१० वर्षीया छाेरीकाे सपनाकाे त्याे स्कुल ….
Tags: No Comments
दैनिक व्यवस्तता पन्छाएर, साँझपख समाचार बनाउने क्रममा थिए । सामाजिक साइड पनि “अन” थियो । स्कृनमा म्यासेज देखियो । म्यासेज थियोः हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले बाल प्रतिभा पहिचान कार्यक्रमबारे अनलाइन सूचना जारी गरेको बारे ।
सूचना आँखाले सरर्र स्क्यान ग-यो, राम्रोसँग नपढ्दै छोरीलाई सहभागी गराउने हुटहुटी मनमा चल्यो । छोरी चित्र बनाउनमा सामान्य रुचि राख्दछिन् । र, सूचना राम्रोसँग बढे । कक्षा ५ मा पढ्ने छोरीलाई अवसरको बारेमा बताए । प्रतियोगिताको लागि प्राथमिक तहको विद्यार्थीहरुको लागि चित्रकलाको विषय थियो ‘मेरो विद्यालय’ ।
छोरीलाई आफूले पढ्दै गरेको स्कुल भौतिक रुपमा कस्तो छ, त्यसलाई चित्रमा उतार्नुभन्दा तिम्रो कल्पनामा तिमीले पढ्ने स्कुल कस्तो भइदियोस् भन्ने लागेको छ, त्यो बनाउन सल्लाह दिए ।उनी चित्र कोर्नको लागि तत्कालै तयार हुँदै भनिन्ः ‘एउटा बनाएर देखाउँछु, कस्तो लाग्छ हेर्नुस् अनि कलर गरुम्ला ।’
म सञ्चारकर्म नै व्यस्त थिए, यत्ति भने ‘ओके ।’
त्यसपछि उनी पेन्सिल र सेतो कागज लिएर बसिन् चित्र कोर्न ।
मैले आफ्नो कामलाई निरन्तरता दिन थाले । निषेधाज्ञाको समयमा यसो सिर्जनशिल हुने अवसर होस् भन्ने सोचेर मैले यो सल्लाह दिएको थिए ।
१० वर्षीया कलिलो मनस्थितीले आफ्नो स्कुल कस्तो होस् भन्ने सोच्ला ? मैले खासै धेरै चासो राखिन पनि । ध्यान आफ्नै कामतिर ध्यान मोडे । एउटा पिन्सिल र ए थ्री साइजको सेतो पेपर लिएर चित्र कोर्न बसेकी छोरीले करिब ३५ मिनेटमा ‘रफ’ (उनको भाषामा) चित्र तयार गरिन् । मैले ३५ मिनेट अगाडि लेख्न सुरु गरेको समाचार आधा सकेको थिइन, उनले चित्र पुरा गरेर दौडेर देखाउन आइन् । चित्र सर्सर्ती हेरे, जत्ति हे-यो उत्ति एक एक गरेर हेर्न मन लागिरह्यो । उनैलाई उनको चित्र वर्णन गर्न लगाएँः उनी भन्दै गइन् । (चित्र यस्ताे थियाे ।)

मेन गेटः गेटको वालको एकातर्फ छोरोछोरी पढ्न जादै गरेको चित्र, छेउमै लेखिएको थियो ‘नो डिक्रिमिनेशन अन सन एण्ड डटर’ अर्कोतर्फ थियो पठन सामग्रीहरु, गेटमा लेखिएको थियो आफैंले पढ्दै गरेको स्कुलको नामः श्री सिद्धार्थ सेकेण्डरी स्कुल ।
मेन गेटको बाहिरैबाट सूरु भएको दुबे चौरले विद्यालयको प्रार्थना चौरलाई पनि शोभा बढाएको थियो । भित्र प्रवेश गरे लगत्तै बाल उद्यान (साना कक्षमा अध्ययनरत बालबालिकाको लागि), बस पार्की·, सरस्वती मन्दिर, प्रार्थाना गरिरहेका विद्यार्थी र सहजिकरणमा लागेका गुरुहरु, स्टेजमा ठुलो आकारको नेपालको राष्ट्रिय झण्डा, प्रार्थना चौरसँगै खेल्ने मैदान (ठुला कक्षमा अध्ययनरत विद्यार्थीको लागि) लहरै मिलाएर राखिएको गमलामा फक्रिएका पुष्पहरु, गमला नजिकै विद्यालयको अतिरीक्त क्रियाकलापको लागि हल, स्वस्थ्य पिउने पानी सहितको क्यान्टिन, ल्याब, लाइब्रेरी, प्राथमिक उपचार कक्ष, स्टोर रुम, बालमैत्री शौचालय, शौचालयको बाहिर धारा, शितलता प्रदान गर्ने केही ठुला ठुला रुखहरु, उड्दै गरेका पुतलीहरु ….. ।
खासमा उनी अध्ययनरत स्कुलमा यि मध्ये धेरै भौतिक संरचनाको अभाव नै छ, उनले देखेर यो बनाएकी हैनन् । बस् कल्पनामा यो रहेछ । चित्रको बयान सुनेपछि यो थाहा पाएँ कि, उनको कल्पनामा आफ्नो स्कुल यस्तो भए हुने भन्ने कत्रो चाह रहेछ ।
एउटी १० वर्षीय बालिकाको मनमा आफ्नो कल्पनाको स्कुल यस्तो रहेछ । जहाँ प्राथमिक उपचार कक्षदेखि, ल्याब, लाइब्रेरी, सानाठुला विद्यार्थीको लागि छुट्टाछुट्टै बाल उद्यान, खेल मैदान, अतिरीक्त कार्यक्रम हल, छोराछोरीलाई विभेद नगरौ भन्ने सन्देश वास्तममा नै मर्मस्पर्शी थिए । मैले त्यही चित्रमा र· भर्न भने, उनी चित्रलाई रङ को माध्यमबाट पूर्णता दिन तल्लिन भइन् ।
विद्यालय पोषकमा सहभागी विद्यार्थी र शिक्षकहरु, विद्यालय भवन, बोट विरुवा र फूलहरु, दुबोले ढाकेको खेल मैदान, बाल उद्यान र भलिबल चौर, शौचालय र क्यान्टीन सबैमा रङ भरेपछि झनै आकर्षक र जिवन्त लाग्यो चित्र । प्रतियोगिताको लागि चित्र इमेल गरिदिएँ ।
मनमा कुरा खेलिरहे के यतिमै मेरो जिम्मेवारी सकियो त ? बालबालिकाहरुलाई उनीहरुको रोजाइ अनुसारको वातावरण र कल्पना अनुसारको अवसरहरु प्रदान गर्ने हो भने कस्तो हुँदोहोला उनीहरुको प्रगतिको चरणहरु । १० वर्षको नानीलाई हालसम्म शिक्षण शिकाइको क्रममा ३ वटा स्कुलहरु फेरिसके, एउटा मन्टेश्वरी र २ वटा स्कुल । यहाँ केही बाध्यता थिए, केही रोजाई । अहिले जहाँ पढीरहेकी छिन् त्यहाँ राम्रोसँग घुलमिल हुनै पाएकी छैनन्, सबै शिक्षक र केही बाहेक अधिक साथीहरु नयाँ हुनुहुन्छ । सबै शिक्षक चिन्दिनन् । स्कुलको भौतिक अवस्था देखेर पहिलो दिन नै छोरीले स्कुल मन नपरेको गुनासो गरेकी थिइन् । निर्माणाधिन भौतिक संरचना र त्यहाँको शैक्षिक अवस्थाबारे बताएर उनलाई ‘कन्भिन्स’ गरेको थिए । आशा छ उनलाई मैले कन्भिन्स गर्ने क्रममा बताए अनुसारको शैक्षिक वातावरण र उनको कल्पना अनुसारको स्कुल बन्नेछ चाँडै त्यो विद्यापीठ ।
वास्तममा चित्रकला अन्तरमनको बह पोख्ने माध्यम पनि हो । मनोसामाजिक पराशर्म गर्ने क्रममा पनि चित्रकलालाई साहारा लिने गरिन्छ । व्यक्ति जो गहिरो पीडाबाट निशब्द भएको हुन्छ उ चित्रकलाको माध्यमबाट बोल्दछ ।
एउटी १० वर्षीया बालिकाको मनमा आफ्नो कल्पनाको स्कुल यस्तो रहेछ । जहाँ प्राथमिक उपचार कक्षदेखि, ल्याब, लाइब्रेरी, सानाठुला विद्यार्थीको लागि छुट्टाछुट्टै बाल उद्यान, खेल मैदान, अतिरीक्त कार्यक्रम हल, छोराछोरीलाई विभेद नगरौ भन्ने सन्देश वास्तममा नै मर्मस्पर्शी थिए ।
मेरो स्मरणमा आए ति बालबालिकाहरुः जो समय समयमा आमसञ्चारमा छापिन्छन् विभिन्न घटनाको पात्र बनेर । कयौ बालबालिकाहरु विद्यालयहमा हुने यौन दुर्व्यवहारको शिकार भएका छन् । कयौ बालबालिकाहरु भय युक्त शिकाइको कारण आजित छन् । नपढेको, गृहकार्य नगरेको, अनुशासन पालना नगरेको बाहानामा धेरै बालबालिकाहरुले शिक्षकबाट हिंसा भोग्नु परेको समाचार बेलाबेलामा आउने गर्दछ । तर किन पढेनन् किन गृहकार्य गरेनन् भन्ने विषयको खोजि शिक्षकहरुबाट पटक्कै भएको देखिन्न । यो वा त्यो बाहानामा गुरुहरुको व्यवहारबाट आजित बालबालिकाको भविष्य कस्तो होला ? गुरुहरुदेखि नै तर्सने बालबालिकाहरुले आफ्नो भविष्य कसरी कोर्न सक्छन्, तिनै डरलाग्दा व्यक्तिहरुको साहारामा ? सिकाइभन्दा बढी भय र त्रासले बास गरेको हुन्छ मनभरी ।

