मकवानपुर । शल्यक्रिय गरेर बच्चा जन्माएकी महिलाको मृत्यु भएपछि मकवानपुरको हेटौंडा अस्पतालमा मृतकका आफन्तले छानबिनको माग गरेका छन् ।
मकवानपुुरको हेटौंडा अस्पतालमा ३१ वर्षीय सुत्केरीको मृत्यु भएपछि आफन्त शब समेत बुझ्न मानेका छैनन् । हेटौंंडा–९ कि सिता माया मोक्तानको शल्यक्रिया गराएपछि मृत्यु भएको मृतकको बहिनि देवि लामाले बताइन । “दिदिको अवस्था सुरूमा ठिक थियो, पछि गाह्रो भएपछि आईसियूमा लगियो, उता पनि समस्या भएपछि स्वास्थ्यकर्मीले समयमा वास्ता नगर्दा ज्यान गयो” लामाले भनिन् ।
८ बैशाखमा हेटौंडा अस्पतालमा भर्ना भएकी सिताको ९ गते शुक्रबार शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि छाति पोल्ने र पेट पोल्ने जस्ता अवस्था देखिए पछि आईसियु वार्डमा लगिएकोे थियो । सितालाई अस्पतालले शनिबार मृत घोषणा गरेको हो । यस्तै हेटौंडा अस्पतालका प्रसुतिमा रहेका स्वास्थ्य कर्मचारीहरुले सिताको शल्यक्रियापछि पनि हिँडडुल गर्न सक्ने र चर्पीसम्म जान सक्ने स्थितिमा रहेको बताईएको छ । सितालाई छाति पोल्ने समस्याभए पछि आईसियुमा लगिएको थियो ।
यस्तै, सिताका आफन्तहरुले अस्पतालको नर्सहरुको लापरबाहिले मृत्यु भएको आरोप लगाएका छन् । सुत्केरीलाई डाक्टर र नर्सहरुले वास्ता नगरेको आफन्तहरुले बताएका छन् । सिता बेहोस हुँदा पनि नर्सले सहयोग नगरेको आरोप लगाएका छन् ।
अस्पताल व्यवस्थापनले हाललाई शब उठाउन र मृतकको आफन्त सहितको विधिवत रूपमा छानवीन समिति बनाएर अरू प्रक्रिया अघि बढाउने बिषयमा सहमति गराउन खोजेपनि आफन्तले मानेका छैनन् । “हामीले आज र भोलिसम्मको लागि छानवीन गर्न समय दिएका छौ, उहाँहरू भ्याईन्न भन्नुहुन्छ” बहिनी लामाले भनिन “लास उठाएपछि केश क्लोज गर्न राजनीति भएको हो,हामी मान्दैनौ ।”
यता अस्पताल प्रशासनले घटनाको छानविन सक्दो चाँडै गर्ने र स्वास्थ्यकर्मीले बेवास्ता गरेकै कारण मृत्युु भएको पाईएमा कारवाही हुने बताएको छ ।
मकवानपुर । नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान आजबाट सुरु हुदैछ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको हो । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा आज शुक्रबारदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएकाे छ ।
निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । उक्त अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप लगाइने लक्ष्य छ ।
खोप अभियान सञ्चालनको लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएको छ । ८० प्रतिशतभन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले बताए । प्रदेशमा खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना स्वास्थ्यकर्मी, १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुने छन् । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटिएका छन् ।
यसैगरी मकवानपुरमा खोप अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु गर्ने छनन् । खाेप अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचारप्रसार, खोपको उपलब्धतालगायत तयारी पूरा भएको स्वास्थ्य कार्यालयका खाेप कार्यक्रम फाेकल पर्सन बासुदेव रिमालले बताए । सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको उनले बताए ।
मकवानपुरमा संचालन हुने खोप अभियानमा १ लाख ८ हजार ४ सय ८६ जना बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले बताए । गुरागाईका अनुसार जिल्लामा कुल ६ सय ८ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ । साथै जिल्लामा अभियानमा ८ सय ७० जना खोपकर्ता र १ हजार ३ सय ९० जना स्यमसेवक परिचालित हुने छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १ सए ६३, थाहा नगरपालिकाका ८ हजार ६ सय १६, बागमती गाउँपालिकाका ६ हजार ६ सय २८, बकैयाका ८ हजार ९ सय ४८, मनहरीका १० हजार ३ सय ७२, राक्सिराङका ५ हजार ६ सय ९२, कैलाशका ४ हजार ८ सय ३८, भीमफेदीका ४ हजार ७ सय ५८, मकवानपुरगढीका ५ हजार ३ सय ३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको गुरागाईले जानकारी दिए । लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत उनले बताए ।
