देश अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट बच्न र बचाउन लागिपरेको छ । आजको दिनसम्म आइपुग्दा यस महामारीका कारण विश्वमा लाखौं व्यक्तिले आफ्नो अमूल्य ज्यान गुमाइसकेको अवस्था छ भने लाखौं सङ्क्रमितको अवस्थामा छन् । यो कति समयसम्म लम्बिने हो यसको पनि कुनै लेखाजोखा छैन । पूर्व सावधानीका बाबजुत पनि नेपालमा यस रोगका कारण दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो अवस्थामा छ ।
यो निकै चिन्ता र चासोको विषय हो । जनताको स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना सम्पूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु र तोकिएका स्वास्थ्य मापदण्डको पालना गर्नु गराउनु राज्यका हरेक निकाय तथा नागरिक समाजको दायित्व हुन्छ ।
घर परिवार भनेको बालबालिकाको पहिलो पाठशाला हो । बाबुआमा तथा अभिभावक भनेका बालबालिकाको पहिलो गुरु हुन् । भनिन्छ– बालबालिकाको ९० प्रतिशत सिकाइ अरुको अनुकरणबाट हुने गर्दछ । उनीहरुले अरुले भनेको सुनेर, गरेको देखेर, अभिनय गरेर, छोएर, चलाएर वा अनुभूति गरेर धेरै कुरा सिक्न सक्छन् । बालमस्तिष्क आलो काँचो हुन्छ । सुरुमा जस्तो कुरा सिकायो वा सुन्यो त्यही नै उनीहरुको मानसपटलमा दीर्घकालसम्म दिगो भएर बसेको हुन्छ ।
लामो समयसम्म घरमा बस्दा मानसिक तनाव उत्पन्न हुनसक्छ । यस्तो अवस्थामा बालबालिकालाई सम्हाल्न र उनीहरुको पठनपाठनलाई सहज बनाउन निकै समस्या परिरहेको हामीले देखिरहेका छौं । बालबालिकाको यस उर्वर र सम्वेदनशील समयमा उनीहरुको दिनचर्यालाई कसरी सहज बनाउने ? उनीहरुको मानसिक तनावलाई कसरी सामान्यीकरण गर्ने र यो सिकाइको उमेर समूहलाई कसरी उपलब्धिमूलक बनाउने भन्ने कुरा सबै अभिभावकका लागि निकै अहम् सवाल बन्न पुगेको छ ।
बालबालिका स्वभावैले चञ्चले स्वाभावका हुन्छन् । उनीहरु एकै ठाउँमा स्थिर वा संयम भएर बस्न सक्दैनन् र उनीहरुको गतिशिलता तथा शारीरिक एवं मानसिक विशेषताका आधारमा कुनै न कुनै सिकाइ प्रक्रियामा सहभागी गराउँदै लकडाउनको समयलाई थप उपयोगी र कामयाबी बनाउनु अर्को चुनौतीको विषय पनि हो । यस्तो अवस्थामा बालबालिकालाई घरमा बसेर पनि धेरै कुराहरु सिकाउन सकिन्छ भन्ने उद्देश्यले यो सामग्री तयार गरिएको हो । यसले गर्दा हामी शिक्षक तथा अभिभावक वर्गलाई घरमै बसेर पनि वैकल्पिक एवं अनौपचारिक तवरले बालबालिकालाई धेरै ज्ञानवर्द्धक कुरा सिकाउन सकिन्छ भन्ने यस लेखको आशय हो ।
घर परिवार भनेको बालबालिकाको पहिलो पाठशाला हो । बाबुआमा तथा अभिभावक भनेका बालबालिकाको पहिलो गुरु हुन् । भनिन्छ– बालबालिकाको ९० प्रतिशत सिकाइ अरुको अनुकरणबाट हुने गर्दछ । उनीहरुले अरुले भनेको सुनेर, गरेको देखेर, अभिनय गरेर, छोएर, चलाएर वा अनुभूति गरेर धेरै कुरा सिक्न सक्छन् । बालमस्तिष्क आलो काँचो हुन्छ । सुरुमा जस्तो कुरा सिकायो वा सुन्यो त्यही नै उनीहरुको मानसपटलमा दीर्घकालसम्म दिगो भएर बसेको हुन्छ । कतिपय बालबालिकाको जिज्ञासामा हामी प्रौढहरु रिसाउने, झर्कने वा कुनै चिज बिग्रन्छ भनेर छुन वा अनुभूति गर्नै नदिने र बालबालिकालाई सिक्ने अवसर नै नदिने गर्छौं । यो बिलकुल गलत कुरा हो ।
शौचालयमा मात्र दिसा पिसाब गर्ने, जहाँपायो त्यहीँ नथुक्ने, हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, कपाल कोर्ने, हात खुट्टाका नङ काट्ने, बोल्दा मृदुभाषी, सम्मानजनक र विनयशील शब्द चयन गर्ने आदि कुराहरुमा हामी शिक्षक तथा अभिभावकले निकै ध्यान दिनुपर्छ ।
विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ कि, “जसले कुनै गल्ति गर्दैन उसले कुनै पनि कुरा सिक्दैन ।” हामीले उनीहरुको जिज्ञासालाई समयमा र सहीरूपमा सम्बोधन गरेनौं भने उनीहरुको बालमस्तिष्कमा सधै खुल्दुली र अन्योल कायम भैरहन्छ । र, उनीहरुको सिकाइको चाहना र उत्प्रेरणा मरेर जान्छ । फलतः सिकाइ कमजोर हुन पुग्छ । मनोवैज्ञानिक थर्नडाइकको भनाइमा प्रयत्न र भुलबाट नै धेरै सिकाइ हुन्छ । हामीले बालबालिकाको अगाडि सामुन्ने वा उनीहरुले थाहा पाउने गरी कुनै गलत काम गर्नुहुँदैन ।
पहिलो कुरा त हामी कुनै पनि कुलतमा लाग्नु हुँदैन र कथंकदाचित लागेको छ भने पनि बालबालिकाको अगाडि ती कुरा प्रदर्शन गर्यौं भने त्यसको नकारात्मक प्रभाव सिधै उनीहरुमा पर्न जान्छ । जस्तैः सुर्तिजन्य पदार्थ तथा मादक पदार्थ कुनै पनि अवस्थामा सेवन गर्नुहुँदैन । त्यसैगरी शौचालयमा मात्र दिसा पिसाब गर्ने, जहाँपायो त्यहीँ नथुक्ने, हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, कपाल कोर्ने, हात खुट्टाका नङ काट्ने, बोल्दा मृदुभाषी, सम्मानजनक र विनयशील शब्द चयन गर्ने आदि कुराहरुमा हामी शिक्षक तथा अभिभावकले निकै ध्यान दिनुपर्छ ।
भाषा सञ्चारको माध्यम हो । विदेशी वा अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अङ्ग्रेजी भाषाका कारण हाम्रा बालबालिकाले हाम्रो मौलिक भाषा संस्कृति र परम्परालाई बिर्साइदिएको छ । यो गलत कुरा हो । भाषा सिक्नु राम्रो हो तर भाषाको नाममा आफ्नो पहिचान नै मेट्नु गलत हो । बुबा, आमा, मुमा, दाजु भाइ, दिज्यू सानोबुबा, हजुरबुवा हजुरआमा जस्ता हाम्रा नेपाली भाषी साइनोहरुलाई बिगारेर अङ्ग्रेजीकरण गर्दागर्दा ड्याडी, मम्मी, ब्रदर, सिस्टर, अङ्कल, ग्राण्ड पा, ग्राण्ड मा आदि भन्दै गर्दा हाम्रा बालबालिकाले आफ्नो पहिचान नै बिर्सने अवस्था पनि आएको छ ।
यसकारण बालबालिकाको सिकाइमा अङ्ग्रेजीलाई मात्र महत्व नदिएर नेपाली भाषालाई प्राथमिकतामा राखेर सिकाउनु बेस हुन्छ । हामी अभिभावक पनि बच्चाले अङ्ग्रेजी बोल्दा मख्ख हुन्छौँ । हामीले यो बुझौं कि भाषाभन्दा विषयवस्तु सिक्नु ठूलो कुरा हो । यसको मतलब अङ्ग्रेजी नसिकाउनु भन्न खोजेको भने होइन ।
परिवारमा सिकाइ
सुप्रसिद्ध वैज्ञानिक एवं शिक्षाविद् अल्बर्ट आइन्सटाइनले भन्नुभएको छ “I never teach my pupil= I only attempt to provide the condition in which they can learn” हो । वास्तवमा शिक्षकवा अभिभावकले बालबालिकालाई पढाउने होइन । उनीहरुले त सिक्नका लागि अनुकूल वातावरण बनाइदिने हो । बालबालिकाको दिमाग रित्तो हुँदैन । यो जहिले पनि सुषुप्त हुन्छ । यसमा अनुकूलता हुने बिक्तिकै सिकाइ सत्रिय हुन थाल्छ । अतः लकडाउनको समयमा बालबालिकालाई अभिभावकले विभिन्न कुरामा कुनै अभिनय वा कथा, कहानी वा प्रवचनको माध्यमबाट र स्वयं काम गरेर वा प्रदर्शनबाट पनि धेरै कुरा सिकाउन सकिन्छ । यसका लागि हामीले दैनिक कार्यतालिका बनाउन सकिन्छ ।
यसबमोजिम नियमितरूपमा बालबालिकालाई झर्को नलाग्ने गरी देहायका विषयमा सिकाउन तथा अभिनयको माध्यमबाट पनि प्रदर्शन गर्न र उनीहरुको मानसपटलमा छाप बसाल्न सक्छौं । यसका लागि विशेषतः प्राथमिक तह (कक्षा १–५)का बालबालिकालाई पाठ्यक्रममा अन्तरनिहित विभिन्न सिकाइ उपलब्धि हासिल हुने गरी प्रत्यक्ष वा परोक्षरूपमा उनीहरुलाई यसप्रकार सिकाउन सकिन्छ :
१) हाम्रो वरिपरिको वातावरण र यसको संरक्षण वृक्षारोपण, रुख विरुवाको महत्वका बारेमा सिकाउन सक्छौं । जस्तैः महत्वपूर्ण र गुणकारी वृक्ष तुलसी तथा पिपलको बोटको महत्व यसको संरक्षण र यसबाट हुने फाइदाका बारेमा बताउन सकिन्छ ।
२) घर आँगन तथा करेसावारीको सरसफाइ फोहरमैलाको बिसर्जन गर्ने तरिका तथा फोहरमैलाबाट सर्नसक्ने रोग र यसबाट आउनसक्ने सम्भावित जोखिमका बारेमा प्रत्यक्ष बताउन सकिन्छ ।
३) बालबालिकालाई आफ्नो भाषा, संस्कृति, रहनसहन, भेषभुषा, मौलिक परम्परा, बानी व्यहोरा र पालन गर्नुपर्ने आचारसंहिता सिकाउन सकिन्छ । यसले गर्दा बालबालिकाले आफ्नो भाषा, संस्कृति, पहिचान सिक्नुका साथै उनीहरुमा सामाजिकीकरण हुन पनि मद्दत पुग्दछ ।