घरभन्दा बढी समय बिताउने स्कुल, अनि आमाबाबाभन्दा बढी विश्वास गर्ने पात्र शिक्षकबाट कुटिदा, हिंसाको शिकार बन्नुपर्दा बालबालिकाहरुको कलिलो मानसपटलमा कति गहिरो असर पर्दोहोला ? ‘शिक्षक’को नाममा ति कलंकहरुले शिक्षणजस्तो अति नै पवित्र पेशामा कालो धब्बा लगाएका छन् । यो चुनौति व्यक्तिको हैन, समग्र राज्यकै हो । भलै यस्ता कलंकहरु सबै क्षेत्रमा भेटिन्छन् प्रायः । महामारीको कारण अहिले धेरै बालबालिकहरु सिकाइको लागि अनलाइनसँग जोडिएका छन् । अनलाईन कक्षमा ज्वाइण्ड भैरहदा सिकाइको क्रममा बालबालिकाहरुले पढ्छन् मात्रै कि सामाजिक सञ्जालको दुरुपयोग पनि गर्दैछन् ? यसको निगरानी शिक्षक र अभिभावकले गर्न सकेका छैनन् । भ्याएका छैनन् । यहाँनेर जुनियर बालबालिकाहरु सिनियार बालबालिकाहरुबाट प्रताडित हुने गरेको घटनाहरु बाहिरीन थालिसकेको छ । यसले भोलिका दिनमा भयाबह रुप लिने नसक्ला भन्ने छैन ।
केही दिनदेखि अर्को घटनाले मन बेचैन बनाइरहेको छ ।
जिल्लाको विभिन्न आश्रय गृहहरुमा बसोबास गर्दै आएका अभिभावक विहीन बालबालिकाहरुको अवस्था अनुगमनको क्रममा केही दिन अगाडि मकवानपुरका अधिवक्ता जगन्नाथ सुवेदीसँग भिजिटमा थिए । हामी एउटा आश्रय गृहमा पुग्यौ । धेरै मध्ये एक बालकमा मेरो आँखा प-यो । मेरो छेउमा आएर बसे, मुसुक्क मुस्कुराए, म पनि हाँसे ।
परिचयको क्रम सुरु भयो । उनले भनेः
‘नमस्कार म ………… (नाम गोप्य राखिएको) । ६ वर्षको भए, ३ वर्षदेखि यहाँ बस्दै आएको छु । घर कहाँ हो थाहा छैन, परिवार भन्नु यही आश्रम हो । यहाँ बसेर पढ्छु, ठुलो भएर कलाकार बन्छु ।’
क्रमशः सबैले आ–आफ्नो परिचय दिए । कार्यक्रम सकिएपछि मैले तिनै बालकलाई सोधेः‘ठुलो भएसी कस्तो कलाकार बन्छौ बाबु ?’
‘हसाँउने कलाकार बन्छु, सबैलाई हसाउँछु ।’
आहा, कति मिठो उनको बोली । जवाफ सुनेर म मन्द मुस्कुराएँ । भोली–पर्सी हैन उनले अहिले नै हाँसो को बिजारोपण गरे मेरो मनमा । हाँस्य कलाकार बन्ने सपना बोकेका ति ६ वर्षीय बाबुसँग मैले आफ्नो ४ वर्ष लाग्दै गरेको छोरोलाई सम्झे । मेरो छोराको बालापन, उसले गर्ने अनुत्तरीत सयौं प्रश्नहरु, उसको बालहट, उसको चञ्चलता, उसको सानासाना औलाहरुले कोर्ने बाङ्गाटिङ्गा अक्षरहरु, अक्षरसँगको उसको जिज्ञासाहरु, अक्षरसँगको उसको प्रेम, उसको दिमागले झ्वाट्टै टिप्ने राम्रा/नराम्रा सिकाइ/आनिबानीहरु । घुरीरहे मनमा ।
बालापनमा अभिभावक विहीन भएका ति बाबुहरुले के मेरो बाबुले म र उस्को बाबा दिदीबाट जस्तै माया पाएको होला त ? आश्रम सञ्चालकका अनुसार ति बालक सडकमा बेवारिसे भेटिएका थिए ३ वर्ष पहिले, आश्रमले धेरै प्रयास गर्दा हालसम्म घर पत्ता लागेको छैन । उनी र उनीसँगै बस्दै आएका अन्य बाबुहरु र अर्को आश्रममा सामुहिक बस्दै आएका नानीहरुको दैनिकीले धेरै प्रश्नहरु उब्जायो मनमा जुन सबै कुरा यहाँ उल्लेखन गर्न संभव छैन ।
सबैको आ–आफ्नो कल्पनाको संसार ज्युँदो हुँदो हो मेरी छोरीको कल्पनाको स्कुल जस्तै । ति ६ वर्षीय बाबुको हाँस्यकलाकार बन्ने सपना जस्तै, अनि मेरो देश ? मेरो देशको पनि यस्तै कल्पनाको भविष्य होला ? कल्पना पुरा गर्ने आधार होला ? आधारलाई पुर्णता दिने नीति र कार्यक्रमहरु प्रत्येक वर्ष बन्दछन् तर, कार्यान्वयन फितलो बन्ने गरेको कारण लाखाै बाबुनानीकाे कल्पनाकाे संसार वास्तविकलामा फुल्न पाएकाे छैन ।
बालबालिकाहरुलाई उनीहरुको बालापनमा रमाउँदै सिक्दै, खेल्दै बुझ्दै गर्ने अवसर आमाबाबा र असल गुरुहरुलेभन्दा अरु कसले दिन सक्ला ? पछिल्लो समय व्यस्त आमाबुबाको कारण बालबालिकाहरु एक्लिने गरेका छन् । काम र आयआर्जनमा मात्रै ध्यान दिने गर्दा बालबालिकाहरु कहाँ के विषयमा हराइरहेका हुन्छन् भन्ने चासो नै कम दिने गरेको छ । विशेष गरी आमाहरुको व्यस्तताले बालबालिकाहरुको सिकाइ अवसर चुकेको छ । ‘छोरीका स्कुलका गुरुहरुले नानी ज्ञानी छिन्’ भन्दा मात्रै पनी औधि गौरव लाग्छ मलाई, अनि ति आमा बाबाहरु सम्झन्छु जो आफ्ना सन्तानलाई सन्तान भन्न पाइरहेका छैनन् ।
वृद्धा आश्रम र शिवालयहरुमा बाध्यकारी समय बिताइरहेका छन् । अग्रज पुस्तासँग लाहाडिँदै नयाँ कुराको सिकाइ कहाँ संभाव छ अहिलेका बालबालिकाहरुलाई ? हजुरबुबा/हजुरआमाहरुसँग उनीहरुको पालाको वीरताको कथा कहाँ सुन्न पाउँनु हाम्रा नानीबाबुले ? एकातिर आश्रय गृहहरुमा बस्दै आएका ति अभिभावक विहीन बालबालिकाहरुको दैनिकी अर्को तिर उसैगरी परिवार विहीन भएर वृद्धा आश्रममा फिका समय बिताउँदै गरेका वृद्धवृद्धाहरू।
सबैको आ–आफ्नो कल्पनाको संसार ज्युँदो हुँदो हो मेरी छोरीको कल्पनाको स्कुल जस्तै, ति ६ वर्षीय बाबुको हाँस्यकलाकार बन्ने सपना जस्तै, अनि मेरो देश ? मेरो देशको पनि यस्तै कल्पनाको भविष्य होला ? कल्पना पुरा गर्ने आधार होला ? आधारलाई पुर्णता दिने नीति र कार्यक्रमहरु प्रत्येक वर्ष बन्दछन् तर, कार्यान्वयन फितलो बन्ने गरेको कारण लाखाै बाबुनानीकाे कल्पनाकाे संसार वास्तविकलामा फुल्न पाएकाे छैन ।
संविधानमा बालबालिकाः
नेपालको संविधानमा धारा ५१ राज्यको नीति अन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ । मौलिक हकभित्र धारा ३९ अन्तर्गत बालबालिकाको हक शीर्षकमा १० वटा उपधारामा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता एवम् बाल अनुकूल न्याय जस्ता विषयहरु समेटी सर्वाङ्गिण विकासको प्रत्याभूति गरिएको छ । बाल अधिकारको दृष्टिकोणबाट नेपालको संविधान उत्कृष्ट देखिएको छ । संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा (भदौ २९, २०४७) अनुमोदन गरेपछि महासन्धिको मूलभूत विषयहरु संविधानहरुमा सम्बोधन हुँदै आएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ मा बालबालिकाका १३ वटा मूलभूत अधिकारहरु सुनिश्चित गरिएका छन् । यो ऐन बाल अधिकार महासन्धिको मूलभूत सिद्धान्तहरु र प्रावधानहरु अनुकूल रहेको छ ।
२०६८ सालको जनगणना अनुसार १८, १६ र १४ वर्षमुनिका बालबालिका क्रमशः ४१.८४, ३७.३७, ३२.३५ प्रतिशत रहेको छ । यिनिहरुको सर्वाङ्गिण हितको सवाल पुर्णतः सम्बोधन भएको छ त ? विल्कुलै छैन । केन्द्रीय तथ्या· विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय कल्स्टर सर्वेक्षण, २०७१ (सन् २०१४) अनुसार ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । नेपाल श्रमशक्ति सर्भेक्षण २०७४/०७५ (सन् २०१७/०१८) अनुसार १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न भएको देखाएको छ । उनीहरुको हितको विकासको सवाल कहाँ छ ?
