बेवास्ताको मारमा बालबालिका
Tags: No Comments
जन्म दिने तर जन्मिनेको जीवनको बारेमा परवाह गर्ने अभिभावकका बालबालिका विभिन्न जोखिममा परिरहेका छन् । हुँदा खाने परिवारमा मात्र होइन हुने खाने परिवारमा पनि यो समस्या देखिन्छ । भनिन्छ– मानिसको पहिलो पाठशाला घर हो । तर परिवारको व्यस्तता र बेवास्ताको कारण बालबालिकाले अभिभावकबाट उचित संरक्षण, सुरक्षा र स्याहार प्राप्त गर्न सकिरहेका छैनन् ।
वैदेशिक रोजगारीमा जाने परिपाटी बढ्दो छ । परिवारमा श्रीमान् मात्र नभई श्रीमतीसमेत ससाना छोराछोरीलाई अरूको जिम्मा लगाएर विदेशिँदा बालबालिकाको पालनपोषण र स्याहारसुसारमा मात्र होइन सामाजिकीकरणमा ठूलो असर परिरहेको छ । यस्ता बालबालिकामा सामाजिक भावको अभाव देखिन्छ भने परिस्थितिजन्य व्यवहार गर्न सिकिरहेका हुँदैनन् । स्वदेशमै भए पनि पेसा/व्यवसायमा व्यस्त बाबुआमाका छोराछोरीले अभिभावकसँग बिताउन पर्याप्त समय पाइरहेका छैनन् ।
बालबालिकालाई खाना खुवाउने र सुताउने बेला गीत, कविता, श्लोक, कथा, लोरी, चुट्किला सुनाउने परिपाटीमा परिवर्तन हुँदै गइरहेको छ । रुँदा होस् वा खाना खुवाउँदा, झगडा गर्दा फकाउन वा बिदाको समय कटाउन अभिभावकले मोबाइल, ट्याब दिने गर्छन् । यसले बालबलिकालाई एकोहोरो बनाएको छ । सामाजिक संस्कार, पारिवारिक रहनसहन, धर्म तथा संस्कृतिमा घुलनशील हुनेभन्दा पनि बाहिरी विषयवस्तुमा रमाइरहने परिवेशको सिर्जना गरेको छ । जसका कारण कतिपय बालबालिकामा भर्चुअल अटिजमसमेत देखा पर्न थालिसकेको छ ।
बाबुआमा वा परिवारका सदस्यबीच रहने सद्भाव, सम्मान, एकअर्काले गर्ने व्यवहार, हाउभाउ, चालचलनको प्रत्यक्ष असर बालबालिकामा पर्छ । कतिपयले बालबालिकाको सिकाइलाई बेवास्ता गरेर उनीहरूकै अगाडि झगडा गर्ने, मादक पदार्थ सेवन गरी गालीगलौज गर्ने, रिसाउने, अपशब्द बोल्ने गर्दा पनि बाल मस्तिष्कमा नराम्रो प्रभाव पर्छ । यस्तो परिवेशमा हुर्किएका बालबालिका हिंस्रक हुने, कुलतमा लाग्ने, आदर, सम्मान गर्न नजान्ने, झर्किने तथा अवाञ्छित गतिविधिमा संलग्न हुने गर्छन् । कतिपयमा मानसिक तथा मनोसामाजिक समस्या देखापर्न सक्छ ।
विगतमा अधिकांश मागी विवाह बालविवाह हुन्थे । अहिले अभिभावकले नचाहँदा पनि धेरैजसो बालविवाह भागी विवाह हुने गरेका छन् । बालविवाह कानुनले बर्जित गरे पनि सामाजिक दायित्वको मुद्दा बन्न सकिरहेको छैन । परिवार, आफन्त र समुदायको मौन समर्थनले बालविवाहले निरन्तरता पाइरहेको छ । इज्जत, प्रतिष्ठा र मानसम्मानसँग जोडेर बाल भविष्यलाई जोखिममा पर्न दिने र बेवास्ता गर्ने प्रचलनले समस्याको शृंखलामा जोडिन पुगेका छन् बालबालिका । अभिभावकले सम्बन्धविच्छेद गर्दा पनि बालबालिका उचित हेरचाह र संरक्षणमा हुर्किन पाएका छैनन् । अभिभावकविहीन बालबालिकालाई परिवार वा आफन्तको संरक्षकत्वमा हुर्काउन पहल गर्नुपर्नेमा बालगृहमा लैजाने परिवेशको सिर्जना हुँदा बालबालिकाले व्यावहारिक शिक्षा प्राप्त गर्न सकेका हुँदैनन् ।