४) करेसाबारी निर्माण, तरकारी बगैँचा, कौशी खेती (छत र बरण्डामा) र यसको महत्व तथा फाइदाका बारेमा बताउन सकिन्छ । यसले गर्दा वरिपरिको वातावरण हरियाली र स्वच्छ हुनुका साथै स्वावलम्बी बन्ने र श्रमप्रति सम्मान गर्ने बानीको विकास पनि गराउन सकिन्छ ।
५) पाहुना र अतिथि सत्कार, विनयशीलता, नम्रता र आज्ञाकारिता तथा यसको महत्वका बारेमा दीक्षित गराउन सकिन्छ । अतिथि देवो भवःको मर्मबमोजिम बालबालिकामा हाम्रो अलग्गै पहिचान छ । यसको संरक्षण र सम्वर्द्धन गरिनुपर्छ भन्ने बारेमा आफू नै नमुना पात्र बनेर सिकाउन सकिन्छ ।
भनिन्छ, बालबालिका तथा युवा भविष्यका कर्णधार मात्र हैनन् वर्तमानका साझेदार पनि हुन् । उनीहरुको यस उर्वर र सिकाइको मूल जग बसाल्ने समयको सही सदुपयोग हुन सकेन भने यसले सुदूर भविष्यसम्म पनि नकारात्मक प्रभाव पर्दछ । अतः हामी सबैले यो सम्वेदनशील समयको महत्वबोध गरी बालबालिकाको समय व्यवस्थापन र सिकाइका लागि थप सजग र सम्वेदनशील बन्नु जरुरी छ ।
६) घरमा बस्दा संगीतको ज्ञान (हार्मोनियम, मादल, बाँसुरी, गिटार, झ्याली, म्युजिक बोर्ड……..आदि) उनीहरुसँग आफै खेलिदिनोस् । उनीहरुले नजाने पनि बिगारे पनि ‘स्याबास् राम्रो छ, अझै राम्रो गर्नुपर्छ’ भनेर हौसला र उर्जा थपिदिनुहोस् । यसबाट उनीहरु थप उप्रेरित हुन्छन् । किनकी उत्प्रेरणा भनेको सिकाइको आधार हो ।
७) बालबालिकालाई आफ्नो काम आफै गर्नुपर्छ भन्ने सन्देश दिन र स्वावलम्बी बन्ने बानी सिकाउन कपडा धुने, आइरन गर्ने तरिका, कपडा पट्याएर राख्ने तरिका, आफ्नो सामानको हिफाजत गर्ने, पानी भर्ने, कोठा सफा गर्ने वा फोहोरमैला विसर्जन गर्ने जस्ता स्वावलम्बी बन्ने तरिका सिकाउन सकिन्छ । यसबाट बालबालिकामा आत्मनिर्भर बन्ने बानीको विकास क्रमशः हुँदै जान्छ ।
८) शौचालय प्रयोग गरिसकेपछि पानी हालेर सफा गर्नुपर्छ तथा धाराको प्रयोग गरिसकेपछि बन्द गर्नुपर्छ र शौचालय तथा धारा वरिपरि नियमितरूपमा सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन सकिन्छ । यसको लागि उनीहरुलाई नै व्यवहारिक अभ्यास गराउन सकिन्छ ।
९) हाम्रा मौलिक संस्कृतिका बारेमा (चाडबाड र परम्परा) जस्तै दसैं, तिहार, श्रीपञ्चमी, बुद्धजयन्ती जनैपूर्णिमा, इद, क्रिस्मस आदि पर्वको महत्वका बारेमा सिकाउन सकिन्छ । कतिपय हाम्रा चाडपर्व पौराणिक वा धार्मिक वा सनातन धर्मसँग जोडिएका छन् भने कतिपय हाम्रा पर्वमा वैज्ञानिक कारण पनि जोडिएको छ । जस्तै छठ पर्व । यसमा सूर्यको आराधना गरिन्छ किनकी सूर्यलाई हामी भगवानको रूपमा मान्छौं किनभने सूर्यको अभावमा सारा सृष्टि रहदैन । सबैलाई बचाउने र संरक्षण गर्ने भएर सूर्यलाई भगवान भनिएको हो । सूर्य शक्ति र उर्जाको स्रोत पनि हो । यसरी यसमा भएको वैज्ञानिक कारण बताइदिएर बालबालिकाको खुल्दुली मेटाउन सकिन्छ ।
१०) कतिपय घटनामा भौगर्भिक वा प्राकृतिक एवं वैज्ञानिक कारण जोडिएका हुन्छन् जस्तैः पानी पर्ने, बादल लाग्ने, असिना पर्ने, भूकम्प जाने कारण र यसबाट बच्ने उपाय, दिन रात कसरी हुन्छ ? जस्ता प्रश्नहरुलाई तार्किक र वैज्ञानिक कारणका माध्यमबाट बालबालिकाको जिज्ञासा शान्त पार्न सकिन्छ । यस्ता सामान्य कुराहरुका लागि कुनै थप विषयगत ज्ञान चाहिँदैन । यसका लागि अभिभावकहरुले माध्यमिक तहमा अध्ययन गरेको र बुझेको ज्ञान नै पर्याप्त हुन्छ ।
११) शरीर स्वस्थ राख्ने विभिन्न उपायमध्ये योग र शारीरिक व्यायाम पनि महत्वपूर्ण छ । यसका बारेमा बालबालिकामा प्रत्यक्ष अभ्यासबाट सिकाउन सकिन्छ । यो प्रक्रियाले सबैलाई फाइदा पुर्याउँछ । योगले मानसिक तनाव व्यवस्थापन गर्नुका साथै शारीरिक र संवेगात्मक तनावको समाधान पनि गर्दछ । यो बालबालिकाको लागि अत्यन्त महत्वपूर्ण छ ।
१२) घरमा रहँदा अभिभावले खेलकुद क्रियाकलापमा सहभागी बन्न सकिन्छ । यसका लागि इन्डोर वा आउटडोर खेल ब्याडमिन्टन, चेस, लुडो, क्यारमबोर्ड, फुटवल, भलिबल, टेबल टेनिस आदि खेलकुद सिकाउन र अभ्यास गराउन सकिन्छ । खेलकुद र सङ्गीत भनेपछि बालबालिका हुरुक्कै हुन्छन् ।
१३) कहिलेकाहीँ शब्दार्थ सिकाइ अन्ताक्षरी वा वर्ड मिनिङ् खेलेर बालबालिकाको शब्द भण्डार बढाउन सकिन्छ । यसमा सानो सानो पुरस्कारको घोषणा गरिदिनुहोस् र बालबालिकासँग पनि आफै खेल्नुहोस् । जस्तै : World – Door – River – rose – elephant – tomato – orange – engine – ecosystem- mango आदि । यसबाट बालबालिकामा लेखन र बाचन कलामा निखार ल्याउन मदत गर्दछ ।
१४) बालबालिकालाई घरमा गीत सङ्गीत सिकाउनुहोस् । मनोरञ्जनात्मक र सन्देशमूलक गीत सिकाउनुहोस् । यसका लागि अन्ताक्षरी गीत गाउन सकिन्छ । यसले बालबालिकाको मन मष्तिस्कलाई ताजा बनाउँछ, तनाव व्यवस्थापन गर्छ र काम गर्ने स्फूर्ति बढाउँछ । आफूले गाउन वा नाच्न सुरु गर्नोस् र बालबालिकालाई सँगै गाउन र नाच्न लगाउनुहोस् । यसबाट वातावरण थप रमणीय बन्न जान्छ । बालबालिकाले गाउँदा वा नाच्दा नजाने पनि वा बिग्रिए पनि नकारात्मक टिप्पणी नगर्नोस् । सधैं सकारात्मक उर्जा थप्ने काम गर्नोस् । राम्रो छ, अति उत्कृट आदि भनेर उनीहरुलाई थप प्रोत्साहित गरी थप काम गर्नेतर्फ उत्प्रेरित गर्नोस् ।
१५) लकडाउनको समयमा बालबालिकासँग सँगै बसेर ज्ञानवर्द्धक र सन्देशमूलक चलचित्र पनि हेर्न सकिन्छ । यसबाट नयाँ नयाँ सूचना र सोच लिन तथा सिक्न पनि सकिन्छ ।
१६) त्यसैगरी स्वास्थ्य सचेतनाअन्तर्गत बालबालिकालाई हात धुने तरिकाका बारेमा व्यवहारिक अभ्यास गराउनुहोस् । यो कोभिड–१९ का लागि मात्र हैन अरु समयका लागि पनि काम लाग्छ । त्यसैगरी सेनिटाइजर प्रयोग गर्ने तरिका, मास्क लगाउने र सफा गर्ने तरिका सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्डका बारेमा जानकारी गराउन सकिन्छ ।
१७) घरमै बसेर आधुनिक कम्प्युटर वा अन्य सूचना प्रविधि सिकाउन वा सिक्न सकिन्छ । यसमा विभिन्न ग्राफिक डिजाइन गर्ने, सामाजिक सञ्जाल गुगल, युट्युब वा अन्य ज्ञानका भण्डार वा सामग्री डाउनलोड गरेर पढ्न सकिन्छ । फोटोसपमा गएर विभिन्न चित्र वा ग्राफिक डिजाइनहरू बनाउन सकिन्छ । वास्तवमा आधुनिक प्रविधिको प्रयोगबाट बालबालिका धेरै सुचनामूलक र नयाँ नयाँ प्रविधिमा धेरै फरवार्ड भैसकेका छन् ।
अन्तमा, बालबालिकाप्रति अभिभावकको दायित्व अरु बेलाभन्दा यस लकडाउनको समयमा बढी हुने भएकोले यसलाई सहज, रमणीय, तनावमुक्त र उपलब्धिमूलक बनाउन सकियो भने यो सबैका लागि सुखद विषय पनि हो । भनिन्छ, बालबालिका तथा युवा भविष्यका कर्णधार मात्र हैनन् वर्तमानका साझेदार पनि हुन् । उनीहरुको यस उर्वर र सिकाइको मूल जग बसाल्ने समयको सही सदुपयोग हुन सकेन भने यसले सुदूर भविष्यसम्म पनि नकारात्मक प्रभाव पर्दछ । अतः हामी सबैले यो सम्वेदनशील समयको महत्वबोध गरी बालबालिकाको समय व्यवस्थापन र सिकाइका लागि थप सजग र सम्वेदनशील बन्नु जरुरी छ । भविष्यमा देश हाक्ने यी सारथीको दिनचर्यालाई उपलब्धिमूलक र ज्ञानवर्द्धक बनाउन सकिएमा देशले सही गन्तव्य लिएको ठहर्छ । जय शिक्षा, जय बालबालिका ।
लेखक हाल राष्ट्रिय युवा परिषद् सानोठिमीमा उपसचिव पदमा कार्यरत छन् ।
साभारः edupatra.com
हेटाैंडामा “स्मृतिमा अप्सरा” वृत्तचित्र सार्वजनिक तथा श्रद्धाञ्जली कार्यक्रम (वृत्तचित्र सहित)
Tags: No Comments
मकवानपुर/ साहित्यकार अप्सरा तिम्सिना लम्सालको स्मृतिमा तयार पारीएको वृत्तचित्र “स्मृतिमा अप्सरा” सार्वजनिक गरिएको छ । आँचल साहित्य कला पुञ्जको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम तथा वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र एनएस टेलीभिजनले तयार पारेको हो ।
