मकवानपुर । कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका ३ जना किसानहरूलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ।
मकवानपुरगढी गाउंपालिका, थाहा नगरपालिका र हेटौंडाका ३ जना व्यवसायिक किसानहरूलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले सम्मान गरेको हो ।
हेटौंडा १३ मा ड्रागन फुड खेती गर्दै आएका एम एन एस एग्रो प्रालीका युवा उद्यमी फेन्चु लामा, मकवानपुरगढीका बाख्रा पालक किसान पी एस पी एग्रो प्रालिका सन्जय नेपाल र थाहा नगरपालिकाका रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्णबहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले किसानले निरन्तर प्रयासपछि प्राप्त गरेको उपलब्धिलाई उच्चकदर गर्नु आवश्यक रहेको बताए ।
कृषि क्षेत्रलाई उद्यमको रूपमा लिएर लामो समयदेखि काम गर्दै आएका उनीहरूलाई नगद २४ हजार र कदर पत्र प्रदान गरिएको बिज्ञ केन्द्रका निमित्त प्रमुख ब्रज किशोर ठाकुरले बताए ।
पर्यटन प्रवर्द्धनार्थ बैकुण्ठमा ल्होसार मनाउने तयारी
Tags: No Comments
मकवानपुर ।तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्होसार मेला आयोजना गरिने भएको छ ।
कैलाश गाउँपालिका वडा नम्वर २ मा रहेको बैकुण्ठमा माघ ८ गते ल्होसार पर्व मनाउने तयारी थालिएको हो ।
स्थानीय विनोद मुक्तानको संयोजकत्वमा ल्होसार संयोजन समिति निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । मेलामा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।
मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावालगायतका झाँकिहरुको प्रस्तुती रहनेछ ।
ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष घिसिङको भनाई छ ।
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो (बिरालो वर्ग) को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला हुन लागेको हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाउन लागिएको हो ।
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमगाईले आफ्नो कार्यकालमा भएको कामको समिक्षा गरेका छन् ।
२०७८ कात्तिक २८ गते मन्त्री नियुक्त हुनुभएका मन्त्री हुमगाईले आफ्नो कार्यकालको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन ।
बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपन्क्षी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दावी गरे । आफ्नो कार्यकालको १३ महिनाको अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै धेरै नयाँ कार्यक्रम सुरुवात गरिएको मन्त्री हुमागाईको दाबी छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका कामहरुको प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा मन्त्रालयबाट बिदा हुने क्रममा रहेका मन्त्री हुमागाईंले आफूले मन्त्री भएर आएपछि ५५ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सोहीअनुसार कामहरु गरिएको बताए ।
कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन वीउपुँजी कोष सम्बन्धी कार्यको सुरुवात गराएका हुमागाईले सो कामलाई आफ्नो कार्यकालको महत्वपूर्ण कामको रुपमा चित्रण गरेका छन् । चालु आवमा प्रदेश सरकारले साना तथा ठूला किसानलाई गरी करिब ५५ करोड वीउपुँजी उपलब्ध गराउन लागेको उनले बता ।
अध्यादेशमार्फत कृषि विकास ऐन बनाएर मन्त्रालयले किसान परिचयपत्र वितरण, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता कार्यलाई प्रक्रियामा लगेको र अघिल्लो सरकारले सुरुवात गरेको दुग्ध पाउडर प्लान्ट स्थापनाको कामले हुमागाईको कार्यकालमा निरन्तरता पाउँदै करिब ९५ प्रतिशत सम्पन्न भएको मन्त्री हुमागाईले बताए ।
कृषकलाई दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै प्रतिलिटर दूधमा दिइँदै आइएको अनुदान रकम बढाएर पाँच रुपैयाँ पुर्याइएको छ । विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको कार्य पनि सुरुवात गर्दै यसवर्षको कार्यक्रमलाई प्रक्रियामा लगिएको मन्त्रालयले जनाएको छ । प्रदेशका ३० स्थानमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि बोलपत्र आह्वान गरिएको मन्त्री हुमागाईले बताए । माटो परीक्षण कार्यलाई तिव्रता दिनुका साथै वीउमा आत्मनिर्भरता उन्मुख कार्यक्रममा पनि मन्त्रालयले ध्यान दिएको जनाइएको छ ।
फलफूल तथा तरकारी भण्डार क्षमताको शीत भण्डारहरु पनि निर्माणको अन्तिम चरणमा रहनुका साथै प्रदेशका ८ जिल्लाका विभिन्न १० स्थानमा निर्माणाधीन शीत भण्डार निर्माणको करिब ८० प्रतिशत काम सकिएको जनाइएको छ । चितवनमा आधुनिक भेटेरीनरी अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको बताउँदै भेटेरीनरी एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको मन्त्री हुमागाईले बताए ।
अघिल्ला सरकारले ल्याएको राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिइएको भन्दै मन्त्री हुमागाईंले आगामी सरकारले पनि आफूहरुले ल्याएको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कृषि ऐन अनुरुप काम गर्न सके किसानलाई टेवा पुग्नेमा उनको जोड रहेको छ । सुशासन मन्त्री र कर्मचारीबाटै हुनुनपर्ने बताउँदै मन्त्री हुमागाईले रैथाने बाली र वीउबारे कार्य विधिमा रहेकाले कार्यान्वयन गर्न सके यस्ता बालीहरुको वृद्धि विकास हुने बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, योजना तथा अनुगमन महाशाखा प्रमुख एंव प्रवक्ता झलकनाथ कँडेल, कृषि विकास निर्देशनालयका निर्देशक भरत प्रसाद विडारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका नि. निर्देशक बज्रकिशोर ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुर दशौं राष्ट्रिय पोल्ट्री दिवस साप्ताहव्यापि रुपमा मनाएको छ ।
