श्याम प्रसाद स्मृति सम्मान-२०८२ शर्मालाई
Tags: No Comments
मकवानपुर । श्याम प्रसाद स्मृति सम्मान-२०८२ बाट जन गायक जीवन शर्मा सम्मानित हुने भएका छन् । १९ बैशाख शुक्रबार मकवानपुरको हेटौंडामा शर्मालाई उक्त सम्मान प्रदान गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे प्रवर्द्वन तथा जिल्लाकाे अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरकाे आयाेजनामा हुने कार्यक्रममा शर्मालाई उक्त सम्मानबाट सम्मानित गरिने भएको हो ।
पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यता हुने श्याम प्रसाद स्मृति सम्मान-२०८२ समर्पण कार्यक्रममा जनताका गीत, राष्ट्रका गीतहरुका गायक जीवन शर्माको एकल गायन समेत हुने छ । साथमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ ।
श्याम प्रसाद स्मृति सम्मानबाट यस अघि विमल निभा, नारायण ढकाल, नवराज शर्मा, केदार न्याैपाने, प्रदीप ज्ञवाली “शीतविन्दु” सम्मानित भइसकेका छन् ।
हेटौंडा – ४ स्थित ओमम्याक्स सिनेमा हलमा हुने कार्यक्रमको लागि प्रवेश पासको व्यबस्था रहेको आयोजकले बताएको छ ।
मकवानपुर । मकवानपुरकाे अग्रणी संस्था साहित्य संगम मकवानपुरले २०८१ सालमा प्रकाशित कृतिका स्रष्टालाई सम्मानित गरेकाे छ । संगमले शनिबार हेटौंडामा एक कार्यक्रमका बिच मकवानपुर १२ जना स्रष्टालाई सम्मान गरेको हो ।
२०८१ सालमा मकवानपुर जिल्लाका साहित्यकारले ४ वटा मुक्तक संग्रह, २ वटा गजल संग्रह, अनुसंस्करण संग्रह, कथा संग्रह, कविता संग्रह, नियात्रा संग्रह, गीत संग्रह र संस्मरण संग्रह एक/एक वटा प्रकाशन गरेकाेमा लेखन कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले साहित्य संगमले स्रष्टा सम्मान कार्यक्रम गरेको हो ।
शनिबारकाे ३५४ औं नियमित साहित्य सन्ध्याको अवसरमा साहित्य संगमले ‘अनुभूतिका आँखाहरु’ अनुसंस्मरणका स्रष्टा ऋषिराम उपाध्याय पोखरेल, ‘घामका फूलहरु’ गजल संग्रहका स्रष्टा तुलसी घिमिरे गजल संग्रह ‘तृप्ति’ का स्रष्टा राम कार्की, ‘संयात्राको संयोग’ नियात्रा संग्रहका स्रष्टा रमेशमोहन अधिकारीलाई सम्मान गरिएकाे संगम सचिव मनोज पाेखरेलले बताए ।
यसैगरी ‘बहिष्कृत आवाज’ कविता संग्रहका स्रष्टा यश लामा, ‘आउँछ यादहरु’ गीत संग्रहका स्रष्टा महेश सी आरोही, ‘उज्यालोका बाछिटा’ मुक्तक संग्रहका स्रष्टा डीबी बर्तौला, ‘सम्झूँ कि बिर्सुँ’ संस्मरण संग्रहका स्रष्टा निर्मोही व्यास, ‘गल्छेडाका धुनहरु’ मुक्तक संग्रहका स्रष्ट्रा राजबाबु पहाडी, ‘अन्तरध्वनि’ मुक्तक संग्रहका स्रष्टा किशन पौडेल, ‘बन्द ढोकाको चित्कार’ मुक्तक संग्रहका स्रष्टा दिनेश शर्मा र ‘कठै’ कथा संग्रहका स्रष्टा श्यामप्रसाद श्रेष्ठलाई सम्मानित गरिएको पोखरेलले जानकारी दिए ।
स्रष्टा श्रेष्ठले ‘कठै’ कथा संग्रह ६ वटा साहित्य संगम मकवानपुरद्वारा संचालित पुष्पलाल पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता, साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलकाे विशेष आतिथ्यतामा भएकाे नियमित साहित्य सन्ध्या एवम् सम्मान कार्यक्रममा रामप्रसाद आचार्य, राजकुमार चौधरी, सानुभाइ बिश्वकर्मा, सुवास सजल, जनार्दन खनाल, अनिल कोइराला, पुरुषोत्तम आचार्य, मनोज मधुर, देवराज तिवारी, उमेश तिमल्सिना, शान्ति प्रियवन्दना लगायतले रचना वाचन गरेका थिए ।
यसैबीच विधान संसोधनकाे लागि शनिबार नै संगमकाे विशेष साधारण सभा भएकाे छ । अधिवेशनले संगमकाे विधानमा भएका केही प्रावधानलाई संसोधन तथा केही व्यवस्था थप समेतको निर्णय गरेको छ ।
विशेष अधिवेशनले विधानमा रहेको २ वर्षे कार्यकाललाई बढाएर ३ वर्ष बनाउने, प्रगतिवादी शब्दलाई प्रगतिशील बनाउने, आजिवन, मानार्थ र सस्थागत सदस्यताको व्यवस्था गर्ने, सदस्य भएको व्यक्तीमात्रै पदाधिकारीमा चयन हुन पाउने, अध्यक्ष हुन पधाधिकारी भएका ब्यक्तिबाटै चयन हुने व्यवस्था गर्ने निर्णय पारित गरेको छ ।
