मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुर दशौं राष्ट्रिय पोल्ट्री दिवस साप्ताहव्यापि रुपमा मनाएको छ ।
सप्ताहव्यापि कार्यक्रम अन्तरगत विज्ञ केन्द्रले पहिलो दिन पत्रकार सम्मेलन गरेको थियो । त्यसपछि लगातार नियमित कार्यक्रम गरिएको केन्द्रले जनाएका छ ।
दिवसको अवसरमा प्रजा आधारभुत विद्यालय मनहरीमा अण्डा र मासु सेवनको महत्वको विषयमा स्कुल शिक्षासँगै २१ क्रेड अण्डा खुवाएको थियो ।
यसैगरी बकैया गाउँपालिकाको आपचौरमा रहेका गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई ७० क्रेट अण्डा वितरण गरिएको कार्यालयका पशुप्राविधि प्रदीप सापकोटाले बताए ।
पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत हेटौडा ६ , ७ १६ र १८ मा रहेका १४ वटा लेयर्स फर्महरुमा स्वास्थ्य परिक्षण तथा बर्ड फ्लु रोग तथा जैविक सूरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।

यसैगरी पोल्ट्री दिवसको अवसरमा हेटोंडाको बुद्ध चोक स्थित श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको वितरण गरिएको थियो । साप्ताहव्यापि कार्यक्रम मार्फत कृषि अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने पोल्ट्री क्षेत्रको बारेमा सबै सरोकारवालाहरुको ध्यानाकर्षण हुने अपेक्षा गरिएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।
“पोल्ट्रीजन्य उत्पादनको उपभोगको आवश्यकताका बारेमा प्रचारप्रसार हुने,पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवर्द्धन हुने अपेक्षाका साथ कार्यक्रम गरिएको हो” प्रमुख ठाकुरले भने ।
आर्थिक वर्ष २०७८ /७९ को अनुसार बागमती प्रदेशको कुल मासु उत्पादनः १ लाख ६३ हजार ९३९ मेट्रिक टन योगदान गरेको छ । जसमा कुखुरा तथा हाँसको मासु १ लाख १३ हजार ४३२ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी उक्त आवमा बागमती प्रदेशमा कुल ८९९३५३ हजार गोटा अण्डा उत्पादन भएको थियो ।
बागमती प्रदेशको कुल मासु उत्पादनमा पोल्ट्रीको योगदान ६९ प्रतिशत रराष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान करिब ६० प्रतिशत रहेको छ ।
२०१७ साल पौष १७ गते बाराको परवानीपुरमा सरकारी स्तरबाट स्थापना भएको सेन्ट्रल ह्याचरी उद्घाटन भएको दिनको स्मरणमा यो दिवस मनाउँदै आइएको छ । मकवानपुर कुखुरा व्यवसायि संघसंगको सहकार्यमा कार्यक्रम गरिएको हो ।