भर्चुअल बसाईमा आयोजना गरिएको श्रद्धाञ्जली समारोह तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा साहित्यकार माया ठकुरीले अप्सराको स्मृत अझै ताजै रहेको बताउनु भयो । साहित्यकार अप्सराको रचना शत्तिको उच्च मुल्य रहेको बताउनु हुर्दै ठकुरीले भन्नुभयो “मोफसलमा रहेर उहाँले साहित्य सिर्जना, शिक्षण पेशा, परिवारक सामाजिक जिम्मेवारीबाट आफू समेत प्रभावित छु ।” “अप्सरा बहिनीले मलाई दिनु भएको उहाँका केही कृतिहरु मसँग अझै छन्, अब व्यक्ति हैन, पुस्तकालयलाई ति कृति उपलब्ध गराउने छु, उहाँको रचनालाई धेरैभन्दा धेरैले पढुन् भन्ने मेरो चाहाना सधैं रहने छ,” साहित्यकार ठकुरीले भन्नुभयो ।
साहित्यकार तिम्सिनाको स्वर्गारोहणपछि उहाँको स्मृतिमा तयार पारीएको वृत्तचित्रबाट उहाँलाई अझै चिनारी बढाएको कथाकार ललिता दोषिले बताउनु भयो । यसैगरी साहित्यकार तुल्सि थापाले सचेत सिर्जनशिल क्षमताकी धनि साहित्यकार अप्सराको साहित्यक भाषा अत्येन्तै मिठासपूर्ण भएको बताउनु भयो ।

कार्यक्रममा व्याङ्ग्यकार आर.सी चौलागाईं, साहित्यकारहरु उज्वल शर्मा भण्डारी,देवराज तिवारीलगातले उहाँको सपनालाई पूर्णता दिन सक्दा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । रमाइलो व्यवहार, मृदुभाषी स्वाभव सधैं स्मरणमा रहेको उहाँहरुले बताउनु भयो ।
साहित्यसँगै उहाँको शिक्षण सिप पनि अति नै राम्रो भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका श्रीराम दाहालले बताउनु भयो । “उहाँले शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो, स्थानीय संघसंस्थाहरुमा पनि उहाँको नेतृत्व रहेको थियो, आफ्नो तर्फबाट सके र भ्याएजति लगााब राख्ने स्वाभावको हुनुहुन्थ्यो” दाहालले भन्नुभयो ।
आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निरा शर्मा, सुबास खनाल, दीपक गौतम, शान्तिप्रिय बन्दना, गणेशकुमार पौडेल, डीबि बर्तौलालगायतले साहित्यकार तिम्सिनाको अभावले मकवानपुर र सिङ्गो राष्ट्रको लागि अपुरणीय क्षति पुगेको बताए । वक्ताहरुले स्वार्गिय साहित्यकार तिम्सिनाको कृति रचनाहरुको बारेमा स्मरण गरेका थिए ।
उहाँको स्मरणमा आँचल साहित्य कला पुञ्जले “स्मृति ग्रन्थ” प्रकाशनको अन्तिम चरणमा पुगेको आँचलले जनाएको छ । साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले सार्वजनिक गरेको हाे । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको छायाङ्कन/सम्पादन र कृष्ण मरासिनीको चित्र सजावट तथा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलको आवाज रहेको वृत्तचित्र यहाँ हेर्न सक्नुहुने छ :
महिलामाथि अन्याय कहिलेसम्म ?
Tags: No Comments

सात महिनाको गर्भ लिएर उहाँ सम्बन्ध विच्छेदको लागि अदालत आइपुग्नु भयो । जिल्ला कानुनी सहायता समितिको परिसरमा भेटिनु भएको उहाँले गर्भको बच्चा जन्मञ्जेल पनि श्रीमानसँग बस्न सक्ने अवस्था नभएको बताउनु भयो ।
- मकवानपुर / घटना ‘क’ ‘श्रीमानसँग छुट्टिएर आफ्नो जीवन सहज होला भन्ने सोचेको थिएँ आज डेढ बर्ष वित्यो । अदालत धाईरहनु परेको छ । श्रीमानसँग रहदाको पीडा र यो परिस्थितीमा अदालत धाइरहनु पर्दाको पीडा उस्तै उस्तै छ । मुद्दा चलिरहदाको संघर्ष, कुरा काट्नेहरुको शब्दवाण हामी महिलाहरुको लागि धेरै पीडादायि छ’ उहाँले एकै स्वासमा भन्नुभयो । उहाँ अर्थात हेटौडा उपमहानगरपालिका– १७ की ३१ वर्षिय महिला ।
‘एक दिन हैन, दुई दिन हैन कति सहनु, मैले हिंसा सहेपछि उसलाई झन् हिम्मत जाग्दो रहेछ, घरमा सँधैको रडाको । अनि रोजे छुट्टीएर एक्लो हुने बाटो । अहिले लाग्छ, उबेला हिंसा चुपचाप सहेर बस्न भन्दा गाह्रो अदालत धाउनुमा छ । हरेक दिन यो भयो र उ भयो भनिरहन दिक्दारी, मानसिक पीडा, कहिले त मनोबल नै सबै हराउँछ, फेरी सारा हिम्मत जुटाउँछु र अदालतको बाटो लाग्छु ।’
पहिला एउटै विकल्प सम्बन्ध विच्छेद गरे दुईटा सन्तान मज्जाले पाल्न सक्छु भन्ने लाग्यो उहाँले भन्नुभयाे – ‘श्रीमानले दिनहुँ रक्सि पिएर मरणासन्न हुने गरि पिट्थे, बालबच्चाहरु समेत वास्ता नगर्ने, दिनरात झगडा गर्ने, पोईला जा भन्ने, अर्कासँग बात लगाउने जस्ता झन्झटबाट मुक्ति पाउन मुद्दा हालेर सम्बन्ध विच्छेद त गरियो तर त्यसबेला भएका सम्झौताहरु पूरा नहुँदा अदालत धाउँदा झन पिडाबोध भईरहने रैछ ।
सम्बन्धविच्छेद पश्चात् आमाको साथमा अदालत आईपुगेकि उनले अदालतको परिसरमा आफ्नो पीडा पोखिरहिन् । समस्यामा परेपछि समस्या निराकरणको लागि हामी अदालतको बाटो समाउछौं, अदालतले हामीलाई बिना झण्झट न्याय दिने गरोस् तब पो अदालतप्रति अझै सम्मान जाग्ने थियो ।’
घटना ‘ख’,
सात महिनाको गर्भ लिएर उहाँ सम्बन्ध विच्छेदको लागि अदालत आइपुग्नु भयो । जिल्ला कानुनी सहायता समितिको परिसरमा भेटिनु भएको उहाँले गर्भको बच्चा जन्मञ्जेल पनि श्रीमानसँग बस्न सक्ने अवस्था नभएको बताउनु भयो । आराम गर्नुपर्ने, पोषिलो तथा स्वास्थ्यबर्धक खाने कुरा खानु पर्ने बेलामा अदालतको ढोका ढकढक्याउन बाध्य भएको भन्दै उहाँले आफूमाथि चाँडै अदालतले न्याय दिलाउने आशा व्यक्त गर्नु भयो ।
कोरोना भाईरसको संक्रमणका कारण देशमा लकडाउन भएपछि सम्बन्ध विच्छेदको मुद्दा ह्वात्तै बढेका छन् । लकडाउनको समयमा अदालतहरु पनि बन्द भए, महिला हिंसाको घटनाहरु दर्तामा आएनन् तर, लकडाउन खुलेपछि महिला हिंसाको रुप देखिन थालेको छ । जिल्ला कानुन सहायत समितिकी अधिवक्ता अप्सरा बस्नेतका अनुसार अहिले उजुरीको दर बढेको छ ।
कामको शिलशिलामा छरिएर रहेका परिवार एकै छानामुनि हुँदा, काम नभई घरैमा बेरोजगारी बनेर बस्दा उब्जने मानसिक विचलन लगायतको सर्वत्र प्रभाव महिलामाथि परेको अधिवक्ता बस्नेतले बताउनु भयो । लकडाउनपछि अदालतहरु खुलेलगत्तै जिल्ला अदालतमा दैनिक ४/५ वटा मुद्दा सम्बन्ध विच्छेदका लागि नै दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरको तथ्याङक अनुसार अदालतमा दर्ता भएका २ हजार ३५ मुद्दा मध्ये ५ सय ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन । ५ सय ३१ वटा मुद्दा मध्ये ३ सय ८० ओटा फैसाला भैसकेका छन भने अझै १ सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्दा फर्स्यौट हुन बाँकी नै रहेका छन ।
धेरैजसो सम्बन्ध विच्छेका कारक तत्वहरुमा घरेलु हिंसा, श्रीमान अर्को केटीसँगको सम्बन्धमा रहनु नै भएको माईती नेपाल मकवानपुर संयोजक माया लामा बताउनुहुन्छ । त्यसैगरी पछिल्लो समय आजकल सम्पतिको लागि पनि सम्बन्ध विच्छेद हुने गरेको लामाले बताउनु भयो । सम्बन्ध विच्छेदका कारण सबैभन्दा बढि बालबालिकाहरुको स्याहार सुसारमा पर्ने गरेको छ । मेलमिलापमा सम्बन्ध विच्छेद भएको छ भने बच्चा कोसँग बस्ने राख्ने पहिले नै यकिन भैसकेको हुन्छ भने मेलमिलाप बाहेकका सम्बन्ध विच्छेदमा भने बालबालिकाहरुलाई परामर्श दिएर पठाउने गरेको पाईएको छ ।
मुलुकी संहितामा सम्बन्ध विच्छेदको दायरा फराकिलो बनाएसँगै अदालतमा यसबारे मुद्दाको चाप बढेको छ । श्रीमान श्रीमति सम्बन्ध विच्छेद गर्ने सवालमा आपसमा राजि भएर अदालत आउने हो भने, मुद्दाको किनारा पनि चाँडै लाग्ने गरेको छ । मिलेमतोमा भने आजकल धेरै सम्वन्धविच्छेद हुने गरेको उहाँको भनाई छ । यदि श्रीमतिले चाहेको खण्डमा कुनै पनि सम्पति नलिने सर्तमा तीन दिनमा सम्बन्ध विच्छेद हुने र यदि अंशवण्डाको केश भएमा भने एक वर्षसम्म मुद्दा लम्बिने गरेको लामाले बताउनु भयो ।
मुद्दाको सङख्या केहि वर्ष यता बढ्दो
