मकवानपुर । नेपालमा शनिबार थप ३ हजार ६ सय ६० संक्रमित कोरोनामुक्त भएका छन्। याे सँगै हालसम्म नेपालमा ५ लाख ५३ हजार ३ सय ४२ जना कोरोनामुक्त भएका छन्।
यस्तै, नेपालमा २ हजार ४ सय १ जनामा कोरोना भाइरस पुष्टि भएको छ। देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको छ।
त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ। हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन्। त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टिजेन परीक्षण गरिएको छ।
मकवानपुर । हिमराइट्स मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाको कोभिड अस्पताल तथा आइसोलेसन वार्डका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
विहीबार हिमराइट्स मकवानपुरले गाउँपालिकाहरुका स्थापना गरिएको कोभिड अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । राक्सिराङ गाउँपालिकाले ठाडेचुरीमा स्थापना गरेको कोभिड अस्पतालको लागि फेस शिल, पारासिटामोल, पीपीई, थर्मल गन तथा अक्सिमिटर सहयोग गरिएको हिमराइट्स मकवानपुर कार्यक्रम संयाेजक कुमारी वाइवाले बताइन् ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्माला हिमडुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष मल्लले सबैको सहयोगबाट गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिएको बताए । ‘सहयोग भन्ने कुरा धेरै र थोरै हुन्न, सद्भाव ठुलो कुरा हो, सबैको सदभावको कारण हामीले अस्पतालको सेवालाई बलियो बनाउन सकेको छौ’ अध्यक्ष मल्लले भने ।
स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा राक्सिराङ स्वास्थ्य चौकी अहेव विजय कापरीको पनि उपस्थिती रहेको थियो ।
यसैगरी हिमराइट्स मकवानपुरले मनहरी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलेलाई फेस शिल, पारासिटामोल, पीपीई, थर्मल गन तथा अक्सिमिटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

महामारीको बेलामा स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्यको लागि काम गरिरहेको गैरसरकारी संस्थाले आफूहरुसँग सहकार्य गरेको भन्दै गाउँपालिका अध्यक्ष उप्रेतिले खुसी व्यक्त गरे । ‘यस्ता सहयोगले हामी जनप्रतिनिधिहरुलाई मनोबल उच्च राखेर फिल्डमा खटिन उर्जा प्रदान गर्ने छ’ अध्यक्ष उप्रेतीले भने ‘एकदमै उपयोगी, अत्यावश्यक र महत्वपूर्ण सामग्रीहरु सहयोग गर्नुभएको छ ।’ आगामी दिनमा पनि समाजसेवामा गैससहरुको हातेमालोको अपेक्षा गाउँपालिकाले गरेको उनले बताए ।


हिमराइट्स मकवानपुरले यि गाउँपालिकाहरुमा स्वास्थ्य जानकारीमुलक पम्प्लेट पनि वितरण गरेको संस्थाले जनाएको छ । महामारीबाट जाेगिनकाे लागि अपनाउनु पर्ने स्वास्थ्य जानकारीमुलक पम्पेटहरू वितरणा गरिएकाे हिमराइट्सले जनाएकाे छ ।
सिमान्तकृत समुदायको लागि नेतृत्व विकास तथा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत हिमराइट्स मकवानपुरले विगत ४ वर्षदेखि दुबै गाउँपालिकाको २ / २ वटा विद्यालयहरुमा कार्यक्रम गर्दै आएको र कोभिडको समय भएकोले स्वास्थ्य सामग्री सहयोग गरिएको हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक वाइबाले बताइन् ।
कोरोना महामारीको दोस्रो लहर रोक्न अधिकांश जिल्लामा जारी निषेधाज्ञा डेढ महिनाभन्दा बढी भइसक्दा पनि राष्ट्रिय संक्रमण दर २० प्रतिशत हाराहारीमै छ। दुर्गम जिल्लामा संक्रमण दर अझ बढी छ। महामारी नियन्त्रणका लागि पर्याप्त परीक्षण र खोपको अभाव सँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्नुमा आममानिसमा भाइरस परीक्षणमा देखिएको हिच्किचाहट प्रमुख कारण रहेको छ।
