- श्रृजना नेपाल
मकवानपुर/ कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।
कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाजबाट अमानवीय व्यवहार हुने गरेको उनीहरू बताउँछन्।
हेटौंडा उपमहानगरपालिका–१२ का अटो-एम्बुलेन्स चालक प्रकाश अछामीले कोरोनासँग जुधिरहेका संक्रमितलाई अस्पतालसम्म साहारा दिन यो महामारीमा पनि अटो चलाउन शुरू गरेका थिए। कोरोनालाई पराजय गर्न लागिपरेका अरू हातलाई साथ दिन अटोलाई एम्बुलेन्स बनाएर सञ्चालन गरिरहेका अछामी अहिले आफैँ सहाराविहीन भएका छन्।
‘कोरोनाले छट्पटाइरहेका बिरामीलाई अस्पतालसम्म पुर्याउन पाए समाजमा मेरो पनि केही भूमिका हुन्छ होला भनेर यो महामारीमा पनि अटो चलाउन शुरू गरेँ, तर समाजले गाउँमा कोरोना ल्याइस् भन्दै धम्कीपूर्ण गालीगलौज गर्छन्। कुनैपनि सेवा सुविधा नलिइकन आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा उल्टै सामाजिक तिरस्कार सहन परेको छ,’ उनले भने।
अछामीले छरछिमेकबाट मात्रै नभई परिवारबाटै पनि अछुत व्यवहार हुने गरेको बताए। दुई सातादेखि अटोबाटै एम्बुलेन्स सेवा दिन थालेका अछामी आफ्नै घरमा छुट्टिएर बसेका छन्।
हेटौंडा–१८ का अटो-एम्बुलेन्स चालक बुद्ध थिङलाई देख्नासाथ गाउँका बाटोमा उभिएकाहरू पनि दौडिँदै घरभित्र पस्ने गरेका छन्। ‘यसले त कोरोनाको बिरामी बोकेर आएको हो भन्दै बाटोमा उभिरहेकाहरू पनि मेरो अटो देख्नासाथ भागाभाग गर्छन्। यस्तो लाग्छ कि उनीहरूले मलाई हेर्दा र बोल्दा मात्रै पनि कोरोना सर्छ,’ थिङले भने।
उनले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि समाजका मान्छेमा मानवीयता नपलाएको भन्दै दुःख व्यक्त गरे। थिङलाई छरछिमेकका धेरैले कोरोनाको बिरामी बोकेको भन्दै अब उनको अटो कहिल्यै नचढ्ने समेत बताएका छन्।
‘कोरोनाको बिरामी बोक्ने गरेको अटोमा पनि अब कोही चढ्छ? हामी त कहिल्यै चढ्दैनौ भन्छन्। म पनि के कम भोली तपाईंहरूलाई कोरोना लाग्दा कसको अटोमा चढेर जानुहुन्छ त भनेर सोध्छु, अनि चुप लाग्छन्,’ उनले थपे।
उनको घरमा २२ महिनाको छोरा छ। छोरालाई पनि आफूबाट जोखिम हुने होकि भन्ने डरले उनी घरको छुट्टै कुनामा एक्लै बस्दै आएका छन्। एउटै घरमा बसेर पनि उनले आफ्नै छोरालाई नसमाएको दुई साता भइसक्यो।
ज्यान जोखिममा राखेर समाजको तिरस्कार सहँदै अटो चलाएपनि स्थानीय वडा कार्यालय र प्रशासनबाट कुनै किसिमको सहयोग नभएको थिङको गुनासो छ। प्रशासन र वडाले अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरेको जस्तो देखेपनि सञ्चालनमा आएको दिनदेखि कुनैपनि निकायबाट सहयोग नपाएको उनले बताए।
हेटौंडा–५ का गोविन्द तिमल्सिनाको पनि प्रकाश र बुद्धको जस्तै पीडा छ। एम्बुलेन्सको अभाव कम गर्दै कोरोना संक्रमितको अस्पतालसम्मको पहुँच सहज गर्न अटो चलाएका उनको परिवारै अहिले सामाजिक बहिष्कारमा परेको छ। तिमल्सिनालाई मात्रै होइन, परिवारका अरू सदस्यलाई देख्दा मात्रै पनि छरछिमेकबाट विभेदपूर्ण व्यवहार हुने गरेको उनले बताए।
‘मसँग त बोल्दैनन्, देख्दा पनि मुन्टो उता फर्काएर हिँड्छन्, सबै तर मेरो परिवारलाई तपाईंको घरमा कोरोना बोकेर आएको मान्छे छ भन्दै अछुत व्यवहार गर्ने गरिएको छ,’ तिमल्सिनाले भने। उनले जिल्ला प्रशासन र वडा कार्यालयले बेवास्ता गर्दा पनि समाजबाट यस्तो व्यवहार हुने गरेको बताए।