मकवानपुर जिल्ला अदालतमा केहि वर्ष यता मुद्दा चापमा बृद्धि हुन थालेको छ । गत आर्थिक वर्षमा कोभिड १९ का कारण बन्दाबन्दि हुनुपुर्व अघिल्ला आर्थिक बर्षको सोहि अबधिको भन्दा धेरै मुद्धा दर्ता भएको मकवानपुर जिल्ला अदालतका श्रेष्तेदार तिर्थराज भट्टराईले बताउनु भयो । आर्थिक वर्ष ०७४।०७५ मा मकवानपुरमा एक हजार ३ सय ३५ वटा मुद्दा दर्ता भएका थिए । यस्तै ०७५।०७६ मा १ हजार ४ सय १९ वटा मुद्दा दर्ता भएका थिए भने गत आर्थिक वर्षमा बन्दाबन्दि भन्दा अगावै १ हजार १ सय ४८ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार भट्टराइले बताउनु भयो । गत आर्थिक वर्षमा ७० प्रतिशत भन्दा माथि मुद्दा फर्स्यौट गर्ने लक्ष्य भए पनि बन्दाबन्दिका कारण काम प्रभाबित भएको उहाँको भनाइ छ ।
एक वर्ष भित्रै मुद्दा फर्स्यौट गरिसक्ने तयारी
जिल्ला अदालत मकवानपुरमा ११ वटा मुद्दा दुइ वर्षसम्म फर्स्यौट हुन सकेका छैनन । कतिपय मुद्दाहरुमा बादी प्रतिबादि उपस्थित नहुने, प्रतिबादि फरार रहने विभिन्न जग्गा सम्बन्धी मुद्दामा फिल्ड भ्रमण गर्नु पर्ने लगायतका कारण मुद्दाहरु धेरै समय सम्म रहेको भट्टराईले बताउनु भयो । अब चालु आर्थिक वर्षबाट भने एक वर्ष भित्रमा नै सबै मुद्दा फैसाला हुने गरि योजना बनाइएको उहाँको भनाइ छ ।
५५ प्रतिशतभन्दा धेरै मुद्दा फैसाला
गत आर्थिक वर्षमा मकवानपुरमा ५ सय ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा जिल्ला अदालत मकवानपुरमा १ हजार १ सय ४८ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७५।०७६ का ८ सय ८७ वटा मुद्दा जिम्मेवारी सरेर गत आर्थिक वर्षमा आउदा कुल २ हजार ३५ वटा मुद्दा भएका थिए ।
२ हजार ३५ वटा मुद्दा मध्ये १ हजार १ सय २१ वटा मुद्दाको अन्तिम किनारा लागिसकेको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार भट्टराइले बताउनु भयो । ९ सय २१ ओटा मुद्दा भने चालु आर्थिक बर्षमा सरेका छन् । गत आर्थिक वर्षमा १ सय ९६ वटा लागु औषध,६१ वटा जबरजस्ती करणी, ७४ वटा सवारी ज्यान सम्बन्धी मुद्दाहरु दर्ता भएका थिए ।
डोल्मा लामा शाह बिहानै उठेर हतार हतार परिवारका लागि बिहानको खाजा तयार गर्छिन् । उनी अनलाइन कक्षाका लागि सबै तयारी गरिसकेपछि आफ्नी छोरीलाई पनि पढ्नका लागि ट्याबमा पासवर्ड हालेर तयार पारिदिन्छिन् ।
नक्सालस्थित बृहस्पती विद्यासदनकी यी शिक्षिका जब अनलाइन कक्षाका लागि जुम एपमार्फत आफ्नो अनलाईन कक्षाकोठामा प्रवेश गर्छिन्, नियमित कक्षामा भन्दा विद्यार्थीलाई अझै धेरै ध्यान दिनुपर्ने हुन्छ । अनलाइन कक्षा सञ्चालन गर्दा विद्यार्थीसँगै कतिपयको आमाबाबु पनि नजिकै वा वरपरै बसिरहने हुनाले आफूले पढाउँदा कुनै गल्ती होला कि, आफूले विद्यार्थीलाई गर्ने ब्यवहारमा कुनै विभेद होला कि, आफूले सबै विद्यार्थीलाई समान बोल्ने अवसर दिएको छ छैन लगायतका विषयमा सचेत हुनुपर्ने हुन्छ ।
कक्षा सकिने वित्तिकै भान्छामा गएर फेरि हतारहतार उनी खाना तयार पार्छिन् । खाना खाइवरि भान्छाको काम सिध्याउने वित्तिकै विद्यार्थीलाई दिइएको गृहकार्यहरू हेर्नुपर्छ । यो हेर्दाहेर्दै अर्को कक्षाको समय भइसकेको हुन्छ । कक्षा सिध्याएर परिवारका लागि खाजा बनाउने तयारी र खाजा खाएर एकैछिन पुनः गृहकार्य हेर्ने गर्नुपर्छ । बेलुकी परिवारका सबैलाई खाना खुवाइवरि ल्यापटपमा बसेर भोलि पढाउने विषयबस्तुको पावरप्वाइन्ट स्लाइड तयार पार्नु उनको लकडाउन पछिको दिनचर्या बनेको छ ।
माथिको दिनचर्या डोल्माको मात्र होइन, घर, कार्यालय, प्राकृतिक भूमिका तथा सामाजिक जिम्मेबारी धान्दै आएका अधिकांश शिक्षण पेशा अंगाल्दै आएका शिक्षिकाको हो । महिला भएकै कारण अनलाइन कक्षाले आफ्नो दिनचर्यालाई अझै बोझिलो बनाएको उनको भोगाइ छ ।
प्रविधि सिक्नु चुनौतिपूर्ण
देशमा लकडाउन सुरु हुँदा, शिक्षिका डोल्मा विद्यार्थीको अन्तिम परिक्षाको नतिजा तयारीमै ब्यस्त थिइन् । यसको केही समयपछि नयाँ शैक्षिक सत्र सुरु गर्दै विद्यार्थीलाई अनलाइन कक्षा पढाउने निर्णय उनको विद्यालयले ग¥यो । सुरु सुरुका दिनमा उनलाई निकै गाह्रो भयो । नयाँ प्रविधि भएकाले आफूलाई पनि सिक्नु पर्ने थियो । यसका साथै आफ्ना विद्यार्थी र उनीहरूका अभिभावकलाई पनि त्यसबारेमा सिकाएर कक्षा सञ्चालन गर्नु उनीहरूका लागि ठुलो चुनौति बनेको थियो ।
विद्यार्थी मात्र होइन अभिभावक पनि नयाँ प्रविधि भएकाले धेरै अन्योलमा परेका थिए । त्यसैले आफूहरूले पहिले विद्यार्थी र उनीहरूका अभिभावकलाई जुम एप चलाउन सिकाएको र कक्षा सुरु गरेको उनले बताइन् ।
सुरुमा विद्यार्थीले कक्षामा ध्यान नदिने, स्क्रिनमा धेरै कोर्ने, पछाडिबाट हल्ला गर्ने आदिले गर्दा कक्षा निकै ‘डिस्टर्ब’ हुन्थ्यो । कक्षा ब्यवस्थापन गर्न गाह्रो भएपछि विद्यालयले पाँच वटा ‘गोल्डेन रूल’ बनायो । उक्त नियम अभिभावकको लागि पनि थियो । अनलाइन कक्षामा अभिभावक पनि विद्यार्थीसँगै हुन्छन् । बच्चालाई अनुशासनमा राख्ने भूमिका उनीहरूको पनि उत्तिकै हुने हुनाले नियम तयार गरिएको थियो । विस्तारै उनले विद्यार्थीलाई “म्यूट”मा बस्न र कुनै प्रश्न सोध्न परे हात उठाउन र पालो पर्खन सिकाइन् । विद्यार्थीले पनि आफ्नो धारणा राख्नु परे मात्र “अनम्यूट” गरेर कुरा राख्न थाले ।
अनलाइन कक्षामा उनले भोग्नु परेको सबैभन्दा ठूलो समस्या इन्टरनेटको थियो । कहिले बत्ति गएर त कहिले “इन्टरनेट स्लो” भएर धेरै सास्ती खेप्नु प¥यो उनले । तर पहिलेको तुलनामा अहिले अलि सजिलो हुन थालेको उनको अनुभव छ । विद्यार्थीहरूले पनि नियम पालना गर्न थालेकाले पढाउन सहज वातावरण हुन्छ ।
दोहोरो जिम्मेवारीको मारमा
बानेश्वरस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी शिक्षिका सुजना कार्कीलाई पनि अनलाइन कक्षाको लागि भ्याइनभ्याइ हुन्छ । एक त नौलो प्रविधि भएकाले जुम, गुगल क्लास रुमलगायतका एपमा आफू अभ्यस्त हुन र विद्यार्थीलाई त्यसमा बानी पार्न पनि उनलाई अलि अप्ठेरै प¥यो । नेपाली विषयकी शिक्षिका सुजनाले विद्यार्थीलाई गुगल क्लासरूममा गरेको गृहकार्य कसरी फिर्ता पठाउने भन्ने विषयमा विद्यार्थीलाई विस्तृत बुझाउन नसक्दा उनले गृहकार्यको फोटो खिचेर भाइबरमै पठाउन अनुरोध गरेकी छिन् । त्यसैगरी उनले आफूले विद्यार्थीलाई सिकाउने क्रममा नै प्रविधिका बारेमा विद्यार्थीले गर्ने जिज्ञासामा ‘मलाई त थाहा छैन, मेरो भाइले बनाइदिएको’ भनेर भन्ने गरेको नाम बताउन नचाहने एक अभिभावकले बताइन् । विद्यार्थीको कक्षा चलिरहेकै बेलामा उनले आफ्नी कसैलाई अह्राउँदै ‘नानी भात बसाल न जाऊ’ भन्ने गरेको पनि आफूले सुनेको ती अभिभावकले बताइन् । यद्यपी परिस्थिति यस्तो हुनुमा शिक्षिका कार्कीको कुनै गल्ती देख्दिनन्, ती अभिभावक । कार्की मात्र होइनन्, अन्य विद्यालयका शिक्षिकाहरूलाई पनि अनलाइन कक्षाले गर्दा पारिवारिक जिम्मेवारी निभाउन र घरको काममा पनि समय दिन भ्याइनभ्याइ पर्ने गरेको ती अभिभावकले राम्ररी बुझेकी छन् । तर यसरी समय व्यवस्थापनमा कठिनाइ पर्दा शिक्षिकाहरूले कक्षामा पनि पूर्ण ध्यान केन्द्रित गर्न नसक्ने हुन् कि भन्ने अभिभावकको गुनासोे हो ।
पढाइबाहेक प्रशासनिक काम
कोटेश्वर मावि कोटेश्वरकी विज्ञान शिक्षिका रश्मी खड्का केही दिन यता विद्यालयमा जान थालेकी छिन् । विद्यालयमा पठनपाठन सुरु नभइसकेको अवस्थामा उनीसहितका अन्य शिक्षक शिक्षिकाले विद्यार्थीको भर्नामा सहयोग गर्ने, किताब बाँड्ने लगायतका काममा ब्यस्त हुन्छन् । हाल विद्यालयका विद्यार्थीले मेट्रो एफएमले संचालन गरेको रेडियो कार्यक्रममार्फत पढिरहेका छन् । टेलिभिजनको सुविधा हुनेहरूले भने टेलिभिजनमा पनि शैक्षिक कार्यक्रम हेर्ने गरेका खड्काले बताइन् ।