सप्ताहव्यापि कार्यक्रम अन्तरगत विज्ञ केन्द्रले पहिलो दिन पत्रकार सम्मेलन गरेको थियो । त्यसपछि लगातार नियमित कार्यक्रम गरिएको केन्द्रले जनाएका छ ।
दिवसको अवसरमा प्रजा आधारभुत विद्यालय मनहरीमा अण्डा र मासु सेवनको महत्वको विषयमा स्कुल शिक्षासँगै २१ क्रेड अण्डा खुवाएको थियो ।
यसैगरी बकैया गाउँपालिकाको आपचौरमा रहेका गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई ७० क्रेट अण्डा वितरण गरिएको कार्यालयका पशुप्राविधि प्रदीप सापकोटाले बताए ।
पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत हेटौडा ६ , ७ १६ र १८ मा रहेका १४ वटा लेयर्स फर्महरुमा स्वास्थ्य परिक्षण तथा बर्ड फ्लु रोग तथा जैविक सूरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।

यसैगरी पोल्ट्री दिवसको अवसरमा हेटोंडाको बुद्ध चोक स्थित श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको वितरण गरिएको थियो । साप्ताहव्यापि कार्यक्रम मार्फत कृषि अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने पोल्ट्री क्षेत्रको बारेमा सबै सरोकारवालाहरुको ध्यानाकर्षण हुने अपेक्षा गरिएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।
“पोल्ट्रीजन्य उत्पादनको उपभोगको आवश्यकताका बारेमा प्रचारप्रसार हुने,पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवर्द्धन हुने अपेक्षाका साथ कार्यक्रम गरिएको हो” प्रमुख ठाकुरले भने ।
आर्थिक वर्ष २०७८ /७९ को अनुसार बागमती प्रदेशको कुल मासु उत्पादनः १ लाख ६३ हजार ९३९ मेट्रिक टन योगदान गरेको छ । जसमा कुखुरा तथा हाँसको मासु १ लाख १३ हजार ४३२ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी उक्त आवमा बागमती प्रदेशमा कुल ८९९३५३ हजार गोटा अण्डा उत्पादन भएको थियो ।
बागमती प्रदेशको कुल मासु उत्पादनमा पोल्ट्रीको योगदान ६९ प्रतिशत रराष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान करिब ६० प्रतिशत रहेको छ ।
२०१७ साल पौष १७ गते बाराको परवानीपुरमा सरकारी स्तरबाट स्थापना भएको सेन्ट्रल ह्याचरी उद्घाटन भएको दिनको स्मरणमा यो दिवस मनाउँदै आइएको छ । मकवानपुर कुखुरा व्यवसायि संघसंगको सहकार्यमा कार्यक्रम गरिएको हो ।
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा १० औं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको हो ।
मन्त्रालयले मातहतका निकाय तथा सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा दिवस मनाउने जानकारी पुस ८ गते पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । `पोल्ट्री सोको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रविद्धता’ नारा सहित मन्त्रालयले बागमतीमा पहिलो पटक यस दिवस मनाउन लागेको हो । पुस ११ गतेदेखि १७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइने मन्त्रालयका सचिव शरणकुमार पाण्डेले बताए ।
सरकारी स्तरबाट बारा जिल्लाको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको समुद्घाटन २०१७ साल पौष १७ गते भएकोमा उक्त दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी २०७० सालबाट हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसको रुपमा मुलुकभर विभिन्न कार्यक्रम सहित आयोजना गर्न थालिएको थियो ।
पुस ११ गते १३ वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रहरुमा दिवसको विषयमा पत्रकार सम्मेलन गर्ने, सोही दिन कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट मन्त्रालयमा दिवसको कार्यक्रम समुद्घाटन गर्ने, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा पोल्ट्रीसँग सम्बन्धित संघ संस्थाहरुसँगको अन्तरकृया कार्यक्रम आयोजना गर्ने, पोल्ट्री क्षेत्र सम्बन्धी पम्पलेट तथा ब्रोसर लगायतका प्रसार सामग्री तयारी तथा वितरण गर्ने, पत्रपत्रिका लगायत विभिन्न मिडियाबाट प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।
पुस १२ गते स्थानीय तह तथा पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रम सहित अण्डा खुवाउने कार्यक्रम आयोजना गर्ने, पुस १३ गते गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण कार्यक्रम आयोजना गर्ने, नेपाल भेटेरिनरी एशोसियसनको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुस १४ गते पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम, पुस १५ गते पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने, १६ गते श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण गर्ने र पुस समापन कार्यक्रम आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको अर्थतन्त्रमा विशिष्ट योगदान दिँदै आएको पोल्ट्री क्षेत्रको उचित सम्मान र सम्बोधन गर्दै राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सप्ताहव्यापी मनाउन मन्त्रालयले कार्ययोजना तयार गरेको पाण्डेले बताए । पोल्ट्री व्यवसाय वर्तमान अवस्थाको बारेमा समिक्षा गर्ने, पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रबर्द्धन गर्ने, पोल्ट्रीजन्य उत्पादको पोष्टिक महत्वको बारेमा आम उपभोक्तालाई जानकारी गराई दैनिक उपभोगको लागि आकर्षित गर्ने मन्त्रालयको लक्ष्य रहेको बताएको छ ।
प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कुल मासु तथा अण्डा उत्पादनमा क्रमश: करिब २२ र ६० प्रतिशत योगदान दिदै आएको उनले बताए ।