मकवानपुर । चितवन जिल्लामा स्क्रब टाइफसका बिरामीकाे संख्या बढेका छन् । गत १ महिनाकाे अवधिमा स्क्रब टाइपसकाे विरामीकाे संख्या बढेकाे भरतपुर अस्पतालले जनाएकाे छ ।
अस्पतालले मंगलबार विज्ञप्ति निकालेर स्क्रब टाइपसकाे विरामीकाे संख्या पछिल्लाे समय बढ्दै गएकाे जनाएकाे हाे । अस्पतालका अनुसार पछिल्ला दिनहरुमा बहिरङग र अन्तरङग विभागमा भर्नाका भएका अधिकांश ज्वरोका बिरामीहरुमा स्क्रब टाइफसका बिरामी देखा परेका छन् । ढिलोगरि अस्पतालमा उपचार गराउन आउने बिरामीमा जटिल लक्षणहरु रगतको प्रेसर घटेर बहुअंग (मृगौला, कलेजो, फोक्सो इत्यादि) बिग्रने र आइसीयूमा उपचार गराउनु पर्ने बिरामीको संख्या उल्लेखीय रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले खुला चौरमा अनावश्यक लामो समय नबस्ने र रोगका लक्षणहरु (ज्वरो आउने शरीर दुख्ने, टाउको दुख्ने, ग्रन्थी सुनिने, छालामा किर्नाको टोकाईबाट भएको कालो घाउ/खत) देखिमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत विज्ञप्ति मार्फत सर्वसाधारणमा अनुराेध गरेको छ ।
खेतबारीमा रहने मुसाजन्य प्रजातिमा लाग्ने किर्नाकाे टोकाइकाे कारण स्क्रब टाइपस राेग लाग्ने हुँदा घरवरपर झाडी, वुट्यान सफा गर्ने, खेतबारी वा जंगल जाँदा पुरा शरीर ढाक्ने कपडा लगाउन आवश्यक रहेको अस्पतालका प्रवक्ता डा.गोविन्द कंडेलले विज्ञप्ति जारी गरी बताएका छन् ।
मकवानपुर । सरकारले आउँदो कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । हरेक वर्ष जस्तै यस वर्ष पनि सरकारले बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधि खुवाउने भएकाे हाे । आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सरकारले सर्वसाधरणमा अनुरोध समेत गरेको छ ।
स्वास्थ्य सेवा विभागले देशभरका ६ देखि ५९ महिनाका २७ लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइने जनाएको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै २०५६ बाट १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।
मकवानपुर । मकवानपुरमा थप २ सय २२ जना डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे हाे ।
जिल्लामा थपिएका डेंगु संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका सबैभन्दा बढी २ सय ३ जना रहेको कार्यालयले जनाएको छ । यसैगरी, मनहरी गाउँपालिकाका ९ जना, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका र जिल्ला बाहिरका १/१ जना रहेका छन् ।
योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् । जिल्लामा डेंगु संक्रमणका कारण हालसम्म हेटौंडा उपमहानगरपालिकाका १ जनाकाे मृत्यु भएकाे छ।

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३ सय ५८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा १ हजार ८ सय ८२ जना पुरुष र १ हजार ४ सय ७६ जना महिलामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । आइतबार थप १७ जना संक्रमित हेटौंडामा थपिएसँगै संक्रमितको कूल संख्या २ हजार ७ सय ९५ जना पुगेको छ ।
यस्तै, आइतबार नै थाहानगरपालिकामा थप २५ जना संक्रमित थपिएसँगै कूल संक्रमित १ सय पुगेको छ । यसैगरी, हालसम्म मकवानपुरगढीमा ५४ जना, बागमती र कैलाश गाउँपालिकामा ६/६ जना, मनहरी गाउँपालिकामा ३ सय १२ जना, इन्द्रसरोवर गाउँपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा २८ जना, बकैया गाउँपालिकामा २३ जना, राक्सिराङ गाउँपालिकामा ९ जना, हाल ठेगाना नखुलेका २० जना र अन्य जिल्लाका ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ती पालिकाहरुमा भने आज संक्रमित थपिएका छैनन् ।
जिल्लामा हालसम्म डेंगु संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका १ का एक जनाको मृत्युु भएको स्वास्थ कार्यलयले जनाएको छ ।
मकवानपुर । गैरसरकारी संस्था महासंघ बागमती प्रदेशले नागरिक खोप अन्तरगत सीमान्तकृत र जोखिममा परेका समूदायको पहुँचबारे अनुसन्धान बिश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
दशैलगायत पर्वहरुको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा गैससले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । गैसस महासंघ, माइती नेपाल र हिमराइट्स मकवानपुरले नागरिक खोप अन्तरगत सीमान्तकृत र जोखिममा परेका समूदायको पहुँच बारे मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको ५० घरमा अनुसन्धान गरेका थियो ।
नमुना परिक्षणको रूपमा नेपालको ३ जिल्ला मुस्ताङको छैरो, मकवानपुर राक्सिराङ र कैलालीको गोदावरीमा खोपमा स्थानीयको पहुँचबारे अध्ययन गरिएको थियो ।
नेपालमा ९१ दशमलव ७ प्रतिशतले कोभिड विरुद्धको खोप लगाएको भए पनि मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा भने खोपको पहुँच उल्लेख्य नभएको अनुसन्धानले बताएको छ ।
स्वास्थ सेवाको पहुँचमा असमानता, कमजोर स्वास्थ्य प्रणाली रहेको अनुसन्धानमा सहभागीहरुले बताए । २०२६ पछि यस्तै प्रकारको प्रकोप आएमा खोप अनुदान नपाइने र किन्न पर्ने अवस्थामा खरिद गर्न नसक्दा ज्यान जानसक्ने संभावना रहेको गैसस महासंघ केन्द्रय सचिव बुद्धशरण लामाले बताए ।
औषधि खरिदमा पनि माफियाकरण रहेको कारण बिरामीको परिवारलाई बोझ थपिने गरेको उनले बताए । गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक बागमती प्रदेश, माइती नेपाल, हिमराइट्स, साना हातहरु, इटीएसइ लगायत जिल्लाका क्रियाशिल संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।