जिल्लामा कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेको संख्या बढेसँगै अस्पताल धाउनेहरू पनि बढेका छन्। जसले गर्दा कोरोना संक्रमितले अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स नपाएको भन्दै गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याएको थियो। निषेधाज्ञामा अटो चलाउने अनुमति र एकसेट पीपीई मात्रै दिएर आफूहरूलाई अलपत्र छाडेको अटो चालकहरूको गुनासो छ।
वडा अध्यक्षहरूलाई पनि आफैँले फोन गर्दा समेत वास्ता नगरेको उनीहरूले आरोप लगाएका छन्। अटो-एम्बुलेन्स चालकले कोरोनाका बिरामी बोकेर अस्पतालसम्म ल्याएबापत नियमअनुसार भाडा लिँदै आएका छन्। वडा र प्रशासनको समन्वयमा अटो-एम्बुलेन्सको रूपमा सञ्चालन गर्दा सुरक्षित बासस्थान र स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। (थाहा खबरबाट साभार)
मकवानपुर/ कोरोना भाइरसको महामारीको कारण बिरामी हुनेहरुको संङ्ख्या बढीरहेपछि बागमती प्रदेश सरकारले प्रदेश मातमतमा सञ्चालित थप पाँच वटा अस्पतालहरुमा अक्सिजन प्लान स्थापनाको तयारी गरेको छ ।
प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै सन्चालनमा रहेको छ र थप ५ अस्पतालमा पनि प्लान्ट स्थापना गर्ने तयारी गरिएको हो । प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुबिधायुक्त बनाउने अभियान अन्तरगत अक्सिजन प्लान्ट राख्न लागिएको मन्त्री बस्नेतले बताइन् ।
बाग्मती प्रदेश मातहतका ति अस्पतालहरुमा अब अक्सिजन प्लान्ट स्थापना गर्नको लागि एक महिना समयसिमा राखेर टेन्डर आह्वान गरिएको छ । प्रदेश सरकारले मंगलबार उक्त सूचना राष्ट्रिय पत्रिका मार्फत प्रकाशन गरेको छ ।
हाललाई कोभिड महामारीलाई मध्यनजर राख्दै काम सुरु गरिए तापनि यसले दीर्घकालीन रुपमा राहत प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् । “अक्सिजन जस्तो प्राण वायु अन्य अन्य समयमा पनि आवश्यक परिरहन्छ, सहज उपलब्धताले व्यक्तिको ज्यान अकालमा जाँदैन” मन्त्री बस्नेतले भनिन् “अबको एक महिनामा प्रदेश अन्तरगतका सबै अस्पतालले आफैं अक्सिजन उत्पादन गर्न थाल्ने छन् ।”
प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक महिनाको समय सिमा राखेर टेण्डर आह्वान गरेको हो । मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडौंको टोखा अस्पताल, ललितपुरको बज्रबाराही अस्पताल, दोलखाको चरिकोट अस्पताल, रामेछापको रामेछाप अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, धादिङको धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ।
यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । साथै मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाँकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन्। यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एक÷एक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ । कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले “एक जिल्ला एक पीसीआर मेसिन” राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको थियो
बालबालिकाको सवालमा भर्चुअल अन्तरक्रिया
Tags: No Comments