पहलको सुरुवात
नेपाल सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरी आर्थिक वर्ष २०७३/०७४ देखि काठमाण्डौं उपत्यकामा “बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन” भन्ने कार्यक्रम जारी राखेको छ । केन्द्रीय तथ्या· विभागको पपुलेसन मोनोग्राफ, सन् २०१४, भाग २ (सामाजिक जनसांख्यिकी) अनुसार १० देखि १८ वर्ष उमेर समूहका बालबालिकामध्ये २६.३ प्रतिशतको विवाह हुने गरेको छ । बागमती प्रदेशमा पनि २९ प्रतिशत बालबालिकाहरुको गैरकानुनी विवाह हुने गरेको छ ।
अभिभावकले बालबालिकाहरुको लागि समय दिने, बालबालिकाहरुको सवाल सुनिदिने र सम्बोधन गर्ने परम्पराको थालनी गर्नुपर्छ । शिक्षक /विद्यालयहरुले बालबालिकाहरुको मनोभावनालाई बुझेर सिकाइमा उत्प्रेरित गर्ने, प्रतिभा प्रस्फुटनको लागि उपर्युक्त प्लेट फर्म तयार गर्ने गर्नुपर्छ । विद्यालयहरु तथा सिकाइ केन्द्रहरुलाई स्थानीय, प्रदेश तथा संघीय तहको सरकारहरुले लगानी गर्नको लागि मन साँघुरो गर्नुहुन्न ।
आर्थिक वर्ष २०७५/०७६ मा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि माध्यमिक विद्यालयहरु छनौट गरी नमुना विद्यालयका रुपमा विकास गर्न थालेको छ जसमा हालसम्म यस्तो विद्यालयको संख्या ३२२ पुगेको छ । प्रदेश सरकारले एक विद्यालय एक नर्सको कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो अत्यन्त प्रभावकारी पनि देखिएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत कोभिड–१९ बाट आमाबाबु गुमाएका बालबालिकाका लागि मासिक ३ हजार भत्ताको व्यवस्था गरेको छ । यसबाहेक अन्य कारणबाट आमाबाबु गुमाएका बालबालिकाका लागि मासिक २ हजार शैक्षिक तथा सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ ।
अझै पनि बालबालिकाहरुलागि बालमैत्री सिकाइ, जीवनपयोगी शिक्षामा धेरै काम गर्न बाँकी छ । बाल विवाह, बालश्रम तथा विभिन्न धार्मिक प्रथाहरु जसले बाल विकामा प्रत्यक्ष बाधा सिर्जना गरेको छ । यि बाधा अड्चनहरु फुकाउँदै जानु छ ।
अबको आवश्यकता
बालबालिकालाई काँचो माटोसँग तुनला गर्ने चलन छ । उनीहरु बाल्यबस्थामा कहीँ कतै नराम्रो संगतमा लागिहाले पनि मायालु स्वाभाव, प्रेमिल व्यवहारले पुर्णतः सुधार गर्न सकिन्छ । उनीहरुको कल्पना सही छ वा गलत जर्जमेन्ट गर्ने र सही कल्पनालाई साकार बनाउन अभिभावक शिक्षकहरुले उत्प्रेरणा दिने हो भने उनीहरुको भविष्य उनीहरु आफैंले उज्यालो बनाउन सक्दछन् । बालबालिकाको भविष्य उज्यालो बन्नु भनेको भोलीको देशको भविष्य उज्यालो हुनु हो । यसको लागि सही समयमा उचित वातावरण दिने भनेको अभिभावक, शिक्षक र राज्यले नै हो ।
आज बालबालिकामाथि गरिएको लगानीले भोली करोडौ गुणा उच्च प्रतिफल दिनेछ । यो वातावरणको तयारी अभिभाव, शिक्षक र सरकारले नै गर्ने हो । बालबालिकाहरुको निश्चल मनमा निस्वार्थ उब्जेको कल्पना र भावनाहरुलाई साकार रुप दिनमा सरकारले आजै लगानी गर्नुपर्छ ।
यसको लागि त्यस्तो ठुलो योगदान नै पनि आवश्यक छैन, अभिभावकले बालबालिकाहरुको लागि समय दिने, बालबालिकाहरुको सवाल सुनिदिने र सम्बोधन गर्ने परम्पराको थालनी गर्नुपर्छ । शिक्षक/विद्यालयहरुले बालबालिकाहरुको मनोभावनालाई बुझेर सिकाइमा उत्प्रेरित गर्ने, प्रतिभा प्रस्फुटनको लागि उपर्युक्त प्लेट फर्म तयार गर्ने गर्नुपर्छ । विद्यालयहरु तथा सिकाइ केन्द्रहरुलाई स्थानीय, प्रदेश तथा संघीय तहको सरकारहरुले लगानी गर्नको लागि मन साँघुरो गर्नुहुन्न ।


म अटिजम भएको बालककी आमा हुँ । जन्मिएको करिब एक वर्षसम्म बाबुका क्रियाकलापहरू सामान्य नै थिए; ‘बाबा’, ‘पा’, ‘मामा’ ‘हट्’, ‘च्या’ जस्ता शब्द बोल्थ्यो तर प्रस्टसँग बुझिँदैन थियो । बाबु चकचके, गोरो र स्वस्थ थियो । त्यति बेलासम्म सब ठीकठाक थियो । सोह्र महिनाको हुँदासम्म पनि उसको बोली प्रस्ट भएन, बाबु–मम्मी देखाऊ भन्दा देखाएन, घुम्न जाऔं भन्दा बुझेन । बाबुले कान सुन्दैन या कम सुन्छ भन्ने ठानेर हामी जचाउन नेपालगन्जबाट काठमाडौं आयौं । टिचिङ अस्पतालमा चेकजाँच गरेपछि कान सुन्छ भन्ने थाहा भयो । डाक्टरले गैरिधारास्थित अटिजम केयर सेन्टरमा रिफर गर्नुभयो । त्यहाँ बाबुका विभिन्न क्रियाकलापको परीक्षण गरियो र यसैका आधारमा उसमा अटिजमका लक्षणहरू भएको प्रतिवेदन दिइयो । हामीलाई मदर्स ट्रेनिङमा आउन सुझाव पनि दिइयो । त्यस बेला बाबु अठार महिनाको भइसकेको थियो । अटिजम भनी पहिचान भए पनि मेरो आत्माले छोरालाई त्यस्तो केही भएको छैन भनिरहेको थियो । मनभरि पीडा बोकेर हामी घर फर्कियौं ।
बाबु तीन वर्षको भएपछि हामीले नेपालगन्जकै एउटा मन्टेसोरीमा भर्ना गरिदियौं । एक छिन पनि एक ठाउँमा नबस्ने, खाना खुवाउन ज्यादै गाह्रो हुने, झ्यालझ्यालमा चढ्ने, चोटपटक लाग्ला भनेर पनि नडराउने, बिनाकारण कहिले रुने, कहिले हाँस्ने, कहिले दौडनेलगायतका क्रियाकलापले गर्दा बाबुलाई मन्टेसोरीमा राख्न सकिन्न भन्नुभयो शिक्षकहरूले । त्यसपछि बाबुका लागि राम्रो विद्यालयको खोजीमा रहेका बेला कान्तिपुर दैनिकमा काठमाडौंमा रहेको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रसम्बन्धी लेख छापियो, जसमा अटिजम भएका बालबालिकालाई राखिँदो रहेछ । यही लेखलाई पछ्याउँदै हामी त्यस केन्द्रमा पुग्यौं । अहिले बाबु त्यहीँ छ र पहिलाको भन्दा धेरै कुरा बुझ्छ पनि । बाबुलाई अटिजम छ भनेर हामीले स्विकारिसकेका छौं र हामीलाई आफ्नो छोरालाई अरूसँग दाँजेर हेर्नु पनि छैन अब । उसलाई जे–जति सकिन्छ, सिकाउँदै जान्छौं र अटिजम सम्बन्धमा बुझ्दै, बुझाउँदै पनि जानेछौं । समयमै पहिचान, स्वीकार गरी अटिजममैत्री व्यवहारमा आफूलाई ढाल्नुबाहेक यसको उपचारै छैन ।
