खुल्ला सहसचिवमा इन्दिरा न्याैपानेकाे उम्मेद्वारी घाेषणा
Tags: No Comments
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । बिगतमा भन्दा यो बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । यसै बीचमा कांग्रेस मकवानपुरकी सदस्य इन्दिरा न्यौपालेले आसन्न जिल्ला अधिवेशनमा सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
धमाधम उमेद्धवारी घोषणा भैरहेको बेला नेतृ न्यौपानेले १४ औ महाधिवेशनमा उनले जिल्ला सहसचिव पदमा उमेद्धवारी दिने घोषणा गरेकी हुन् । न्यौपानेले ट्रेड युनियन र तरुणदल हुदै जिल्ला सदस्य भैसकेकाले महिलाको सहभागीताकाे लागि सहसचिवमा खुल्ला तर्फ उम्मेद्धवारी रहने बताइन् । २०५३ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएकी न्यौपाने असोज १० गते हुने जिल्ला तहको निर्वाचनमा सह–सचिव पदमा उम्मेदवारी दिने तयारीमा गरेकाे बताउँछिन् ।
न्यौपानेले महिलालाई सधै कोटा प्रणालीमा मात्र सिमित हुने परम्परालाई तोड्दै आफुले खुल्ला तर्फ सहसचिव पदमा उम्मेद्धवार दिन लागेको बताएकी हुन्। यस अघि नेतृ न्यौपानेले महिला संघको सचिवमा एक कार्यकाल, तरुणदल महिला बिभागको केन्द्रिय सदस्यमा एक कार्यकाल, कांग्रेस मकवानपुर जिल्ला सदस्यमा कार्यकाल भूमिका निर्वाह गरिसकेकी छिन् । यो संगै बिभिन्न संघसंस्थाको नेतृत्व तहमा आफ्नो भूमिका निर्वाह गरीसकेको बताउदै नेतृ न्यौपानेले यस पटक सहसचिवमा विजयी गराउन सम्पुर्ण कांग्रेस जनमा आग्रह समेत गरेकी छन् ।
आफु सधै महिलाहरुको पक्षमा आवाज उठाउदै उनीहरुकै हकहित र अधिकारका लागि लड्दै आएको बताउदै जिल्ला तहको पदाधिकारीमा पुग्न सके अझ ससक्त भूमिका निर्वाह गर्ने आफनो उद्देश्य रहेको न्यौपाने बताउँछिन् । गैरसरकारी संस्था मकवानपुरको जिल्ला कोषाध्यक्ष भएर दुई कार्यकाल काम गरेको अनुभवसँगै महिला ससक्तिकरण तथा गरिवी निवारण समुह नेपाल मार्फत मकवानपुरका करीब १० हजार महिलाहरुलाई स्वरोजगार बनाउन आफूले भूमिका निर्वाह गरेको नेतृ न्यौपानेले बताइन् ।
लामो समय नेपाली कांग्रेस र पार्टी कै हकहित तथा संगठन बिस्तारमा अहोरात्र खटिएको अनुभवलाई जिल्ला सहसचिव मार्फत अझ सकृय हुन आफुमा प्रेरणा मिल्ने उनकाे भनाई रहेकाे छ । अर्काको आशिर्वाद लिएर भन्दा खुल्ला रुपमा प्रतिष्पर्धाबाट निर्वाचनमा भाग लिई नेतृत्व गर्न आफुलाई मन पर्ने भएकाले उनले खुल्ला तर्फको सहसचिव पदमा आफुले उमेद्धवारी दिने बताउँछिन्।
नेपाली कांग्रेस पार्टीकाे आगामी मंसिरमा हुने १४ औं महाधिवेशनको उत्साह कार्यकर्ताहरुमा छाएको हाे । मकवानपुर जिल्लाका वडा तहमा आईतबार निर्वाचन सम्पन्न भैसकेको छ । नेपाली कांग्रेस नेताहरुलाई गाउँपालिका/नगरपालिका र जिल्ला तहको निर्वाचन कार्यक्रमले छोएको छ । अहिले कांग्रेस नेताहरु आ-आफनो उमेद्धवारी घोषणा गर्ने र प्यानल बनाएर निर्वाचनको तयारी गरीरहेका छन् ।
मकवानपुर जिल्ला सभापतिमा अहिलेसम्म आधिकारीक घोषणा कसैले गरेको छैन । जिल्ला उपसभापतिमा होमनाथ गौतमले उम्मेद्धवारी घोषणा गरेका छन् । नगरसभापतिमा राजेश बानियाँ र उत्सव इटेनीलेले घोषणा गरेका छन् ।
- यमुना अर्याल (काफ्ले)
सायद पूर्णिमाको दिन जस्तो लाग्छ, एकाबिहानै बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो। हतारहतार ढोका उघारें, आफ्नै जेठाजु र जेठानी दिदी आएका रहेछन्। आश्चर्य नै भयो, सितिमिति मेरो घरमा जेठाजु र जेठानी आउँदैनथे, आज त बिहानै दुवै जना आएका रहेछन् , के रहेछ त्यस्तो खास ?
मनमनै गम खाएँ एकैछिन। फेरि अर्को मनले भन्यो, यिनीहरू के विशेष कामको लागि आउँथे र ? केही नयाँ काम नपरी त आउने मान्छे पक्कै होइनन्। होस्। मनलाई एकातिर अल्मलाएर आतिथ्यता दर्शाएँ, ओहो एकाबिहानै आउनुभएछ, दाजु दिदी भित्रै बसौं न।
दुवै जना भित्र पसे, सामुन्नेमा भएको सोफा देखाउँदै दुवै जनालाई बस्न भनें। ‘तपाईंहरू बस्दै गर्नुस् म चिया पकाउँछु है।’ म भान्सातिर जान लाग्दै थिएँ, जेठानीले रोकिन्। ए शिलु पर्दैन … पर्दैन … चियासिया त खाँदै गरौंला नि हामी त अर्कै कामले आएका हौं।
अँ साँच्चि नानीहरू उठेका छैनन् ? अरू कुरा केही पनि नसोधी नानीहरूको बारेमा जेठानीले सोधेपछि एकैछिन त बिलखबन्धनमा परेजस्तै भयो। ‘छैन त दिदी। नानीहरू यति बिहानै के उठ्थे र? स्कुल बिदाको दिन हुने हो भने त मौका पाउँदा आठै पो बजाउँछन्।’
‘ओहो हो र ?’ निकै अनौठो मानेजस्तै गरिन्। ‘मस्त निद्रामा होलान्, सुतेका नानीहरूलाई उठाउने कुरा पनि भएन, फेरि तिम्रो जेठाजुलाई अफिस जानुपर्छ, मलाई त केही थिएन दिनभरि घरै बस्ने हो। उहाँलाई ढिलो हुने भो। ठूलो बाबा,आमा आउनु भाको छ भनिदेऊ न उठिहाल्छन कि!’