मकवानपुर/ कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा मकवानपुरको विभिन्न बालगृहहरुमा बस्दै आएका बालबालिकाहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मकवानपुर जिल्लाका बालगृह संचालक र मानव अधिकार संरक्षण तथा मानब वेचबिखन बिरुद्धको सन्जाल का पदाधिकारीहरु विच सोमबार भर्चुअल अन्तर्कृयात्मक कार्यक्रममा गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीमा बाल्बालिकाहरुको सुरक्षा के कसरी गरिएको छ र बालबलिकाहरुको बहुआयामिक क्षेत्र लाई कसरी ब्यवस्थित गरिएको भन्ने बिषयमा छलफल तथा आगामी दिनमा बालबालिका लक्षित योजना र कार्यक्रम बनाउदा समाबेश गर्नु पर्ने विषयमाथि सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
संघीय सरकारले उपलब्ध गराउन पर्ने भ्याक्सिन लगाउन नपाउनाले कोभिडको जोखिम बढी भएको भन्दै सहभागीहरुबाटले गुनासो गरेका थिए । कार्यक्रममा मकवानपुरका ८ वटा बालगृह संचालकहरुले आ–आफ्नो बाल गृहको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।
हाम्रो घर बालगृहकी सन्चालक इन्दिरा डल्लाकोटीले १६ जना बाबु र ११ जना नानीलाई महामारीबाट बचाउँन बाहिरको मान्छेसँगको भेट प्रतिबन्ध गरेको बताइन् । उमेर अनुसार बालबालिकाहरुलाई खेल्ने र पढ्ने समयको व्यवस्थापन गरिएको उनले बताइन् ।
औपचारिक कक्षाहरु बन्द रहेकोले बालगृह मै आश्रित ठुलो कक्षामा अध्यनरत बालबालिकाहरुले सानो कक्षामा अध्ययनरत बालबालिकाहरुलाई नियमित सिकाइमा सहयोग गरिरहेको उनले बताइन् । यसैगरी नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारले २६ बालिका र २ बालक गरी हाल २८ जनालाई हप्तामा ३ वा ४ पटक आवश्यक बिषयमा परामर्श गर्ने गरिएको र अरितिक्त कृयाकलापमा ब्यस्त गराउँने गरिएको बताए । ‘विभिन्न उमेरका बालबालिकाको समुह बनाइ उत्प्रेरित गराउँदै कोभिड बाट बचेँर बसेका छौं’ मिजारले भने ।

यसैगरी मामाघर नेपालका अर्पण पराजुलीले बालकहरुलाई अतिरिक्त कृयाकलापमा ब्यस्त
गराउनेमा बढी ध्यान दिएको बताए । मामाघर नेपालमा हाल १८ जना बालकहरु आश्रित छन्।यसैगरी शान्ता घर बालगृहका कार्यालय प्रमुख केदार आचार्यले हाल २० जना बालिकाहरु गृहमा रहेको र उनीहरुलाई यो महामारीको कारण हालसम्म कुनै समस्या नभएको बताए ।
मानव अधिकार संरक्षण तथा मानब वेचबिखन बिरुद्धको सन्जाल का उपाध्यक्ष माया लामा,सचिब जगन्नथ सुबेदी, सदस्य कुमारी लामा, बाल कल्याण समाजका प्रकाश खतिवडा, शेयर एन्ड केयरका कृष्ण श्रेष्ठ, नारी सीप सृजना केन्द्र अध्यक्ष सरस्वती बर्तौलालगायतले संस्थाले बालबालिका केन्द्रित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
सञ्जालकै सदस्य संस्था सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख तथा बगमती प्रदेश बाल अधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीले लकडाउनको अवस्थामा भएका बाल संरक्षण र उद्धारका घटना जानकारी गराएका थिए । लकडाउनको अबधिमा मकवानपुरका हेटौंडा, मकवानपुर गढी, बकैया र मनहरिमा ४ वटा हुन लागेका बाल विवाहको घटनालाई
रोक्न सफल भएको ज्ञावलीले बताए ।
बालगृह सञ्जाल मकवानपुरको अध्यक्ष समेत रहेका ज्ञवलीले बालगृहका बिषयमा सबै सरोकारवालाहरुसँग सहकार्य गरिने बताए । ज्ञावलीले बालगृहमा आश्रित बालबालिकाहरुको लागि बाल कानूनी साक्षरता कक्षा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का फिल्ड अफिसर अधिवक्ता जगन्नाथ सुबेदीलाई लकडाउनको अवस्थामा बाल गृहमा बसेका बालबालिकाको निम्ती बाल कानुनी साक्षरता बारे भर्चुअल कक्षाहरु नियमित रुपमा चलाउनु आवश्यक भएकोले यस्तो कार्यक्रम गर्नको लागि अनुरोध समेत गरे ।