सुविधाभोगी र निष्क्रिय जीवनशैली बढ्दै गएको छ । घरमा उपभोग गर्ने खानेकुरा मात्र होइन छोराछोरीलाई विद्यालयमा समेत पत्रु खाजा पठाउने गरिएको छ । यतिसम्म कि परिवार सबै मिलेर घरमा खाना पकाएर खाने चलन हराउँदै गयो । होटल तथा रेस्टुरेन्टमा गएर वा घरमै मगाएर खाने रमाउने बानीको विकास भएको छ । यसले बालबालिकाको क्रियाशीलता, सामञ्जस्य, अनुभव र सिकाइमा प्रत्यक्ष प्रभाव पार्नुका साथै स्वास्थ्यमा नकारात्मक असर परेको छ ।
बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने कुरा बाल्यावस्थामा उनीहरूले पाएको वातावरणले निर्धारण गर्छ । उनीहरूको उज्ज्वल भविष्यका लागि सामाजिकीकरण प्रक्रिया र स्वस्थकर जीवनशैलीमा परिवारले विशेष ध्यान दिनुपर्छ । छोराछोरीलाई साधन स्रोत उपलब्ध गराउँदा हुने उपयोग र दुरुपयोग तथा त्यसले गर्ने असर सम्बन्धमा अभिभावक सचेत हुनुपर्छ । सबैभन्दा नजिकको संरक्षक परिवार भएकाले छोराछोरीप्रति समस्या निम्तिएपछि उपचारको खोजीभन्दा जोखिम आकलन गरी सोहीबमोजिम सुरक्षा, सावधानी अपनाउँदै विशेष हेरचाह र संरक्षणको उचित व्यवस्था मिलाउनु जरुरी देखिन्छ । कान्तिपुरबाट
स्वरुपा गुरागाईं
मैले कक्षा ७ को अन्तिम परीक्षा सकेँ । अन्तिम परीक्षाको अन्तिम दिन अर्थात् चैत ९ गते । म परीक्षा दिन मनभरि जोश, जाँगर बोकेर हलमा पसे । किनकि अन्तिम परीक्षा सकेर के गर्ने भन्नेबारे मनभरि उत्सुकता थियो । अघिल्लो दिनहरूको जस्तो अन्तिम दिन पनि परीक्षा सोचेजस्तो राम्रो भयो । परीक्षा दिएर म र मेरी साथी सांसारिका विद्यालयबाट बाहिरिँदै थियौँ ।
पछाडिबाट अचानक कसैले मलाई होलीको रङ लगाएर भाग्यो, हामी दुवैले फर्केर हेर्यौँ तर चिन्न सकिएन । रङ लगाएकामा खासै रिस पनि उठेन । होलीकै बारेमा कुरा गर्दै हामी आ–आफ्नो घरको बाटोमा छुट्यौँ ।
कक्षा ८ को पहिलो दिन कस्तो होला ? जेहोस् मनमा सधैँ सकारात्मक सोच मात्रै राखेकी छु । सकारात्मक सोचले मन शान्त हुन्छ रे । आमा भन्नुहुन्छ, ‘मन शान्त भयो भने स्मरण गर्नुपर्ने कुरा पनि सहजै स्मरण हुन्छ; सधैँ सकारत्मक मात्रै सोच्नुपर्छ ।’ पहिले त यस्ता कुरा नपत्याउने म जब आमाको सोचलाई व्यवहारमा लागु गर्न थालेँ, त्यसबाट आएको नतिजा र आफैँमा देखिएको स्फूर्तिपछि म पनि यस्ता सवालमा चासो राख्न थालेकी छु । आमाले सकारात्मक ऊर्जा दिने कुराहरू पढ्ने र हेर्ने गर्नुहुन्छ । म पनि त्यसमा चासो दिन्छु । विश्वास पनि गर्छु ।
ल भुसुक्कै बिर्सेंछु, तपाईंहरूको पनि वार्षिक परीक्षा सकियो होला है, कस्तो भयो परीक्षा ? नतिजा राम्रो आओस् मेरो तर्फबाट शुभकामना । परीक्षा चल्दै छ भने पनि बेस्ट अफ लक है ।