जेठानीले फेरि प्रश्न गरिन्।
खास के काम रहेछ मेरा छोरीहरूसँग ? न खुलेर कुरा गर्छन् ? न आफूले नै सोध्न भएको छ तिमीहरूलाई अरू बेला नचाहिने मेरा छोरी आज बिहानै किन चाहियो भनेर।जेठाजुले मुख फोरे। खासमा कुरा के हो भने नि शिलु, आज हामी दुवै जनाको ब्रत हो, आज पूर्णिमा भन्ने त थाहा पाएकी हौली। ब्रतको दिन घरका आफ्ना कन्यालाई टीका नलगाई, आफ्ना कन्याहरूको गोडा नढोगी के पानी खानु भनेर उठेर नुहाइधुवाइ, पूजापाठ गरी यहाँ आइहालेको नि। हुन त छिमेकीका छोरीहरू पनि आफ्नै अगाडि छन्। आफ्नै भाइका छोरी हुँदाहुँदै के अर्काका छोरी पुज्नु भनेर यहाँ आएको नि।
दुइटा छोराका धनी जेठाजु, आज ब्रतको दिन मेरा छोरी खोज्न आइपुगेछन्। मनमा धेरै कुरा खेले, जे जे भए पनि आखिर छोरी त काम लाग्ने रहेछन् भन्ने पनि लाग्यो। मनमा जे भए पनि देखाउने कुरा भएन। ‘ए उसो भए एकैछिन बस्नुस् म नानीहरूलाई उठाइदि हाल्छु।’ नानीहरूलाई झक्झकाएर उठाएँ। दुवै जना मुख धोएर ठूलोबाबा आमा भएको ठाउँमा आए, नमस्कार गरे।
अरू बेलामा खासै मतलब नगर्ने भए पनि दशैंमा, औंशी, संक्रान्ति, सानातिना चाडवाडमा छोरीहरूलाई बोलाउने, खुवाउने, दक्षिणा दिने गर्थे। आज पनि पूर्णिमा रहेछ, त्यो पनि सानोतिनो चाँडै भयो छोरीहरूको लागि। दुवै जनाले दुवै छोरीलाई काखमा लिए। टीका लगाइदिए, दक्षिणा दिए, गोडामा ढोगे, आशीर्वाद दिए, एक एकवटा खेलौना पनि ल्याइदिएका रहेछन् हातमा थमाइदिए।
‘ल हामीलाई ढिलो भयो लाग्यौं है।’ दुवै जना बिदा भए। दुवै जना बाहिरिए पनि मनमा अनेक प्रश्नहरू खेल्न थाले। म दोस्रो पटक आमा बन्दा त्यही छोरी त पाएकी हो के हेर्न जानु ? भनेर नाक खुम्चाउने मेरा जेठाजु, जेठानी मेरै छोरीको गोडा ढोग्न किन आइपुगे ? कान्छि दश, र ठूली बाह्र वर्षका छन्। दुवै छोरी बुझ्ने भएका छन्। उनीहरूमाथि आफन्त र समाजले गर्ने विभेदको सानोतिनो सुइँको पाइरहेका हुन्छन्, बेलाबेलामा आफैं अनुभूति पनि गरेका हुन्छन्।
त्यही भएर पोहोरसाल ठूलो बाबाको छोरालाई तिहारमा टीका लगाउन गएनन्, दिदीले बहिनीलाई टीका लगाइदिए। पटक-पटक ‘तिम्री आमाले एउटा भाइ पाउन सकिन, तिहारमा कसलाई टीका लाउछौ ?’ यही प्रश्न सुन्दासुन्दा हुर्किएका छोरीहरू आमाको खुसीको लागि भए पनि तिहारका एकअर्कालाई टीका लगाउँछन्।
‘आमा, ठूलो बाबाको छोराले भन्दा धेरै प्रगति गर्छौ, तपाईंलाई छोराको कमी हुन दिन्नौ’ भन्दै ढाडस दिन्छन् छोरीहरू। बाआमा दुवैका प्यारा छन् छोरीहरू। जेठाजु, जेठानीले जतिसुकै खिसी गरे पनि श्रीमानबाट साथ र सहयोग पाएको छु। यही खुसीको कुरा हो मेरो लागि। श्रीमानले कहिले पनि यी दुई छोरीलाई भेदभावको दृष्टिकोणले हेरेनन्।
जेठाजुका दुई छोरा छन, साना गफ गर्दैनन् उनीहरू। ‘यत्रो सम्पत्ति छ, यी छोरी बिहे गरेर गएपछि कसले खान्छ ? एउटा छोरा पनि नभएको घर के घर ? एउटा आँखाको केही भर हुन्छ र ?’ बेलाबेलामा निकै ताना मार्छिन् जेठानी।
‘आफू त मरे पनि सिधै स्वर्गमा पुगिन्छ, यत्रो सम्पत्ति भएर के गर्नु शिलु ? मरेपछि दागबत्ती दिने कोही छैन।’ गर्भको बच्चा चार पाँचपटकसम्म चेक गरेर, छोरा छ कि छैन ? ढुक्क नभएसम्म गर्भ तुहाएको कुरा कसले भन्दिने ? दुवै जना छोराका भक्तजस्तै हुन्। जेठानीले चोथौ पटकमा मात्रै छोरा पाएको कुरा उनकी आफ्नै बहिनीले सुनाएकी थिई।
जब छोरी भएको थाहा हुन्छ अनि अपरिचित ठाउँमा जाने, गर्भपतन गराउने काम पटक-पटक गरे। पाँचौं पटकमा पहिलो बच्चा छोरा जन्मियो। दोस्रो बच्चा पनि छोरै जन्मियो। भाग्यमानीलाई खातैखात, अभागीलाई पुर्पुरोमा हात भन्छिन् बेलाबेलामा।
सहरमा बसेको, शिक्षित भनेर के गर्ने ? सोच हाम्रा हजुरआमाको पालाको भन्दा गुर्जेको भएपछि। जेठाजु त लोग्ने मान्छे भए, उनीहरूको सोच अलिकति पुरूषवादी त हुन्छ नै तर आफैं छोरी भएर जन्मेकी जेठानीले समेत आफ्नो गर्भलाई छोरी भएकै कारण चार चार पटकसम्म मरुभूमी बनाइन्, उजाड बनाइन्।
अहिले तिनै जेठाजु जेठानी हप्तैपिच्छे ब्रत बस्छन्, पूजापाठ लगाउँछन, मन्दिर जान कहीँ बाँकी छैन। पून्यका काम निकै गर्छन्। अझ चाखलाग्दो कुरा त के हो भने मेरो सानी छोरीको न्वारानमा समेत दुवै जना आएनन्। के के न भएजस्तो न्वारान खान के जानु भनेर आएनन् रे भन्ने कुरा अर्कैको मुखबाट सुनियो।
खैर, केही छैन। उनीहरू नआए पनि मेरी छोरीको न्वारान भयो, न्वारान भएको पनि दस वर्ष भइसक्यो। उनीहरूलाई यस्ता कुरा सुनायो भने मन दुखाउँछन्। एकदम सकारात्मक कुरा मात्र भन्न खोज्छु तर कताकताबाट भेउ पाइहाल्ने रहेछन्।
‘आमा, तपाईंले किन लुकाउनु भएको ? हामीलाई मावलको हजुरआमाले भन्नु भा को’, …. यस्तो उस्तो सबै कुरा ओकल्छन्।
केही बोल्न मन लाग्दैन। बस यत्ति भन्न चाहन्छु गर्भका अवोध छोरीलाई छोरी भएकै कारण धर्तीमा पाइला टेक्न नदिने तपाईंहरू नै, छोरी भएपछि स्वर्गमा बास नपाउने पनि तपाईंहरू नै, छोरीमात्रै जन्माएपछि मर्दा नजल्ने तपाईहरू नै, छोरी भएपछि सम्पत्ति खाने मान्छे कोही नपाउने पनि तपाईंहरू नै फेरि तपाईंको ब्रत, पूजाआजाको लागि कन्याहरू किन चाहिन्छ ?