बालबालिकाका सर्वांगीण विकासका लागि समयमै उपयुक्त शारीरिक वृद्धि र विकास अत्यावश्यक मानिन्छ । कुनै बालबालिकामा वृद्धि क्रमिक रूपमा हुँदै जाँदा सोही अनुपातमा विकास नभई अस्वाभाविक क्रियाकलाप तथा व्यवहार देखा पर्ने अवस्था अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । सामान्य बालबालिकामा देखिनेभन्दा फरक स्वभाव, व्यवहार तथा क्रियाकलापहरू यदि कुनै बालबालिकामा देखा पर्छ भने त्यो अटिजमको संकेत हो । यो मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकास क्रममा हुने असमान अवस्थाको रूप हो । बालबालिकाको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न भएर सामाजिक क्रियाकलाप, सञ्चार, सीप र कल्पनाशक्तिको विकासमा असर पुग्छ, जसले गर्दा उनीहरूमा सामान्यभन्दा फरक खालका व्यवहार तथा क्रियाकलापहरू देखा पर्छन्; जस्तो— उपयुक्त सञ्चारको बुझाइ नहुनु, घुलमिल हुन नसक्नु, मन पर्ने कुराहरू दोहोर्याइरहनु आदि ।
अटिजम कुनै रोग नभएकाले औषधिबाट निको हुन्छ भन्ने हुँदैन । यो बौद्धिक अपांगता होइन, मस्तिष्कको विशेष अवस्था मात्रै हो । अटिजम किन हुन्छ भन्नेबारे विश्वमा विभिन्न अध्ययन हुँदै आएका छन् । अस्वस्थकर र विषादीयुक्त खानेकुरा, संक्रमण, धूमपान, मद्यपान एंव जन्मपूर्व आमाले लिने तनाव, वंशानुगत रोगलगायतलाई अटिजमका कारकका रूपमा अनुमान गरिएको छ, पुष्टि हुनै बाँकी छ । अटिजम विकासात्मक अपांगता हो, जुन बच्चा जन्मेसँगै आउँछ र ६ महिनादेखि ३ वर्षसम्ममा यसका व्यवहारहरू देखा पर्छन् । अमेरिकामा प्रत्येक ५४ शिशुमा १ जनामा यस्तो समस्या भएको एउटा अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा अटिजमको संख्या कुल जनसंख्याको एक प्रतिशत भएको उल्लेख गरेको छ । यसैलाई आधार मानेर नेपालमा करिब ३ लाखमा अटिजम भएको अनुमान गरिन्छ । नेपाल सरकारले अपांगताका दस प्रकारमध्ये एउटामा अटिजमलाई राखेको छ ।
आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने, आँखामा आँखा जुधाउन नसक्ने, एक्लै बस्न र एक्लै खेल्न रुचाउने, सामान घुमाउने, घुमिरहेको सामान देखेर खुसी हुने वा कराउने, चोटपटक लाग्दा नबुझ्ने, काटेर रगत आउँदा पनि खासै नडराउने, बढी हल्ला मन नपराउने, झर्को मान्ने, कुनै नौलो वा आफूलाई आवश्यक चीज औंलाले नदेखाउने वा शब्दको प्रयोग नगर्ने बरु सीधै समात्नेलगायतका गतिविधि यसका लक्षणहरू हुन् । सामान्य बालबालिकाका लागि सिकाउन प्रयोग गरिने तरिकाहरू यस्ता बालबालिकालाई काम लाग्दैनन् । अटिजममा कहिलेकाहीँ अन्य शारीरिक समस्यासमेत देखा पर्छन् । त्यस्तो अवस्थामा अटिजम भएकाको जीवन झन् कष्टकर हुन पुग्छ । अटिजमका स्वभाव, व्यवहार र क्रियाकलापहरू व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । कसैले आफैंलाई टोक्ने, चिथोर्ने वा हानि गर्ने गर्छन् भने कसैले अरूलाई । कोही जता पायो त्यतै दौडिरहन्छन् भने कोही एकै ठाउँमा बसिरहने हुन्छन् । कोही कान थुनिरहने, हात हल्लाइरहने खालका हुन्छन् । कोही ठूलो आवाज आउँदा र भीडमा ज्यादै डराउने हुन्छन् ।
अटिजम भएका बालबालिकाले खानेकुरा नचिन्ने र नबुझ्ने हुँदा खुवाउन ज्यादै कठिन हुन्छ, एक पटक खाएको कुरा केही समय नखुवाउँदा भुल्नेसमेत हुन्छन् । ठोस खानेकुरा राम्ररी चपाएर खान, चिसो तातो खाने कुरासमेत खान नसक्ने हुन्छन् । अटिजम भएका बालबालिकालाई दिसापिसाबसमेत बुझाउन कठिन हुन्छ । सामान्यभन्दा सामान्य व्यवहार सिकाउन पनि वर्षौं लाग्छ । रिसाहा वा सहनै नसक्ने व्यक्तिले अटिजम भएका बालबालिकालाई सिकाउनै सक्दैनन् । उनीहरूले यस्ता बालबालिकालाई झनै तनाव थपिदिन्छन् । अटिजम भएका बालबालिकाको हरेक क्रियाकलाप तनावयुक्त हुन्छ, जसले गर्दा सिकाउने बेला धेरै माया, स्याहार र संयम चाहिन्छ । यस्ता बालबालिकालाई बुझ्न, उनीहरूसँगै रमाउन सक्नुपर्छ । यसो गर्दा उनीहरू खुसी भई हाम्रा कुरा सुन्छन् र सिकाउन पनि सहज हुन्छ ।
एउटा अटिजम बालकका स्वभावहरू अरूसँग पूरै नमिल्न सक्छन् । तर, सामान्यभन्दा असामान्य क्रियाकलाप देखा पर्नु, सञ्चारको बुझाइ अनि केही सिक्ने क्षमतामा कमी हुनुजस्ता मुख्य संकेतका आधारमा अटिजम भए–नभएको यकिन गर्न सकिन्छ । अटिजम भएका बालबालिकाले आफ्नो इच्छाले जुन काम गर्छन्, सोमा एकोहोरो लागिरहने हुँदा उनीहरूले गर्ने काममा ज्यादै निखार आएको हुन्छ, राम्ररी पनि गर्छन् । उनीहरू इमानदार हुन्छन्; झुट बोल्ने, ठग्ने प्रवृत्ति हुँदैन ।अटिजम भएका बालबालिकाको बुझाइ बिस्तारै–बिस्तारै बढ्दै जान्छ । उनीहरूलाई अभिभावकका तर्फबाट मुख्य सहयोग भनेकै अटिजमलाई स्विकार्नु हो, त्यसपछि मात्र परिवार–छरछिमेकले उनीहरूमाथि नराम्रो व्यवहार गर्ने हिम्मत गर्दैनन् ।
अटिजमका सम्बन्धमा परिवार र छरछिमेकमा जनचेतना जगाउनुपर्छ । अटिजम भएका बालबालिकालाई धेरैभन्दा धेरै माया दिएर अपनत्व र सुरक्षित महसुस गराउनुपर्छ । उनीहरूका गल्ती र कमीकमजोरीलाई दण्डित गर्ने, रिसाउने, डर–त्रास भर्ने काम गरेमा उग्र व्यवहारहरू झन् बढ्न सक्छन् । तसर्थ उनीहरूलाई माया गर्दै जाँदा बिस्तारै धेरै कुरा बुझाउन सकिन्छ । बुझाइलाई बढाउँदै लैजाने तरिका पनि यही हो । फिजियो, स्पिच, सेन्सरी, म्युजिकलगायतका थेरापी नियमित रूपमा गराउन; विशेषज्ञसँग आफ्ना छोराछोरीका लक्षणका सम्बन्धमा परामर्शहरू लिन; अटिजम विद्यालयमा आबद्ध गराउन; घरपरिवारले अटिजममैत्री व्यवहार गर्न र सहजै सिक्ने वातावरण बनाउन सके उनीहरूको जीवनलाई सरल र सामान्य बनाउन सकिन्छ । (शर्मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत छिन् ।) इकान्तिपुरबाट साभार
- श्रीजना नेपाल
मकवानपुर । विगत दुई वर्षदेखि हेटौंडा बस्दै आएकी सिन्धुपाल्चोकको पार्वती क्षत्री (नाम परिवर्तन) जन्मँदा घरको कान्छो छोरा बनेर जन्मिएकी थिइन्।
उनले परिवारमा सधै एक असल छोरीले गर्ने माया र जिम्मेवारी निर्वाह गरिन्। शारीरिक बनावटले पुरुष भए पनि उनको हाउभाउ, बोली व्यवहार र इच्छा भने महिलासँग मिल्थ्यो।
जसले गर्दा लैंगिकता र यौनिकता बुझ्नुअघि नै पार्वतीलाई समाजले छोरा भएर पनि छोरीजस्तो व्यवहार गर्ने गरेको भन्दै दुर्व्यवहार गर्ने गर्थे।
विद्यालयमा साथीहरूले गर्ने फरक व्यवहार र गाली गर्ने शब्दले कक्षा ५ मै पढाइ छोडेकी उनले १७ वर्षको उमेरमा काठमाडाैंमा पाइला टेकिन्। जतिबेला पार्वती भर्खर बुझ्दै थिइन् कि उनी केटा भए पनि आफूलाई केटी बन्न मनपर्छ भनेर।