बिदाको समय बिताउने मेरो अरू योजना पनि छन् । मलाई खानाको परिकार बनाउन खुब रहर लाग्छ, तर जान्दिनँ । नियमित पढाइ, कोचिङ कक्षाको प्रेसरले आमाबुबासँग सिक्नै भ्याउँदिनँ; अब बिदामा सिक्नेछु । हाम्रो घरमा सानो करेसाबारी छ, त्यहाँ आमाले विभिन्न तरकारी र फूलहरू रोप्नुभएको छ । म बिदामा तरकारी गोडमेल गर्ने र पानी पट्याउने काम गर्न सिक्नेछु । माटोमा पानी हाल्दा आउने सुगन्ध मलाई धेरै मन पर्छ । माटोसँग खेल्दै काम गर्न पनि रहर लाग्छ । कहिलेकाहीँ मामाघर र ठुलीआमाको घरमा जाँदा आमा र ठुलीआमा, हजुरआमासँग म पनि खेत र पाखातिर जान्छु । माटो र बिरुवा नियाल्छु, धेरै रमाइलो लाग्छ । आमा र ठुलीआमाहरू सधैँ त्यही काम गर्नुपर्दा भने दुःख हुन्छ हुन्छ होला तर कहिल्यै दुःख देखाउने र सुनाउने गर्नुहुन्न । ठुलीआमा र हजुरआमाले हामीलाई घरमा फर्कंदा कोसेली पठाउनुहुन्छ, तरकारी फलफूलहरू ।
मेरो सानो भाइ छ । उसलाई कक्षा १ परीक्षाको तयारी गराउनु छ । उसको परीक्षा १५ चैतबाट सुरु हुँदै छ । उसलाई पढ्नभन्दा मसँग खेल्न औधि मन पर्छ । मसँग खेल्न पाएपछि उसमा देखिएको खुसीले मलाई पनि आनन्द लाग्छ । भाइ मसँग जिक्सिरहन्छ । ऊ मान्छे पनि सानो छ, सानै कुरामा खुसी र सानै कुरामा दुःखी हुन्छ । अबको एक साता म भाइलाई खेलाउँदै परीक्षाको तयारीमा बढी केन्द्रित हुनेछु । ऊ पनि परीक्षा सकेर घुम्न जान हतारिएको छ । योबिचमा केही अतिरिक्त किताब (आउट अफ कोर्स) पढ्ने योजना पनि छ मेरो । सकेसम्म मैले पढेका ती किताबका बारेमा पनि लेख्नेछु । केही थान किताब ल्याइदिनु हुन बुबालाई भनिसकेकी छु । रातोपाटीले मलाई लेख्न प्रेरित गरिदिएकोमा आभारी छु । थ्याङ्स रातोपाटी !
(सिद्धार्थ मावि हेटौंडा मकवानपुर ।) रातोपाटीबाट ।
मकवानपुर । उच्च अदालत पाटन, हेटौंडा इजलासमा न्याय सम्पादनको लागि खटिएका ७ न्यायमुर्तिहरुको उपस्थिती प्रेरणादायी छ । कुनै पनि कार्यालयको प्रमुख भन्नसाथ झ्वाट्ट मानसपटलमा पुरुषकै तस्बीर आउने परम्परा अझै छ, तर यहाँ यो काल्पनिक तस्बीर मेल खाँदैन ।
शिक्षासँगै सामाजिक क्षेत्रमा महिलाको उपस्थितीमा दरिलो बन्दै आएको एउटा खदिलो प्रमाण हुन् उच्च अदालत पाटन हेटौंडा इजलासका यि सात जना महिला न्यायधीशहरु । नेपालमा सात वटा उच्च अदालत छन् । जसमा अस्थायीसमेत गरी १८ वटा इजलासहरु छन् । उच्च अदालत पाटन हेटौंडा इजलास मात्रै यस्तो इजलास हो जहाँ सबै न्यायधीश र रजिष्ट्रार समेत महिलाहरु मात्रै छन् । महिलाहरुको टिमवर्क र कामको रफ्तार रहर लाग्दो भएको कानुन व्यवसायीहरुको टिप्पणी छ ।
यहाँ न्यायधीशहरु यमुना भट्टराइ, शान्त सेडाई सापकोटा, शकुन्तला घिमिरे, मेरिना श्रेष्ठ, मिना गौतम सेडाई, निर्माला शाक्य र सानुमैया डंगोलको सशक्त टिम छ । प्रशासन तर्फको प्रमुख अर्थात रजिष्ट्रार पनि महिला नै छिन् । प्रशासन तर्फ रामप्यारी सुनुवारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छिन् ।
