मकवानपुर / सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व बुधबारबाट सुरु भएकाे छ । विशेषतः तराई समुदायको पर्वको रुपमा बुझ्दै आएतापनि पछिल्ला केही वर्षयता पहाडी समुदायको पनि उत्तिकै उपस्थिती देख्ने गरिन्छ यो पर्वमा । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई ।
यद्यपि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को प्रभावको कारण सागरमा भव्य व्यवस्थापनका साथ मनाइने छठ पूजा पनि प्रभावित भएको छ । मकवानपुर जिल्ला प्रशासनले सागरमा भिडभाड गरेर पूजामा सहभागी नहुनको लागि आग्रह गरेपछि पूजा व्यवस्थापन समितिले सागरमा कुनै तयारी गरेको छैन । प्रतिघरबाट एक जना व्रतालु र एक जना सहयोगी मात्रै आफ्नै व्यवस्थापनमा सागर जान पाउने गरी आन्तरीक तयारी गरिएको बुझिएको छ । पूजाकाे लागि पानी थुन्ने, सागर सृगार गर्नेलयागतकाे कुनै पनि काम समितिले गरेकाे छैन । सागरमा व्रतालुहरूकाे उपस्थिति समेत देखिन्न ।
सागरमा नपुगि छठ पूजाको अर्थ नै नहुने भन्दै, भिडभाड नगरिकन, छुट्टाछुट्टै बसेर पूजा गर्ने, रातभर सागरमा पनि नबस्ने तयारी गरेको नेपाली काँग्रेस नेतृ तथा छठपूजाको व्रतालु इन्दीरा न्यौपानेले बताइन् । “छठ पूजा व्यवस्थापन समितिले सागरमा कुनै तयारी गरेको छैन, हामी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अलक्कै बसेर पूजा विधि गर्नेछौ” न्यौपानेले भनिन् । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भई कार्तिक शुक्ल सप्तमीको विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२/०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।
यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन् । यसले एक–आपसमा नजिकिने मौका दिन्छ । चतुर्थीको विधिमा अरबा (अरबाइन) गरिन्छ, जसलाई नहाय अर्थात खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा विधिको समापन गर्ने गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको जोरजाम एक महिना अघीदेखि नै गरिन्छ । छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान –पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ र अपरान्न अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला,केरा, नाङ्गलो,कोनिया,सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धाति जलाशयसम्म पुगी सुर्य अस्ताउन्जेलसम्म पुजा आराधना गरी फर्कने गरिन्छ ।
यसैगरी छठ पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन रहेको छ । छठ पर्वलाई पारिवारिक जमघटको पर्वको रुपमा पनि हेरिन्छ । परिवारबाट टाढा बसेका हरू छठ पर्व मनाउन घर फर्कने गर्दछन् । छठ पर्व पारिवारिक मेल र आत्मियता अभिवृद्धिको अवसर समेत हुने गर्दछ ।
छठ पर्व धार्मिक सँगसँगै जातीय भेदभाव विरुद्धको पर्व समेत रहेको हेटौडाका धर्म तथा संस्कतिका जानकार रामचन्द्र आचार्य फुर्सदी बताउँछन् । उनका अनुसार यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एकै ठाँउमा पूजा अर्चनाका लागि सामेल हुन्छन् । जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ । छठको सबैभन्दा महत्वपूर्ण पक्ष यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त बनाउनु हो ।
कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वाद स्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ । छठमा प्रायः महिलाले व्रत वस्छन् भने पुरूषले उनीहरूको पुजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन ।
मकवानपुर । बितेको २४ घण्टामा ५ सय २ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण हुँदा उक्त संख्यामा संक्रमित पुष्टि भएकाे हाे । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो मन्त्रालयले बताएकाे छ ।
यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ८ सय ७८ जना काेराेना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको जम्मा संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १ सय ४६ महिला र १ सय ९३ पुरुष रहेका छन् ।
यस्तै हालसम्म मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ३ सय ९८ जना रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ३ हजार ३ सय ९८ पुगेको हो ।
जिल्लामा काेराेना पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ । जिल्लामा काेराेना संक्रमित १९ जना आइसोलेसन र ५ सय ५८ जना संक्रमित हाेम आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुरमा हालसम्म कोरोनाको कारण २८ जना को ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको ज्यान गए संगै ज्यान जानेको संख्या २८ पुगेको हो ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा १ लाख ७३ हजार ४ सय ३० जना संक्रमित उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। आजसम्म देशभर ३५ हजार १ सय २५ सय जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यस्तै मकवानपुरमा आइतबार २६ जना कोरोना भारइरसका सङ्क्रमितहरु थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइका अनुसार हेटौंडा उपमहानगरपालिकाका १० वटा वडाका १४ जना महिला र १२ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

विहान संकलन गरिएकाे ४१ जनाकाे स्वाब परीक्षणमा २६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
यसै गरी कोरोना भाइरस संक्रमण पुष्टि भएका मनहरी गाउँपालिकाका एक वृद्धाको मृत्यु भएको छ । मनहरी ७ का ८४ वर्षीय उनकाे उपचारको क्रममा घरमै राति १ बजेको समयमा मृत्यु भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रतिले जानकारी दिए ।

वृद्धाको शव सुनाचुरी ब्यारेकबाट खटिएका सेनाले आइतबार विहान ११.३० बजे मनहरी गाउँपालिका ७ र ८ को सिमाना बेलुवाटापुमा व्यवस्थापन गरीएकाे हो ।
मकवानपुर । मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार परीक्षण गरिएको ७५ जनाको स्वाबमा २७ जनमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २५ जना रहेका छन् । २ जना जिल्ला बाहिर घर भइ मकवानपुर बसोबास गर्ने रहेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकारी दिए ।

मकवानपुर । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप २७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।