मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरसहित तराईका जिल्लाहरुमा आँखा शिविर संचालन गर्ने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित अस्पतालले मंसिर र पुस महिनामा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाहरुमा निःशुल्क आँखा शिविर गर्ने जनाएको छ ।
आफ्नाे तालिका अनुसार मंसिर र पुसमा विभिन्न जिल्लाहरुमा निःशुल्क शिविर गर्दै आइरहेको आँखा अस्पतालले यो वर्ष पनि नि:शुल्क शिविर गर्न लागिएको व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आगामी ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क आँखा शिविर हुनेछ । यस्तै सर्लाहीलगायतका तराईका जिल्लाहरुमा भने पुस महिनाबाट शिविर संचालन गरिने श्रेष्ठले बताए । जाडो मौसम सुरु भएसँगै आँखाको शल्यक्रिया गर्नु उपयुक्त हुने भएकोले आँखा अस्पतालले स्थानीय समुदायसँगको सहकार्यमा शिविरको आयोजना गर्ने गरेको अस्पतालले जनाएको छ ।
नि:शुल्क आँखा शिविरमा आँखाको परीक्षण गर्नुका साथै मोतिविन्दुको समस्या भएका बिमारीको शल्यक्रिया नि:शुल्क रुपमा गर्ने ब्यबस्था गरिने ब्यबस्थापक श्रेष्ठ बताए । मोतिविन्दुको शल्यक्रियाका लागि बिरामीलाई नि:शुल्क खानेबस्ने सुबिधासहित यातायातको ब्यबस्था गरी हेटौंडास्थित अस्पतालमै ल्याउने गरिएको उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुरमा ७ सय ६० जनामा डेंगु संक्रमण भएकाे छ । गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७ सय ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा ३ सय ८८ जना पुरुषलाई डेंगु संक्रमण हुदाँ ३ सय ७२ जना महिलामा संक्रमण भएकाे छ । जिल्लाका डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिमा ५ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
यसैगरी थाहा नगरपालिकामा ३ जनामा, मकवानपुरगढी गाउँपालिकामा २० जनामा, बागमती गाउँपालिकामा २४ जनामा, मनहरी गाउँपालिकामा ६८ जनामा, इन्द्रसरोवर गाउँपालिकामा ४ जनामा, भीमफेदी गाउँपालिकामा ३७ जनामा, बकैया गाउँपालिकामा २५ जनामा र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ । मकवानपुरमा उक्त अवधीमा अन्य जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म मकवानपुरमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
जफत गरिएको मिठाई र तरकारी नष्ट
Tags: No Comments
मकवानपुर । तिहारको अवसरका विक्रीमा राखिएपछि जफत गरिएका अवैध सामग्री नष्ट गरिएको छ । मकवानपुरको हेटौंडा बजारमा किनमेलका लागि आउँने मानिस हिड्नका लागि प्रयोग हुने फुटपाथमा विक्रीका लागि राखेको सामग्री नगर प्रहरीले नष्ट गरेको छ ।
चाडपर्वको समयान फुटपाथमा विक्रीका लागि राखेको मिठाई, फलफुल र तरकारी सहितका सामग्री जफत गर्दै प्रहरीले नष्ट गरेको हो । हेटौंडा १० राप्ति खोला नजिकै खाडल खनेर प्रहरीले जफत गरेको सामग्रीहरु नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
नगर प्रहरीले असोज र कार्तिक महिनामा फुटपाथबाट पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम जफत गरेको थियो । मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिईएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट विक्रीका लागि राखिएका सामग्री जफत गरीएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए ।
उपमहानगरले सार्वजनिक सुचना गर्दै फुटपाथमा सामग्रीहरु राखेर विक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गरेको ढकालले बताए ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकामा आयुर्वेद औषधालय भवन बन्ने भएको छ । मकवानपुरकाे पश्चिम क्षेत्रमा रहेका राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ ठाडेचुरीमा शुक्रबार आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको छ ।
स्थानीय ८६ वर्षीय बृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान दिएपछि भवन निर्माण गर्न सहज भएकाे हाे । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २० लाख बजेट मार्फत ५ कोठे भवन वन्ने आयुर्वेद शाखा प्रमुख राम बचन शाहले बताए। जग्गा दान दिने प्रजालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ढाका टोपी, दोसल्ला ओढाई सम्मान गरेका थिए ।
वन जङ्गलमा पाइने जडीबुटीको प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अवसरमा भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिका भित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न सबैको महत्वपूर्ण भूमिका रहेको बताए । हाम्राे गाउँ ठाउँ र जङ्गलमा पाइने जडिबुटीबाट बन्ने औषधीले कुनै शारीरिक असर नगर्ने भएकोले पछिल्लो समयमा आम मानिसकाे आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको समेत बताए ।
शिलान्यास कार्यक्रमसँगै भएकाे स्वास्थ्य परीक्षणमा ४० जनाको स्वास्थ्य परीक्षण गरिएकाे आयुर्वेद शाखा प्रमुख शाहले जानकारी दिए। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहित उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ७ का अध्यक्ष राम बहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ को अध्यक्ष राजकुमार थिङ्ग, कार्यपालिका सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । पतन्जली याेग महिला समितिकाे आयाेजनामा तिहार विशेष कार्यक्रम गरिएकाे छ ।
संविधान सभा सदस्य अनन्त पाैडेलकाे प्रमुख आतिथ्यतमा तथा महिला समितिका जिल्ला अध्यक्ष शशीकला थापाकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा पतन्जली याेग केन्द्रका महिला साधिकाहरुले पुरुष साधकहरुका लागि तिहार विशेष कार्यक्रम गरेका हुन् । दाजु भाइ तथा दिदी बहिनीबीचकाे सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयाेजना गरिएकाे हाे थापाले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि पाैडेलले आफू पनि याेगा गर्ने गरेकाे कारण स्वास्थ्यलाइ सन्तुलनमा राख्न सफल भएकाे बताउँदै याेग गर्न अभिप्रेरित गरे । “स्वास्थ्य छ त सबथाेक छ” उनले भने । स्वास्थ्य नै सवैभन्दा ठुलाे धन भएकाेले याेगले नै याे धनकाे संरक्षण गर्न सक्ने उनले बताए ।
कार्यक्रममा हेटाैडा उपमनपा वडा नं ४ का वडाध्यक्ष नवीन सिग्देल, पतन्जली याेग जिल्ला समितिका अध्यक्ष रामकृष्ण थापा लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा देउसि भैलाे खेल्नुका साथै टीका लगाएर नाचगान समेत गरिएकाे थियाे ।