५३ वर्षीया यमुना भट्टराई झापा जिल्ला निवासी हुन् । उनी २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गरेकी हुन् । एल.एल.एम र एम.ए शैक्षिक योग्यता हासिल गरेकी भट्टराइको हालको पदको नियुक्ति २०७३ साल पुस २९ गतेको हो । हाल उनी उच्च अदालत पाटक हेटौंडा इजलासको प्रमुखको रुपमा कार्यरत छिन् । उनी कुशल न्यायप्रेमीको रुपमा चिनिन्छिन् । न्याय सेवा प्रवेशको एक दशक नाघ्दै गर्दा उनले यसरी महिलाहरुको मात्रै टिममा काम गर्ने अवसर पहिलो पटक प्राप्त गरेकी हुन् । यसअधि उनी विशेष अदालतमा कार्यरत थिइन् ।
हेटौंडा इजलासको अर्को न्यायधीन हुन् शान्ता सेडाई सापकोटा । एल.एल.एम, पीजी शैक्षिक योग्यता हासिल गरेकी शान्ताको न्याय सेवा प्रवेश सात वर्ष भयो । हाल ५४ वर्षीया शान्ता २०७३ साल पुस २९ गते न्यायसेवा प्रवेश गरेकी हुन् । शान्ता काठमाडौमा निवासी हुन् । उनको पहिलो पोस्टिङ नै उच्च अदालतमा भएको हो । उनी हेटौंडा इजलास आउनु अघि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत थिइन् ।
यसैगरी लमजुङ् जिल्लाकी शकुन्तला घिमिरे पनि २०७३ साल पुस २९ गते न्यायसेवा प्रवेश गरेकी हुन् । बी.एल उतिर्ण शकुन्तला हाल ५२ वर्षको भइन् । उनको पनि पहिलो पोस्टिङ नै उच्च अदालत नै थियो । हेटौंडा इजलास आउनु अघि उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिइन् ।
डोटी जिल्लाकी मेरिना श्रेष्ठ अहिले उच्च अदालत पाटन हेटौंडा इजलासकी अर्की न्यायमुर्ति हुन् । ५ दशक उमेरमा हिडिरहेकी मेरिनाले बी.एल र एम.एल गरेकी छिन् । २०७६ मंसिर ५ गते न्याय सेवा प्रवेश गरेकी उनी हेटौंडा इजलास आउनु अघि उच्च अदालत तुलसीपुरमा कार्यरत थिइन् ।
मिना गौतम सेडाइ हेटौंडा इजलासको ७ न्यायधीश मध्ये उमेरले सबैभन्दा ज्येष्ठ हुन् । २०२५ सालमा जन्मेकी मिना मोरङ जिल्लावासी हुन् । २०७६ सालमा न्याय सेवा प्रवेश गरेकी मिनाले एल.एल.एम उतिर्ण गरेकी छिन् । उच्च अदालत जनकपुर, राजविराज इजलासमा सेवापछि उनको सरुवा हेटौंडा इजलासमा भएको हो ।
भक्तपुर जिल्ला निवासी निर्मला शाक्य अर्को सदस्य हुन् हेटौंडा इजलासको । ५२ वर्षीया निर्मालाले पनि एल.एल.एम, एम.ए उतिर्ण गरेकी छिन् ।२०७७ चैत २ गते न्यायसेवा प्रवेश गरेकी निर्मलाको पहिलोे पोस्टिङ नै उच्च अदालत पाटन हेटौंडा इजलासमा भएको थियो ।
सानुमैया डंगोल, उमेरको हिसाबले हेटौंडा इजलासकी सबैभन्दा कान्छी न्यायधीश हुन् । ४६ वर्षीया उनी आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा हेटौंडा इजलासमा कार्यरत छिन् । सानुमैयाले २०८० पुस १९ मा न्यायसेवा प्रवेश गरेकी हुन् । उनलको पनि सुरुवाति सेवा हेटौंडा इजलास नै हो ।
न्याय सेवामा प्रशासन तर्फको प्रमुख पद हो रजिष्ट्रार । हेटौंडा इजलासको रजिष्ट्राको जिम्मेवारी सम्हालिरहेकी छिन् रामप्यारी सुनुवारले । रामेछाप जिल्ला निवासी रामप्यारी २०६६ साल भदौ ११ गते न्याय समूह राजपत्राङ्कीत तृतीय श्रेणीबाट सेवा प्रवेश गरेकी हुन् । यसपछि २०७२ माघ २८ मा न्याय समूह राजपत्राङ्कीत दृृतीय श्रेणी र हाल २०७८ पुस १ गतेबाट न्याय समूह राजपत्राङ्कीत प्रमथ श्रेणीको जिम्मेवारीमा छिन् । सुनुवार यसअघि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत थिइन् ।
