सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए ।
सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी स्रोतको छ ।
जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने चर्चा मात्र भएको छ, परिणाम निस्केको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने बताएका छन् । ‘अब भ्याक्सिनको समस्या छैन, पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ,’ बैठकमा ओलीले भने, ‘भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिइङ गरिरहेका छन् ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको भेरोसेल खोप खरिदको सम्झौता गरे पनि गुपचुप राखेको थियो । प्रधानमन्त्रीले तीन दिनभित्र खोप आउने बैठकमा जानकारी गराएपछि मन्त्रालयले हतारिँदै शुक्रबार साँझ विज्ञप्ति जारी गरेर चीनमा खरिद गरेको खोप ल्याउन लागेको सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीले गत असार २ मा कोभिड–१९ निर्देशक समितिको बैठकमा चीनबाट ४० लाख खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने जानकारी गराएका थिए तर वायुसेवा निगमले तीनपटकमा ३० लाख खोप ल्याउन जहाज पठाउन लागेको जनाएको छ ।
‘खोप खरिदको सम्झौताअनुसार असार २४ बाट सुरु भएपछि साप्ताहिक रूपमा खोप आपूर्ति गर्ने तयारी छ,’ स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ । जहाजले शुक्रबार १० लाख मात्रा खोप ल्याउने महानिर्देशक पौडेलले बताए । दोस्रो चरणमा असार ३१ मा जहाज पठाएर साउन १ मा १० लाख डोज ल्याइनेछ । तेस्रो चरणमा साउन ७ मा जाने जहाजले भोलिपल्ट अर्को १० लाख डोज खोप ल्याउनेछ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने व्यवस्था मिलाइने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । चीनबाट खरिद गरेको बाहेक गाभी कोभ्याक्स सुविधाको खोप पनि छिट्टै प्राप्त हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनु अघिसम्म खोप ल्याउन लागेको कुरा बेखबरजस्तै गर्ने स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारी खोप भण्डारण स्थलको व्यवस्थापनमा जुटेका छन् । ‘कहिले खोप आउने भन्ने कसैलाई जानकारी दिएका थिएनन्, प्रधानमन्त्रीज्यूले बोलेपछि अब भण्डारण कहाँ कसरी गर्न सकिन्छ भनेर तयारीमा जुटेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘टेकुस्थित केन्द्रीय भण्डारणमा मात्रै अटाउन नसके सिधै प्रदेशमा लैजाने व्यवस्था मिलाउँदै छौं ।’ १० लाख मात्रासम्म केन्द्रीय भण्डारणमा राख्न सकिने विभागले जनाएको छ ।
चीन र भारतबाट अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार र सरकारले भारतबाट खरिद गरेको १० लाखसहित ४२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । यसमध्ये २६ लाख ४ हजार ८ सय ६६ जनाले पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५७ हजार ६ सय ३५ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् । पहिलो मात्रा लगाउनेमा १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ७६ हजार ३ सय २८ जनाले भेरोसेल खोप लगाएका छन् । दोस्रा मात्रा लगाउनेमा ४ लाख ५९ हजार ६ सय २५ जनाले कोभिसिल्ड र २ लाख ९८ हजार १० जनाले भेरोसेल खोप लगाएका छन् । चीनले दोस्रोपटक उपलब्ध गराएको खोपको पहिलो मात्रा लगाएकालाई असार २२ देखि दोस्रो मात्रा लगाइने कार्यक्रम सार्वजनिक भइसकेको छ ।
सरकारले जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ बाट दोस्रो मात्रा खोप लगाइने बताए । ekantipur.com मा समाचार प्रकाशित छ ।
मकवानपुर । मकवानपुरमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएकाे छ ।
अस्पतालका अनुसार काेराना संक्रमण पुष्टि भइ मृत्यु हुनेमा कैलाश गाउँपालिकाका ६५ वर्षीय पुरुष र बारा जिल्लाको निजगढ नगरपालिकाको ७५ वर्षीया महिला रहेकी छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा गरिएको पिसिआर परीक्षणमा २३ जना र ९१ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३७ जना गरी थप ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ११ हजार १ सय ७९ जना पुगेको छ ।
जिल्लामा हालसम्म १० हजार १ सय १६ जना कोरोना निको भएका छन् । जिल्लामा हाल ८ सय ८८ जना सक्रिय संक्रमित उपचाररत रहेको छन् ।