यसैगरी जुनसुकै उमेर समुहका समेत सदस्य हुन पाउने तर मताधिकार भने १८ वर्ष उमेर पूरा भए पछि मात्रै पाउने व्यवस्था र संगम कार्यालय हेटौंडा ४ स्थित आफ्नै भवनमा रहने गरि संसोधनको निर्णय भएको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे सवारी दुर्घटनामा नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् । आफैँले चलाएको स्कुटर दुर्घटना हुँदा अध्यक्ष पोखरेल घाइते भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–५, पुष्पलालपार्क अगाडि उनले चलाएकाे स्कुटर अनियन्त्रित भई दुर्घटना हुँला घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान पाेखरेलले चलाएकाे बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा उपचार भइरहेको छ । उनकाे स्वास्थ्यमा सुधार भएकाे तथा अवस्था खतरामुक्त रहेको बताइएको छ।
मकवानपुर । मकवानपुरकाे हेंटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यालयबाटै व्यवसायिक शिक्षालाई प्राथमिकता दिनु पर्ने बताएका छन् । हेटौंडा – ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयद्वारा विद्यार्थीहरूलाई व्यवसायिक सीप प्रदान गर्न आयाेजना गरिएकाे तालिमकाे उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेकाे सिग्देलले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुकाे चाैतर्फी विकासकाे व्यसायिक सीप सम्बन्धि तालिम विद्यालयकाे आन्तरिक श्राेतबाट खर्च हुने गरिएकाे बताए । ‘विद्यालयले सैद्वान्तिक पढाईकाे अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयाेजना गर्दै आईरहेकाे छ’ उनले भने ‘फरक पहिचानसहित शिक्षाकाे गुणस्तर सुधार गर्दै माथि उठाउन हामी लागि परेका छौं ।’
कार्यक्रम हेयर कटिङ्ग तालिममा २०जना, बेसिक व्युटीपार्लरमा २० जना र बेसिक ईलेक्ट्रिसियनमा २० जना विद्यार्थी सहभागी रहेकाे प्रअ माधव दाहालले जानकारी दिए । विद्यालयले सैद्वान्तिक शिक्षासंगै, अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने बार्षिक याेजना रहेकाे उनले बताए ।
कार्यक्रममा हेयर कटिङ्गका प्रशिक्षक किरण अधिकारी र ईलेक्ट्रिसियन प्रशिक्षक ज्ञानेन्द्र देवकाेटाले तालिमकाे महत्वबारे प्रकाश पारेका थिए । प्रअ दाहालकाे सभाध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकाेटी, सहायक प्रअहरू बेदराज काेईराला, भरत पाेखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरे, मावि तह संयाेजक संगीता उप्रेती, आधारभूत तह संयोजक श्याम बजगाईं, प्रावि संयाेजक मुकुन्द न्याैपाने लगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद देशकाे सान भएकाेले पर्याप्त बजेट छुट्याउन पहल गर्ने बताएका छन् । कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडाको आयोजना भएकाे शालिकराम मानन्धर र तेजबहादुर केसी स्मृति प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताकाे समापनमा नेता बानियाँले भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न पहल गरिने उनले प्रतिवद्धता जनाए । ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्छ’ उनले भने ‘खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सक्ने बनाउनु पर्छ ।’
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानवतासँग जोडिनुका साथै सामाजिक कामहरु गरिरहेका बताउँदै खेलकुद क्षेत्रमार्फत शारीरिक तथा मानसिक तन्दुरुस्तीका कामहरुमा पनि ध्यान दिइरहेको बानियाँले बताए । गणतन्त्रमा समावेशी विकासका लागि खेल क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
प्रतियोगिताको उपाधि हेटौंडाको छहारी युवा समाजले प्राप्त गरेको छ । फाइनल खेलमा आयोजक कांग्रेस थाहा ९ लाई पराजित गर्दै समाजले उपाधि हात पारेको हो । छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
वैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो । नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षतामा कार्यक्रम भएको हाे ।