संभवतः नेपालमै पहिलो पटक सर्वोच्चले नमुना अभ्यास गरेको केही समय अघि एक सार्वजनिक कार्यक्रममा न्यायधीश भट्टराइले बताएको थिइन् । पछिल्लो ३ महिनादेखी यहाँ यो टिम न्याय सम्पादनार्थ खटिरहेको छ । सवै न्यायाधीश महिला भएको अदालतको यो नयाँ अनुभव भएको पुनरावेदन बार एशोसिएशनका पूर्व अध्यक्ष मदनकुमार दाहाल बताउँछन् ।
महिलाहरूले गर्ने न्याय सम्पादनमा झन बढी परीपक्वता र व्यावहारिक परिणामको अपेक्षा राखीएको दाहालले बताए । महिलाहरुको न्याय सम्पादनमा बाह्य प्रभाव नगन्य पर्ने देखिएको उनले बताए ।
आफूले कानून व्यवसाय सञ्चालन गर्दै आएको २ दशकभन्दा लामो अनुभवमा सेवाग्राहीले पनि महिलाहरूबाट अन्याय सकेसम्म नहुने अपेक्षा राखेका र विश्वास बढाएको पाइएको उनले बताए । “हामीले पनि सहज महशुस गरेका छौ, महिलाहरुले गर्ने कार्य थप व्यवहारीक हुन्छ र विषयहरुलाई बुझ्ने तरीका फरक पनि हुन्छ, सवैले थप अनुशासित पनि बन्नु पर्नेछ” दाहालले भने ।
“महिला नै भएको कारण पनि आफ्नो पीडा सुनाउँन अलि सहज नै हुने रहेछ” एकजना सेवाग्राहीले भनिन् “बयान दिने क्रममा पुरुषको सामू बोल्नु पर्दा र महिलाको सामू समस्या सुनाउँदा फरक त भैहाल्छ नि ।” लैङ्गिक रुपमा अपनत्व गर्छन् होला भन्ने आभाष आफूहरुलाई भएको महिलाहरुको भनाइ छ । व्यक्तिवादी देवानी मुद्दामा अदालत धाइरहेकी अर्की एक महिलाले पनि सहजता महसुस गरेको बताइन् । “आफ्नै दिदी बहिनीलाई भने जसरी भन्दा हुन्छ भनेर मेरो कानून व्यवसायीले भन्नु भएको थियो, मलाई पनि बोल्न डर लागेन, उहाँ (न्यायधीश) ले पनि राम्ररी सुनिदिनु भयो ।”
जिल्ला बार एशोसियन अध्यक्ष अप्सरा बस्नेतले पनि महिला न्यायधीशको न्याय सम्पादन प्रभावकारी र व्यहारिक भएको टिप्पणी गरिन् “न्यायसम्पादनमा महिलार पुरुष भन्ने सवाल हुन्न, तर महिलाले गरेको काममा अलिबढी गाम्भियर्ता, अलिबढी संवेदनशीलता पक्कै हुन्छ, उहाँहरुको टीमको स्प्रिड प्रेरणादायी छ, धेरै राम्रो छ” अध्यक्ष बस्नेतले भनिन् ।
७१ प्रतिशत महिला कर्मचारी
उच्च अदालत पाटन हेटौंडा इजलासमा न्यायधीशहरुमा मात्रै हैन, अन्य पदमा कार्यरत कर्मचारीहरु पनि महिलाकै बाहुल्यता छ । इजलासमा ५८ जनाको दरबन्दी रहेकोमा हाल १२ वटा पद रित्त छ । पुर्ति भएको मध्येमा ७१ प्रतिशत महिला नै रहेका छन् । अदालतमा ४६ पदमा महिलाको सङ्ख्या ३३ रहेको कार्यालयको रेकर्डले देखाउँछ । जसमा अधिकृत स्तरका ४, नासु/खरिदार स्तरका १३, कार्यलय सहयोेगी स्तरका ८ महिला छन् ।
