महिनावारी प्याड: न कर्मचारीलाई छ, न सेवाग्राहीलाई
Tags: No Comments
संविधानको धारा ३५ (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भनिए पनि हेटौंडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राही होस् वा कर्मचारी उनीहरुले आफ्नो पहुँचको आधारमा मात्रै सेवा पाएका छन् । अन्य कार्यालयमा सेनिटरी प्याडको उपलब्धता नै छैन । महिलाहरुले आफूहरुको अवस्था अनुसार सेवा प्रदायक संस्था तथा कार्यालयमा व्यवस्था नहुनु पनि विभेदकै रुप हाे ।
मकवानपुर । स्टपटाइफर्सले सताएपछि मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका–६ की सर्मिला कार्की हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भएको दोस्रो दिन मध्यरातमा उनी महिनावारी भइन् । उनकी सासुआमाले अस्पतालमा प्याड खोजिन् तर पाइनन् । अस्पतालको फार्मेसीमा किन्न गई । त्यहाँ पनि सकिएको जानकारी पाइन् । अब उनी बजार निस्कनु पर्ने भयो, तर मध्यरातमा बजारका मेडिकलहरु बन्द हुने भएपछि कुनै उपाय नभएको भनेर उनी बिरामी तिरै फर्किइन् ।
बिरामी सर्मिलालाई जसरी पनि प्याड चाहिएको थियो । उनले जुत्ति लगाएर सासुआमालाई सुत्केरी वार्डमा प्याड खोज्न पठाइन् । सुत्केरी वार्डमा सुत्केरीका आफन्तले आफैं किनेर ल्याएको एउटा पिस प्याड सहयोग गरे । सर्मिलाको समस्या केही घण्टाको लागि ट-यो ।
खुट्टा भाँचिएर ५ दिनदेखि अस्पतालमा भर्ना भएकी हेटौंडा–१७ कि उर्मिला घलानलाई पनि त्यस्तै समस्या भयो । श्रीमान बैदेशिक रोजगारीमा छन् । उपचारको क्रममा दाजु विपिनसँग अस्पताल आइकी उर्मिलामा भर्ना भएको चौथोदिन महिनानवारी भइन् । प्याडको लागि नर्ससँग कुरा राखिन् तर पाइनन् । “दाईलाई भन्न पनि अफ्ठ्यारो लाग्यो, आफैं बिस्तारै खोज्न जाँउ, खुट्टा भाँचिएको छ” उनले भनिन् “बिरामीकै लागि त व्यवस्था हुनु पर्ने नि ।” समस्या नै परेपछि उनले दाजुलाई भनेर बजारबाट प्याड मगाएको बताइन् ।
हेटौंडा अस्पतालको यो प्रतिनिधि समस्या हो । दैनिक ८ सय बिरामीले सेवा लिने यो अस्पतालमा महिनावारीको बेलामा प्रयोग गर्ने महिनावारी प्याड निःशुल्क छैन । ओपीडी सेवाको लागि आउने बिरामीलाई आपतकालीन प्याड चाहिदा स्वास्थ्य जाँचको लागि बसेको लाइन छोडेर प्याड किन्न दौडिनु पर्ने हुन्छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले अस्पतालमा निःशुल्क सेनिटरी प्याड राख्न नसकेको स्वीकार गरे । सरकारले अस्पतालबाट निःशुल्क प्रदान गर्ने औषधि नै अभाव रहेको अस्पतालमा सेनिटरी प्याडको byabasthaa नहुनु सामान्य भएको उनले बताए । “सेवा सुविधाको विस्तार गर्दै छौ, विस्तारै यि समस्या पनि सम्बोधन हुने आशा गरौं” प्रसाइले भने ।
हेटौंडा उपमहानगरपालिकामा पनि दैनिक सयौं सेवाग्राहीहरु आइपुग्छन् । तर महिलालाई सेवा लिंदा आइपर्न सक्ने समस्या बारे उपमहानगरले चासो देखाएको छैन । नक्सा पासको लागि हेटौंडा उपमहानगरपालिका आइपुगेकी हेटौंडा –१३ कि कोपिला लामा सेनिटरी प्याड फेर्नकै लागि आधा घण्टा अलमलमा परिन् ।
काम तिर लागौं, प्याड फेर्न बितिसकेको छ, प्याड फेर्न तिर लागौ न नगरपालिकामा प्याडको उपलब्धता छ न शौचालयमा प्याड व्यवस्थापन गर्ने ठाउँ नै । “नगरपालिका आइसकेको थिएँ, फेरी रिक्सा चढेर बजार फर्केर गएँ, प्याड ल्याएँ अनि फेरेर लाइनमा बसे” उनले भनिन् “जुन कार्यालय जाँदा नि हामीले स्वाभिमानका साथ सेवा लिन सक्दैनौ ।” आफूसँगै आएका दाजुभाइले काम भ्याएर फर्कदाँ कोपिला प्याड फेर्ने र व्यवस्थापन गर्ने काम भ्याएर बल्ल नक्सा शाखा पुगिन् ।