हेर्दा केटाजस्तो आनीबानी र व्यवहार केटीजस्तो भएपछि उनलाई काठमाडाैंमा जागिर भेटाउन कहाँ सजिलो भयो र? अनेकौं प्रयास गरेर पार्वतीले एउटा होटलमा काम भेट्टाइन्। घरपरिवार र समाजबाट आफ्नो लैंगिकता लुकाएर भागेकी उनी काठमाडाैंमा पुरुष प्रहरीबाट बलात्कृत भइन्।
आफू पुरुष भए पनि महिलाजस्तो महसुस गर्छु भन्ने थाहा भएकी उनलाई पुरुष पुरुषबाटै बलात्कृत हुन्छन् भन्ने पहिलोपटक थाहा भयो। त्यसपछि उनलाई ती पुरुष प्रहरीले लगातार जबरजस्तीकरणी गरिरहे। जसले गर्दा पार्वतीले अहिले आफ्नो जीवन जिउने पेसा नै यौनलाई बनाएकी छन्।
दोहोरो जीवन जिउन कति गाह्रो हुन्छ सायद उनलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा होला र? २५ वर्षीया पार्वती वर्षमा २/४ पटक घर जान्छिन् पुरुष बनेर। अनि हेटौंडामा यौन पेसा गरेर बस्छिन् एउटा महिला बनेर।
बाँच्नकै लागि काम खोज्न उनी ककसको ढोका ढकढक्याउन पुगिनन् होला? तर सबैले लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण उनलाई काम नदिएपछि हाल उनको बिहान बेलुकाको छाक यौनधन्दाबाटै चलिरहेको छ। दिनभरि कामको खोजीमा ढोका ढकढकाउन पुग्दा अनेक अपशब्द बोलेर पठाउनेहरू नै रात परेपछि उनलाई खोज्दै आइपुग्छन्।
पार्वती मात्रै होइनन्, हेटौंडाकी ३२ वर्षीया हीरामाया लामा (नाम परिवर्तन) को पनि पीडा उस्तै छ। उनलाई आफू लैंगिक तथा यौनिक अल्पसंख्यक बन्ने कुनै रहर थिएन। तर प्रकृतिले नै उनलाई फरक किसिमको शारिरिक बनावट र व्यवहार दियो।
जसले गर्दा उनले सामान्य मान्छेजस्तो जीवन कहिल्यै पाइनन्। न उनलाई कसैले जागिर दियो न त कसैले राम्रो व्यवहार गर्यो। हीरामाया पनि अहिले आफू र आफ्नो परिवारको जीवन सडकमा आफूलाई उभाएर पालिरहेकी छन्।
घरमा सबैले छोरा भनेर बोलाउँदा विद्यालय र समाजमा भने उनलाई बोलाउँदा प्रयोग हुने शब्द नै फरक हुन्थे। आफू के हो? आफूले आफैले के महसुस गर्छु भन्ने कुरा बुझ्नुअघि नै उनलाई समाजले पटक पटक दुर्व्यवहार गर्यो। जसले गर्दा ३ पटकसम्म हीरामायाले आत्महत्या प्रयास गरिन्।
कहिले घरका सदस्यले त कहिले आफ्नै आत्माले आफ्नो हत्या गर्न दिएन। ‘मलाई मात्रै भगवानले किन यस्तो बनाइदिए? मलाई किन जस्तो देखिन्छु त्यस्तो बनाइदिएन? अथवा किन मजस्तो महसुस गर्छु त्यस्तै हुन सकिन? यस्तो कुरा सोचेर म धेरै पटक मृत्युलाई रोज्न पुगे तर पनि मर्न सकिन,’ उनले भनिन्।
हीरामायाको घर हेटौंडा बजारबाट १४/१५ किलोमिटरको मात्रै दूरीमा छ। तर उनी बजारमा कोठा लिएर बस्छिन्। घर जाँदा विदेशबाट आएको छोराजस्तै चिटिक्क परेर जान्छिन्। तर हेटौंडामा बस्दा उनी आफूलाई महिलाको रुपमा चिनाउँछिन्।
‘एकपटक विदेश पनि गएर आएको हो। उता पनि नेपालीहरूले नै त यस्तो देखिन्छस् उस्तो देखिन्छस् भन्दै दुर्व्यवहार गरे। त्यो सहन नसकेर नेपाल फर्किएर अहिले यो पेसामा लाग्नु परेको छ। ’ उनले भनिन्। उनको परिवारलाई हीरामाया अलि फरक छिन् भन्ने थाहा छ तर उनी हेटौंडा बजारमा एउटी महिलाजस्तो बनेर यौन पेसा गर्छिन् भन्ने थाहा छैन।
नेपाली समाजले दुई वटा लिंगलाई स्विकार गरेको छ – महिला र पुरुष। तीभन्दा आफूलाई फरक महसुस गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समाजले स्विकार गर्न सकेको छैन। स्विकार नगरेको मात्रै होइन समाजले उनीहरूलाई घृणा, तिरस्कार, अपशब्द र दुर्व्यवहार गर्ने गरेको छ।
जन्मदा छोरा वा छोरी भएर जन्मिए पनि उमेरसँगै आफूलाई फरक लिंगजस्तो महसुस गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक आफ्नै घर परिवारबाट घृणाको शिकार हुने गरेका छन्।
जसले गर्दा उनीहरूमाथि थप हिंसा र दुर्व्यवहार गर्न समाजलाई अझै हिम्मत मिल्ने गरेको देखिन्छ। आफ्नै परिवारबाट अपहेलित हुँदै समाजको दुर्व्यवहार सहेर उनीहरू दुई गाँस खान र आफूले महसुस गर्ने लैंगिकताको पहिचान खोज्न समाजको विभिन्न गल्लीमा ठक्कर खाँदै हिँड्ने गरेका छन्।
करिव ४५ जना यौन पेसामा संलग्न
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारकर्मी किरण थापाका अनुसार मकवानपुरमा करिब एक सय जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन्। तीमध्ये केही खुलेका छन् भने केही परिवार र समाजको डरले गर्दा आफ्नो पहिचान लुकाएर बसेका छन्।
अधिकारकर्मी थापाका अनुसार खुलेकामध्ये करिब ४० देखि ४५ जनाको रोजीरोटी नै यौन पेसामा संलग्न भएर चलिरहेको छ। उनीहरू दैनिक पेट भर्नकै लागि सडकमा आफ्नो सौदा गर्न पुग्ने गरेका छन्। आफ्नै घरदेखि सुरु हुने अपहेलना समाजको सबैतर्फबाट हुन थालेपछि बाध्य भएर बाच्नकै लागि यस्तो काम गर्नुपरेको उनीहरू बताउँछन्।
पढाइदेखि सीप सिक्ने र आत्मनिर्भर भएर आफ्नै व्यवसाय गर्ने कार्यमा पनि समाजले नस्विकारेकाले बाध्य भएर सडकमा आउनुपरेको अधिकारकर्मी थापाको बनाउँछिन्।
‘पढ्न गयो विद्यालयमा सबैले जिस्क्याउने, घरमा सबैले किन यस्तो भइस् भनेर गाली गर्ने। समाजमा अपशब्द प्रयोग गरेर गाली गर्ने अझ कसैलाई त पिट्ने। काम खोज्न गयो, कतै पनि नदिने, अनि आफ्नै बाटोमा राम्रो गरेर खान्छुभन्दा पनि यौन कार्यमा संलग्न हुन बाध्य गराउने गरेका छन्।
‘आफैं व्यवसाय गरौ भने पनि कोही आउँदैनन् हाम्रोमा यस्तोमा हामी के गरौ?’, उनले भनिन्। थापाले आफूलगायत केही साथीले लैंगिकता र यौनिकतासम्बन्धी प्रोजेक्टमा काम पाएको भए पनि अधिकांश काम नपाएकोले सडकमा पुगेको बताइन्।
यौन सम्बन्धपछि कुटिन्छन्
न्युनतम् डेढ सयदेखि बार्गेनिङ गर्ने उनीहरू अधिकतम् दुई हजारसम्म कसैले दिन्छुभन्दा खुसी हुन्छन्। हेटौंडा आसपास सहज हुने स्थानमा यौन सम्बन्ध राख्ने उनीहरू अलि बढी पैसा पाउने लोभमा धेरै पटक गाडीमा चढेर परसम्म पुगेका छन्।
पैसाको लालच देखाएर आफ्नौ यौन प्यास मेट्न उनीहरूलाई हेटौंडाबाट टाढा लगेर कतिपटक बीच जंगलमा फालिएका बताउँछिन् सुनिता थापा (नाम परिवर्तित)। ‘केही नभए एक सय रुपैयाँमा त हामी उनीहरूले भनेजस्तो गर्न तयार हुनुपर्छ। झन् कसैले अलि बढी दिन्छु भन्यो भने खुसीसाथ जान्छौं,’ थापा भन्छिन्, ‘तर आफ्नो प्यास मेटेर गुडिरहेको गाडीबाट फाल्दिने, मध्यरातमा जंगलमा छोड्दिने र ढुंगाले हानेर टाउको फुटाइदिने जस्तो काम धेरैपटक गरेका छन्। जति जे गरे पनि सहेर पछि फर्केर त्यही काम गर्न जानुपर्छ।’