महिलाले जिम्मेवारी पुरा गर्न सक्छन् वा सक्दैन भन्ने सवाल पहिले हैन । जब काम गर्ने अवसर दिइन्छ अनि मात्रै नतिजा हेर्न सकिन्छ । नेपाल खुल्ला विश्वविद्यालयको प्रोफसर डाक्टर समिक्षा कोइराला भन्छिन, “महिला सशक्तिकरनको लागि शिक्षा, आर्थिक अवसर, कानुनी अधिकारलगायत विभिन्न पक्षहरूलाई सम्बोधन गर्ने बहुआयामिक दृष्टिकोणको आवश्यकता छ ।” व्यक्तिगत विकासमा महिलाहरू पुरुष जत्तिकै सक्षम छन् भन्ने कुरा समाजले बुझ्नु पनि उत्तिकै महत्वपूर्ण रहेको डा. कोइराला बताउँछिन् । “हामीले विभिन्न क्षेत्रमा करियर बनाउन महिला र किशोरिहरुलाइ प्रोत्साहित गर्नुपर्छ, अग्रसर महिलाको नेतृत्व प्रेरणदायी बन्नसक्छ” उनले भनिन् ।
“महिला न्यायधीशहरुले न्याय सम्पादन गरेको देख्दा मनै गौरवले भरिन्छ, उच्च ओहोदामा पुगेर महिलाहरुले काम गर्दा नयाँ पुस्तालाई पनि मोटिभेशन हुन्छ” कानून व्यवसायी तथा वैतनिक अधिवक्ता रमिता चौलागाई भन्छिन् “सबैको गन्तव्य न्यायधीश बन्ने नहोला तर, उहाँहरुको समूह देखेर आफू जुनक्षेत्रमा छु त्यहा केही नयाँ गरौं भन्ने जोश बढ्छ।” जो जुन क्षेत्रमा सक्रिय छ, जुन क्षेत्रमा लागिपरेर, त्यसैमा पूर्णसक्षम भएर दक्षतापूर्वम जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने प्रेरणा मिलेको कानून व्यवसायी चौलागाँइले बताइन् । कानून व्यवसायको क्षेत्रमा हत्तपत्त महिलालाई सेवाग्राहीले समेत नपत्याउने गरेको सन्दर्भमा उच्चको यो उदाहरणले समाजलाई पनि सोच्न बाध्य बनाउने उनले बताइन् ।
यता सिद्धार्थ मावि हेटौंडा २ मा कानून संकायमा कक्षा ११ अध्ययनरत छात्रा आयुष शिवाकोटीलाई पनि उच्च अदालत पाटन हेटौंडा इजलासको टिम देखेर प्रेरित गरेको छ । “अब न्यायक्षेत्रमा महिला वा पुरषभन्ने छैन, महिलाले पनि कुशल न्यायसम्पादन गर्न सक्छन्, मेरो सपना पनि उहाँहरु जस्तै बन्ने हो” उनले भनिन् “छोरीहरुलाई शिक्षामा लगानी गर्ने र असल अभिभावकत्व गरिदिने हो भने पुरुषको हाराहारीमा हैन, अझै अगाडि बढेर काम गर्न सक्छन् ।”
विकास भन्नसाथ बाटो पुल पुलेसामा गरिने निर्माण मात्रै हैन, मानवीय मनोविज्ञान, सामाजिक विकास तथा सशक्तिकरण सबैभन्दा बढी आवश्यक भएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइवा बताउँछिन् । छोरी, बुहारीहरुलाई अवसर दिनुपर्ने, घर बाहिरको संसार चिन्ने अवसर दिनुपर्ने उनी बताउँछिन् । “अढी बढ्ने अवसर दिंदा महिलाले पनि सबै प्रकारको जिम्मेवारी प्रभावकारी रुपमा सम्हाल्न सक्छन” उनले भनिन् “महिला दिवस यस्तै सचेतना र जागरणको स्मरण गराउन मात्रै हो, वर्षमा एक दिन हैन, सधैंभरी महिला क्षत्रको विकासमा ध्यान दिउँ भन्ने आग्रहको लागि हो ।”
जिम्मेवारी सरेका मुद्दाको चाङ घट्दो
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासमा न्यायधीसको दरबन्दी अनुसारको पदपुर्ति भएपछि अघिल्ला समयमा झै जिम्मेवारी सरेर आउने मुद्दाको चाङ पनि घट्दो छ ।
३ महिना अघिसम्म ३ वा ४ जान न्यायधीसहरु कार्यरत रहदाँ जिम्मेवारी सरेर आएका मुद्दाको सङ्ख्या धेरै हुने गरेका थिए । बागमती प्रदेशको चितवन र मकवानपुर कार्यक्षेत्र भएको यो इजलासमा आर्थिक वर्ष २०७९/०८० बाट ४२९ वटा मुद्दाको जिम्मेवारी सरेर आएकोमा अब यि मध्ये ५० वटा मात्रै फर्स्याैट हुन बाँकी रहेका छन् । अदालतका सूचना अधिकारी उप रजिष्ट्रार केशरनाथ अर्यालका अनुसार यो आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएका मध्ये ३७९ थान मुद्दाको फस्र्यौट भइरहेको छ ।
गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका मध्ये व्यक्तिगत देवानी मुद्दा १३०, व्यक्तिवादी फौजदारी मुद्दा ४८, सरकारवादी फौजदारी २१४, रिट २९ वटा थिए । अघिल्लो आर्थिक वर्षमा १ हजार ७४१ थान मुद्दा दर्ता भएकोमा १ हजार ३१२ फैसला भएका थिए भने चालु आर्थिक वर्षमा ७९७ वटा नयाँ मुद्दा दर्ता भएका छन् । जिम्मेवारी सरेर आएको र यसवर्ष नयाँ दर्ता भएको समेत गरी कुल १ हजार २२६ थान मध्ये ६५३ वटा मुद्दा फैसला भएका छन भने ५७३ बाँकी छन् ।
मकवानपुर । चेलिबेटी बेचविखन विरुद्धकाे अभियानमा समर्पित माइती नेपाल मकवानपुर शाखा प्रमुख माया लामा सम्मानित भएकी छिन् ।
महिला हिंसा र विशेष गरि चेलिवेटि वेचविखन राेक्ने उद्देश्यले मकवानपुर जिल्लामा २०५३ सालदेखि कार्यरत रहेकी लामालाई महिला पतन्जली याेग समिति मकवानपुरले ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसकाे अवसरमा सम्मानित गरेकाे हाे । लामाकाे नेतृत्वमा पछिल्लाे २ साताअघि पनि नुवाकाेट र मकवानपुरका गरी ७ जना चेलीहरुलाई भारतबाट उद्धार गरेएकाे छ ।
बेचिएकाहरुकाे उद्धारकाे क्रममा लामा आफै पनि धेरै सुरक्षा चुनाैती खेप्नु आएकी छिन् । कुनै समयमा चेलिबेटी बेचविखन हुने जिल्लाकाे नाममा प्रख्यात हुने मकवानपुर अब विस्तारै पहिचान फेरीएकाे तर चुनाैती अझै रहेकाे लामाले बताइन् ।
तामाङहरु नै बढि मात्रामा बेचविखनमा पर्ने गरेकाे कामकाे सिलसिलामा पाइएकाे उनले बताइन् । ‘कठिन यात्रा तय गरियाे, विभिन्न धम्कि, असुरक्षा तथा चुनाैती त कति आए कति’ लामाले भनिन् । ‘अफिसमा आगाेलगाउँदै छु भनेर मध्येरातमा आउने फाेन कलले कत्ति पाेल्थ्याे कति’ उनले स्मरण गरिन ।
केस मिलाई दिनु पैसा दिन्छु भन्नेदेखि जग्गा दिन्छु भन्ने समेत प्रलाेभन आउने गरेकाे उनले बताइन् । तर जे जस्ता धम्की र प्रलाेभन आए पनि माइती नेपाल आफ्नाे कर्ममा अडिग रहेकाे उनले बताइन् ।
‘यस्ता सम्मानहरु पनि चुनाैती जस्ताे लाग्छ, परिवारलाई असर पुर्याउँछ कि भन्ने पनि डर लाग्छ’ उनले भनिन् ‘महिला र पुरुष समान छ भन्छन् तर सहज ढंगले महिलाले कुनै पनि अधिकार पाएका छैनन, जन्मजात अधिकार पाउन पनि कठिन छ ।’
हेटाैडा -४ कर्रा स्थित महिला पतन्जली याेग समिति मकवानपुरकाे आयाेजनामा ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसकाे अवसर एवं महाशिवरात्रीकाे उपलक्ष्यमा याेग प्रवचन एवं नारी सम्मान कार्यक्रम पतन्जली महिला याेग समिति मकवानपुरकाे आयाेजना तथा पतन्जली याेग जिल्ला समिति, पतन्जली याेग युवा समिति, पतन्जली याेग नगर समिति, पतन्जली याेग ग्राम समितिकाे समन्वयमा कार्यक्रम गरिएकाे हाे ।