‘अस्ती पानीले भिजेको, हिजो चिसो खाएको, आज धुलोमा गएको जस्ता बहाना’ बनाएर परीक्षण नगर्नेको संख्या अत्यधिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। उनीहरूका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुनसक्छ भन्ने सन्देश व्यापक हिसाबले जनस्तरमा पुर्याउन आवश्यक छ। महामारीको यो अवश्थामा आम मानिससम्म पुग्न प्रभावकारी जोखिम सञ्चार रणनीति आवश्यक छ। भाइरस परीक्षणप्रति आम नागरिकलाई आकर्षित गर्न स्थानीय भाषामा सन्देश, टेलिफोन रिङटोनमा यो विषयमा सन्देश आवश्यक रहेको तथा परीक्षण व्यापक पार्न स्थानीय सरकार, स्वयंमसेवी समूह, आमा समूहलगायतका नागरिक समाजका समग्र सदस्यको सहयोग चाहिने विज्ञहरू बताउँछन्।
विशेषगरी भाइरस संक्रमण व्यापक हिसाबले समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका र दुर्गम क्षेत्रका वासिन्दासम्म पुग्न सिर्जनात्मक विधि अवलम्बन गर्नु आवश्यक छ। विपन्न तथा दैनिक घरायसी कामको बोझले थिचिएकालाई भाइरस परीक्षण गर्न राज्यले प्रोत्साहन प्याकेज दिनुपर्ने हुन्छ। परीक्षणलाई खाद्य सहयोग तथा अन्य राहातसँग जोड्न सके विपन्नहरू परीक्षण गर्न तयार हुन सक्छन्। महामारीको सही अवस्थाको आंकलन गर्न तथा जनजीवनलाई पुरानै लयमा फर्काउन भाइरसको व्यापक परीक्षणको महत्व छ।
कोरोना भएकालाई समाजले गर्ने व्यवहार, भाइरसका विषयमा सुरुदेखि देखिएको भय, समाजिक हिसाबले अपहेलित हुनपर्ने डर यथावत् छ। कोरोनाका लक्षण हुँदाहुँदै पनि विभिन्न जिल्लाका ग्रामीण वासिन्दाहरू घरमै बस्ने र परीक्षण नगराउने गरेका समाचार सार्वजनिक भइरहेकाछन्। परीक्षणप्रतिको आम विश्वास र समयमै गरिने परीक्षणले बिरामी र तिनका परिवारजनको जीवन रक्षा गर्नसक्ने भएकाले आमजनसमुदायको भाइरसप्रतिको समग्र बुझाई अझै नकारात्मक छ। स्थानीय जनतासँग सिधा र विश्वासिलो सम्बन्ध भएका स्वास्थ्यकर्मी, गाउँका मान्यजन तथा परपरम्परागत उपचार गर्ने धामी झाँक्रीलगायतका परम्परागत उपचारकलाई सलग्न गराउँदा सर्वसाधारण परीक्षणप्रति आकर्षित हुन सक्छन्। समयमै गरिने परीक्षणले संक्रमितको उपचार गर्न सकिने र अक्सिजन स्तर धेरै घट्नबाट जोगाउन सकिने चिकित्सक मान्छन्।
‘संक्रमण समयमै पत्ता लाग्दा कोभिड–१९को उपचार सम्भव छ भन्ने सन्देश जाँदा मानिसहरू परीक्षण गर्न सक्छन्,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्। ‘समाजमा सक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। स्थानीय तहले पहिलो लहरमा देखाएको सक्रियता अहिले पनि उत्तिकै आवश्यक छ,’ उनी भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ सरकारसँग प्रविधि र संशाधन यथेष्ट भएको तर आमजनतामा अझै पनि परीक्षणप्रति हिच्किचाहट रहेको स्वीकार्छन्। ‘हामीसँग विभिन्न देशवाट प्राप्त २० लाख भन्दा बढी एन्टिजेन टेष्ट किट छन्, देशभरका ९२ प्रयोगशालाले दिनहुँ ३० हजार पिसिआर परीक्षण गर्न सक्छन्। तर अपेक्षित परीक्षण हुन सकेको छैन। त्यसैले व्यापक परीक्षण (मास टेस्ट) गर्न सबै पालिका र आमनागरिक समाजको सहयोग आवश्यक देखिएको छ,’ उनी भन्छन्।
मन्त्रालयले यही मंगलबार ५०० स्थानिय पालिकाका प्रतिनिधिसँग जुम बैठक आयोजना गरेर परीक्षणलाई अझ व्यापक पार्न पालिका प्रमुख र स्थानीय स्वास्थ्य अधिकारीलाई अनुरोध गरेको श्रेष्ठले बताए। ‘हामीसँग एन्टिजेन छन्, स्वास्थ्यकर्मीलाई भत्ता छ, अब आवश्यक भनेको सबै पालिका र नागरिक समाजको सहयोग हो,’ उनी भन्छन्, ‘हामीले उहाँहरूलाई यो भालुको कम्पट कहिलेसम्म समाइरहने भनेर भन्यौं।’