यस्तै मकवानपुरमा ९० जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९० जना संक्रमण मुक्त भएका हुन् । याे संगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार १ सय १६ पुगेको छ ।
सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ ।
नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन । १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।
अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले ? भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड १९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले खोप लगाउन सरकारले शिक्षकलाई प्राथमिकतामा नराखेको बताए । उनले भने, हामी विद्यार्थीसँग प्रत्यक्ष जोडिने व्यक्ति हौं । सरकारलाई पटकपटक खोप दिलाउन लिखित र मौखिक आग्रह गरे पनि सरकार गम्भीर देखिँदैन ।’ सरकारले खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने भन्दै यो अवस्थामा वैकल्पिक विधिबाट मात्रै पठनपाठन गराइने बताए ।
काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षकहरूलाई कोरोनाविरुद्ध खोपको प्राथमिकतामा राखिनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरूलाई खोप लगाउनबाट सरकारले बेवास्ता गरेको छ । शिक्षकहरू अभिभावक, विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्नेहुन्छ । त्यसैले पनि शिक्षकलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।’
सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । केही दिनमै सरकारले खरिद गरेको १० लाख डोज भेरोसिल खोप चीनबाट नेपाल भित्रिँदै छ । तर, सो खोप लगाउने सूचीमा पनि शिक्षक प्राथमिकतामा छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् ।
शिक्षक रामराज बस्नेतले सरकारले खोप अभियानमा शिक्षकलाई बेवास्ता गरेको बताए ।
यस्तै, त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाको समयतालिका सार्वजनिक भएको छ । तर, त्रिविका शिक्षक कर्मचारीले पनि खोप लगाउन पाएका छैनन् । केही शिक्षकहरूले खोप उपलब्ध नगराए दबाब निर्माण गरेर संघर्ष गर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको पहिलो प्राथमिकीकरण सूचीमा स्वास्थ्यकर्मी, सार्वजनिक सफाइकर्मी, नेपाल सरकार बैंक तथा संस्थानका कर्मचारी, कैदीबन्दी रहेका छन् । यस्तै, खोप लगाउने दोस्रो प्राथमिकताको सूचीमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षका दीर्घ रोगी रहेका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेकाे समाचार साभार गरिएकाे
मकवानपुर । पल्पसा आइसोलेशनमा रहेका ६ जना काेराेना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट विहीबार ६ जना संक्रमण मुक्त भएकाहरुलाई विदाई गरिएको हाे ।
क्रमण मुक्त भएकाहरुलाई पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, सदस्य सुनिल अधिकारीलगायतले विदाई गरेका थिए ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिलिपकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम आयोजना गरी काेराेना निकाे भएकाहरूलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल र मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटसमेतकाे उपस्थिति थियाे ।
यसैगरी पल्पसा आइसोलेशन सेन्टरका स्वास्थकर्मीबाट दैनिक फोनसम्पर्क गरी संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिने गरिएको छ । पल्पसा आइसोलेशन विहीबार ४२ जना कोभिड १९ संक्रमितहरुलाई फोनमार्फत सम्पर्क गरिएको छ । सम्पर्क गरिएका मध्ये एकजना पल्पसा आइसोलेशन सेन्टरमा भर्ना भएका छन् । बाँकी ४१ जना घरमै सुरक्षित रहेका छन् ।
मकवानपुर । नेपालमा थप ४ हजार ३ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा उनीहरु देशका विभिन्न हाेम अाइसाेलेसन, संस्थागत अाइसाेलेसन र अस्पतालबाट निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै साेही समयमा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २ सय ५९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी जम्मा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेको छ ।