मकवानपुर । मकवानपुरकाे हेटौंडामा खेलकुद महाेत्सव हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले ९ माघदेखि १७ फागुनसम्म हेटौंडामा एक महिने खेलकुद महोत्सव गर्ने भएको हाे ।
४ नम्बर वडा कार्यालयकाे आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ को व्यवस्थापनमा दोस्रो खेलकुद महोत्सव हुन लागेको हो । आइतबार हेटौंडामा पत्रकार भेटघाट गरी आयोजक ४ नम्बर वडा कार्यालयले खेलकुद महोत्सव सम्बन्धी जानकारी दिएको हो ।विद्यालयहरुबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लआगिएको ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले बताए ।
विद्यालयलाई ‘फोकस’ एक महिनासम्म सञ्चालन हुने महोत्सवमा वडास्तरीय, नगरस्तरीय र जिल्लास्तरीय गरी २१ वटा खेलकुदका क्रियाकलाप सञ्चालन हुने उनले जानकारी दिए । २१ विधा मध्ये २ वटामा जिल्लास्तरीय र ४ वटामा नगरस्तरीय क्रियाकलाप हुने उनले बताए ।
महाेत्सव अन्तरगत ९ माघमा नवोदय माविमा हाजिरी जवाफ प्रतियोगिता, १३ माघमा आधुनिक माविमा वक्तृत्वकला प्रतियोगिता, १४ माघमा सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता, १५ माघमा श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता, २४ माघमा ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ । त्यस्तै २५ माघमा भुटनदेवि माविमा निबन्ध लेखन प्रतियोगिता हुनेछ ।
यसैगरी २ फागुनमा विभिन्न दौड प्रतियोगिता, ३ फागुनमा आधुनिक माविमा नगरस्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगरस्तरीय फुटबल प्रतियोगिता तथा नगरस्तरीय क्रीकेट प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएकाे छ । यस्तै ५ फागुनमा सत्यम जेभियर्स स्कुलमा अफ वार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगर स्तरिय बास्केटबल प्रतियोगिता र १६ र १७ फागुनमा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना हुनेछ ।
उनका अनुसार १५ माघमा शहीद दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको व्यवस्थापन र वडा कार्यालयको आयोजनामा शिक्षकहरुको दौड प्रतियोगिता र महिला शिक्षकलाई लक्षित गरी स्लो स्कुटी रेस हुनेछ । विभिन्न प्रतियाेगिताका विजेतालाई १७ फागुनमा प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरि महाेत्सवकाे समापन गरिने आयोजकले जनाएकाे छ ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संघ अध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको निर्माण व्यवसायीकाे समूहले प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
महासंघको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष कँडेलले जानकारी दिए । ज्ञापनपत्रमा सबै निर्माण कार्यको भुक्तानी गर्नुपर्ने, सरकारको म्याद थप आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट म्याद थप गर्नुपर्ने र रुग्ण ठेक्काहरू सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने माग गरिएको छ ।
सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ एवं कालोबजारी गरी पटक पटक सिमेण्ट, डण्डीमा मूल्यवृद्धि गरिएको र सो क्रम अहिले पनि जारी रहेकोले कालोबजारी गर्नेलाई कारवाहीकाे लागि कानूनी कारवाहीमा जाने ज्ञापनपत्रमा उल्लेख छ ।
निर्माण कार्य तीव्र रुपमा हुने सिजनमा सिमित सिमेण्ट तथा डण्डी उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेकाले उक्त मूल्यवृद्धि अविलम्ब खारेज गरिनु पर्ने समेत संघले माग गरेकाे छ । साथै निर्माण व्यवसायीहरूका लागि तत्काल शून्य भन्सार दरमा सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीको आयातको व्यवस्था हुनुपर्ने समेत माग गरिएकाे छ ।
यसैगरी व्यवसायीहरूकाे भौगोलिक आधारमा निर्माण कार्यको तालिका बनाउनुपर्ने, वर्षातमा निर्माण सामग्री उत्खननको व्यवस्था मिलाउनुपर्ने र मापदण्डमा आवश्यक परिमार्जन गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत राखेका छन् । संघले ३ माघ देखि ७ माघसम्म विभिन्न राजनीतिक दल र सरकारी निकायमा आफ्ना मागबारे जानकारी गराउने जनाएको छ ।
यसैगरी १८ माघमा माइतीघर मण्डलामा र २० माघमा बालुवाटारमा धर्ना दिने कार्यक्रम घोषणा गरेको छ । माग पुरा नभए २१ माघदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाका ठप्प पार्ने र राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माण कार्य रोक्ने चेतावनी दिएको छ ।