“समानताको कुरा सबैले गर्छन, यो पनि असमानतको एउटा उदाहरण हो, हामीलाई सेवा लिनमा आइपर्ने एउटा अड्चन हो यो पनि” उनले भनिन् । गैरसरकारी संस्थामा कार्यरत उनी देख्दा सामान्य तर शंवेदनशिल कुरामा जनचेतना अभिवृद्धि तथा वकालत नपुगेको बताउँछिन् ।
“उपमहानगरपालिका प्रमुख महिला नै हुनुहुन्छ, यति त उहाँले चासो दिनुपर्ने हो नि, हामीले सम्झाउनु पर्ने कुरा हो र ?” सेवा लिन आएकी हेटौंडा –१७ कि सविता मल्लले भनिन् “घरदेखि यहाँ आइपुग्दा प्याड फेर्ने बेला भैसक्छ, किनेर फेरेर अनि कामको लागि लाइनमा बस्नुपर्छ” उनले भनिन् ।

उपमहानगरपालिकामा सेवाग्राहीको लागि सेनिटरी प्याडको सहज व्यवस्था छैन । आफ्नो आवश्यकता अनुसार झोलामै बोकेर आएकाहरुले पनि शौचालयमा गएर फेर्न सहज छैन, किनकी नगरपालिकाको शौचालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने छुट्टै ठाँउ पनि छैन । “आफैले ल्याएको प्याड फेर्दा पनि कहाँ फाल्ने, महिला शौचालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नै छैन” मल्लले भनिन् ।
कार्यालयकै कर्मचारीमा पनि सेवामा समानता छैन । मेयरको सचिवालय वा स्वास्थ्य शाखामा पहुँच पुग्ने कर्मचारीले मागेर सेवा लिन्छन्, तर जो त्यहाँसम्म माग्न जान आँट सबैले गर्दैनन् । बरु उनीहरु समस्या झेलेरै बस्छन् । “माग्दा सहजै पाइदैन, आफूलाई समस्या पर्दा कुरा मिल्ने साथीहरुसँग भए माग्ने हो, नत्र बजार निस्केर किन्ने हो” एक कार्यालय सहयोगिले भनिन् “आपत परेर किन्नको लागि बाहीर जान पनि कार्यालयमा खोजि होला की भनेर डराउनु पर्छ ।”
“मैले मेरो पहुँचको सदुपयोग गर्छु, एउटा दिनुस् भन्छु लिन्छु, साथीहरु के गर्नुहुन्छ थाहा छैन” कार्यालयको आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाँईले भनिन्, “करार तथा ज्यालादारी कर्मचारी र सेवाग्राहीको लागि समस्या भयो भन्ने कुरा चाही म सम्म पनि आएको थियो अलि अघितिर, तर हाल के छ थाहा छैन ।”
मेयरको सचिवालयबाट कर्मचारी र सेवाग्राहीलाई समेत निःशुल्क सेनिटरी प्याड दिने गरिएको सचिवालय कर्मचारी रुपा बिडारीले बताइन् । “थाहा भएकाहरुले माग्छन, माग्नेलाई दिने गरिएको छ” बिडारीले भनिन् । तर सचिवालयमा पुगेर प्याड माग्न सर्वधारणको पहुँच पुग्दैन ।
पुनरावेदन उच्च अदालत पाटन हेटौंडा इजलास नासु तिला ढकाल भन्छिन् “झोलामा बोक्न बिर्सेको दिन बेञ्चभरी लाग्छ, किन्न जाउँ पसल टाढा छ, सेवा ग्राहीको चापमा आफू निस्केर हिड्न पनि मिलेन, अफिसमा छैन, फेर्न नपाउँदा बिजोक धेरै पटक भोगेको छु ।”

उनले भनिन् “पटक पटक कर्मचारीको बैठकमा कुरा उठाएको छु तर सुनुवाइ नै भएको छैन ।” उच्च अदालत हेटौंडा इजलाशमा महिला कर्मचारी नै २ दर्जनबढी छन् । “कर्मचारीलाई नै छैन, सेवा ग्राहीको लागि झन् के हुनु” उनले भनिन् ।
जिल्ला अदालतमा तारिख लिन आएकी सिन्धुलीकी सम्झना कायस्थ आफूले अघिल्लो महिना आउँदा सेनिटरी प्याड खोज्दै बजार धाएको दुखेसो सुनाइन् । “म सिन्धुलीदेखि आएको मान्छे हेटौंडा बजारमा कता मेडीकल छ मेसो पाइन, झण्डै एक घण्टा समय खर्चेर प्याड खोजे” उनले भनिन् “शौचालयमा प्याडको व्यवस्थापन गर्ने ठाउँ पनि रहेनछ ।”