एकपटक हेटौंडा बजारबाट पूर्वतर्फ गाडीमा चढाएर लगेको र गाडीमै आफ्नो प्यास मेटेपछि फाल्दिएको उनले बताइन्। यस विषयमा कसैले उजुरी सुन्ने र सहयोग नगर्ने भएपछि सहेरै यो पेसा गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
उनका अनुसार यौनसम्बन्ध राख्न आउने अधिकांश ड्राइभर, नेपाल प्रहरी, नेपाली सेना र जनप्रतिनिधि नै रहेका छन्। ‘दिउँसो काम दिनुस् न हजुर। मलाई यस्तो पर्यो सहयोग गर्दिनुस् हजुर भनेर जाँदा घिन मानेर हामीलाई गाली गरेर पठाउँछन्। राति उनीहरू नै आएर तिमीहरूको अधिकारका लागि यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भन्छन्। तर कसैले केही पनि गरेका छैनन्,’ उनले थपिन्।
पैसामा कुरा नमिल्दा एक जनाको हत्या
करिब डेढ वर्ष अगाडी हेटौंडा–११ की अजिता भुजेलको यौन सम्बन्धपछि पैसामा कुरा नमिल्दा बीभत्स हत्या भएको थियो। रातको समयमा गाडीका चालकहरूसँग गाडीमै यौन सम्बन्ध राखेकी उनलाई पैसा दिन नमानेपछि झगडा परेको थियो।

अजितालाई पैसा दिन नमानेका गाडीका चालकहरूले मिलेर उनको हत्या गरेर हेटौंडा–५ क्याम्पा डाँडामा फालिदिएका थिए। उनको हत्यामा संलग्न ६ जना अहिले मकवानपुरको भीमफेदी कारागारमा छन्।
७ जनालाई एभआइभी संक्रमण
मकवानपुरमा यौन पेसालाई नै आफ्नो जीवन जिउने मुख्य आधार बनाएका ७ जना लैंगिक तथा यौनिक अल्पसंख्यक एचआइभीको सिकार बनिसकेका छन्।
बाँच्नका लागि असुरक्षित रुपमा यौन सम्बन्ध राख्दा हेटौंडाका ७ जनालाई एचआइभी संक्रमण भएको अधिकारकर्मी थापा बताउँछिन्। थापाको अनुसार उनीहरू सबैको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
४ जनाले पाए चाहेअनुसारको नागरिकता
लैंगिक तथा यौनिक अल्पसङख्यक समुदायको ४ जनाले भने आफूले चाहेअनुसार नागरिकता पाउन सफल भएका छन्। उनीहरूले आफ्नो लैंगिकताअनुसार पहिचानसहितको नागरिकता पाएका हुन्।
३ जनाले लिंगमा ‘अन्य’ राखेर नागरिकता लिएका छन् भने एक जनाले पुरुषबाट महिलाको नागरिकता लिएका छन्। अजिता भुजेल, सानु लामा र नेहा मानन्धरले ‘अन्य’को नागरिकता लिएका हुन् भने सञ्जिवनी लोप्चनले पुरुषबाट महिलाको नागरिकता पाएकी हुन्।
सरकारबाट बेवास्ता
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय आफू राज्यबाट पनि हेलामा परेको बताउँछन्। आफ्नै घरपरिवारबाट पनि हेला सहेका लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राज्यले पनि उपेक्षा गर्ने गरेको उनीहरूको गुनासो छ।
‘ठूला ठूला भाषण र कार्यक्रममा मात्रै हो सबैलाई समेट्छौं भन्ने तर हामीलाई सरकारले कहिल्यै समेटेन। स्थानीय सरकारले काम गरेको देखाउन मात्रै थोरै बजेट छुुट्याएजस्तो गर्छ। प्रदेश सरकारले त त्यत्रो बजेट ल्याउँदा पनि हामीलाई अटाएन,’ थापाले गुनासो गरिन्।
उनले सरकारी तहबाट केही भइहाले पनि त्यो पर्याप्त नभएको बताइन्। लैंगिक तथा यौनिक अल्पसंख्यकलाई आत्मनिर्भर बनाउने, अन्य समुदायलाई जस्तै कोटाको व्यवस्था गर्ने र लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समाजले हेर्ने दृष्टिकोणमा ल्याउने जस्ता कार्य नगरेको उनको आरोप छ।
सरकारले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राज्यको नागरिकको मान्यता नै नदिएको उनको आरोप छ। थाहा खबरबाट https://thahakhabar.com/news/128902/

बलात्कारलाई कानुनी भाषामा जबर्जस्ती करणी भनिन्छ । यसको सामान्य अर्थ मन्जुरीबेगरको यौनसम्बन्ध भन्ने हुन्छ । विगतका कानुनले जबर्जस्ती करणी भनेर कुनै पुरुषले महिला वा बालिकासँग बलपूर्वक गर्ने यौनसंसर्ग भन्ने मात्र बुझाउँथे तर आज प्रचलित कानुनले करणीसम्बन्धी कसुरमा पुरुष/बालक/अन्यलिङ्गी र पशु करणीसमेतलाई समेटेको छ । यद्यपि यो व्यवस्थामा समेत केही उल्लेख्य अपूर्णता छन्, यसले कानुनको लैंगिक संवेदनशीलता र विवेकलाई पहिलेभन्दा फराकिलो भने बनाएको छ । प्रस्तुत लेखमा पुरुषले महिलालाई गर्ने जबर्जस्ती करणीका आयाम र तिनका परिणामहरूमा केन्द्रित भएर छलफल गरिनेछ ।
कानुनमा फौजदारी कसुर भनिने आपराधिक कार्य अरू पनि छन् र हरेकका परिणाम आफैंमा पीडादायी हुन्छन् । तिनलाई आपसमा तुलना गरिनु कति युक्तिसंगत होला ? अपितु, बलात्कार अन्यभन्दा बढी संवेदनशील र असामान्य विषय हो भन्नेमा भिन्न मत नहोला । बलात्कारजन्य घटनाले आफूभित्रभित्रै पार्ने कोलाहलको असर व्यक्तिको सिंगो अस्तित्व र मनोविज्ञानभित्र आजीवन रहन्छ । ‘बलात्कार’ यस्तो कम्प हो जसले पीडितका आत्माको अज्ञात गहिराइसम्म पुगेर मुटु–मथिंगल भत्कने गरी जीवनभरका लागि परकम्प छोडिरहन्छ ।
सत्य हो, बलात्कार व्यक्तिले गर्छ वा व्यक्तिहरूको समूहले गर्छ तर बलात्कारको उत्प्रेरक र परिपोषक समग्र अर्थ–राजनीतिक, मनो–सामाजिक संरचना हो । व्यक्तिलाई अलग राखेर उसले गर्ने अपराधको सम्पूर्ण निरूपण हुन सक्दैन । या, समाज–संरचनाभित्र प्रवेश नै नगरी बलात्कारी व्यक्तिप्रतिको मात्रै निरपेक्ष घृणा अथवा फाँसी लगायतका मागले पनि बलात्कारमाथिको विमर्श पूरा हुँदैन । तर व्यक्ति र संरचनाका बहसभन्दा वारि कुनै महिला छे र उसको एकबारको बाँकी सकल जिन्दगी छ भनेर पनि हेरौं ।
यौनजन्य हिंसा र बलात्कारका घटनामा आज पनि पीडितलाई नै उत्ताउली, नखरमाउली, बजारुजस्ता परम्परित उपमा दिने मात्रै होइन, बजारतन्त्र र पिँडुला, छाती देखिने फेसनसम्मलाई घटनाको कारकका रूपमा तान्ने गरिन्छ । जो पीडित हो उसैलाई बेइज्जत (सेमिङ) गर्ने, ‘इज्जत जाने’ डर देखाएर घटनापछि न्यायिक प्रक्रिया नै अवरुद्ध गर्ने, पञ्चायती र कचहरी बसेर उल्टै घटना लुकाउन र जाहेरी नदिन दबाबमा पार्ने कुरा आज पनि भइरहेकै छन् । यही कारण कतिपय पीडितले आत्महत्या नै गरेका प्रकरणसमेत बाहिर आएका छन् । यसरी भएका ‘आत्महत्या’ आत्महत्या होइनन्, हत्या हुन् । परिवार र समाजले गराएका हत्या ! सांस्कृतिक संरचना र पीडितलाई नै दोषी करार गरिदिने आमधारणाले गराएका हत्या !
