मकवानपुर । मकवानपुर जिल्लामा आगामी पुसको पहिलो साता खेलकुद महोत्सव हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।
आयोजकले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हो ।
आयोजकले महोत्सवको लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त गरिसकेको समिति अध्यक्ष वेष खड्गीले बताए । महोत्सवका लागि आवश्यक शान्ति सुरक्षाको जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुनेछ ।
मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिनेछ । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिने खड्गीले बताए ।
महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा उसु (राष्ट्रिय महिला र पुरुष) भलिबल (राष्ट्रिय महिला) कबड्डी (प्रदेश स्तरीय आमन्त्रित, महिला र पुरुष) कराँते (जिल्लास्तरीय महिला र पुरुष) फुलकन्ट्याक्ट कराँते (जिल्ला स्तरीय महिला र पुरुष) एथ्लेटिक्स (जिल्ला विद्यालय स्तरीय) आर्चरी (खेल प्रदर्शन) रेस्लिङ (आमन्त्रित राष्ट्रिय) कुस्ती (आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन) व्याडमिन्टन रहने खड्गीले बताए ।
मकवानपुर । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी २ पटक सो राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभागले जनाएकाे छ । विभागका अनुसार २ दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने विभागले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिया गरिएकाे छ । आयुर्वेद सेवा प्रवर्धन गर्न शुक्रबार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गरिएको हाे ।
अन्तरक्रियामा केन्द्रबाट गत आर्थिक वर्षमा २१ हजार ९ सय ५६ जनाले सेवा लिएको केन्द्रका डा. ललिता पाण्डेले जानकारी दिइन् । ‘विरामीको संख्या बढ्दो छ’ उनले भनिन् ‘हामीले पञ्चकर्म तर्फ ५ सय ३० जनालाई सेवा दिएका छाै ।’ त्यस्तै, क्षारसुत्र १ सय ६ जनाले सेवा लिएका छन् । उक्त सेवा लिदाँ २ हजार ५ सय शुल्क लाग्ने बताइएकाे छ । यसैगरी केन्द्रबाट ७ सय ५२ जना जेष्ठ नागरिकले सेवा लिएका छन् । २ सय १० जनाले स्तनपायी सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएकाे छ ।
केन्द्र प्रमुख डा. ललिता पाण्डेले आव २०७९/८० काे प्रगति विवरणका साथै केन्द्रबाट दिइने सेवाबारे प्रस्तुति गरेकी थिइन् । उनले मकवानपुरका ७ स्थानीय तहमा आफ्नो सेवा विस्तार गरिएको बताइन् । हेटौंडामा ८ वटा क्लिनिक, मनहरी र थाहानगरमा एक/एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन् । उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिइन् । आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरुमा पढाइ हुने बताउँदै अझै पनि ग्रामीण क्षेत्रमा आयुर्वेद बारे जानकार नभएको उनकाे भनाइ थियाे ।
केन्द्रमा २ हजार २ सय ८ जनाले ल्याव सेवा, १ हजार ९ सय ९७ जनाले फिजियो थेरापी, १ हजार १ सय ९५ जनाले अंकुपञ्चर सेवा लिएको प्रस्तुत गरिएकाे तथ्याङ्कमा उल्लेख छ । पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्य सेवा लिने विरामीको संख्या बढे सँगै केन्द्रमा योग हल नहुनु, जनशक्तिको अभाव हुनु, औषधिको अभाव रहनु, तत्काल आफ्नो भवन नहुनु समस्या रहेको डा. पाण्डेले बताईन् ।
कार्यक्रममा पत्रकार महासंघ बागती प्रदेश उपाधयक्ष रुपेश दुलालले आयुर्वेद सेवामा पछिल्लाे समय आकर्षण बढ्दाे रहेकाे बताए । आयुर्वेद सेवालाई थप विस्तार गर्नुपर्ने, सेवाग्राहीकाे चापलाई व्यवस्थित गर्न सुविधासम्पन्न भवनबाट जनशक्ति सहित सेवा प्रदान गर्नु पर्ने उनकाे भनाइ थियाे । कार्यक्रममा आयुर्वेद विज्ञ डा. साइरिस न्याैपानेले पन्चकर्म सम्बन्धमा जानकारी गराउँदै शरीरकाे शुद्धीकरण गर्ने, शरिरलाई पाेषण प्रदान गर्ने र शरीर र मनकाे तनावलाइ कम गर्न सकिने बताए ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । पालिकाकाे वडा नम्बर ७ स्थित स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएकाे हाे ।
भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित कैलाशका स्थानीयलाई वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा सैचालनमा आएसंगै उपचारमा सहज हुने भएकाे छ । बुधबारबाट कैलाशमा भिडियो एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर कार्यको सुरुवात गरिएकाे छ ।
बुधबार एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । पालिकामा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष माेक्तानले बताए । कैलाश गाउँपालिका चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परीक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताए ।
वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले परीक्षण सुविधा लिएकाे वडाध्यक्ष भ्लोनले जानकारी दिए । विदुर भण्डारीसहितकाे स्वास्थ्य टोलीले गर्भवती महिलाकाे स्वास्थ्य परीक्षण गरेका थिए । गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर कार्यक्रम पालिका अध्यक्ष मोक्तानले जानकारी दिए । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित गर्भावस्था जाँच सेवा प्रदान गर्ने र हेटौंडा अस्पतालका डाक्टर विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताए ।
त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गर्ने बताए । यादवले पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।