“घरैमा हुँदा महिनावारी भएको भए त फेर्नको लागि झोलामा बोकेर आउने हो, ठ्याक्कै समय नभइकन महिनावारी भैदियो भने चै झोलामा पनि हुँदैन, किन्न निस्कने फुर्सद पनि हुँदैन अनि ज्यादै समस्या हुन्छ” जिल्ला अदालत मकवानपुरमा कार्यरत अधिवक्ता अप्सरा बस्नेतले भनिन् “सेनिटरी प्याड भनेको स्वास्थ्य सामग्री नै हो, अत्यावश्यक भित्र नै राखौं भन्ने बुझाइनै नहुँदा हामीले समस्या भोग्नु परेको छ ।”
जिल्ला अदालतले मकवानपुरले प्राथमिक उपचारको लागि अदालत परिसरमा फस्ट एड बक्स राखेर औषधिको जोहो गरेको छ । सेनिटरी प्याडको बारेमा आफूहरुको ध्यान नपुगेको कार्यालय प्रमुख स्रेस्तेदार तीर्थराज भट्टराइले स्वीकार गरे ।
जग्गा पासको लागि जिल्ला मालपोत कार्यालय मकवानपुर आइपुगेकी राक्सिराङ गाउँपालिका ३ कि कल्पना गोले जग्गा पास नसकिदै घर फर्किइन् । मोठमा कर्मचारीले बोलाउँदा उनी उपस्थित हुन नसकेपछि काम भोलीको लागि थान्किएको लेखापढीमा सहयोग गरेकी रञ्जिता बिष्टले बताइन् । “उहाँको काम आजै सकिन्थ्यो, तर महिनावारी भएको कारण समस्या भएपछि आफैं भोली आउँछु भनेर फर्किनु भयो” विष्टले भनिन् “हामी आफैं पनि महिनावारी हुँदा आधा दिनमै काम छोडेर घर जान्छौ, यस्तो त सामान्य हो यहाँको लागि ।”
मालपोत कार्यालयमा पनि महिनावारीको लागि प्रयोग गर्न सेनिटरी प्याडको व्यवस्था छैन । मालपोत कार्यालयमा रहेको शौचालयमा पनि सेनिटरी प्याडको व्यवस्थापन गर्ने ठाउँ छैन ।
बागमती प्रदेश लोक सेवा आयोग कार्यालयमा पनि महिला कर्मचारी वा सेवाग्राही कसैलाई पनि सेनिटरी प्याडको व्यवस्था नभएको नासु नेस्मा पौडेलले बताइन् । “नियमित झोलामा बोक्ने हो, कहिले आफूलाई चाहिन्छ, कहिले साथीहरुलाई आपत पर्दा काम लाग्छ” पौडेलले भनिन् ।
यि कार्यालयका कर्मचारी र सेवा ग्राहीको पिडा प्रतिनिधि मात्रै हुन् । धेरै चाप हुने नापि कार्यालय, तथा प्रदेश सरकारको विभिन्न मान्त्रालयहरुमा समेत सेवाग्राहीको लागि लक्ष्यित गरेर सेनिटरी प्याड राखिएको छैन । जसले सहज सेवा प्राप्तिमा समस्या भएको महिलाहरुको गुनासो छ । नेपालको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर महिलालाई यस प्रकारको आभारभुत सेवा प्राप्त नभएको सरोकारवालाहरुको गुनासो छ ।
संविधानको धारा ३५ (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भनिए पनि हेटौंडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राही होस् वा कर्मचारी उनीहरुले आफ्नो पहुँचको आधारमा मात्रै सेवा पाएका छन् । अन्य कार्यालयमा सेनिटरी प्याडको उपलब्धता नै छैन । महिलाहरुले आफूहरुको अवस्था अनुसार सेवा प्रदायक संस्था तथा कार्यालयमा व्यवस्था नहुनु पनि विभेदकै रुपमा लिन सकिने अधिकारकर्मीहरुको भनाई छ ।
महिनावारीकै कारण महिलाको स्वाभिमान र मर्यादामा असर पर्न नुहने बताउँछिन्, लेखक तथा मर्यादीत महिनावारी अभियन्ता राधा पौडेल । महिनावारीले मानव अधिकार, भावनात्मक, मानसिक, शारीरिक, सामाजिक स्वास्थ्यमा कस्ता असर पार्छ भन्नेबारे अनुसन्धान नै नभएकोले कार्यालयहरुलाई सहज सेवामा नल्याइएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि हर समय सेवाग्राहीको चाप हुन्छ, तर यहाँ पनि सेनिटरी प्याडको सुविधा छैन । महिला प्रहरीहरु स्वयम् समस्या खेप्दै आएका छन् । २ दिन अघि बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले महिला प्रहरीको लागि ३ हजार ८ सय पिस सेनिटरी प्याड सहयोग गरेपछि अब केही समयलाई आफूहरुलाई सहज हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, महिला बालबालिका तथा ज्येष्ठ नागरीक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडा खड्काले बताइन् ।