लैंगिक अग्राधिकारको सुविधासहित आज पनि घटनाको कर्ता (पुरुष) लाई चोख्याइदिएर पीडित महिलामाथि नै औंला उठाउने प्रवृत्ति घटेको छैन । सबै खाले यौनजन्य हिंसाका लागि पुरुषलाई उत्प्रेरणा र छुट दिइरहने अनि कथित नैतिक मापदण्डका नियमले महिलाको यौनिकतासँगै समग्र अस्तित्वलाई नै नियन्त्रण गर्ने मनोविज्ञानले बलात्कारका घटना झन् बढाइरहेका छन् । राजनीतिक व्यवस्थाको लोकतन्त्रीकरण गर्ने भनिरहँदा परिवार र समाजको लोकतन्त्रीकरणको विषयपट्टि पटक्कै ध्यान नदिनुका परिणाम नै हुन्, आज परिवारभित्रै छोरीबुहारी यौनहिंसाका गाँस बनिरहनु । र, अन्तत: ती घरकै दलिन, पंखा र झ्यालका ग्रिलमा झुन्डिएका (झुन्ड्याइएका) भेटिन्छन् । अनि समाजचाहिँ रमिते भएर हेरिरहेको छ । रूपमा आत्महत्या देखिए पनि सारमा यी हत्या नै हुन् । यस्ता हत्याहरूलाई ‘आत्महत्या दुरुत्साहन’ मुद्दाले पनि सम्बोधन गर्न सक्दैन । यस्ता प्रकरणमा छुट्टै कानुनी व्यवस्था गरिनु जरुरी छ ।
हुन त बलात्कार हुँदै हत्यासम्मका यी विषय सार्वजनिक विमर्शको ठूलो घेराभित्र आइरहेका छन् । अखबारी लेखन, बहसका मञ्चहरू र सामाजिक सञ्जाल लगायतमा खुला छलफल भइरहेका छन् । महिलालाई नियन्त्रण गरिरहने समाजनिर्मित नैतिक मापदण्डभित्र पितृसत्ताको अविच्छिन्न निरन्तरताको नियत कायम छ, परम्परित र पुँजीवादी दुवै खाले पितृसत्ताको जग भत्कने ठूलो आर्थिक–सांस्कृतिक उथलपुथल नभई यस्ता मानकको शासन भत्कँदैन भन्नेमा प्राय: एकमत पनि छन् । तर यी लेखन र छलफलको प्रभाव बृहत् सामाजिक स्तरमा भने परे जस्तो लाग्दैन ।
परेकै छ भने पनि यस्तो प्रभावको वितरण सबै क्षेत्र, वर्ग र जाति–समुदायमा बराबरी देखिँदैन । खासगरी, यस्ता बहसको प्रतिविम्ब पीडित महिलालाई सम्बन्धित समाजले गर्ने व्यवहार र स्वयम् पीडितकै सकारात्मक आत्मसंघर्ष र जागरुकतामा देखिन्न । यो हाम्रा बहसहरूको असफलता हो । यसका पछाडि राजनीतिक दल र राज्यका निकायको सुविचारित बेइमानी नै जिम्मेवार छ । फेरिएको प्रणालीअनुसार इतिहासदेखिको उत्पीडित वर्ग र समुदायको रखबारी गर्नुपर्ने राज्य र सामाजिक न्यायको दुन्दुभि बजाउँदै सत्तासीन भएका दल दुवै थरीले शक्ति र सत्ताभ्यासमा फाइदा हुने वर्गको मात्रै हितरक्षा गर्ने भएपछि बलात्कारी पोसिनु र पीडितहरू रूखका हाँगामा झुन्डिएको भेटिनु नौलो भएन ।
पछिल्ला दिनमा अपराधी लुकाउन, फरार गराउन वा प्रहरी हिरासत र कैदबाट मुक्त गराउन अनेक प्रपञ्च गर्ने, पहुँचवाला र ‘बलियो’ अपराधी रहेछ भने उसका सट्टामा नक्कली (फेक) अपराधी खडा गरेरै पनि न्यायमाथि नांगो हस्तक्षेप गर्ने गलत अभ्यास मौलाएको छ । आपराधिक घटना र अपराधी बचाउका उदाहरणको लामै शृंखला नै बनिसकेको छ । यो स्थितिमा राजनीतिक दल, समाजका ‘भलादमी’ र राज्यसंयन्त्र नै घोर अविश्वासका घेराभित्र परेका छन् । स्थानीयस्तरमा त यस्ता घटनाका अनेकौं उदाहरण छन्, आवश्यक परे तिनको सूची निकाल्न गाह्रो छैन । यस विषयमा राज्यका निकाय र दलहरूतर्फ नै फर्केर अत्यन्तै निर्मम र कठोर बहस छेड्न आवश्यक छ । यसले अन्तत: चुनावी राजनीतिमा मात्रै केन्द्रित दलालपन्थी सरकार र भोट बैंक रक्षा गर्न जस्तोसुकै अनैतिक सम्झौता पनि (आपसमा मिलीजुली) गर्न सक्ने राजनीतिक दलहरू अनि तिनका आसेपासेकै वर्चस्व रहने यो समग्र व्यवस्था महिलाका लागि झन् कति घातक छ भन्ने पुष्टि गरेको छ ।
यौन जीवित प्राणीको प्राकृतिक आवश्यकता हो । तर बलात्कार गर्ने दुर्गुण भने सम्भवत: मानिसको भालेमा मात्रै छ । पशुको भाले जाति प्रकृतिप्रदत्त सामान्य भाले गुणबाहेक अन्य विशेषाधिकार प्रयोग गरेर पोथी जातिमाथि हिंसा र हैकम चलाउँदैन, पोथीको आमन्त्रण र सम्मतिबेगर स्वाभाविक मैथुन क्रियासमेत गर्दैन । त्यसैले पशुजगत्मा पोथीहरू पूर्णत: आत्मनिर्भर हुन्छन् (एभलिन रिड : इज बायोलजी उमन्स डेस्टिनी ?) ।
‘बुद्धिमान’ भनिएको प्राणी मानिसले भने आफ्नो ‘बुद्धि’ लाई महिलाको प्रजनन अंग, उसको शरीर, इच्छा, अधिकार र सम्पूर्ण निजत्वमाथि नै नियन्त्रण गर्ने औजार बनाउँदै आएको छ । बुद्धिको दुरुपयोग गरेरै मानव सभ्यताको पछिल्ला केही हजार वर्षयता आएर अन्यायपूर्ण, नियन्त्रक स्त्रीद्वेषी प्रथा र प्रचलन बनाइएका हुन् । यी निश्चित रूपमा पुलिंगकेन्द्री नियम, कानुन र सामाजिक ज्ञानका परम्परा हुन् । कतिपय साहित्यमा महिलाको शक्ति र सामथ्र्यको महिमा गाइनु अलग कुरा हो । तर तीभन्दा बढी प्रभावशाली त तत्कालीन समाजमा प्रयोग गरी आउने पिँढीहरूसम्मै लागू गर्न बनाइएका विभिन्न स्मृति (कानुन) र संहिताहरू ठहरिए, जसले महिलाको अस्तित्वमाथि नियन्त्रण गर्न तमाम हिंसा र शोषणलाई जायज बनाइदिए । जहाँ राज्यकै संरक्षणमा र ज्ञानकै आडमा शोषण र अपमान हुन्छ, त्यहाँ बलात्कार र हिंसा आम विषय बन्छ नै ।
लामो समयको जीवन व्यवहारमा पुरुषलाई भोक्ता र महिलालाई भोग्याका रूपमा ‘आइमाई भनेका कुटेर, चुटेर, घिसारेर, लतारेर जसरी हुन्छ भोग्ने साधन हुन्’, या ‘मर्दका दसवटी’ जस्ता सांस्कृतिक भाष्य स्थापित गर्ने गतिविधिले नै हो ऊ बेला बलात्कार त्यस्तो उल्लेख्य र दण्डनीय अपराध मानिएन । शास्त्रहरूले नै भने—
पूर्वस्त्रिय: सुरैर्भुक्ता सोम गन्धर्व वाह्यिनमी ।
भुञ्जते मानवा: पश्चान्न ता दुश्यन्ति कहिर्चित ।। (अत्रिसंहिता)
अर्थात्, स्त्रीहरूलाई देवताहरूले भोग गरिसकेपछि मात्र मनुष्यले भोग गरून् । देवताले भोग गरेका स्त्री दूषित हुँदैनन् (ज्ञाइन्द्र ब. श्रेष्ठ : हिन्दु विधिशास्त्र र नेपालको कानुनी व्यवस्था) । देवता भनेका अरू को थिए ? शक्ति र सत्तासम्पन्न पुरुष नै त थिए ! जोसँग शक्ति छ या सत्ताको मद छ, त्यसले कामेच्छा जागेका बखत कुनै पनि स्त्रीशरीरको सुखभोग गरेका दृष्टान्तहरू समाजले सुन्दै–सुनाउँदै आएका कथा र पुराणभरि छरिएकै त छन् !
जब समाज व्यवस्थालाई कसुर र सजायको थितिमा बाँध्ने (कानुनमा व्यवस्था गर्ने) परम्पराको लिखित थालनी गरियो, यो जात र समुदायअनुसार फरकफरक रूप र सर्तमा लागू हुने भयो । विसं १९१० को मुलुकी ऐनले ‘करणी गन्र्याको’ उही कसुरमा तागाधारी, नमासिन्या मतुवाली र मासिन्या मतुवालीका हकमा विभेदकारी व्यवस्था गर्यो । त्यसो त यो व्यवस्था महिलाको हित र आत्मसम्मानको रक्षाका लागि थिँदै थिएन बरु पुरुषप्रधान सामाजिक रीत र जातीय सोपानक्रमको रक्षार्थ बनेको थियो ।
स्मृति, संहिता या थिति जे भनौं, यी सबैले बलात्कारलाई पुरुष–श्रेष्ठता र महिलाको अशुद्धताको चाबी बनाए । पछिल्ला संशोधित कानुनसम्म आइपुग्दा बलात्कार एक संगीन अपराधका रूपमा परिभाषित त भयो तर कागजमा तोकिएका दण्ड–सजायका निर्धारक भने शक्ति र सत्ता नै रहँदै आए । नमिता–सुनिता–नीरा बलात्कार र हत्या एउटा चर्चित काण्ड थियो र धेरैका सम्झनामा त्यो रहिरहेको छ । पञ्चायत र प्रजातन्त्रकै कालखण्डका समेत ‘पावर गेम’ चल्न सक्ने अनेकौं घटना न चर्चामा आए न पीडितले न्याय पाए । तर यही क्रम गणतन्त्रकालमा समेत निरन्तर छ । सबभन्दा पीडादायी र आक्रोश उमार्ने कुरा यही हो ।
महिलाले न्याय पाउने व्यवस्था कुन हो त आखिर ?