शिक्षिका खड्का र उनका सहकर्मी शिक्षिक शिक्षिकालाई लकडाउनका समयमा जुमसम्बन्धि तालिम पनि दिइएको थियो । कतिपय कम्प्युटरको न्यून ज्ञान हुनेहरूलाई कम्प्युटर कक्षाको लागि पनि विद्यालयले जुममा आउन आग्रह गरेको थियो । तर कम्प्युटर विषय नै गाह्रो लाग्ने र घण्टौं कम्प्युटरको स्क्रिनमा बसेर जुममा उक्त तालिम लिन सहज नभएकोले खड्काले लिन मानिनन् । उनले भनिन्, ‘बरू पछि विद्यालयले अनलाइनमै पठाउने भयो भने कोटेश्वरकै कुनै इन्स्टिच्युटमा बसेर सिकौंला ।’ त्यस्तै भक्तपुर दधिकोटस्थित भृकुटी माविकी शिक्षिका दुर्गा कोइराला पनि हिजोआज विद्यार्थीलाई पुस्तक बाँड्नकै लागि विद्यालय जाने गरेकी छिन् । यसका लागि अनिवार्य विद्यालय जानुपर्ने नियम बनाइएको भए तापनि विद्यार्थीलाई यस अवधिमा अनलाइन माध्यम वा अन्य कुनै विधिमार्फत अध्यापन गराउने भन्ने विषयमा विद्यालयले जानकारी नगराएको उनले बताइन् । ‘विद्यालय गयो, विद्यार्थीलाई किताब बाँढ्यो अनि फर्कियो’, उनले भनिन् ।
विद्यालय क्वारेन्टाइनस्थल, पठनपाठन ठप्प
काठमाडौं उपत्यकाका धेरै नीजि विद्यालयले अनलाइनमार्फत पठनपाठन सुरु गरेका छन् । त्यसैगरी सामुदायिक विद्यालयहरूमा रेडियो टेलिभिजन कार्यक्रम सुन्नु र हेर्नुका साथै विद्यालयबाट उपलब्ध गराइएको पुस्तक घरमा बसेर पढ्ने अवसर विद्यार्थीले पाएका छन् । तर ग्रामिण क्षेत्रमा रहेका अधिकांश विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएकोले त्यहाँका विद्यार्थीलाई विद्यालयबाट न त पाठ्यपुस्तक नै उपलब्ध गराइएको छ, न उनीहरूको रेडियो टेलिभिजनमा पहुँच नै हुन्छ । गुल्मीका अधिकाशं विद्यालयलाई पनि क्वारेन्टाइनका लागि प्रयोग गरिएकोले त्यहाँको पठनपाठन ठप्प रहेको पत्रकार गंगा खड्काले जानकारी दिइन् । अन्य कतिपय जिल्लामा कम्तीमा केही नीजि विद्यालयले अनलाइन अध्यापनको प्रयत्न गरे पनि शिक्षिक शिक्षिकाका लागि यो विषय नौलो विषय भएकाले निकै अप्ठेरो परेको देखिन्छ । नेपालगञ्जकी पत्रकार अक्षरी पोखरेले वडा नं. १०मा रहेको एक विद्यालयका प्रधानाध्यापकसँग अनलाइन पठनपाठनसम्बन्धी कुराकानी गर्दा ‘जुम एपमार्फत कक्षा संचालन गर्न नजान्ने शिक्षिकाहरूलाई जागिर छाडेर जाउ भन्नुपर्ला’ भन्नेसम्मका कुरा गरेको उनलाई उद्दृत गर्दै भनिन् ।
कोरोना महामारीका कारण विद्यालयलाई क्वारेन्टाइन बनाइएपछि कतिपय ठाउँका सामुदायिक विद्यालयहरूले टोलटोलमा कक्षा सञ्चालन गर्न थालेका छन् । एक दैनिक पत्रिकामा लेखिएको एक समाचारअनुुसार बागलुङको जैमिनी नगरपालिका ६ स्थित जनशिक्षित माविले विद्यालयमा पठनपाठन गर्न सम्भव नभएपछि टोलटोलमै गएर कक्षा सञ्चालन गर्न थालिएको विद्यालयका प्रधानअध्यापक नारायण चालिसेले बताए । करिव ८० प्रतिशत विद्यार्थी कक्षामा सहभागी भइरहेका छन् । विद्यालयले हरेक टोलमा २÷२ जना गरी २० शिक्षक खटाएको छ । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा दुई सय ७१ विद्यार्थी छन् ।
कोरोना कहरका कारण विद्यालय खोल्ने अवस्था नभएको भन्दै सरकारले गत जेठ २८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७’ जारी गरेको छ । जसअनुसार असार १ गतेबाट वैकल्पिक कक्षा सुरु गर्न सरकारले निर्देशन दिएको छ । तर ताप्लेजुङको सिदिङा गाउँपालिका ७ स्थित चाक्सीबोटे माध्यमिक विद्यालयकी कक्षा ७ की समीक्षा सेनेहाङ वैकल्पिक कक्षाबारे अनभिज्ञ रहेका अर्को एक दैनिक पत्रिकाले लेखेको छ । कक्षा ६का विद्यार्थी विक्रम राईलाई पनि यसबारे थाहा छैन । उनीहरूको घरमा रेडियो, टेलिभिजन र इन्टरनेट केही छैन । विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद पौडेलले अधिकांश अभिभावक न्यून आर्थिक अवस्थाका भएकाले घरमा रेडियो, टेलिभिजन नभएका र वर्षाद्ले गर्दा घरघरमा गएर सिकाउन पनि सम्भव नभएको बताए ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ मा दूरशिक्षा कार्यक्रम प्रभावकारी नदेखिएपछि विद्यालयले पठनपाठन सुरु गरेको छ । पकलेस्थित जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा पढाउन थालेको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै दुरी कायम गरी, मास्क र सानिटाइजर प्रयोग गरी पठनपाठन सञ्चालन गरिएको र विद्यार्थी शिक्षकलाई पायक पर्ने गरी फरक फरक स्थानमा राखेर पठनपाठन भइरहेको विद्यालयले जानकारी दियो ।
पोखरा सुन्दर पर्यटकीय नगरी मात्र नभएर त्यहाँको बासिन्दाको शिक्षा, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा राम्रो पहुँच रहेको पाइन्छ । सिमलचौरस्थित जनप्रिय माविमा अहिले अनलाइन कक्षा सुरु भएको छ । सम्भव भएसम्म विद्यार्थीका लागि गुगल मिट, गुगल क्लासरुम, जुम र भाइवरबाट कक्षाहरू सञ्चालन भईरहेको विद्यालयका प्रध्यानाध्यापक देवी बस्ताकोटीले जानकारी दिए । अनलिमिटेड इन्टरनेट सेवा भएका विद्यार्थीलाई जुमबाट, डाटा लिएर कक्षामा सहभागी हुनुपर्नेलाई भाइवरबाट र त्यो पनि सुविधा नभएका विद्यार्थीलाई नेपाल सरकारले सञ्चालन गरिरहेको रेडियो टेलिभिजनका कार्यक्रममा सहभागी गराइएको छ । यस्ता सुविधामा पनि पहुँच नभएका विद्यार्थीको तथ्याकं संकलन गरेर पुस्तक वितरण गरिसकेको र अभिभावकको सहायतामा घरैमा स्वअध्ययनका लागि प्रेरित गरेको बताए । विद्यालयले भर्चुअल कक्षा सञ्चालन गर्नुभन्दा पहिले शिक्षकहरूलाई तालिम गरायो र त्यसपछि बल्ल कक्षा सुरु गरेको हो । प्रधानाध्यापक बस्ताकोटीले अहिले पनि हरेक दिन साँझ दिनभरि आइपरेका समस्याको विषयमा छलफल गर्दै समाधानको उपाय खोज्ने गरेको बताए ।
“कक्षा सञ्चालन गर्न त्यति सहज त भएन । तर पनि हामीले कहिल्यै विद्यालय बन्द गरेनौं । सबै शिक्षक व्यवस्थापन समितिको निर्णयबाट तहगत रूपमा शिक्षक इन्चार्ज तोक्यौं, त्यसपछि शिक्षक इन्चार्जले कक्षा शिक्षक र कक्षा शिक्षकले आफू मार्फत् विभिन्न तालिम दिएपछि मात्र यो सम्भव भएको” उनले बताए । ‘सुरुमा हामी आफैले जुममा वैठक बस्ने, छलफल गर्ने ग¥यौं । शिक्षिकाहरूलाई उहाँहरूका प्रविधिगत अप्ठ्यारा पक्षहरू सोधेर त्यसको हल गरेपछि सोही अनुसार कक्षाहरू संचालन गरिरहेका छांै । कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ् समेत सञ्चालन रहेको विद्यालयमा अहिले एक हजार छ सय ५१ विद्यार्थी रहेका छन् भने ६८ शिक्षक अध्यापनरत छन् । ‘यो अप्ठेरो अवस्थामा पनि काम, वैठक र अतिरिक्त कक्षाहरूमा समय दिइरहनुपर्ने भएकाले अहिले हामीले शिक्षिकाको अप्ठेरोलाई बुझेर त्यसैअनुसार समय व्यवस्थापन गरेका छौं’, प्रधानाध्यापक बस्ताकोटीले भने ।
यस्ता अनलाइन कक्षामा ९ र १० का विद्यार्थीलाई पढाउन सहज भएको शिक्षकहरूको अनुभव छ । साना कक्षाका विद्यार्थीलाई जोड्न सुरुमा गाह्रो भएपनि विस्तारै सहज भएको उनको अनुभव छ । ५० प्रतिशत विद्यार्थीलाई विद्यालयको प्रयासबाट यी कक्षामा जोडिएको र बाँकी २५ प्रतिशत विभिन्न एफएम रेडियोबाट प्रशारण हुने कार्यक्रममार्फत् कक्षामा सहभागी भएको र बाँकी २५ प्रतिशत त्यो भन्दा बाहेक किताव र टोलटोलमा गरिने टोल कक्षाबाट पनि लाभ लिईरहेका विद्यालयका शिक्षक प्रतिनिधि श्रीकान्त आचार्यले बताए ।
प्रधानअध्यापकका अनलाईन अनुभूति
लकडाउनको समयमा करिव आधा नीजि विद्यालय जसमध्ये अधिकतम शहरी क्षेत्रमा रहेका र केही सार्वजनिक विद्यालयहरूले बैकल्पिक मोडेलको रूपमा अनलाईन कक्षा सञ्चालन गरेका वृहस्पती विद्यासदन नक्सालका प्रधानाध्यापक कुमार थापाले बताए । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको मातहतबाट केही किताबका सफ्टकपीहरू, श्रव्यदृश्य सामग्री र गतिविधिहरू र टिभि तथा रेडियोमा विशेष गरी कक्षा ६ देखि माथि लक्षितगरी सामग्रीहरू प्रसारण भइरहेकोमा यसले विद्यार्थीलाई फाइदा पु¥याउने उनको अपेक्षा छ ।