यसै गरी हेटौंडा उपमहानगरपालिकामा खोप अभियान चैत २५ देखि बैशाख ५ गतेसम्म चल्ने हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईले बताए । अभियानको अन्तिम दिन भने खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा टाइफाइडविरुद्धको खोप दिइनेछ । देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न खोप अभियानले सहयाेग पुग्ने बताइएकाे छ ।
मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ । ३ वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ । विगत ५ वर्षको तथाङ्क हेर्दा हरेका वर्ष ४ लाख ५० हजार जनामा टाइफाइडको संक्रमण देखिने गरेको छ ।
‘हेटौंडा उपमहानगरपालिकामा ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई घरमै निमन्त्रणा कार्ड पठाइएकाे छ’ चौलागाईले भने, ‘उपमहानगरपालिकामा १ सय १५ विद्यालय केन्द्र र २० वटा स्वास्थ्य संस्था केन्द्र निर्धारण गरेका छौ ।’ कोभिड-१९ विरुद्धको खोप लगाएको १४ दिन कटेपछि मात्र टाइफाइडविरुद्धको खोप लगाउन मिल्ने बताइएकाे छ । यस खोप लगाए पस्चात सामान्य ज्वरो आउने,सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने जस्ता सामान्य असर देखिने सक्ने बताइएकाे छ ।
सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।
मकवानपुर/बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । उनले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका हुन् ।
मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले सार्न खोजेको भन्ने कुरा भ्रममात्रै भएको बताउँदै हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे ।
हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन सकिने अवस्था नभएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिईएको बताउँदै उनले स्नातक तहका ३ विषयको कक्षाहरु हेटौंडामा नै संचालन भईरहेको स्पष्ट पारे ।
प्रतिष्ठान बागमती प्रदेशको गौरब भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैंया बजेट उपलव्ध भएकोले हेटौंडामा पूर्वाधार विकास गर्न लागिएको बताए । उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नगर्दा काम अघि बढाउन समस्या भएकाले यसको यथाशिघ्र समाधान गरिने बताए ।
हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउन प्रदेश सरकारले विगतमा पनि बजेट उपलव्ध गराएको र अहिले पनि उपकरण र जनशक्ति थप गर्नेतर्फ काम भईरहेकोले अस्पतालको सेवा झन प्रभावकारी बनाईने बताए । उनले अफवाह र भ्रममा नपर्न र प्रतिष्ठान र अस्पताललाई थप प्रभावकारी र व्यवस्थित गर्न राजनैतिक दलहरुको समेत बुझाव आवश्यक रहेकाले उपलव्ध गराउन आग्रह गरे । प्रतिष्ठानको ऐनले पुरानो सामाजिक विकास मन्त्रालयको परिकल्पना गरेको लगायतका विषयमा सुधार गर्नुपर्ने भएकाले पनि अध्यादेश आवश्यक भएको बताए ।
सरोकारवालाहरुको माग अनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाई छ । प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको बताउदै मन्त्री लामाले प्रतिष्ठान स्थापनाकाल देखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनि अहिले समाधानको काम भईरहेको बताए ।
छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटा, मन्त्रालयका सचिव बद्रीबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ शैयाको अस्पताल १५ जना जेष्ठ नागरिकबाट गरिएको छ । विहीबार फरक तरिकाले गाउँपालिकाले आफ्नो पालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास गरेको हो । गाउँपालिका भित्रका ७० वर्ष माथि उमेर समूहका १५ जना जेष्ठ नागरिकद्वारा संयुक्त शिलान्यास गर्दै पृथ्वी चन्द अस्पताल निर्माण कार्यको सुरुवात गरेको छ ।