छोरीहरू किन चाहिन्छ ? छोराहरूलाई टीका लगाएर खान सक्नुहुन्न र ? छोराको गोडामा ढोगेर ब्रत पूरा गराउन सक्नुहुन्न र ? घर पूजामा पाँच कन्याको लस्कर लगाएर, कलश बोकाएर उनीहरूलाई किन अघि लाउनुहुन्छ ? छोरालाई लाउँदा हुन्न र ? गर्भका छोरी तुहाएर भए पनि संसार देखेका मेरा छोरीको खाँचो देख्दै, उनीहरूलाई खोज्दै मेरो घरसम्म पाइला राखेका मेरा आधुनिक जेठाजु जेठानीको ब्रत पूरा होस्। मनले चिताएको पूरा होस बस यतिमात्र भन्न चाहन्छु।
प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो। गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
हुन त हामी आधुनिक जमानाका कुरा गर्छौं,आफूलाई आधुनिक ठान्छौं तर छोरालाई कति महत्व दिन्छौं भन्ने कुरा हाम्रा भोगाइले, हाम्रा व्यवहारले प्रस्ट पार्छन्। मेरा कतिपय साथी, आफन्तलाई सबभन्दा पहिले हाम्रा सन्तान हुन्, सन्तान भएपछि मात्रै छोरा र छोरीको कुरा आउँछ भन्दा मलाई उडाएको पनि पाएँ।
उसका एउटा छोरा, एउटी छेरी छँदैछ, हाम्रो पीडा के थाहा ? अर्कालाई उपदेश दिन त सजिलो छ नि भन्दै खिसी गर्नेहरू पनि छन्। म आफैं छोरी भएर यतिको कलम चलाउन सक्छु। आफ्ना आवाज उठाउन सक्छु, दुई चार शब्द बोल्न सक्छु, दुई चार अक्षर पढ्न सक्छु भने मैले जन्माएकी छोरीले मैले भन्दा धेरै गर्न नसके पनि कम्तीमा मैलेजति कसो नगर्ली भन्ने मलाई लाग्छ।
अहिलेको जमानामा, शिक्षा र अवसर पाउने हो भने कुनै पनि छोराभन्दा छोरी कम छैनन् र हुँदैनन् पनि। गर्भका छोरी मारेर ब्रत सफल बनाउन कन्या खोज्ने हर्कत नगरौं।
गर्भदेखि सम्मान गर्न सिके पो तपाईंको ब्रत, जपतप सफल होला त महोदय ? भ्रुण हत्याको पाप कटाउन कति पूजापाठ गर्नुहुन्छ ? कति ध्यान, जप गर्नुहुन्छ ? जतिसुकै तामझाम गर्नुस् तपाईंको वास्तविकता त्यही हो जुन तपाईंबाट अपराधीको शैलीमा पटक पटक भइसक्यो।
औंशी पूर्णिमामा कन्या पुज्ने होइन गर्भमा अंकुराउन लाएको मुनालाई निमोठ्ने काम नगर्नुस्। आखिर कहीँ न कहीँ, कतै न कतै, कहिले काहीँ आक्कलझुक्कल छोरीको खाँचो त पर्ने रहेछ। शिलुका जुठाजु जेठानीको जस्तो हर्कत कसैको नहोस्।
छोरीको सम्मान होस्, छोरी भएकै कारण गर्भमा मारिने क्रम रोकियोस्। विशेष परिस्थितिमा खोजीखोजी पुज्ने होइन। छोरी भएर शानले बाँच्न पाइयोस्। भनिन्छ नि, भाग्यमानीको छोरा हुन्छ, शौभाग्यले मात्रै छोरी जन्मिन्छ। setopati.com बाट साभार गरिएकाे
घरबाट भागेर २०३६ सालमा राजनीतिमा लागेकी नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा काठमाडौं ८ ‘क’ बाट निर्वाचित भएकी थिइन्। एमाले बागमती प्रदेशको इन्चार्ज समेत रहेकी शाक्य गुटगत आन्तरिक संघर्षका कारण त्यति वेला मुख्यमन्त्री बन्न सकिनन्। अहिले एमाले विभाजन भएको वेला उनी मुख्यमन्त्री बनेकी छन्। नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष जितेकी शाक्य यति वेला भने अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिएकी छिन्। नेपालले २ भदौमा नयाँ पार्टी गठन गरेसँगै ओलीले डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्। अब नेपाल पक्षले साथ नदिंदा उनको मुख्यमन्त्री पद जोगिने देखिंदैन। उनी भने सबैको साथ पाएर नै मुख्यमन्त्री बनेको बताउँछिन्। मुख्यमन्त्री शाक्यसँग सरिता दाहालले गरेको कुराकानी :
नेकपा (एमाले) विभाजन भएको र निर्वाचन नजिकिंदै गरेको वेला छोटो समयका लागि मुख्यमन्त्री बन्नुभएको छ। कसरी अघि बढ्ने योजना छ ?
छोटो समयकै लागि भन्नुपर्यो, १६ महिना जति मात्रै बाँकी छ। यसमा पनि केही चुनौती र केही अवसरहरू देखेकी छु। पहिलो, बजेट नै हो। यसअघिको बजेटबाट भएका राम्रो कामको समीक्षा गर्छाैं। बजेट तथा कार्यक्रममा आवश्यकता र विगतको कार्यान्वयनको पाटो हेर्नु छ। त्यसपछि काम शुरू गर्छौं।
बागमती प्रदेशका सबै जिल्ला अत्यन्तै सम्भाव्यता बोकेका छन्। मैले पटक-पटक भन्ने गरेकी छु, यहाँको जीवन दुःखमा बस्नुपर्ने खालको छैन, हामीले आँट गरेर योजनाहरू बनाउने र कार्यान्वयनमा ल्याउने हो भने कोही पनि अभाव र समस्यामा बस्नुपर्ने छैन। अवसर नै अवसर भएको यो प्रदेशमा सबैको साथ चाहिन्छ, धेरै काम गर्न सकिन्छ। जनता र प्रदेशका लागि काम गर्छु।
अहिले हाम्रो ध्यान कोभिड-१९ नियन्त्रणमै छ। खोपको अपर्याप्तता छ, केही अव्यवस्थालाई व्यवस्थित गर्नुपर्छ। यस्तै, बाढीपीडितको अवस्थाप्रति पनि ध्यान दिनुपर्छ। सरकारले केही गर्ला भन्ने आशा बोकेर बस्नुभएको छ। उहाँहरूका लागि केही गर्नुपर्छ। बाढीपीडितको जहाँ-जहाँ समस्या छ, त्यहाँ ध्यान दिनेछु।
अर्को, सुशासन कायम गर्नुपर्नेछ। भ्रष्टाचार, अनियमितता विरुद्धको लडाँइ छ। विकास निर्माणका नियमित योजना त छँदै छन् ।
देशको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ। महिलाका लागि केही विशेष योजना छन्?