अनलाईनको पहुँच र सम्भावना भएको ठाँउमा “सिनक्रोनस” अर्थात तोकिएको समयमा कुनै “भिडियो कन्फरेन्सिङ” याप जस्तै जुम वा गुगल मीट प्रयोग गरेर कक्षाकोठा कै ढाँचामा छलफल, कक्षाकार्य, मुल्याकंन, परियोजना कार्य, प्रस्तुति, अभ्यास, पृष्ठपोषण आदि गर्न सकिने उनले बताए । झन् अरु बेलामा कम बोल्ने वा आफ्नो कुरा राखी नहाल्ने विद्यार्थीलाई पनि छुट्टै व्यक्तिगत च्याटको माध्यमबाट झन् बढी खुल्नको लागि सहयोग गर्न सकिने उनको अनुभव छ । विद्यार्थीलाई बोल्न, प्रस्तुति दिन, लेख्न, फोटो र भिडियोको माध्यमबाट आफ्नो कामको प्रमाण रचनात्मक रूपमा प्रस्तुत गर्न लगाउँदा विद्यार्थीमा सिकाईले निरन्तरता पाईराखेको उनले बताए । साथै, “एसिन्क्रोनस” अर्थात विद्यार्थी आफ्नो लचिलो समयमा शिक्षकले दिएका अथवा आफै इन्टरनेटमा खोजी गरी सिकाईलाई निरन्तरता दिने र साथीहरूसँग अनलाईनमा छलफल गरी सोको अनुभव तथा विवरण शेयर गर्दा समयको झन उपयुक्त उपयोग हुने पनि उनको भनाइ छ ।
कतिपय शिक्षक शिक्षिका अनलाईनमा डिजिटल सामग्री प्रयोग गर्न त्यति सक्षम र समर्थ देखिँदैनन् । ‘यस्तो अवस्थामा कसरी संभव छ अनलाईन शिक्षा ?’ जिज्ञासा मेटाउँदै उनी भन्छन् , ‘हो, यो कुरा सत्य हो कि शिक्षकमा हुनु पर्ने डिजिटल साक्षरता र सक्षमता छैन । तर एउटा व्यक्ति हिजो जस्तो थियो आज त्यो भन्दा फरक हुनै सक्दैन, सिक्नै सक्दैन र आवश्यक सहयोग पाए पनि परिवर्तन हुनै सक्दैन भने जस्तो तर्क भएन र ? शिक्षामा लागेको व्यक्तिले त झन् प्रयास गरेर सिक्न सक्नै पर्छ ।’ यही प्रयासले नै अहिले विद्यालयहरू अनलाईन कक्षा सञ्चालनमा सफल भएका उनको अनुमान छ । यसमा सम्बन्धित विद्यालय, सरकारी निकाय र गैरसरकारी संस्थाले नीजि डिजिटल सामग्री तथा इन्टरनेट सेवा र टेलिकम प्रदायक निकायले पनि समन्वय गरी समाधान निकाल्न सकिने उनको धारणा छ ।
शिक्षिकामैत्री समय व्यवस्थापनः प्रविधिक ज्ञान लिन शिक्षिकाहरू “फरवार्ड”
लकडाउन अगाडि नियमित पढाइ हुँदाका समयमा करिव ८ बजे विद्यालय हातामा प्रवेश गरेपछि शिक्षिकाहरूलाई आफू खाना खाने, परिवारलाई खुवाउने, छोराछोरीले खाने र घरको कामआदि केहीको पनि चिन्ता हुन्नथ्यो । किनकी धेरै जसो विद्यालयले अहिले विद्यालयमै खाना र खाजा खुवाउने व्यवस्था गरेको पाइन्छ । त्यसैगरी आफ्ना साना नानीलाई पनि शिक्षिकामध्ये धेरैले आफूले नै पढाउन विद्यालयमा भर्ना गरेका हुन्छन् । त्यसैले पहिले विद्यालय छिर्नासाथ सबै कुराको तनाव कम हुने शिक्षिकालाई अहिले घरबाटै कक्षा लिँदा धेरै चटारो परेको काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी प्रधानाध्यापक सुनिता पौडेलले बताइन् । विद्यालयले पनि लामो समय अनलाईन कक्षा सञ्चालनका लागि आवश्यक प्रविधिगत तालिम दिएको थियो । यदि कुनै शिक्षिकालाई प्रविधिगत रूपमा अप्ठेरो परेको भए विद्यालयले सधैँ यसको समाधानमा पहल गर्ने उनले बताइन् । त्यसैगरी आफूहरूले अनलाइन कक्षाको समय रोज्दा पनि शिक्षिकामैत्री होस् भन्ने विषयमा ध्यान दिएको उनले जानकारी दिइन् ।
सामुदायिक विद्यालयहरूमध्ये काठमाडौंकै एक उत्कृष्ट विद्यालय मानिने ज्ञानोदय उच्च माध्यमिक विद्यालय, पुरानो कालिमाटीले पनि अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ । यसका लागि शिक्षक शिक्षिकालाई लकडाउनका बेलामै तालिम दिएको र अझै कसैलाई केही अप्ठेरो परेमा विद्यालयमा रहेको अत्याधुनिक आईसीटी ल्याबमा सम्बन्धित शिक्षकमार्फत तालिम दिइने गरेको विद्यालयका प्रधानाध्यापक नातीकाजी महर्जनले बताए । विद्यार्थीले छान्ने विषय र कक्षा अनुसार अनलाईन कक्षामा उनीहरूको उपस्थिति फरक रहेको उनले बताए । उनका अनुसार सबैभन्दा बढी कम्प्युटर विषय लिएर अध्ययनरत विद्यार्थी अनलाइन कक्षामा बढी सहभागी हुने गरेका छन् । अलिकति उमेर पुगेका शिक्षिकाहरूमा प्रविधिको ज्ञानको अभाव रहेको पाइए तापनि अहिलेका शिक्षिकामा भने सिक्ने र बुझ्ने क्षमता बढी रहेको उनले पाए– “प्रविधिक ज्ञान लिन शिक्षिकाहरू ‘फरवार्ड’ हुनुुहुन्छ । तर म सिक्छु भन्ने चाहना चैं हुनुपर्छ । विद्यालयसम्म पुग्ने वातावरण नभए जुमबाटै तालिम दिनुपर्छ ।” त्यसैगरी अनलाईन कक्षाका लागि समय तालिका बनाउँदा पनि सबै शिक्षक शिक्षिका राखेर त्यसमा विद्यार्थी र अभिभावक पक्षबाट पनि सुझाव संकलन गरी सबैलाई उपयुक्त हुने समय छनौट गर्नुपर्ने उनको धारणा छ । ‘भात पकाउने र खाने समय पार्दा सबैलाई गाह्रो हुन्छ’, उनले प्रष्ट्याए । अन्य समयमा भन्दा अहिले पाठ योजना बनाउँन गाह्रो पर्छ । करिव तीन घण्टा पढाउनका लागि पावर प्वाइन्टमा स्लाइडहरू बनाउनुपर्ने, युट्युबबाट लिंकहरू खोज्नुपर्ने जस्ता कार्यले गर्दा शिक्षिकाहरू अतिरिक्त चाप बढेकाले यसमा सबै पक्षले सहयोग गर्नुपर्ने प्रधानाध्यापक महर्जनको भनाइ छ ।
प्राविधिक सुविधा दिन सरकारको बेवास्ता
अनलाईन अध्यापनका लागि इन्टरनेट सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले इन्टरनेटको संसारमा विद्यार्थी, शिक्षक, अभिभावकको पहुँच बढाउनुपर्ने प्रधानाध्यापक महर्जनको विचार छ । ‘विद्यार्थीका लागि डाटा प्याकमा सहुलियत दिनुपर्छ । स्कुललाई इन्टरनेट फ्रि गरिदिनुपर्छ’, उनले थपे । सामुदायिक विद्यालयलाई सरकारले डेक्सटप, ल्यापटपआदि उपलब्ध गराएको छ । तर इन्टरनेट सुविधा उपलब्ध नगराएकोेले काममा अप्ठेरो परेको बताउँदै उनले भने,‘शरीर बनाइदियो, प्राण छैन जस्तो भएको छ । त्यसैले इन्टरनेटको शुल्क सरकारले ब्यहोर्न सके राम्रो हुन्छ । डिभाइस शिक्षक विद्यार्थी, अभिभावकले जोहो गर्छन्’, उनले जोड दिए । सुविधा दिन सरकारले देखाएको उदाशिनताकै मारमा समग्र शिक्षा क्षेत्र परेको देखिन्छ ।
अभिभावकसँग सरसल्लाह गरेर सहमतिमै विद्यालयले आफ्ना विद्यार्थीसँग लकडाउनपछिका अवधिको न्युन मासिक शुल्क लिँदै आएको छ । आर्थिक पाटोलाई हेर्दा विद्यालयको व्यवस्थापन पक्षले यस्ता विभिन्न समस्या देखाइरहँदा शिक्षक शिक्षिकाले पनि आफू मारमा परेको गुनासोसुनिन थालेको छ । वृहस्पती विद्यासदनकी शिक्षिका डोल्मा लामाले अनलाईन माध्यममा विद्यार्थीलाई पढाउन नियमितभन्दा बढी खट्नुपर्ने भए तापनि तलबमा भने कटौती हुने गरेको बताइन् । कति प्रतिशत तलब उपलब्ध गराइएको छ भन्ने जिज्ञासामा उनले जवाफ दिन चाहिनन् ।
नीति छ सुविधा छैन
२०७६ साल कात्तिक १८ गते स्वीकृत राष्ट्रिय शिक्षा नीतिमा भएको ब्यवस्थाअनुसार सूचना तथा सञ्चार प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अंगको रूपमा एकीकृत गर्दै विद्यालय तथा शिक्षण संस्था प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाई प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउने भनिएको छ । त्यसैगरी, विद्यालय तथा शिक्षण संस्थामा सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकास गर्दै उच्च गतिको इन्टरनेट सेवाको क्रमशः विस्तार गरिने पनि उल्लेख छ । उक्त नीतिअनुसार संघीय तथा प्रदेशस्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायबाट इ–लाइब्रेरी, अनलाईन ल्याब, अनलाईन कक्षाकोठा, अनलाइन परीक्षा, इ–पोर्टफोलियो, आइसिटीसहितको पाठयोजना, विषय विशेषका शिक्षण साधन, पोडकास्ट, वेभ सेमिनार, एडुकास्ट, मेकरस्पेस र शिक्षण सिकाइमा आधारित एप्सहरूको विकास गरी प्रयोगमा ल्याइनेछ ।
सिकारू केन्द्रित शिक्षण सिकाइ प्रभावकारी रूपमा सञ्चालन गर्न सर्वब्यापी सिकाइ तथा व्यक्तिले सहजै प्रयोग गर्न सक्ने सामग्रीहरू जस्तैः ट्याब्लेट, स्मार्ट फोन, मोबाइल आदिको प्रयोगमा जोड दिनुका साथै नयाँ प्रवेश गरेका शिक्षकको क्षमता विकासका लागि सेवा प्रवेशको सुरूका केही वर्षमा एकजना अनुभवी र दक्ष शिक्षकको नजिक बसेर सिक्ने अवसर दिन ‘मेन्टर शिक्षक’को व्यवस्था गरी सबै शिक्षकलाई प्रविधि प्रयोगमा सक्षम तुल्याइने पनि नीतिमा उल्लेख गरिएको छ ।
नीतिमा यस्तो लेखिएको भए तापनि शिक्षिकाहरूका लागि लकडाउन र कोरोना महामारीका समयमा घरबाट अनलाइन कक्षा संचालन गर्दा प्राविधिक रुपमा निकै कठिनाई झेल्नु प¥यो । प्रविधिको अल्पज्ञान र उचित तालिमको अभावले यस्तो भएको देखिन्छ ।
के भन्छन् शैक्षिक संगठन ?