भीमफेदी–६ मा बन्न लागेको अस्पतालको लागत १२ करोड ६१ लाख ९२ हजार ७५७ रुपैयाँ ३६ पैसा रहेको छ । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त अस्पताल २०८१ फागुन १५ गतेसम्ममा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो कार्य अविधिमा स्वास्थ्य क्षेत्रमा उल्लेखिनिय कामहरु भएको बताए । ‘गाउँपालिकाको सबै वडाहरुमा स्वास्थ्य भवन निर्माणको कामहरु भईरहेको छ’ उनले भने–‘स्थानीय सरकार गठन भएपछी गाउँपालिकामा भौतिक क्षेत्रको विकास,आर्थिक,सामाजिक सुरक्षा क्षेत्रको विकास भएकाे छ।’
अध्यक्ष लामाले सरकारको स्वास्थ्य मन्त्रालय,नेपाल हेल्थ सेक्टर सर्पोट प्रोगाम र पुरातत्व विभागको सहयोग र गाउँपालिको कर्मचारीहरुको साथ र सहयोगमा स्वास्थ्य भवन निर्माणको शिलान्यास भएको बताए । उनले समाजमा ठूलाबडाले शिलान्यास गर्दा राम्रो हुन्छ भन्ने सोच रहेको भन्दै त्यसलाई चिर्न जेष्ठ नागरिकहरुको हातबाट शिलान्यास गरेको बताए ।
उनले पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई वृद्धाआश्रममा लैजाने प्रवृति गलत भएको भन्दै जेष्ठ नागरिकहरुलाई घर परिवार,समाज,स्थानीय तह र सरकारले सम्मान गर्नुपर्ने बताए । अध्यक्ष लामाले अस्पतालको शिलान्यास गर्ने १५ जना जेष्ठ नागरिकहरुलाई अस्पतालबाट आजीवन ओपिडी सेवा निशुल्क हुने समेत घोषणा गरे ।

शिलान्याश कार्यक्रममा निर्माण कम्पनी रबिना नवसिर्जनशिल जेभीका प्रतिनिधि बिक्रम चौलागाईले अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरि कार्यक्रममा गाउँपालिकाका इन्जिनियर सुन्दर बर्तौलाले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसारनै सेवा, सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्न लागेको बताए । उनले ३ वटा ब्लकमा निर्माण हुन लागेको अस्पतालमा लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने बताए ।
यसैगरि,कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीले गाउँपालिकाले विकास निर्माणका कामहरु गर्दै आएको बताईन् । उनले जिल्ला समन्वय समितिले गाउँपालिकाको प्रशासनिक भवन निर्माण लगाएत विभिन्न सहयोग गरेको बताउँदै आउँदो दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना,प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन,वडा अध्यक्षहरु,वडा सदस्यहरु,गाउँपालिकाका कर्मचारी,राजनीतिक दलहरुका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर सहित बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र सिन्धुपाल्चोकमा बर्डफ्लु संक्रमण देखिएको हो ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै बर्ड फ्लुको संक्रमणले महामारीको रूप लिनसक्ने भएकोले सजक रहन आग्रह गरेको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा विभिन्न जिल्लामा बर्ड फ्लु संक्रमण देखिएपछि नष्ट गरिएको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको पाण्डेले बताए ।
संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिब पाण्डेले । “राहतको लागि केहि समय लाग्छ,तर किसानले क्षतिपुर्ति पाउनुहुन्छ” उनले भने । मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।
एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि बिकास महाशाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कडेलले बताए । संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ ।
त्यस्तै मन्त्रालयले प्रदेशको सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट र्यापिड टेस्ट किटबाट परीक्षणको व्यवस्था मिलाइएको छ । संक्रमित पंछीहरुको ओसारपसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पंछीपालक व्यवसायीले पंछी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र र्यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिए ।
नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेला बेलामा फैलने यस्ता संक्रमणले समस्या ल्याउने गरेको छ । यस्ता समस्याबाट किसान हतोत्साहित नहोउन भनेर सरकारले राहतको कार्यक्रममार्फत थोरै भएपनि सम्बोधन गर्ने गरेको पाण्डेले बताए ।