म पहिले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी हुँ। त्योभन्दा अगाडि जति वेला म आन्दोलनमा थिएँ, मेरो विषय महिला नै थियो। अखिल नेपाल महिला संघको अध्यक्ष भएको नाताले पनि मेरो मुख्य पाटो महिला नै थियो र आज पनि हो।
कमरेड साहना प्रधानसँग आन्दोलनमा हिंड्दा पनि महिलाको विषयमा हामी गहिरिएर सोच्ने र विश्लेषण गर्दथ्यौं। जेल पर्दाताका आन्दोलनको विषय पनि महिलाकै थियो। मेरो आन्दोलनको विषय महिला, मैले सबैभन्दा बढी समय खर्चिएको विषय महिला आन्दोलन, अनि आफैं पनि महिला भएका कारण मैले महिलाको मुद्दालाई बिर्सने त कुरै भएन। महिला कति पीडित, कति दमित, कति दुःख, पीडा सहेर बसेका छन् भन्ने बुझेकी छु।
अहिले संविधानमा महिलाका विषयमा जे व्यवस्था भएको छ, त्यो हाम्रो आन्दोलनबाट नै आएको हो। अझै पनि महिला पीडित छन्। हामीले अझै लड्नुपर्छ। अब मैले महिलासँगै सबै नागरिकको सवाललाई सम्बोधन गर्नुपर्छ। संविधानमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ। बागमती प्रदेशको हकमा मैले नेतृत्व गर्ने छोटो समयमा कति सक्छु, गरेर देखाउनेछु।
विगतमा धेरै पटक मुख्यमन्त्री हुने भन्ने हल्ला चल्यो। तर, यस पटक भने एकाएक मुख्यमन्त्री बन्नुभयो। यो कसरी सम्भव भयो?
विगतमा हल्ला भए, तर हल्लामै सीमित रहे। यो पटक अपर्झट नै कदम उठाइयो। सबै नेतालाई समेत जानकारी दिन सकिएन, तर थाहा पाएपछि पनि सबै दलका नेता, सांसदले फोन गरेर आफ्नो साथ छ भन्नुभएको छ। सत्ता र विपक्षी दलका नेताले ‘तपाईं हिजै मुख्यमन्त्री बन्नुपर्ने थियो, आज बन्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ। सबै दलका नेताले ‘जे कदम चाल्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ। म ढुक्क छु, मेरो कार्यकाल सफल पार्न सबैको विश्वास प्राप्त हुनेछ।
तपाईंको पार्टी राजनीति त एकाएक बदलियो नि ?
पार्टीभित्रको हलचल त केही लामै हो, मुख्य बागमती प्रदेशमा किन यस्तो भयो भन्ने सवाल अहिले चर्चामा छ। केन्द्रीय राजनीतिमा जे जस्तो देखिएको छ, यसले दुःखी बनाएको छ।
अहिले विकासका लागि राजनीतिक सहमति र प्रष्ट भिजनका साथ अगाडि बढ्नुपर्ने वेला हो। काम गर्न कुनै अप्ठ्यारो पनि छैन। तर, पार्टीभित्र बेमेल, अस्वस्थ प्रतिस्पर्धा, गुटगत गतिविधि, एक–आपसमा मिल्नै नसक्ने घमण्ड र दम्भले नै नोक्सान पुर्यायो।
नेतृत्व तहमा घमण्ड बढी भयो। सबैलाई सम्मान गर्ने, समेटेर लैजाने, त्यो खालको लचकता र फराकिलोपन देखिएन। यसै कारण हामीले धेरै अवसर गुमायौं। राजनीतिक वातावरण कमजोर हुँदै गयो। जनतामा निराशा बढायो। अनेक चलखेल बढे, एकताबद्ध हुने अवस्था नै देखिएन।
यस्तो अवस्थामा बागमती प्रदेशबाट एकताको सन्देश दिने प्रयास गरेका हौं। हामी विभाजनतिर जानु हुन्न भनेर दबाब दिन खोजेका हौं। त्यसका लागि सल्लाह गर्दै, सहमति खोज्दै, अगाडि बढ्दै आयौं। मन फराकिलो बनाउँदै आयौं।
म पार्टीको सिनियर भएको हिसाबले पनि नेतृत्व गर्नुपर्ने थियो। मैले बाटो देखाउनुपर्ने भएकाले एकताको पक्षमा उभिएकी हुँ। लोकतन्त्र जोगाउन, गणतन्त्र जोगाउन, संविधानको मर्म राख्न एकताको पक्षमा फराकिलो सोच राखेर यो आँट गरेकी हुँ। मलाई डोरमणिजीबाट पनि साथ मिल्यो।
तपाईं त माधवकुमार नेपाल पक्षकी नेत्री, अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध पनि गुर्नभयो। अहिले मुख्यमन्त्री पदका लागि आफ्नो विचार साट्नुभएको भन्ने आरोप छ नि?