मर्यादीत महिनावारी व्यवस्थापन गर्न अभियान आवश्यक छः अभियन्ता पौडेल
मर्यादीत महिनावारी व्यवस्थापनबारे सरकारी कार्यालयहरुले बेवास्ता गर्ने गरेको लेखक तथा मर्यादीत महिनावारी अभियन्ता राधा पौडेल बताउँछिन् । नेपालमा सरकारीस्तरबाट मर्यादित महिनावारीको बहस सुरु भएको भर्खरै ५ वर्ष मात्रै भयो ।

सन् २०१७ मा सरकारले ‘मर्यादित महिनावारीको नीति’ मस्यौदा ग-यो । पछिल्लो ‘मर्यादित महिनावारी नीति २०७४’ मा कर छुट गर्नुपर्ने विषय समावेश गरियो । सन् २०१९ मा सामुदायिक विद्यालयमा महिनावारी प्याड वितरण गर्ने निर्णय पनि भयो । नेपालले मुलुकले पूर्वी अफ्रिकी देश केन्या र छिमेकी भारतभन्दा धेरै पछि मात्रै ‘मर्यादित महिनावारी’ का लागि नीति बनाउन थालेको बताउँछिन् अभियान्ता पौडेल ।
केन्यामा सन् २००४ मा र भारतमा सन् २०१० मा महिनावारीलाई ‘मर्यादित’ बनाउन प्याडमा अतिरिक्त कर कम गरेको थियो । अझ केन्यामा सन् २०१७ बाट सार्वजनिक विद्यालयमा महिनावारी प्याड निःशुल्क वितरण सुरु भयो । त्यसको सिको विस्तारै अन्य देशहरूले पनि गर्दैछ । ‘मर्यादित महिनावारी’ मानव अधिकारको विषय मात्र नभई सार्वजनिक सरोकारको विषय पनि हो ।
“यो एक जटिल, बहुआयामिक र जीवनचक्रीय रूपमा नकारात्मक प्रभाव पार्ने तर प्राकृतिक प्रक्रिया हो” पौडेल भन्छिन् “तर ‘मर्यादित महिनावारी’ मैत्री विद्यालय, सार्वजनिक कार्यालय वा जहाँ सरकारले निःशुल्क सामग्री वितरण गरिरहेको छ, स्थानीय स्तरमा उत्पादन हुने / भएका सामग्रीहरूले प्राथमिकता पाउनैपर्छ ।”
प्रयोग सामग्री जेसुकै भएपनि त्यो हरेक महिनावारी हुने व्यक्तिलाई मर्यादित भएर बाँच्न सहयोग गर्ने खालको हुनुपर्ने बताउँछिन् पौडेल । “कुनै पनि विद्यालय/कार्यालयमा छिर्दा ‘मर्यादित महिनावारी मैत्री’ विद्यालय/कार्यालयमा स्वागत छ भनेर लेख्न सके त्यसले छोरी/ महिलामा गौरव र आत्मसम्मान बढ्न सक्छ” पौडेल भन्छिन् ।
प्याडमै पनि कमिसन
यता मकवानपुरको बकैया गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सेनिटरी प्याड खरिदको क्रममा आर्थिक हिनामिना गरिएको पाइएको छ । गाउँपालिकाले पालिका भित्रको विद्यालयको लागि सेनिटरी प्याड खरिदमा कमिसनकै लोभमा चार गुणा धेरै मुल्यमा खरिद गरेको महालेखा परिक्षकको रिपोर्टमा सार्वजनिक गरिएको छ ।
गाउँपालिका क्षेत्रमा रहेको विद्यालयमा अध्ययनरत किशोरी तथा कार्यरत महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरेको सेनिटरी प्याड खरिदमा पनि कमिसनको खेल रहेको पाइएको हो । सर्बसुलभ रुपमा प्राप्त गर्ने सेनिटरी प्याड गाउँपालिकाले सोझै पहिले खरिद गर्दा प्रतिपिस १० रुपैयाँमा खरिद गरेकोमा दरभाउ कर्ताले प्रतिपिस ४० रुपैयाँ कबोल गरेकोमा त्यही सामान खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट प्राप्त रकमबाट सेनिटरी प्याड खरिद गर्दा अनियमिता भएकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको हो । सेनिटरी प्याड खरिदमा गाउँपालिकालाई नोक्सान हुनेगरी १२ लाख २१ हजार ६१ रुपैया बढी भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । बकैयाँ गाउँपालिकाले बोलपत्र मार्फत खरिद गरेको सेनिटरी प्याड र सोझै खरिद गरेको सेनिटरी प्याड खरिदमा बढी रकम भुक्तानी गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । बकैयाँका बिद्यालयमा अध्यनरत किशोरी बिद्यार्थी महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड खरिदमा पनि प्रतिप्याकेट २४० रुपैयाँबढी रकम गाउँपालिकाले भुक्तानी गरेको जनाएको छ ।
