनशैलीलाई सामान्य अवस्थामा लैजान लागिएको छ ।
लकडाउन अन्त्य भएपनि शिक्षण संस्थाहरु भने तत्काल खुल्ने छैनन् । होटल र रेष्टुरेन्ट १५ साउनदेखि खुल्ने छन् । लामो दुरीका सवारी साधन तथा हवाई सेवा १ भदौदेखि खुल्ने अर्थमन्त्री डा युवराव खतिवडाले बताए ।
१ भदौदेखि भर्ना लिइने तर पठनपाठन भने पछि मात्र सुचारु हुने छ । सवारी साधनमा जोर बिजोर प्रणाली पनि हटाइएको छ भने सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्ट प्रणाली पनि अन्त्य भएको छ ।
हेटाैडा । यस वर्ष मनसुन बुधबारदेखि पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने ‘भोलिबाट पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने छ ।’
यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । साउन पहिलाे हप्ताबाट निम्नचापीय रेखा नेपालको ठीक माथि छ । महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ । महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ ।
केही दिनयता जारी वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या छ । मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको छ ।
वर्षासँगै खोला तथा नदीमा आउने बाढीका कारण सम्भावित जोखिममा परेका बासिन्दाहरुलाई मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सन्जालमार्फत् पूर्वसूचना जारी गर्दै आएको छ । हालसम्म जोखिम क्षेत्रका बासिन्दालाई ५० लाख १७ हजारभन्दा धेरै एसएमएस पठाएर सतर्क रहन भनिसकिएको विभागका महानिर्देशक वैद्यले जानकारी दिए ।
हेटौडा । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६९५ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।