यी पंक्ति लेख्न बस्दाबस्दै आइपुगेको छ डडेल्धुराकी अस्मिता धामी (वर्ष २७) को हत्याको खबर ! धामी परशुराम नगरपालिकास्थित जमरानी स्वास्थ्यचौकीकी कार्यालय सहायक थिइन् । कोभिड खोप अभियानका बचेका खोपहरू फिर्ता गर्न असार २ गते जोगबुढा अस्पतालतर्फ हिँडेकी । बीचैबाट हराइन् । तीन दिनपछि उनको शब भेटियो । बलात्कारपछि हत्या भएको हुन सक्ने धेरै आधार फेला परेको यो घटनामा प्रहरी अनुसन्धान भइरहेको समाचार छ । यसले सुदूरपश्चिमकै विवादित प्रकरणहरू निर्मला र भागरथीका नियतिको आशंका पनि दिएको छ । धामी उही नियतिको सिकार बन्नु नपरोस् । डडेल्धुरा प्रहरी र जिल्ला अदालतले सही न्याय निरूपण गरून् । यति कामना गरौं ।
केही दिनअघि कैलालीमा आफ्नै ५१ वर्षे पिताले १० वर्षकी छोरीलाई बलात्कारपछि हत्या गरेर गोठमा झुन्ड्यादिएको खबर सुनियो !
वृद्ध ससुराको सेवार्थ खटिएकी बुहारी (सविता भण्डारी) लाई तिनै ससुराले हदैसम्म घृणित यौन दुव्र्यवहार गरेको तथ्य र पृष्ठभूमिमा चितवनमा भएको कथित ‘आत्महत्या’ प्रकरण अदालतमा विचाराधीन छ ।
बिहे भएको २७ दिनमै रूपन्देहीको सैनामैनास्थित घरमा मृत भेटिएकी विष्णु बरालको सत्यतथ्य के हो ? पुष्ट खबर आइसकेको छैन ।
चितवनको माडीमा ४ वर्षअघि बलात्कारपछि मारिएका दीपिका–दीपशीला सुनारको समग्र प्रकरणलाई कसरी भोट राजनीति र शक्तिकेन्द्रको भुलभुलैयामा फँसाइयो भन्ने तथ्य यी आँखा र अनुभवमा ताजै छन् । आफ्नै बाबुबाट असंख्यपल्ट बलात्कृत हुँदा आसुसमेत निख्रिएर कठोर भइसकेकी एक कलेज छात्राका बयान स्मृतिभरि झलझली छन् । बाबु, दाजु, मामा, काकालगायत आत्मीय सम्बन्धका आफन्तले गरेका जघन्य यौन शोषणबाट भयाक्रान्त छोरीबहिनीहरूका गला अवरुद्ध पार्ने कथा उत्ति छन् ! बन्द घरघरभित्र पसेर खबरदारी गर्न नसके पनि सुरक्षा र न्याय माग्न आउँदा राज्यले ‘तिम्रो म छु !’ भन्न सक्नुपर्ने हो । समाजको विवेकले ‘हामी तिमीलाई साथ दिन्छौं’ भन्नुपर्ने हो । तर टाढाटाढासम्म त्यसको गुन्जाइस सुनिँदैन ।
यो समाज कतिन्जेल आमा–छोरी–बहिनी–भान्जीहरूको भोग खाएर मुस्कुराइरहन सक्छ ? समाजलाई किन सरम लाग्दैन ?
यौनहिंसा र बलात्कार पुलिंगकेन्द्री विषाक्त संस्कृति र घोर शोषणकारी अर्थ–सामाजिक प्रणालीको उपज हो भन्ने तय छ भने, अब भन्नुस्, यसको उपचार कहाँबाट सम्भव छ ? परिवार, समाज या राज्यबाट अलगअलग कि सबै ठाउँबाट एकैसाथ ? हामीलाई चाहिएको एउटा अहिंस्रक, स्वस्थ चेतनाको समाज हो । यसको सुरुआत हामीबाटै हुनुपर्छ । आफ्नै परिवारबाट, आफ्नै समुदाय र समाजबाट । यति हुन सक्यो भने राज्य र यसका निकायहरू स्वत: जवाफदेह बन्नुपर्नेछ ।
के हामी यसो गर्न तयार छौं ? इकान्तिपुरबाट
मकवानपुर । बागमति प्रदेश समाजिक विकाश मन्त्री सरस्वती बस्नेतले सरकार बाल श्रम अन्त्य गर्न कटिबद्ध रहेकाे बताएकी छन् । ‘बाल अधिकार महासन्धिले निर्दिष्ट गरेको आधारमा नेपालमा बालबालिकाका अधिकार सम्बन्धिकानुन ऐन नियमहरु तर्जुमा गरिएको छ, याे हामी सबैकाे कर्तव्य पनि हाे’ मन्त्री बस्नेतले भनिन् ।
बालश्रम उन्मुलनको लागी अन्तराष्ट्रिय बर्ष २०२१ को सन्दर्भ र बाल श्रम बिरुद्धको विश्व दिवस जुन १२ को अबसरमा अहिल्यै काम थालौः बालश्रमको अन्त्य गरौ भन्ने नाराका साथ बालश्रम अन्त्यका लागि बागमति प्रदेश स्तरिय अन्तरक्रिया कायर्यक्रममा मन्त्री बस्नेतले यस्ताे बताएकी हुन् ।
सरकार र नागरिक समाजको सहकार्य बाट बालश्रम जस्तो सामाजिक र कानुनी अपराध समाजबाट अन्त्य गर्न सक्ने बताउँदै मन्त्री बस्नेतले सामाजिक संस्थालाई सहकार्य गर्न अनुरोध गरिन्।कोभिडका कारण आमाबाबु गुमाएका बालबालिकाहरुको लागि प्रति महिना तीनहजार पाउने गरि सरकारले सामाजिक सुरक्षा ब्यबस्थापन गरेको बस्नेतले बताइन् ।
बालश्रम निवारणका लागि बागमती प्रदेशस्तरीय संबाद कार्यक्रम राष्ट्रिय बालसंरक्षण संजालका अध्यक्ष ऋतु भट्ट राईको अध्यक्षता तथा बागमति प्रदेश सामाजिक विकाश मन्त्री सरस्वती बस्नेतको प्रमुख आतिथ्यमा भएकाे थियाे ।
यसै गरि प्रदेश सांसद जुनेली श्रेष्ठले बालबालिकाको संरक्षणको लागि पर्याप्त बजेटको ब्यबस्था गर्नु पर्ने, स्थानिय सरकारले नीति बनाएरै बालश्रमको अन्त्य गर्न आग्रह गर्नुपर्ने, बालबालका लक्षित बजेट जहा जानु पर्ने हो त्याहा पुग्न नसकेको र पहुँचको आधारमा बजेट खर्च हुने गरेकाे पाईएकोले अब बिपन्न, बाल श्रमिक , बिधालय बाहिर रहेका बालबालिकालाई बिधालय भित्र्याउन बजेट उपयोगि हुनु पर्ने बताइन् ।
बागमती प्रदेश सभा सदस्य माननीय जुनेली श्रेष्ठकाे बिशेष आतिथ्य रहेकाे कार्यक्रममा बाल अधिकार अभियन्ता एबं बाल श्रमको क्षेत्रमा नेपालका बिशेषज्ञ उद्धब पौडेलले बागमती प्रदेशमा बालश्रम गर्ने बालबालिकाको अबस्था, नेपालको बालश्रम अन्त्य गर्ने नीतिगत ब्यबस्था, सरकारको योजनाहरु, बालश्रम अन्त्य गर्न चुनौतीका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
यसै गरि युमेस का गुहेश्वरि तुलाधर, जिएमएसएस का सोम लामा, बाल श्रमिकहरु सुधा पौडेल, अन्जील राय, अम्बीका कार्कि, लगायतका ब्यक्तिहरुले बागमती प्रदेशको बाल श्रमको अवस्थाको बारेमा जानकारी तथा रोकथामको लागी नेपाल सरकार तथा नागरिक संगठनहरुको सम्बोधनका प्रयासहरुको पहिचान र बाल श्रम अन्तका लागी प्रदेश सरकार, स्थानिय सरकार तथा नागरिक संगठनहरुको साझा प्रयासका बारेमा बताएकाे राष्ट्रिय बालसंरक्षण संजाल, नेपाल सचिब प्रकाश खतिवडाले बताए ।