बिद्यालयमा सेनेटरी प्याड नष्ट गर्न समस्या
मकवानपुर/ महिनावारी हुँदा प्रयोगको लागि विद्यालयलाई निःशुल्क सेनिटरी प्याड वितरण गरियो तर प्रभावकारी रुपमा नष्ट गर्न नसक्दा समस्या देखिन थालेको छ । महिनावारी हुँदा प्रयोग गरिएको प्याड नष्ट गर्नको लागि सबै विद्यालयहरुमा इन्सुनेटरको व्यवस्थापन छैन ।
केही विद्यालयहरुले सेनिटरी प्याड नष्ट गर्नको लागि छात्रा शौचालयको पछिल्लो भागमा चेम्बर बनाएका छन् । चेम्बर भरिएपछि केमिकलको प्रयोग गरेर नष्ट गरिन्छ । तर धेरैजसो विद्यालयहरुले अझै पनि महिनावारी भएको बेला प्रयोग गरिएको प्याड बाल्टीलगायतमा संकलन गर्ने गरेका छन् । जसलाई नष्ट गर्न लामो समय लगाएर, मट्टितेललगायत प्रज्वलनशील पदार्थ राखेर जलाइन्छ । जुन वातावरणीय दृष्टिले स्वस्थ्यकर हैन ।
कुहिएर माटोमा नमिल्ने र सहजै नजल्ने भएकोले सेनिटरी प्याड नष्ट गर्न समस्या हुने गरेको छ । “प्याड नष्ट गर्नै समस्या छ, पहिले निःशुल्क प्याडको लागि अनुरोध गरियो अहिले नष्ट गर्ने उपकरण आवश्यक भएको छ” हेटौंडा १३ प्रतिभा निमाविका अध्यक्ष तेजबहादुर थिङले भने । हेटौंडाको बाल ज्योती माविले भने छात्रा शौचालयसँगै चेम्बर बनाएको छ, जसमा प्याड भरीएपछि केमीकल हालेर नष्ट गरिन्छ । प्याड इन्सुनेटर मिसेन खरिदको लागि साँढे २ लाखसम्म पर्ने भएकोले सबै विद्यालयले सहजै खरिद गर्न सक्ने अवस्था नभएको हेटौंडा उपमहानगरपालिका विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले बताइन् ।
यसैबीच हेटौंडा उपमहानगरपालिकाले नगरको ६ वटा बिद्यालयलाई सेनेटरी प्याड इन्सुनेटर सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिकाले ६ वटा बिद्यालयलाई सेनेटरी प्याड इन्सुनेटर उपलब्ध गराएको हो । उपमहानगर भित्र रहेका बिद्यालयका बिद्यार्थिहरुले महिनावारीको समयमा प्रयोग गरेको सेनेटरी प्याड व्यवस्थापनमा चुनौंति थपिएपछि पहिलो पटक ६ बिद्यालयलाई सेनेटरी प्याड इन्सुनेटर प्रदान गरीएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले जानकारी दिइन् ।
पहिलो पटक हेटौंडा–१ को अमर माध्यमिक बिद्यालय, हेटौंडा–४ को भुटनदेवी मध्यमिक बिद्यालय, हेटौंडा–६ को बंशगोपाल माध्यमिक बिद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक बिद्यालय, हेटौंडा–१८ को ज्योति माध्यमिक बिद्यालय र हेटौंडा–१९ को निर्मल माध्यमिक बिद्यालयमा सेनेटरी प्याड इन्सुनेटर हस्तान्तरण गरीएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । २ लाख ६० हजार रुपियाँ लागत पर्ने यो मिसेन खरीद गरि विद्यालयलाई सहयोग गरिएको हो ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सराेकारवाला सवैकाे सहयाेगमा काेराेना विरुद्धको अभियानमा बागमती प्रदेशलेसफलता हासिल गरेकाे बताएका छन् । संघीय र प्रदेश सरकारको समन्वय तथा स्वास्थ्यकर्मीको अथक प्रयासमा नागरिकको सहयोगका कारण काराेना भाइरस विरुद्धको अभियानमा प्रदेशले सफलता हासिल गरेको उनले बताए ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुको बार्षिक समिक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले सबैको प्रयासमा काेराेना (कोभिड–१९) विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका हुन् ।
खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सतप्रतिशत सफलता हासिल गरेकोमा लामाले सबैलाई आभार व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन बागमती प्रदेश सफल रहेकाे बताए ।
‘कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको छ’ मन्त्री लामाले भने– ‘चालु आर्थिक बर्ष ०७९/०८० मा मन्त्रालय अन्तर्गतका सबै निकायले लक्ष्य अनुसारको प्रगति गर्ने गरी काम गर्नु पर्छ ।’ जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय कार्ययोजन अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरुको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहेको बताए । उनले कार्यालयहरुको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तर्गतका निकायहरुको काम कारवाहीबारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको लामिछानेले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा बसेको समिक्षा बैठकमा मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले गत आर्थक वर्ष २०७८/०७९ को कार्यप्रगति, समस्या र समाधान प्रस्तुत गरेका थिए ।
पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ ।
‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले राजधानीसँग भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’
पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’मा छलफल भएको ती अधिकारी बताउँछन् ।
पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ ।
खोप नलगाएकोमा गम्भीर संक्रमण देखिएकोसमेत पाइएको छ । यी सबै विषय दृष्टिगत गर्दै मन्त्रालयले खोपलाई प्राथमिकतामा राखेको हो ।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट सुरु भएको महामारीको तेस्रो लहर नेपालमा आएपछि बुस्टर डोज अभियान सुरु भएको थियो । पहिलो चरण्मा ‘फ्रन्टलाइनर’(चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, पत्रकार, कामदारलगायतलाई बुस्टर डोज सञ्चालन गरेको थियो । साथै, अस्पताल भर्ना भएका ज्येष्ठ नागरिक र गम्भीर रोग लागेका बिरामीलाई प्राथमिकतामा राखेर बुस्टर डोज लगाइएको थियो ।
खोप र प्राकृतिक संक्रमणबाट प्राप्त हुने रोग प्रतिरोधात्मक क्षमता ६ महिनापछि कम हुने अध्ययनले देखाएको छ । पहिलो चरणमा बढाइएको व्यक्तिको समूहका लागि, बुस्टर सटबाट व्युत्पन्न भाइरसको प्रतिरोधलाई पहिले नै तटस्थ गरिएको हुन सक्ने चिकित्सक बताउँछन् ।
तर, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी रणनीतिक समूहले हालसम्म दोस्रो बुस्टर डोज’bout केही बोलेको छैन ।
त्यसो त, यसअघि राष्ट्रसंघीय स्वास्थ्य निकायको खोपसम्बन्धी रणनीतिक सल्लाहकार समूहले निर्णय गर्नुअघि नै नेपालले बुस्टर सट अभियान सुरु गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले इजरायलमा ‘केयर गिभर’मा जाने कामदारका लागि भने दोस्रो बुस्टर डोज दिइसकेको छ । पहिलो पाँच महिनाअघि बुस्टर डोज लगाएकाका लागि इजरायल जानुअघि दोस्रो बुस्टर दिइसकेको छ ।
नेपालमा पहिलोपटक ९ माघ २०७६ मा संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित १० चैतमा देखियो । दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी गरेको थियो ।
कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) शनिबारसम्म १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्ररूपमा वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ ।