हेटौंडा उपनगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले बाल गृह र अन्य संस्थाको कार्यसम्पादन र भावी योजनाको बारेमा आगामी समयको निम्ती उपयुक्त्त कार्यक्रम योजना तर्जुमाको गर्न सुझाब दिएकी थिइन् । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजना र सिविन नेपाल बाल हेल्प लाइनको संयोजनमा कार्यक्रम भएको थियो । तस्बिरःझविन्द्र ज्ञावलि
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत संस्थनगत अाइसाेलेसन तथा घरमै रहेका उनीहरु संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाकारी दिएकाे हाे । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २ सय २० र ६ सय ७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ५ जनामा कोरोना पुष्टि भएको हाे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म संक्रमित भएका मध्य ६ हजार ५ सय ३१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
मकवानपुर/ कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावितहरुको स्वास्थोपचारमा अक्सिजनको अभाव भएपछि विभिन्न सहयोगी संस्थाहरुको भर पर्नु परेको थियो । अब मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले निर्माण सुरु गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा नै अक्सिजन उत्पादन सुरु गरिएपछि विभिन्न जिल्लाहरुमा हुने अक्सिजन अभावको समस्या टर्ने आशा गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरिएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए ।
कोरोनाका कारण गम्भीर बिरामी भएर अस्पतालमा उपचार गराइरहेकाहरुका लागि अक्सिजन दिनकै लागि समस्या भएकाले तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । २ हप्ता अगाडि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन प्लान्टको अनुगमन गर्दै रफ्तारमा कम गर्न निर्देशन दिएका थिए ।
प्रदेश सरकारसँग हेटौंडा उपमहानगरपालिकाको विशेष समन्वयमा प्लान्ट तत्काल निर्माण सम्पन्न गरी उक्सिजन नै उत्पादन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । “काठमाडौ लैजान भनेर रक्सौलमा थन्किएको प्लान्ट हामीले यहाँ ल्याएका हौ” मेयर महतले भने । अक्सिजन प्लान्ट ल्याउने व्यावसायीलाई परेको मूल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको मेयर महतले बताए ।
अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ । अक्सिजनको हाहाकार भएको समयमा यसले पनि धेरै राहत प्रदान गर्ने अस्पतालका चिकित्सकहरुले बताएका छन् । प्लान्ट जडान गर्न दुई दिन समय लागेको छ । प्लान्ट जडानका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाडौंबाट आएका प्राविधिक २४ सै घन्टा खटिएका थिए । आज मितिमा हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । सबै बिरामीको अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए ।
उपमहानगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गरेर कोरोना संक्रमितहरुको ज्यान बचाउने काम गरेको अध्यक्ष प्रसाईंले बताए । यसअघि अक्सिजनको हाहाकार हुँदा विभिन्न क्षेत्रको सहयोगमा अक्सिजन जुटाइएको थियो । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने कार्यका लागि २ वटा गाडी अस्पताललाई जिम्मा लगाएको छ । उपमहानगरपालिकाले हेटौंडाको गौरीटारमा आइसोलेसन र गोरक्षश्वरमा स्वाब संकलनको काम पनि गर्दै आएको छ ।