परीक्षण अभावमा समुदायमा भाइरसको सहज संक्रमण भैराखेको स्वीकार गर्दै भाइरस परीक्षणको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरिरहेका श्रेष्ठ थप्छन्, ‘परीक्षणका विषयमा परिवार र टोलमा जागरण आउनुपर्यो , यो एक्लो मन्त्रालयले मात्र गर्न सक्ने काम होइन।’ भारतबाट विभिन्न नाका हुँदै दिनहुँ ५ हजार नेपाल प्रवेश गर्ने उल्लेख गर्दै प्रमुख विशेषज्ञ श्रेष्ठ ती सबैको परीक्षण गर्न र क्वारेन्टिनमा राख्न पर्ने तर्क गर्छन्। ‘सक्रमितको सम्पर्कमा आएका र शंकास्पद मानिसका परीक्षणलाई प्रभावकारी पार्न सके लकडाउन जारी राख्न आवश्यक हुदैन,’ उनी भन्छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल सरकारले रेडियो, टिभी तथा अन्य समाचार माध्यमवाट परीक्षण गर्न अभिप्रेरित गर्ने सन्देश अझ व्यापक गर्ने तयारी रहेको बताउछन। उनले मोबाइलको रिङ टोनमा समेत निःशुल्क परीक्षणबारे जानकारी दिने तयारी भइरहेको बताए। परीक्षणलाई व्यापक पार्न स्थानिय स्वास्थ्यकर्मी, स्वयंमसेवा र आमा समूहलाई झन् बढी सशक्त हिसाबले परिचालन गर्न लागिएको उनी बताउँछन्। ‘हामीले परीक्षणको दायरा बढाएर आवश्यक पर्नेलाई समेटेका छाैं। अब परीक्षण किट गाउँगाउँमा उपलव्ध गराउन आवश्यक छ,’ उनी भन्छन्।
महामारी नियन्त्रणका लागि अत्यधिक जनसंख्यालाई खोप उपलब्ध गराउनुपर्नेमा नेपालको खोप अभियान पछिल्ला दिनमा अत्यन्त कमजोर बनेकोछ। हाल चीनले अनुदान दिएको १० लाख डोज खोपमार्फत जेष्ठ नागरिकलाई खोप दिइएको छ। तर यसअघि कोभिसिल्ड खोप लगाएका साढे १३ लाख जनसंख्याले दोस्रो खोप कहिले पाउने भन्न्नेमा अझै निश्चित भएका छैन। उनीहरूले पहिलो डोज लगाएको १२ साता पुगिसकेको छ। ‘हामीले कोभिसिल्डको समान फर्मुला भएको अष्ट्राजेनका खोप अन्य देशबाट खरिद गर्न र भारतवाटै पनि ल्याउन प्रयास गरिरहेका छाैं,’ प्रवक्ता डा. पौडेल भन्छन्। याे समाचार नागरिक दैनिकबाट साभार गरिएकाे हाे
मकवानपुर । मकवानपुरका ३ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरिएकाे छ । इटिएससी नेपाल र टियर फण्डले ३ स्वास्थ्य संस्थालाई ८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हाे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल, मनहरी अस्पताल र बकैया स्वास्थ्य केन्द्रलाई ह्विल चेयर, बेड, अन्य औषधिसहितको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । हेटौँडा अस्पताललाई ४ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अध्यक्ष राजेश प्रसाईलाई इटिएससी नेपालका कार्यकारी प्रमुख सूर्य प्रकाश राईले हस्तान्तरण गरेका हुन् ।
यस्तै, मनहरी अस्पतालमा पनि २ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ भने बकैया स्वास्थ्य केन्द्रीय केन्द्रलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कार्यकारी प्रमुख राईले जानकारी दिए ।
संस्थाले मकवानपुरको जिल्ला कोभिड समन्वय समिति, प्रहरी पोष्ट, अन्य आइसोलेसनहरुलाई पनि सहयोग गर्ने राईले बताए ।
नागस्वती ईन्भेष्टमेन्ट ग्रुपद्वारा बिरामीलाइ सहयाेग
Tags: No Comments
मकवानपुर । कोरोना महामारीको कारण समस्यामा परेकाहरूको लागि सहयोग गर्दै आएको नागस्वती ईन्भेष्टमेन्ट ग्रुपले मंगलबार हेटौंडा अस्पतालमा उपचाररत बिरामीहरु तथा बिरामीका कुरुवाहरुलाई सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिका –७ को नागस्वती ईन्भेष्टमेन्ट ग्रुपले हेटौंडा अस्पतालमा कोभिडको कारण उपचाररत बिरामी र बिरामीको कुररुवाहरुलाई खाना, अण्डा, पानी तथा स्वास्थ्य सुरक्षाको सामग्री सहयोग गरेको हो ।
विगतमा बिहानकाे खाजाकोमा प्रदान गर्दै आएको दाल तथा अण्डा उपलब्ध सेवा रोटरी क्लबले सोमबारबाट सेवा बन्द गरेपछि आइपर्न सक्ने समस्यालाई मध्येजनर गर्दै नागस्वती ईन्भेष्टमेन्ट ग्रुपले उक्त सहयोग गरेको ग्रुपका हेम अधिकारीले बताए ।
ग्रुपले पानी ५० कार्टुन मास्क २ हजार थान, मुङ दाल १५ किलो अण्डा २१ क्रेट सहयोग गरिएको ग्रुपका अधिकारीले बताए ।
नागस्वती ईन्भेष्टमेन्ट ग्रुप हेटौंडा ७ निवासी ब्यवसायीहरुको ग्रुप हो । यो ग्रुपले यसअघि पनि वृद्धा आश्रमलगायतलाई आवश्यक सहयोग गर्दै आएको ग्रुपका अर्को सदस्य राजकुमार बानियाँले बताए ।
ग्रुपको तर्फबाट मंगलबार रामकृष्ण भट्ट, श्यामसुन्दर परियारलगातको समूहले अस्पताको हेल्प डेस्कमा सहयोग हस्तान्तरण गरेको थियो ।