५० जिल्लाका बालबालिकालक्षित अभियान
सरकारले आगामी ५ भदौदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ भदौसम्म पहिलो र २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्र खोप दिने जनाएको छ ।
५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुनेछ । जसअन्र्तगत प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप सञ्चालन हुने जनाइएको छ ।
मधेस प्रदेशका बारा, रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइनेछ ।
सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कासँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । राजधानी दैनिकबाट
मकवानपुर । देशभर ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ४ हजार ५ सय ३४ कोरोना परीक्षण गरिएकोमा ८ सय १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
२ हजार ४ सय ११ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९२ हजार १ सय ४६ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार २ सय ९९ जना सङ्क्रमित भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार साउन महिना सुरु भएदेखि दैनिक १ देखि ३ जनाको दरले कोरोनाका कारण मृत्यु हुने गरेको थियाे । याे समेत नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४ सय ७६ जना निकाे भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार २ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्कले बताउँछ । हालसम्म ३१ हजार ७ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काेराेना संक्रमित मकवानपुरका १ पुरुषकाे मृत्यु
मकवानपुरमा कोरोना भाइरस संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्वर १ का ६० वर्षीय पुरुषमा काेराेना संक्रमण भएकाेमा उनकाे मृत्यु भएकाे हाे ।
भरतपुर अस्पतालको कोभिड आइसियू कक्षमा उपचारको क्रममा ती पुरुषको बुधबार मृत्यु भएको बताइएकाे छ । उनलाई गत साउन १६ गते हेटौंडा अस्पतालमा कोभिडको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
मकवानपुर । नेकपा एकिकृत समाजवादीका नेतृ मुनु सिग्देलले जिल्ला प्रहरी कार्यालय मातहत रहेका महिला प्रहरीका लागि सेनेटरी प्याड सहयोग गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सेवामा रहेको महिला प्रहरीलाई महिनावारीको समयमा समस्या भएपछि सिग्देलले प्याड सहयोग गरेकी हुन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेकी सिग्देलले जिल्ला प्रहरी कार्यालय पुगेर महिला सेल प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेब गौतमको उपस्थितीमा ४ बोरा सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् ।
जसमा ३ हजार ८४० पिस सेनेटरी प्याड रहेको खड्काले बताइन्। सामग्री हस्तान्तरण गर्दै नेतृ सिग्देलले आफैले बाहिरी जिल्लामा प्याडको अभावका कारण भोगेको समस्या जिल्लामा पनि लागु नहोस् भन्नका लागि हस्तान्तरण गरेको बताइन् ।
माहिनावारीको समयमा आकस्मिक रुपमा आवश्यकता पर्दा प्रयोग गर्न सकिने र काममा सहजता हुने भएकाले महिलाहरुको समस्यालाई बुझेर सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिइन्।
स्थानिय तह अन्तरगत कार्यरत प्रहरी महिलाहरुको लागि पनि यस्तो सहयोग आवश्यक भएको प्रहरी उपरिक्षक गौतमले बताए । महिला प्रहरीलाई यस्ता खालका सहयोगले मनोबैज्ञानिक रुपमा काम गर्न सहज हुने उनले बताए ।