शिक्षा क्षेत्रमा सक्रिय एनप्याब्सले केही समयअगाडि उपत्यकाका पाँच जिल्लाका पाँच वटा विद्यालयमा एक अध्ययन गरेको थियो । विद्यार्थी र अभिभावकसँगको संवादमा गरिएको अध्ययनमा नीजि विद्यालयमा पढ्ने अधिकाशं विद्यार्थी लकडाउनपछाडिको समयमा काठमाडौं बाहिर रहेकाले अनलाइन पठनपाठनको प्रभावकारिता ४० प्रतिशतको हाराहारीमा मात्र देखिएको एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । ‘यो विधिबाट गराइने पठनपाठन पर्याप्त त हुनै सक्दैन, केही नहुँदा केही हुन्छ भन्ने सम्म हुन्छ’, उनले भने । अध्ययनमा मोबाइलमा फेसबुक चलाउनेको संख्या ठूलो भेटियो । तर मोबाइललाई पढाइसँग जोड्ने भन्नासाथ ‘छैन’ भनिदिने प्रवृति देखिएकाले अनलाइन पठनपाठनलाई अझै स्विकार्न नसकिएको अध्यक्ष सापकोटाको बुझाइ छ । शैक्षिक सत्रको सुरुवातमै अनलाइन कक्षा संचालन गर्नु परेकाले पनि सबैमाझ अन्योल छाएको बताउँदै उनले भने,‘ एक दुई महिना स्कुल संचालन भइसकेपछि अनलाईन कक्षा चलाउनु परेको भए खासै समस्या पर्ने थिएन । तर अहिले कक्षा शिक्षक को हो थाहा छैन, पाठ्यक्रम थाहा छैन, पढाइमा एकरुपता छैन ।’
अनलाइन कक्षाको अर्को महत्वपूर्ण पक्ष भनेको विद्यार्थीलाई कति समय डिभाइससँग एक्सपोजर गराउन मिल्छ भन्ने बारेमा कसैको ध्यान नगएको उनले बताए । सामान्यतयाः दिनमा दुई–तीन घण्टाभन्दा बढी डिभाइसमा एक्सपोजर हुन हुँदैन । तर अहिले लामो समय अनलाईनमा पढ्नु पर्ने र गृहकार्य पनि अनलाईन मै गर्नुपर्ने भएकाले विद्यार्थीको दृष्टिस्वास्थ्यमा ठूलो असर पु¥याउन सक्नेमा उनले सचेत गराए । एनप्याब्सन मातहतका विद्यालयलाई दिइने कक्षाकार्य र गृहकार्य क्रियाकलापलक्षित होेस् भन्नेमा ध्यान दिँदै फुलबारी, करेसाबारी, भान्छाकोठासँग जोडेर कार्य दिन आग्रह गरिएको उनले बताए । ‘एउटा समस्याबाट निस्कन खोज्दा अर्को समस्या निम्तिन सक्छ । हुन सक्छ, अर्को वर्ष आधाभन्दाबढी विद्यार्थीले चस्मा लगाउनुपर्ला’, उनले भने । यस्ता विविध समस्यालाई सम्वोधन गर्दै सरकारले अनलाईन कक्षासम्वन्धी आचारसंहित निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
शिक्षाविद्का धारणा
अनलाइन पठनपाठनलाई दीर्घकालिन विकल्पको रूपमा नभई पूरकको रूपमा मात्र लिन सकिने शिक्षाविद् सुसन आचार्यको धारणा छ । यो विधिबाट अध्ययन अध्यापन गर्नका लागि सबैको पहुँचको विषय नभए पनि कम्तीमा केही विद्यार्थीलाई सिकाइ र पढाइमा संलग्न गराइराख्ने माध्यम बनेको उनले बताइन् । घरबाटै अध्यापन गराउँदाका सन्दर्भमा शिक्षिकाहरूलाई समय व्यवस्थापनका लागि निकै गाह्रो परेको उनी स्विकार्छिन् । घरमै बसिरहेका बेलामा घरको काम तथा जिम्मेवारी पनि धेरै नै हुने तथा घर परिवार र विद्यालयको समेत काम सम्हाल्नुपर्दा धेरै कठिनाई आउन सक्ने भएकाले कक्षाको तालिका बनाउँदा शिक्षकशिक्षिका र अभिभावकलगायतका पक्षसँग सल्लाह गर्नु उनी उचित ठान्छिन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट अध्ययन गर्ने वैकल्पिक बाटो सरकारले देखाइदिएको छ । तर त्यसरी अध्ययन गर्दा पनि घरमा साधनस्रोतका साथै विद्यार्थीलाई उत्प्रेरणा पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ । ‘कतिपय आमाबाबुले आफ्ना छोराछोरीलाई गाइड गर्न सक्नुहुन्न, कतिपयलाई काममा जानुपर्छ । अनि यस्तो अवस्थामा छोराछोरीलाई पढ्नुपर्छ भनेर कसले हौस्याउने ?’, उनी प्रश्न गर्छिन् ।
आधुनिक दुर शिक्षाको थालनी
आधुनिक दूर शिक्षाको थालनीको श्रेय पिटम्यानलाई जान्छ । समय र परिस्थिती अनुरुप विश्वका विभिन्न भागमा दूर शिक्षाका विभिन्न प्रयोग भएको पाईन्छ । सन् १९२० र ३० को दशकमा रेडियोमा शिक्षाका कार्यक्रमहरू पनि प्रचलनमा आउँदै, ७०–८० को दशकमा टेलिभिजन हुँदै, ८०–९० को दशकमा सिडि रोम, एलएमएस र त्यसपश्चात १९९१ मा सुरु भएको डब्ल्यु डब्ल्यु डब्ल्यु डटकम, इमेल, एमएसएन र अझ १९९८को गुगलको आगमनले समय अनुसार शिक्षा र अन्य क्षेत्रमा समयसापेक्ष प्रविधिले प्रभाव पारी शिक्षा झन् सजिलो र पहुँचयोग्य हुँदै गएको प्रमाणहरू पाइन्छन् । सन् २००० यता त सञ्चार प्रविधिको उच्चतम् र द्रुत गतिमा विकास भएको युगको रूपमा हामीले उपयोग गर्दै आएकै हौं । सन् २००४ मा फेसबुक, सन् २००५ मा युट्युब, सन् २००७ पश्चात समार्टफोन र याप, वाइफाइ र डेटाले त धेरै सञ्चार, खबर, जानकारी, मनोरञ्जनका सामग्रीहरू हाम्रो औंलाको टुप्पोमै पाइन सकिने भएको छ ।
लामो समयदेखि प्रविधिलाई शिक्षण विधिको एक अंग मानिए पनि नेपालमा परम्परागत शिक्षण विधि अवलम्बन हुँदै आएकोमा कोरोना कहरले अनलाईन शिक्षण विधि अवलम्बन गर्न बाध्य बनायो । तथापि, धेरै जिम्मेवारीका कारण शिक्षिकालाई समय व्यवस्थापनमा समस्या परेकोले यसमा सरकार एवं सम्वन्धित पक्षले ध्यान दिएर अगाडि बढ्ने हो भने यो प्राविधिक शिक्षण प्रणाली नेपालले फड्को मार्ने एउटा महत्वपूर्ण अवसर हो । महिला न्युजबाट साभार
मेरी बहिनी मभन्दा एघार वर्ष कान्छी छे । बेलाबेला ऊ मलाई फोन गर्छे र सोध्छे, ‘दिदी, यो ‘नकारात्मक स्पर्श’ त होइन नि ?’