महिला समिति अध्यक्ष शशिकला थापाकाे सभाध्यक्षता तथा हेटाैंडा उपमहानगरपालिका ११ नं वडाध्यक्ष जुना दाहालले लामा सहित हेटाैंडा ९ निवासी सिता विडारीलाई सम्मान गरेकी हुन् । सामाजिक एवम् आर्थिक रूपान्तरणका साथै विभिन्न कालखण्डमा भएका राजनैतिक घटनाक्रमहरूमा समेत प्रत्यक्ष परोक्ष सहभागी भई महिला हक अधिकारको सवालमा आवाज बुलन्द गर्दै आएकाेमा विडरीलाई सम्मान गरिएकाे हाे ।
कार्यक्रममा पतन्जलि याेग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, ध्रुवप्रसाद पाैडेललगायतकाे उपस्थितिमा रहेकाे थियाे । महिलालाई मतदान अधिकार सुनिश्चित गरिएबाटै आजसम्मकाे उपलब्धि हासिल भएकाे ११ नं वडाध्यक्षजुना दहालले बताइन्। आफ्नाे अधिकारकाे लागि गाेलि खान पनिपछि नहटेकाे स्मरण गरिन् । महिला हिंसाका घटना अझसम्म पनि भइरहेनु अझै धेरै काम बाँकी छ भन्ने सूचक भएकाे दाहालले बताइन् । शिक्षा, स्वास्थ्य, राजनितिकलगायतका सबै क्षेत्रमा महिला माथि हिंसा हुने विरुद्ध लाग्नु पर्ने उनले बताइन् ।
यसैगरी पतञ्जली अध्यक्ष रामकृष्ण थापाले ८० प्रतिशत राेगकाे निदान याेग र प्राणायामले सुधार हुने बताउँदै जिल्लालाई याेगमय बनाउन लागि परेकाे बताए ।
जबरजस्ती करणी उद्याेगमा कांग्रेस वडासभापती बिरुद्द जाहेरी दर्ता
Tags: No Comments
मकवानपुर । हेटाैडा उपहानगरपालिका वडा ६ निवासी ४० वर्षीय रामहरी तिमल्सिना विरुद्ध जबरजस्ति करणीकाे उद्याेग गरेकाे आराेपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएकाे छ ।
नेपाली काँग्रेस मकवानपुरकाे हेटाैडा ६ काे वडा सभापती समेत रहेका तिमल्सिनाले आफ्नाे पसलमा सामान किन्न आएकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी प्रयास गरेकाे पीडितकाे आराेप छ । जाहेरी दर्ता भए लगत्तै तिमल्सिना फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए । जाहेरी दर्ता भएकाे ३ दिनसम्म प्रहरीले तिमल्सिनालाई पक्राउ गर्न सकेकाे छैन । जाहेरी २१ फागुनमा दर्ता भएकाे भण्डारीले बताए ।
हेटाैडा १० राप्तिराेडबाट बसपार्कतर्फ पस्ने राेडमा चप्पल जुत्ता पसल सञ्चालन गर्दै आएका तिमल्सिनाले हेटाैडा १४ कि महिलालाई उनले राेजकाे जस्ताे जुत्ता स्वरुममा रहेकाेले हेर्न जाउँ भनेर स्वरुममा पुगेपछी जजक प्रयास गरेकाे पीडितकाे जाहेरीमा उल्लेख छ ।
यता नेपाली काँग्रेस मकवानपुर जिल्ला सचिव भिमसेन महतले घटना भएकाे भनिएकाे लाेकेशन हेर्दा खुल्ला स्थान रहेकाे र त्यस्ताे हुनसक्ने अवस्था नै नभएकाे बताउँदै घटनामा राजनीतिकरण भएकाे हुन सक्ने आशंका ब्यक्त गरे ।
प्रहरीले मुचुल्का उठाउँदा आउदा नै पीडित भनिएका पक्षकाे समर्थकहरु भाैतिक आक्रमणमा उत्रेकाेले आधारहिन केसलाई राजनीतिकरणतर्फ लागेकाे उनकाे दाबी छ । ‘बनिबनाउ केस भएका आशंकामा प्रहरीले पनि जाहेरी दर्ता गरेकाे थिएन’ महतले भने । प्रहरीले जाहेरी लिन नमानेपछी प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलकाे दबाबमा जाहेरी दर्ता गरिएकाे बुझिएकाे छ ।