हेर्नुहाेस ज्ञापनपत्रः
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे राक्सिराङ गाउँपालिकाबाट २१२ केजी गाँजासहित बाेलेराे गाडी नियन्त्रणमा लिएको छ । राक्सिराङ ५ चैनपुरमा प्रहरीले उक्त परिमाणको गाँजासहित बोलेराे नियन्त्रणमा लिएको हो ।
कैलाश गाउँपालिका तर्फबाट मनहरी बजारतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो गाडीका चालकले प्रहरीलाई देख्नासाथ गाडीमा सवार १ जना व्यक्तीसहित गाडी सडकमा छोडी भागेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उक्त गाडीको पछाडी ढालाको भागमा लुकाइ ल्याइएको अवस्थामा २१२ केजी गाँजा बरामद गरिएकाे हाे ।
बरामद गरिएकाे गाँजा र गाडी नियन्त्रणमा लिई फरार रहेका व्यक्तीहरुकाे खोजतलास तथा आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी ३ ईचुङ बस्ने ५३ वर्षीय चमेली माया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चमेली माया शनिबार बेलुका घरबाट ५ सय मिटर दक्षिणमा रहेको घट्टेखोलाको भीरमा घाँस काट्न गएकोमा २ सय मिटर तल खसी मुत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भैंसेबाट प्रहरी वरिष्ठ हबल्दार सुयन कुमार यादव र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकाल सहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ । मृतकको शव पाेष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन गढी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाकाे अधिवेशन भएकाे छ । गढी गाउँपालिकाको तेस्रो अधिवेशनले राजुप्रसाद गौतमकाे नेतृत्वमा कार्यसमिति निर्माण गरेको छ। शनिबार भएकाे अधिवेशनले गौतमलाई अध्यक्षमा समिति चयन गरेकाे हाे ।
संगठनकाे गढी गाउँपालिका उपाध्यक्षमा सुमिता घिमिरे र रामचन्द्र न्यौपाने, सचिवमा जयराम न्यौपाने, कोषाध्यक्षमा विष्णुमाया नगरकोटी, सहसचिवमा शारदा दुलाल, सहकोषाध्यक्षमा शान्तिमाया स्याङ्गबाे, चयन भएका छन् । यसैगरी सदस्यहरूमा हिरामाया स्याङ्तान, नवीन भुजेल, शकुन्तला गिरी, साधुराम पुडासैनी, रजनी दुलाल, सानु तितुङ, कविता दाहाल, ममता अधिकारी, सुभद्रा भट्ट, भुवन थिङ, राकेशकुमार दवे चयन भएका छन् ।
यस्तै संगठनकाे गढी गाउँपालिकाका सवै वडाहरुकाे वडा अध्यक्ष समेत चयन भएका छन् । वडाध्यक्षहरुमा क्रमशः आइपी दाहाल, मिधिलेशकुमार कुशवाह, मनमोहन देवकोटा, कल्पनाकुमारी गौतम, मनिषा तिमल्सिना, इन्द्रजित देवकोटा, दुधराज न्यासुर र पुन्डरी शर्मा चयन भएका छन् ।
यसैगरी शनिबार नै भएकाे इन्द्रसरोवर गाउँपालिकाकाे तेस्रो अधिवेशनले गोपु विशङ्खुकाे अध्यक्षमा गाउँ कमिटि गठन गरेकाे छ । संगठन गाउँ कमिटि उपाध्यक्षमा सरस्वती थापा मगर र भीमबहादुर स्याङ्गतान, सचिवमा धर्मराज बल, कोषाध्यक्षमा सुदिप थापा मगर, सहसचिवमा विरोसमाया थिङ्ग, सहकोषाध्यक्षमा अस्मिता चौलागाईं चयन भएका छन् ।
गढी गाउँपालिकाकाे अधिवेशन अध्यक्ष टङ्कप्रसाद चौलागाईंको सभाध्यक्षता, जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा नेकपा एमालेको बागमती प्रदेश समिति सदस्य बद्री लम्साल,नेकपा एमाले जिल्ला सचिवालय सदस्य विदुर हुमागाई, संगठन बागमती प्रदेश सदस्य बालकुमार श्रेष्ठलगायतकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
यसैगरी अधिवेशनमा संगठन जिल्ला उपाध्यक्ष कृष्ण पौडेल,पेशागत महासंघ बागमती प्रदेशका उपाध्यक्ष सीताराम दाहाल, नेकपा एमाले गढी गाउँपालिका अध्यक्ष जितबहादुर घिमिरे, बुद्धिजीवी परिषद् बागमती प्रदेश सदस्य मोहनप्रसाद न्यौपाने, सचिवालय सदस्य डीबी बर्तौला, शिक्षक महासंघ जिल्ला सहसचिव केदारप्रसाद तिमल्सिना, जिल्ला सदस्यहरु इन्द्र कार्की, सबिता तिमल्सिना लगायतकाकाे उपस्थिति रहेको थियो।
यस्तै इन्द्रसरोवर गाउँपालिकाकाे अधिवेशन संगंठन इन्द्रसरोवर कार्यवाहक अध्यक्ष संरचना शर्माको सभाध्यक्ष तथा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा भएकाे हाे । संगठन इन्द्रसरोवरका उत्प्रेरक तथा शिक्षक बचत हित तथा ऋण सहकारीका अध्यक्ष शिवप्रसाद लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि तथा पूर्व कोषाध्यक्ष जयप्रसाद पोखरेललगायतको विशिष्ट आतिथ्यतामा अधिवेशन भएकाे हाे ।