यस्तो आरोप लगाउनेलाई मैले भन्नु केही छैन। लोकतन्त्रमा आफ्नो विचार राख्न पाइन्छ, लागेको भन्न पाउनुहुन्छ।
मुख्यतः अष्ट कस्ती मान्छे हुन् भनेर चिन्नुपर्छ। अष्टले पदका लागि कहिले होडबाजीमा लागेकी छ? पार्टीमा हिजो मेरो देन के थियो, आज के योगदान गरिरहेकी छु? यो सब बुझ्नेहरूले त्यस्तो आरोप लगाउनुहुन्न।
आन्दोलनको दौरानमा, कम्युनिष्ट पार्टी स्थापना गर्ने क्रममा झलनाथ खनाल, जीवराज आश्रित, मदन भण्डारी, माधव नेपालले मलाई यहाँसम्म ल्याउनुभयो। घरपरिवार छाडेर म एक्लो निस्कँदा अन्योलमा थिएँ, उहाँहरूले नै मलाई कम्युनिष्टको सिद्धान्त बुझाउनुभयो। विचारमा खार्नुभयो। उहाँहरूको साथ मेरा लागि अद्वितीय छ। घर छोडेर हिंडेको मान्छेलाई धेरै सिकाउनुभयो, र अहिले यहाँ छु।
केपी कमरेडलाई मैले झापा आन्दोलनपछि मात्रै चिनेकी हुँ। म कोही नेतृत्वलाई अपमान गर्न सक्दिनँ, किनकि उहाँहरूले दुःख बुझेर आउनुभएको छ। त्याग गरेर आउनुभएको छ। तर, यतिखेर आएर जस्तो सोच राख्नुपर्ने हो, त्यो देखिएन। मुलुक, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र, गणतन्त्रका लागि एकजुट भएर अगाडि बढौं, मन फराकिलो गरौं, कसैले कसैलाई निषेध नगरौं भन्ने सोच नेतृत्वले राख्नुपर्थ्यो, त्यो देखिएन।
पछिल्लो समय केपी कमरेडको दम्भ बढी भयो। पदमा पुगेपछि अगाडि-पछाडि कोही देख्नुभएन। व्यक्ति-व्यक्तिलाई पनि निषेध गर्ने काम भयो। त्यही कारणले राजनीतिलाई यो ठाउँमा पुर्यायो।
नमिलेको घर र मिलेर बसेको घरमा कति फरक हुन्छ? पार्टी भनेको पनि घर नै हो। अहिले नमजा लागेको छ। पार्टी अप्ठ्यारो अवस्थामा पुगेको छ। मैले आफ्ना तर्फबाट केपी कमरेडलाई भनेकी छु- अब तपाईंले पार्टी हाँक्न सक्नुहुन्न।
त्यसैले पनि फलानालाई छोडेर फलानाको तर्फ गयो भन्ने मेरो विषयमा लागू हुनै सक्दैन। म सबैको आदर–सम्मान गरेर अगाडि बढ्छु। हामी फुट्नु राम्रो हैन, यो प्यानल, त्यो प्यानल हैन, संस्कारयुक्त कम्युनिष्ट पार्टीका लागि मेरो मत हो।
अहिले कम्युनिष्ट आन्दोलनमा एकताको जरुरी छ। मैले एकताका लागि यो कदम चालेकी हुँ। यता र उताभन्दा पनि एकताकी पक्षधर हुँ। प्राप्त उपलब्धिको रक्षा गर्ने वेलामा फुटेको मलाई पटक्कै ठीक लागेको छैन। अब एक ठाउँमा आउनैपर्छ, मिल्नैपर्छ भन्ने दबाब दिन खोजेकी हुँ।
२०५४ सालमा पार्टी फुट्दाको पीडा मैले पनि भोगेकी छु। त्यो फुटपछि पार्टीभित्र कति धेरै तिक्तताहरू जन्मिए, त्यो अहिले झलझली सम्झिरहेकी छु। त्यस्तै घटना फेरि नहोस् भनेर म एकताको पक्षमा उभिएकी हुँ। कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी हैन।
यो तपाईंको पार्टीको कुरा भयो। बागमतीका बासिन्दालाई के भन्नुहुन्छ ?
यति वेला राजनीतिक अस्थिरता देखेर जनतामा निराशा बढेको छ। लोकतन्त्र बेकारको रहेछ भन्ने सोच आउन सक्छ। जनताका लागि शान्ति, विकास, समृद्धि चाहिएको छ। यो वेला राजनीतिक अस्थिरता देखेर आत्तिनु स्वभाविक पनि हो। नआत्तिनुस्, राम्रो समय आउँछ।
लोकतन्त्र भनेको विचारको तन्त्र हो, फरक विचार आउनु स्वाभाविक हो भनेर बुझिदिनुस्। सकारात्मक विचारै महत्त्वपूर्ण हुन्छ। आफ्नो ठाउँबाट सरकारलाई सहयोग गरिदिनुस्, सरकार सधैं जतनाकै लागि हो। धैर्य राखिदिनुस्, केही राम्रो गरेर देखाउनेछु।
https://www.himalkhabar.com बाट
बालबालिकाहरू अझै जाेखिममा
Tags: No Comments
मकवानपुर । मान्छे बेचेर खाने जस्ता अपराधिक गतिविधिमा संलग्न हुनेहरुको सन्जाल अझैसम्म रहेको रत्ननगर नगरपालिका चितवनका नगर प्रमुख नारायण वनले बताएका छन् । आर्थिक रूपमा कमजोर भएकाहरु बढी जोखिममा रहेको बताउँदै नगरप्रमुख वनले भने “यस्ता जोखिममा रहेका बालबालिकाहरुको संरक्षण गर्नु स्थानीय तहहरुको जिम्मेवारी हो ।”
सुरक्षाको लागि साथ साथ परियोजना अन्तरगत मंगलबार चितवनको रत्ननगर नगरपालिकामा एक्प्याक्ट लगजेम्बर्गको सहयोगमा कानुन अन्वेसण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले आयोजना गरेको मानव बेचबिखन विरुद्ध र बाल संरक्षणका बिषयमा सेवा प्रदायकहरूका निमित्त एक दिवसीय तालिममा उनले यस्तो बताएका हुन् ।
रत्ननगर नगरपालिकाले जोखिममा रहेका अभिभावक बिहिन बालबालिकाको अवस्था विश्लेषण गर्दै संरक्षकत्व प्रदान गर्ने तत्परता देखाएको उनले बताए । “म रत्न नगरको बालक हुं भनेर गर्व गर्न लायक बनाउने अभियानमा छौं” वनले भने यो बालबालिकाहरुको लागि संबिधानले प्रदान गरेको अधिकार पनि हो ।”
यसैगरी महिलामाथि हुने कुनै पनि हिंसाको विरुद्ध आफूहरु लागि परेको नगरउपप्रमख बिमलादेवी दुवाडीले बताइन् । बुहारीलाई आफ्नो घरमा सम्मानित हुने अवस्था सिर्जना गर्न सामाजिक पाटोमा सचेतना फैलाउन अभियानमा नगरपालिका लागिपरेको उपप्रमुख दुवाडीले बताइन् । “दाईजोलगायतको कुप्रथाहरुको अन्त्यमा हामीले धेरैले गर्न बाँकी छ” उनले भनिन । यसैगरी सडक बालबालिका, घरेलु बालश्रमलगायतको क्षेत्रमा पनि काम गरिरहेको उनले बताइन् ।

रत्ननगर नगरपालिका चितवनसँगको समन्वय र सहकार्यमा आयोजना गरिएको कार्यक्रम मानव तस्करलाई कारबाहीको लागि कानुन नबनेको हुनाले ठगिको केसमा मुद्दा चलाउने गरेको कारण तस्करी नरोकिएको तालिमका सहजकर्ता केशब दुवाडीले बताए ।
बालयौन मोहक मनोप्रवृत्ति हाबी भएकाहरूबाट बालबालिका बढी जोखिममा रहेको सेलर्डका फिल्ड अफिसर अधिवक्ता जगन्नाथ सुबेदीले बताए । केही बाल गृहको नराम्रा कामको कारण सबै बालगृह बदनाम हुने गरेकोले बालगृह सञ्चालन गर्दा नीति नियमहरु पुर्ण रुपमा पालन गर्नतर्फ ध्यान दिनुपर्ने अधिवक्ता सुवेदीले आग्रह गरे ।

घरेलु श्रमिक राख्ने प्रवृत्ति अझै रहेको र वडास्तरीय रुपमा घरेलुु बाल श्रमिक उन्मुलनको कार्य जारी राखेको रत्ननगर नगरपालिका महिला बालबालिका महाशाखा प्रमुख दीपा घिमिरेले बताइन् । सबैको सहकार्यले बाल संरक्षण र मानव बेचबिखन विरुद्धको अभियानमा सफलता प्राप्त हुने घिमिरेले बताइन् ।
कोरोना महामारीको कारण अनलाइन शिक्षाको बाहानामा बालबालिकामाथि मानसिकलगायतको तनाव बढेको रत्ननगर नगरपालिका नगरस्तरीय बाल क्लब सन्जाल अध्यक्ष रोनिशा घिमिरेले बताइन् । “मोबाइलको अभावमा अनलाइन शिक्षामा जोडिन नपाउँदा हिनताबोध गर्नेहरू एकातिर छन् भने, त्यै मोबाइलको दुरुपयोग गरेर पढाइ बिग्रार्नेहरू पनि छन्” उनले भनिन् “अनलाइनबाट हुने नकारात्मक कामको निगरानी सरकारले किन गर्दैन ?” यसैगरी अनलाइनको कारण बालबालिकाहरू विविध प्रकारको खराब लतमा फस्दै गरेको र बाल क्लबहरूले नियन्त्रण गर्नै नसक्ने अवस्था आएको सन्जालका सचिब सहज खनालले बताए ।

बालबालिकाको संरक्षणमा अभिभावक स्वयम जिम्मेवार हुनुपर्ने र अभिभावक नहुदा राज्यले सबै जिम्मेवारी लिनुपर्ने प्रशिक्षक दुवाडीले बताए । तालिममा प्रशिक्षक दुवाडीले अपराध पीडितको अधिकार बारे कानुनी व्यवस्था बारे पनि जानकारी गराएका थिए । पीडित कमजोर हुने र पीडक शक्तिशाली हुने भएकोले कमजोर वर्गले झनै ढिलो न्याय पाउने भएकोले बिद्यमान कानुनमा फास्टट्र्याकको व्यवस्था गरिएको उनले बताए ।

यसैगरी तालिममा फिल्ड अफिसर अधिवक्ता सुवेदीले स्वयमसेवी पर्यटनको जोखिममा बालबालिका पर्नेसक्ने बारे ध्यानाकर्षण गराएका थिए । स्वयमसेवि रुपमा आउने पर्यटनहरूको जोखिममा बालिकाभन्दा बालकहरू बढी परेको उनले बताए । पर्यटनको रूपमा आउने र बालबालिकामाथि यौन शोषण गर्ने गरेको पाइएमा कानुनी कारबाही हुने उनले बताए ।
तालिममा रत्ननगर नगरपालिकामा रहेका बालगृह सञ्चालकहरु, तथा बालअधिकारको क्षेत्रमा कार्यरत सेवा प्रदायकहरुको उपस्तिथि रहेको थियो ।
बालापन र सिकाइकाे भाेक
Tags: No Comments
एक बिहान ढिडो ओडाल्दै थिएँ । ११ औं वसन्त टेक्दै गरेकी छोरी सामुन्ने आएर टक्क उभिइन् । उनको अनुहार मलिनो थियो ।
सोधेंः ‘के भो ?’
उनले भनिन् ‘ममु मलाई ढिडो पकाउनै आउदैन ।’
दुई दिन अघि म कम्प्युटरमा व्यस्त थिएँ । नजिकै आएर यस्तै मलिन अनुहारमा उनले भनेकी थिइन्ः ‘ममु मैले नास्पाती तास्नै सकिन, कस्तो साह्रो ।’
आजै पौने चार बर्षको छोराले सोध्यो “ममु मिस्रीको बोट कस्तो हुन्छ ?”
आँप, लिची, केरा, अम्बा, कटहरलगायतको फलफूलको बोटो, सिमि, खुर्सानी, फर्सी, भिण्डीलगायत तरकारीहरूको बोट तथा धान, मकै, भटमासलगायत अन्नबालीको बोट चिनेको उसलाई मिस्रीको पनि बोट चिन्ने रहर थियो ।
हामीले सामन्य ठानेका प्रश्नहरू ती बालबालिकाको लागि कत्ति महत्वपूर्ण हुन्छन् ? जीवनमा सिकाईको सबैभन्दा स्वर्णिम पल यही हो । बालापनको सिकाई, बुझाई दीर्घ जीवनको लागि जिवन्त सिकाई हुन्छन् । हुनत जीवन नै सिकाईको श्रृखला हो । सिक्नको लागि उमेर र समयको हद हुदैन ।
घरबाहिर यस्सो घुम्ने क्रममा खोला नजिक पुग्दा छोराले धेरै पटक सोधेको छः ‘यो पानी बगेर कहाँ पुग्छ, किन सिद्दिदैन पानी बगेर ? जंगल नजिक पुग्दा सोध्छः बांदर किन जंगलमा बस्छ ? बिरालो किन हामीसँग हाम्रो घरमा बस्छ ? घाममा हिड्दा सोध्छ “घाममा हिड्दा किन पसिना आउँछ ?”
रात परेसी सोध्छः “जुन किन म निदाएको बेलामा मात्रै लाग्छ ?, राती किन हुन्छ ? रात पर्दा हामीलाई निद्रा लाग्छ किन ?” यस्तै यस्तै ।
झ्वाट्ट सुन्दा बालबालिकाहरूले यस्ता प्रश्न गर्नु स्वभाविकै त हो नि भन्ने लाग्छ । किनकी हामी सबै जसोले बालबालिकाहरूको यस्ता प्रश्न सुनिनै रहेका हुन्छौं । सबैजसो बालबालिकाहरूले आफ्ना अभिभावकसंग यस्ता सवाल पटक पटक उठाईरहेका हुन्छन् । फेरि बालबालिका आफूले उठाएको प्रश्नको जवाफ चित्तबुझ्दो नलागेसम्म पटक पटक सोधिरहने स्वभावका हुन्छन् । कत्ती एउटै कुरा सोधेको भनेर झर्कने पनि गर्छौ कहिले काँही हामी ।
तर हामीले गहिरो गरी यी बिषयमा कत्तिको सोच्दछौ ? हामीले सामन्य ठानेका प्रश्नहरू ती बालबालिकाको लागि कत्ति महत्वपूर्ण हुन्छन् ? जीवनमा सिकाईको सबैभन्दा स्वर्णिम पल यही हो । बालापनको सिकाई, बुझाई दीर्घ जीवनको लागि जिवन्त सिकाई हुन्छन् । हुनत जीवन नै सिकाईको श्रृखला हो । सिक्नको लागि उमेर र समयको हद हुदैन । बाँचुन्जेल हरेक पल केही न केही सिकाई जारी रहन्छ । समयले जीवनको हरेकपल सिकाई दिइरहेको हुन्छ सबैलाई । भलै हामीले सिकाईलाई कत्तिको स्वीकार गर्छौ, कत्तिको आत्मसात भन्ने मुलभुत कुरा हो ।
हामी प्रविधिको युगमा छौ, प्रविधिले धेरै कुरा दिएको छ । तर यसैको कारण केही गतिरोध पनि जन्मेका छन् हामीमा । प्रविधिकै कारण हामी शारीरिक श्रम गर्न छोड्दै आएका छौ । अब बिस्तारै मानसिक कसरत पनि कमै गर्न थालेका छौँ । बालबालिकाहरूको सिकाई, बुझाई तथा सिर्जनात्मकतामा समेत यसको असर पर्न थालेको छ । हाम्रा बालबालिकामा सिर्जनात्मकता हराउँदै छ, प्रकृतिभन्दा प्रविधि प्रिय लाग्न थालेका छन् । जब कि प्रकृति खुला किताब हो जहाँ पलभरमा हज्जारौं ज्ञान हासिल गर्न सकिने अवसर छन् ।
शिक्षण सिकाईको क्रममा पनि सोच्ने, खोज्ने भन्दा घोक्ने घोकाउने बानी परेको छ बालबालिकालाई । पस्केको खाने बानी परेपछि उनीहरूले किन सोच्ने, खोज्ने तर्फ लाग्दथे र ? बालबालिकाको मनोबिज्ञानले के खोजिरहेको छ, के सोचिरहेको छ भन्ने विचार गर्नुभन्दा उनीहरूको सहजताको लागि भनेर घोकाउने, उत्तर ठिक्क पारेर राखिदिने परम्परा हाबि हुँदै आएको छ विद्यालयस्तरको शिक्षा पनि ।
दुध रहित चियामा कागती हालेर किन खाने, दुधमा मह वा बेसार हालेर किन खाने, बासी खाना किन नखाने, विहान उठेर योगा गर्ने, गित संगित सुनेर नाच्दै नचाउँदै गर्ने योग र नृत्यले शरिर र मानसपटलमा पुग्ने फाइदा बारे बताउने, गमला वा प्रयोग विहीन बट्टाहरुमा फूल,विरुवा रोप्न लगाउने, ति विरुवा कसरी सर्दछन्, त्यसको लागि माटो हावा पानीको आवश्यकता के कस्तो छ ? विरुवाबाट हामीलाई कस्ता लाभ मिल्दछ ?, घरमा साङ्ला, लामखुट्टे, मुसा, बिरालाहरु देखा पर्न सक्छन्, यि सत्रुजिव र मित्रुजिवको बारेमा जीवनपयोगी ज्ञानहरु अभिभावक आफैंले सहजै सिकाउन सक्छौ । यसको लागि कुनै अतिरीक्त समय, पाठ्यक्रम आवश्यक हुन्न ।
बालबालिकको मनमा प्रश्नप्रतिप्रश्न उब्जिरहेका हुन्छन् । हामी उनीहरूको मन मिलाउने तर्फ खासै महत्व दिंदैनौ । बालबालिकाको मनमा के अल्झिएको छ ? उनीहरुको प्रश्नमा उनीहरुले जान्न खोजेको कुरा कसरी बताउने भन्ने तर्पm कमै खोजी गर्छौ । हामी हाम्रो घर, कोठा असरल्ल देख्छौ र मिलाउँछौ । आÇनो गेटअप उत्कृष्ट बनाउन चाहन्छौ बनाउँछौ । तर,सोचाइ मिलाउनमा ध्यानै दिएका हुंदैनौ । बालबालिकाको सोचाइमा के छ ? कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तर्फको सोचमा कति ध्यान दिन्छौं ? यो नै बाल विकासको लागि महत्वपूर्ण खुड्कीला हो ।
स्कुले बालबालिकाको पढाइ लेखाईको कुरा गरौं । अहिले कोभिडको कारण विद्यालयमा पठनपाठन बन्द छ । यो अवस्था कहिलेसम्म रहने कुनै टुड्डो पनि छैन । बैकल्पिक सिकाई प्रभावकारी हुन नसक्दा बालबालिकाहरू सिकाईबाट बन्चित भैरहेका छन् । ईन्टरनेटको माध्यमबाट केही बालबालिकाले सिकाईलाई निरन्तरता दिएका छन्, तर त्यो पनि प्रभावकारी छैन । ६० हजार बालबालिका सिकाईबाट बन्चित छन् अहिले । यसो भन्दै गर्दा हामीले आफ्ना बालबालिकालाई घरमै आफूसँगै सिकाउन सक्ने विकल्पको खोजी गरेका छौ कि छैनौं ?
मनमा चलेको कुराहरू सुन्ने, मनन गर्ने, विचार बिष्लेशण गर्ने बानीको विकास गराउन सकियो भने पनि बालबालिकाको मानसिक विकास सशक्त बन्न सक्छ । शिक्षा बिद, बाल मनोबिज्ञ डा. मिनाक्षि दाहालका अनुसार अहिले कोभिड महामारीको कारण बालबालिकाहरूमा थप कौतुहलता बढेको छ । तर हरेक अभिभावकहरू आफ्ना बालबालिकाको जिज्ञासा सल्ट्याउन सक्ने नहुने सत्यता पनि छ । अभिभावकको पनि सिमित समय, सिमित क्षमता हुनु स्वभाबिक हो । तर यसो भन्दैमा अभिभावकहरुमा बालबालिकाहरुको सिकाइको लागि सामथ्य नहुने पक्कै हैन ।
धेरै जसो अभिभावकहरु स्कुले बालबालिकाहरू विहान घरबाट स्कुल निस्केपछि साँझ फर्कदा कुन कुन अक्षर लेख्न सिके, कुन अक्षर बोल्न सिके भन्ने खोजी गर्ने गर्नुहुन्छ, जुन गलत हो । कक्षमा अक्षरका अलवा अरू व्यवहारीक कुरोको वास्ता गर्ने परीपाटी छैन । जस्तो कि नाच्न सिक्यो होला, दाँत माज्ने बारे ज्ञान बुझ्यो होला, आदर सत्कार के कसरी गर्ने भन्ने सिक्यो होला । यता कमै चासो हुन्छ । तर यि नै विषयमा पनि चासो राख्नु पर्ने तर्क छ डा. मिनाक्षि दाहालको ।
महामारीमा घरमै सिकाइ कसरी ?