अचानक आएको फोनले म यसै झस्कन्थें साथमा ‘नकारात्मक स्पर्श’को कुरा आउनेबित्तिकै म सशंकित हुन्थें । केही वर्षअघि बालसुलभ उमेरमै रहेकी बहिनीको मनोविज्ञानलाई ध्यानमा राख्दै यौन सचेतनाका लागि सकारात्मक स्पर्श (गुड टच) र नकारात्मक स्पर्श (ब्याड टच) सिकाएको थिएँ । यौन सचेतनासम्बन्धी सिकाइले बहिनीको कलिलो मस्तिष्कमा गहिरो आघात परेछ सायद । उसलाई आफन्त साथी र शिक्षकले धाप मार्दा वा मायाले गाला मुसार्दा पनि ऊ संशकिंत भएर मलाई फोन गर्थी ।
यसमा बहिनीको कुनै दोष छैन । आफूमाथि हुने हिंसाको जानकारी राख्न मैले उसलाई सुरुमै सचेत पार्न खोजेको मात्र हो । म घर आएको समयमा ऊ यस विषयमा धेरै कुरा सोधिरहेकी हुन्थी । एक त म आफैं किशोरी जसलाई पाइलैपिच्छे यौन हिसांको मार खेपिरहनु परेको हुन्छ । त्यसमाथि आफ्नो बहिनीको पीडा सुन्नुपर्दा म विचलित हुन्थें । मेरो पीडा त उसको अगाडि म सामान्य देख्न थाले । कम्तीमा म यौन दुरव्यवहारबारे सचेत छु । म त्यसको विरोध गर्न सक्छु र आफूलाई सुरक्षित राख्न कोसिस गर्छु । तर मेरी बहिनी र उसका उमेरका अबोध बालिकालाई यौन दुरव्यवहारबारे केही थाहा छैन तिनीहरूलाई कसरी सुरक्षित राख्ने भनेर म उपाय खोजिरहेकी हुन्थें । उमेरमा अन्तर भए पनि मैले बहिनी जन्मिनुअघि नै उसको नाम रोजिसकेकी थिएँ ।भगवानप्रतिको आस्था र विश्वासका कारण बहिनी जन्मिएकी हो भन्ने सोचाइले मैले उसको नाम ‘स्तुति’ राखिदिएँ ।
बालबालिकालाई पढाइभन्दा गीत, अभिनय, कविताबाट उनीहरूमाथि हुन सक्ने यौनहिंसाबारे सन्देश दिन जरुरी छ । यस विषयमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आइसकेको छ । सरकारी तथा गैरसरकारी शैक्षिक संस्थामा स्वास्थ्य र जनसंख्या विषयअन्तर्गत यौन शिक्षालाई एक गहन विषयका रूपमा स्थान दिन जरुरी
छ । कम्तीमा पनि त्रैमासिक रूपमा बालमनोवैज्ञानिक परामर्शदाताको पनि व्यवस्था गर्नु जरुरी देखिन्छ ।
बिस्तारै बहिनीको उमेर बढ्दै गयो । सामाजिक संजालमा बालबालिकामाथि यौन दुरव्यवहारका भएका घटना धेरै सुनिन्थ्यो । यस्ता घटना सुन्दा म मर्माहत बन्थें । मेरा हातखुट्टा चिसा हुन्थे । त्यही क्षण बहिनीलाई सम्झन्थें । ऊमाथि पनि यस्तै घटना घट्ने हो कि भन्ने सोचाइबाट मात्र पनि म अतालिन्थें । अबोध बालिका जसले पुरुषलाई आफ्नै पिता, काका र दाजुसमान सम्झिन्छन् ती नै उनका यौन दंशक हुन सक्ने सम्भावना स्वीकार्न मुस्किल पथ्र्यो मलाई ।
बेलाबेलामा एक कदम अगाडि बढेर कलिलै उमेरमा मैले उसको मस्तिष्कमा तनाव दिएँ कि भन्ने पनि लाग्थ्यो । यस्तै दोधारमा दिन बित्दै गयो । यसैक्रममा गत चैत्र ११ गतेदेखि कोरोना भाइरसको लकडाउनले गर्दा मैले बहिनीसँग समय बिताउने मौका पाएँ । २०७७, जेठ ३२ गते कैलालीको क्वारेन्टिनमा राखेकी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीबाटै सामूहिक बलात्कार भएको घटना समाचारमा आयो । त्यो समाचार बहिनीले पनि सुनेकी रहिछ । उसले मलाई बहिनीले सोधिहाली, ‘दिदी, बलात्कार भनेको चाहिँ के हो ?’
बहिनीको प्रश्नले म अवाक् भएँ । हरेक बालिकाहरूलाई उनीहरूमाथि सम्भावित यौन बेलाबेलामा दुव्र्यवहारप्रति सचेत गराउन अत्यावश्यक छ भन्ने मलाई महसुस भयो । हाम्रो समाजमा यौनसंग सम्बन्धित विषयलाई ‘वर्जित विषय’ मानिन्छ । अझै यौनिक विषयलाई सामाजिक अपराधको रूपको हेरिन्छ । बालबालिकामाथि यौनहिंसा बढिरहेको अवस्थामा हामी जस्ता सचेत प्राणी के मौन बस्न सुहाउँछ ?
लकडाउनको एक महिनाअघि हाम्रो देशमा उनन्तीस जना बालबालिकामाथि यौन दुरव्यवहार भएको तथ्यांक हामी देख्न सक्छौ । लकडाउनपछि (चैत्र ११ देखि जेठ १०) दुई महिनाभित्र पैँतीस जना बालबालिकामाथि यौन दुरव्यवहार भएको घटना हामीमाझ छ । यसले हामी आफ्नै घर, टोल, समाजमा सुरक्षित छैनौं भन्ने कुरा स्पष्ट पार्दछ ।
हाम्रो समाजमा आमाको दूध चुस्न नछोडेका अबोध बालिकाहरूलाई पनि यौन पिपासुहरूले छाडेका छैनन् । आफ्नै घरमा घटेको त्यस्तो निन्दनीय अपराधलाई पनि घरका सदस्यले बाहिर ल्याउन चाहँदैनन् । बाबुले छोरीलाई, दाजुले बहिनीलाई, काकाले भतिजीलाई ….. । यस्ता कतिकति दुरव्यवहार हाम्रो घरमा नै घट्छ । एउटा बच्चाको जिन्दगीमाथि अरूले खेलवाड गर्दा पनि आफ्नो आडम्बरी इज्जतमा लाञ्छना लाग्छ भन्ने डरले हाम्रा अभिभावक यस्ता जघन्य अपराधलाई लुकाएर प्रश्रय दिइरहेका छन् ।
मेरो स्मृतिमा भएको एक घटनाले मलाई बाल्यकालदखि नै पटकपटक झक्झकाइरहेको छ । त्यो अबुझ समयमा मैले केही बुझिनँ तर अहिले बुझ्दा समाज यस्ता घटनामा निरीह रहेको भान हुन्छ ।
म पाँच वर्षकी हुँदाको कुरा हो । छिमेकी अंकलको घर बन्दै थियो । हामी चार जना बालिका लुकीछिपी खेल्न प्रायः त्यही जाने गरथ्यौं । त्यही क्रममा एकजना साथी खेल्न बन्दै गरेको घरको कोठामा जाँदा त्यहीँ काम गर्ने दाइले उसमाथि अनुचित क्रियाकलाप गरेको हामीले देख्दा अबुझ भएको कारण खेल खेलेको सोच्यौं । त्यति नै खेर त्यही घरको आन्टीले देखेर कराएपछि सबै जम्मा भएर त्यो दाइलाई लखेटे ।
तर कसैले त्यो दाइले गरेको दुरव्यवहारको सजाय दिनतर्फ चासो देखाएनन् । म ९ कक्षामा पढ्दा मेरी साथीलाई ट्युसन शिक्षकले उसको संवेदनशील अंगमा स्पर्श गर्दा उसले कसैलाई भन्न सकिन । मलाई उसले जानकारी दिँदा म आफैं पनि स्तब्ध रहिरहें ।
पिडियोफेलियाजस्तो यौन दुरव्यवहार विदेशीद्वारा नेपाली बालबालिकामा बढी भएको पाइन्छ र यो बढ्दो क्रममा छ । बालबालिकाको पहिलो पाठशाला उनीहरूको आफ्नै घर हो । यस्ता यौन दुराचारप्रति अभिभावक सचेत भई आफ्ना बालबालिकालाई बेलैमा सचेत गराउनु आवश्यक हुन्छ । बालबालिका अबोध हुन्छन् । त्यसैले उनीहरूले यो उमेरमा यौनहिंसाबारे बुझाउनु सजिलो कुरा होइन । तर आफ्नो संवेदनशील अंगमा कसैले स्पर्श गर्छ भने त्यो गलत हो र त्यस्तो भएमा चिच्याउनु, कराउनु र हामीलाई जानकारी गराउनु भनी सिकाउन सक्छौं ।
बालबालिका किशोर अवस्थामा जाँदा उनीहरूलाई यौन शिक्षा विस्तृत रूपमा दिनु जरुरी हुन्छ । जसले गर्दा उनीहरूलाई कसैले गलत काममा प्रयोग गर्न नसकून् । उनीहरूले यौनिक विषयलाई कौतूहलता र जिज्ञासुपूर्वक लिएर गलत कदम नउठाऊन् ।
यौनशोषण, यौन दुरव्यवहार बालिकामा मात्र हुन्छ भन्ने
छैन । आंशिक रूपमा बालकमा पनि हुने गरेको देखिएको छ । पिडियोफेलिया एक किसिमको यौन दूराचार हो । यो एक मनोवैज्ञानिक अराजकता हो जसमा वयस्क व्यक्तिले किशोरावस्थाका बालबालिकामा यौन हिंसा गर्छन् । यसमा बालिकासँगै बालक पनि पीडित हुन्छन् ।
आफ्नो शरीरमा उमेरसँगै हुने परिवर्तनसम्म बालबालिकालाई थाहा हुँदैन । हाम्रो समाजमा महिनावारी रोकिएकी किशोरीको पेट बढ्न थालेपछि मात्र ऊ गर्भवती भएको कुरा उसकी आमालगायत गाउँका अन्य महिलाले थाहा पाउँछन् । तर अझै त्यो किशोरीले आफूमा आएको शारीरिक परिर्वतनको अन्दाज लगाउन सक्दिनँ । यी सबै हुनुको कारण यौन शिक्षाको कमी हो । तसर्थ घरपरिवारका सदस्यले यौन विषयलाई लाजमर्दो विषय एवं वर्जित विषयका रूपमा नलिएर अन्य विषयसरह सामान्य विषयका रूपमा लिएर उनीहरूसँग मित्रवत् सम्बन्ध राख्नुपर्छ ।
प्रविधि मैत्री आजको युगमा आफ्ना बच्चाहरू प्रविधिसँग खेल्दा अभिभावकले निकै सतर्कता अपनाउनुपर्छ । आजभोलि इन्टरनेटको सहयोगमा आफ्ना साथीसँगीसँग मिलेर अश्लील गतिविधि हेर्ने क्रम बढेको हुनाले त्यतातिर पनि अभिभावक सचेत हुनुपर्छ । त्यति मात्र होइन आफ्ना अग्रजले पनि अश्लील भिडियो देखाएर गलत बाटातर्फ लाने हुनाले बालबालिकालाई इन्टरनेटमा आवश्यकताअनुरूप संलग्न गराउनेतिर पनि अभिभावक सचेत हुनुपर्छ ।यौन शिक्षाका बारेमा घरमा मात्र सचेत गराएर नपुग्ने हुनाले शैक्षिक संस्थामा पनि यो विषयमा जोड दिन आवश्यक छ । अतिरिक्त क्रियाकलापमा यौन शिक्षाको विषयलाई गम्भीर रूपमा लिनुपर्छ ।
अज्ञानता नै हरेक समस्याको जड हो । यौन हिंसाको सवालमा पनि हाम्रो अज्ञानताले हामीलाई डसिरहेछ । अज्ञानतासँगै हाम्रो मौनताले गर्दा यो दिनदिनै बढ्दै छ । बालबालिकाको सुरक्षाको प्रत्याभूति राज्यले गर्न सक्दैन भने हाम्रो गणतान्त्रिक प्रक्रिया र सभ्यतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ ।