मकवानपुर । मान्छे बेचेर खाने जस्ता अपराधिक गतिविधिमा संलग्न हुनेहरुको सन्जाल अझैसम्म रहेको रत्ननगर नगरपालिका चितवनका नगर प्रमुख नारायण वनले बताएका छन् । आर्थिक रूपमा कमजोर भएकाहरु बढी जोखिममा रहेको बताउँदै नगरप्रमुख वनले भने “यस्ता जोखिममा रहेका बालबालिकाहरुको संरक्षण गर्नु स्थानीय तहहरुको जिम्मेवारी हो ।”
सुरक्षाको लागि साथ साथ परियोजना अन्तरगत मंगलबार चितवनको रत्ननगर नगरपालिकामा एक्प्याक्ट लगजेम्बर्गको सहयोगमा कानुन अन्वेसण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले आयोजना गरेको मानव बेचबिखन विरुद्ध र बाल संरक्षणका बिषयमा सेवा प्रदायकहरूका निमित्त एक दिवसीय तालिममा उनले यस्तो बताएका हुन् ।
रत्ननगर नगरपालिकाले जोखिममा रहेका अभिभावक बिहिन बालबालिकाको अवस्था विश्लेषण गर्दै संरक्षकत्व प्रदान गर्ने तत्परता देखाएको उनले बताए । “म रत्न नगरको बालक हुं भनेर गर्व गर्न लायक बनाउने अभियानमा छौं” वनले भने यो बालबालिकाहरुको लागि संबिधानले प्रदान गरेको अधिकार पनि हो ।”
यसैगरी महिलामाथि हुने कुनै पनि हिंसाको विरुद्ध आफूहरु लागि परेको नगरउपप्रमख बिमलादेवी दुवाडीले बताइन् । बुहारीलाई आफ्नो घरमा सम्मानित हुने अवस्था सिर्जना गर्न सामाजिक पाटोमा सचेतना फैलाउन अभियानमा नगरपालिका लागिपरेको उपप्रमुख दुवाडीले बताइन् । “दाईजोलगायतको कुप्रथाहरुको अन्त्यमा हामीले धेरैले गर्न बाँकी छ” उनले भनिन । यसैगरी सडक बालबालिका, घरेलु बालश्रमलगायतको क्षेत्रमा पनि काम गरिरहेको उनले बताइन् ।

रत्ननगर नगरपालिका चितवनसँगको समन्वय र सहकार्यमा आयोजना गरिएको कार्यक्रम मानव तस्करलाई कारबाहीको लागि कानुन नबनेको हुनाले ठगिको केसमा मुद्दा चलाउने गरेको कारण तस्करी नरोकिएको तालिमका सहजकर्ता केशब दुवाडीले बताए ।
बालयौन मोहक मनोप्रवृत्ति हाबी भएकाहरूबाट बालबालिका बढी जोखिममा रहेको सेलर्डका फिल्ड अफिसर अधिवक्ता जगन्नाथ सुबेदीले बताए । केही बाल गृहको नराम्रा कामको कारण सबै बालगृह बदनाम हुने गरेकोले बालगृह सञ्चालन गर्दा नीति नियमहरु पुर्ण रुपमा पालन गर्नतर्फ ध्यान दिनुपर्ने अधिवक्ता सुवेदीले आग्रह गरे ।

घरेलु श्रमिक राख्ने प्रवृत्ति अझै रहेको र वडास्तरीय रुपमा घरेलुु बाल श्रमिक उन्मुलनको कार्य जारी राखेको रत्ननगर नगरपालिका महिला बालबालिका महाशाखा प्रमुख दीपा घिमिरेले बताइन् । सबैको सहकार्यले बाल संरक्षण र मानव बेचबिखन विरुद्धको अभियानमा सफलता प्राप्त हुने घिमिरेले बताइन् ।
कोरोना महामारीको कारण अनलाइन शिक्षाको बाहानामा बालबालिकामाथि मानसिकलगायतको तनाव बढेको रत्ननगर नगरपालिका नगरस्तरीय बाल क्लब सन्जाल अध्यक्ष रोनिशा घिमिरेले बताइन् । “मोबाइलको अभावमा अनलाइन शिक्षामा जोडिन नपाउँदा हिनताबोध गर्नेहरू एकातिर छन् भने, त्यै मोबाइलको दुरुपयोग गरेर पढाइ बिग्रार्नेहरू पनि छन्” उनले भनिन् “अनलाइनबाट हुने नकारात्मक कामको निगरानी सरकारले किन गर्दैन ?” यसैगरी अनलाइनको कारण बालबालिकाहरू विविध प्रकारको खराब लतमा फस्दै गरेको र बाल क्लबहरूले नियन्त्रण गर्नै नसक्ने अवस्था आएको सन्जालका सचिब सहज खनालले बताए ।

बालबालिकाको संरक्षणमा अभिभावक स्वयम जिम्मेवार हुनुपर्ने र अभिभावक नहुदा राज्यले सबै जिम्मेवारी लिनुपर्ने प्रशिक्षक दुवाडीले बताए । तालिममा प्रशिक्षक दुवाडीले अपराध पीडितको अधिकार बारे कानुनी व्यवस्था बारे पनि जानकारी गराएका थिए । पीडित कमजोर हुने र पीडक शक्तिशाली हुने भएकोले कमजोर वर्गले झनै ढिलो न्याय पाउने भएकोले बिद्यमान कानुनमा फास्टट्र्याकको व्यवस्था गरिएको उनले बताए ।

यसैगरी तालिममा फिल्ड अफिसर अधिवक्ता सुवेदीले स्वयमसेवी पर्यटनको जोखिममा बालबालिका पर्नेसक्ने बारे ध्यानाकर्षण गराएका थिए । स्वयमसेवि रुपमा आउने पर्यटनहरूको जोखिममा बालिकाभन्दा बालकहरू बढी परेको उनले बताए । पर्यटनको रूपमा आउने र बालबालिकामाथि यौन शोषण गर्ने गरेको पाइएमा कानुनी कारबाही हुने उनले बताए ।
तालिममा रत्ननगर नगरपालिकामा रहेका बालगृह सञ्चालकहरु, तथा बालअधिकारको क्षेत्रमा कार्यरत सेवा प्रदायकहरुको उपस्तिथि रहेको थियो ।