कोरोना महामारी बालबालिकाहरुको लागि एक हिसाबले अवसर बनेको छ । सामान्य समयमा बालबालिकाहरुले अभिभावकसँग बस्ने प्रयाप्त समय पाउने थिएनन् । अभिभावकको व्यवस्तताको कारण उमेर अनुसार बालिबालिकाहरु केयर सेन्टर, मन्टेश्वरी, विद्यालय, ट्युसन सेन्टर जस्ता घरभन्दा अतिरीक्त स्थानमा ‘व्यवस्थापन’ गरिदिन्थे । अनि अक्सर अभिभावको सोच ‘पैसा तिरेपछि मैले सोचेजस्तो बनाईदिन्छ’ भन्ने हुन्छ । अहिले बाध्यताबस पनि बालबालिका अभिभावकसँग रहन पाएका छन् । यो बेला अभिभावकहरुले घरैमा सिकाईलाइ प्रभावकारी बनाउँन सक्ने धेरै कुराहरु छन् ।
महामारीको कारण घरैमा बस्न पर्दा बालिबालिकाहरुमा एक प्रकारको दिक्दारी पैदा भइरहेको हुन्छ। उनीहरुलाई घरको काममा सहभागी हुन प्रेरित गर्ने गर्नुपर्छ । जस्तै खाना पकाउदासँगै राख्ने, तरकारी केलाउन÷ खेलाउन दिने, भाँडा माझ्दै गर्दा पानी हाल्न सिकाउने जस्ता कार्यमा रमाउन दिनुपर्छ । यस्ता काम गर्दै गर्दा उनीहरुले आफैं काम गरेको आभाष गर्दै प्रफुल्ल हुनेछन् । तरकारी केलाउँदा पखालेर केलाएको देख्दा उनीहरुले सरसफाइको ज्ञान लिन्छन् । चामल केलाएको देखेर चामलमा कस्ता फोहोर हुन्छन् किन हुन्छन् भन्ने ज्ञान दिलाउन सकिन्छ । कस्तो खाना खानुपर्छ भन्ने सिक्न सक्छन् । काम सिक्दै गर्दा उनीहरुबाट गल्ति भयो भने, गाली हैन, यसो गर्दा यसरी गल्ति हुनेरहेछ, अब यो तरीका हैन यसरी गरौं भनेर सिकाउन सकिन्छ ।
“मोवाइलमा बालबालिका अल्झनु दुर्बेशनी हो, मोबाईल नखेल भन्दा के गरौं त भनेर विकल्प खोज्छन्, हो हामीले विकल्प दिनु पर्छ मोवाइल, ल्यापटप जस्ता डिभाइसहरु हैन।”
कस्तो खाना कसरी खाँदा शरिरलाई के प्राप्त हुन्छ ? भनेर पोषणको ज्ञान दिन सक्छौ । जस्तोः कि दुध रहित चियामा कागती हालेर किन खाने, दुधमा मह वा बेसार हालेर किन खाने, बासी खाना किन नखाने, विहान उठेर योगा गर्ने, गित संगित सुनेर नाच्दै नचाउँदै गर्ने योग र नृत्यले शरिर र मानसपटलमा पुग्ने फाइदा बारे बताउने, गमला वा प्रयोग विहीन बट्टाहरुमा फूल,विरुवा रोप्न लगाउने, ति विरुवा कसरी सर्दछन्, त्यसको लागि माटो हावा पानीको आवश्यकता के कस्तो छ ? विरुवाबाट हामीलाई कस्ता लाभ मिल्दछ ?, घरमा साङ्ला, लामखुट्टे, मुसा, बिरालाहरु देखा पर्न सक्छन्, यि सत्रुजिव र मित्रुजिवको बारेमा जीवनपयोगी ज्ञानहरु अभिभावक आफैंले सहजै सिकाउन सक्छौ । यसको लागि कुनै अतिरीक्त समय, पाठ्यक्रम आवश्यक हुन्न ।
बालबालिकाहरुले आफैंले गरेर, हेरेर, देखेर, सिक्छन् । ‘क’ अक्षर नचिनेको बालबालिकाहरुले घरमा आफ्ना सदस्यको लुगा, चप्पलहरु कुन कसको भनेर कसरी चिन्छन ? अवश्य पनि लगाएको देखेरै चिन्दछन् । महामारीको कारण उनीहरुले अहिले आफ्ना साथीहरू मिस गरेको हुन्छन् हामी साथी बन्नुपर्छ । सिकाईको समय हामीले दिनुपर्ने हुन्छ ।
बालबालिकाहरुको व्यवहारलाई झिंजो मानेर कता पन्छाउ र आफू ढुक्कले बसौं भन्ने सोच कदापी सही हैन । बालबालिकालाई यस्सो अल्झियोस भनेर मोबाइल दिनु सबैभन्द बढी घातक हुने बाल मनोविद डा. दाहालको भनाइ छ । दाहाल भन्छिन् “मोवाइलमा बालबालिका अल्झनु दुर्बेशनी हो, मोबाईल नखेल भन्दा के गरौं त भनेर विकल्प खोज्छन्, हो हामीले विकल्प दिनु पर्छ मोवाइल, ल्यापटप जस्ता डिभाइसहरु हैन।” दाहाल भन्छिन्ः “यसको लागि पहिले अभिभावक आफू मोबाइलबाट टाढा बनौं, बच्चालाई समय दिने गरौं, बच्चालाई समस्या उत्पन्न हुने र समाधान गर्न प्रेरित गर्नुपर्छ । मोबाइल वा ल्यापटपको लतबाट छुटकारा गरौं ।”
बालबालिकाहरुमा हरेक समय सिकाइको भोक केही न केही रुपमा रहेको हुन्छ, खाँदै गर्दा होस् वा खेल्दै गर्दा । त्यसैले उनीहरुले सानो सानो कुरामा पनि प्रश्न गरिरहेका हुन्छ । अभिभावकहरुले गरेको काम नियालिरहेका हुन्छन् र आफू पनि सिकिरहेका हुन्छन्, सिक्न चाहन्छन् । यस्तो चाहानालाई सहजिकरणको खाँचो हुन्छ । जब उनीहरुले सहजिकरण पाएर काम सिक्दछन्, ज्ञान हासिल गर्दछन्, उनीहरुमा अर्को सिकाइको लागि उत्सुकता सुरु हुन्छ । बालबालिकाहरुसँग अभिभावक बनेर हैन, साथिभाई बनेर सिकाइमा सहजिकरण गरौं । महामारीमा घरमै सिमित भएका बालबालिकामा सिर्जनाशिलता भर्ने कोशिस गरौं । कोशिस गर्दा सबै संभव हुन्छ । सामान्य लाग्ने सिकाइले पनि जीवनमा विशेष विशेष अर्थ राख्दछन् । जीवनमा स्वावलम्बि बन्नमा उनीहरुलाई आजको सिकाई दरीलो आधारशिला बन्न सक्दछ । चाहे खाना बनाउन, घरधन्दा गर्न, सररफाइ गर्न नै किन नहोस् यस्तै सिकाइले स्वाबलम्वि बनाउँछ मानवलाई ।
नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक २) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन, पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाड्डीण व्यक्तीत्व विकासको हक हुनेछ भनिएको छ । यसैगरी (३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ भनिएको छ । महामारीको अवस्थामा पनि उनीहरुको यो अधिकारको रक्षा गर्नु हामी अभिभावकको कर्तव्य हो ।