मकवानपुर । कृषि विकास बैंकले दिव्यसेवा निकेतनलाई सहयोग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत हेटौंडा–१५ स्थित दिव्यसेवा निकेतनलाई ६ लाख रुपियाँ सहयोग गरेको हाे ।
दिव्यसेवा निकेतनका अध्यक्ष यादवप्रसाद गजुरेललाई बैंकका निर्देशक कृष्ण नकर्मीले मंगलबार सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । प्राप्त सहयोगले निकेतन परिसरमा इन्टरलक ब्लक बिछ्याउने कार्य गरिने गजुरेलले बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, केन्द्रीय सल्लाहकार केदार न्यौपाने, कृषि विकास बैंक वीरेन्द्रनगर चितवनका वरिष्ठ शाखा प्रमुख बाबुराम देवकोटा, वरिष्ठ शाखा अधिकृत रवी तामाङ, शाखा कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद गजुरेल, शाखा कार्यालय कान्तिराजपथका शाखा प्रबन्धक नूरप्रसाद गौतमको सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादी १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १० का ३५ वर्षीय सुरज लामा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शनिवार हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ गरेको हो ।लामालाई मकवानपुर जिल्ला अदालतले २०७७ पुस २३ गतेको फैसलाले लागुऔषध मुद्दामा ६ महिना कैद र २५ हजार जरिवाना सुनाएको थियो ।
लामालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई उक्त कैद भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटाैडाका ३ जना नेता कारबाही सिफारिसमा परेका छन् । माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका पार्टी कमिटिको शनिबारकाे बैठकले उनीहरुलाई कारबाहीकाे सिफारिस गरेकाे हाे ।
बैठकले नगर कमिटि सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दिपक खड्का, नगर कमिटि सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटिमा सिफारिस गरेकाे नगर कमिटि अध्यक्ष तिर्थ बहादुर थापा मगरले बताए ।
खड्काले पार्टी नीति बिरुद्ध गतिबिधि गरेको र ढकाल र चौँलागाई अन्य पार्टीमा प्रवेश गरेकाले उनीहरुलाई कारबाहीको सिफारिस गरिएको थापा मगरले जानकारी दिए ।
हेटौंडा उपमहानगर पार्टी कमिटिकाे बैठक अघी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको सभामा पार्टी प्रदेश कमिटि सदस्य ललित घलान, प्रदेश कमिटि सल्लाहकार कौशल पाण्डे, जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन, प्रमिला पुलामी, लक्ष्मी माझी, नगर कमिटि इन्चार्ज विवेक राई, भगिरथ नेपाल, जीवन गोले लगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरमा ७० जना काेराेना संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएसँगै काेराेना संक्रममित हुनेकाे संख्या बढ्दै गएकाे देखिन्छ।
पछिल्लो २४ घण्टामा १ सय ३ जनाको पीसीआर परीक्षणबाट ४२ जना र ३ सय ३१ जनाको एन्टीजेन परीक्षणबाट २८ जना गरी थप ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
काेराेना संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा र मनहरी भित्रका ३/३ जना,बकैया गाउँपालिका भित्रका २ जना, भीमफेदी, कैलाश र राक्सिराङ गाउँपालिका भित्रका १/१ जना रहेका छन् ।
यसैगरि मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ३९ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल ५ सय २२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४ सय ७७ जना घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको हाे । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ७ का महिला रहेको जनाइएकाे छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ ।
मकवानपुर । राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिएकाे छ । भूमि अधिकारबाट बञ्चितहरुको संगठन अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ज्ञापनपत्र पठाएको हाे । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले शुक्रबार आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो ।
देउवा सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजको तयारीप्रति मञ्चले ध्यानाकर्षण गराउँदै देशभर भईरहेको जग्गा लगत संकलन र नापनक्सालाई निरन्तरता दिन विशेष अनुरोध गरेको छ । ‘साउन ३ गते प्रधानमन्त्रीले बिश्वासको मत प्राप्त भएको समाचारसंगै सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेको समाचार आएपछि निक्कै दुःखी बनाएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
‘पुस्तौदेखी भूमि समस्या भोगीरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र वर्षाैंदेखि भोगचलनमा रहेको जग्गालाई आफ्नो भन्न नपाएका अब्यवस्थित बसोवासीको आशा र अपेक्षा निराशामा बदलिएको छ,’ राष्ट्रिय भूमि अधिकार मञ्चको ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय तहमार्फत् लगत संकलनदेखी जग्गा नापजाँचका कामसमेत भईरहेको अवस्थामा आयोग खारेज गर्नुले १७ लाख भूमि अधिकारबाट बञ्चितप्रति सरकारले बिभेद गरेको महसुस भएको छ ।’
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्नैपर्ने समस्या भन्दै मञ्चले देशभर लगत संकलनको कार्य अन्तिम अवस्थामा पुगेको र नापनक्शा कार्य भई कामले गती लिईरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चितता नगरी आयोग विघटन गर्नु उचित नहुने अवगत गराउँदै भईरहेको कामलाई असर नपर्नेगरी निर्णय लिन अनुरोध पनि गरेको छ ।
राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ज्ञापनपत्र बुझाएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरकी सचिव मीरा स्याङ्तान, कोषाध्यक्ष डोल्मा स्याङ्बो, सहसचिव राजनप्रसाद फुँयाल लगायतको सहभागिता रहेको थियो ।
मञ्चले नागरिकको सुरक्षित आवास, गुणस्तरीय जिविका र सम्मानपुर्वक जिउने अधिकारका लागि भूमिमाथीको स्वामित्व र पहुँच सुनिश्चित हुनु पर्ने विषयमा वकालत र अभियान गरिरहेको छ । मञ्चले २०६२/६३ को जनआन्दोलनदेखी संबिधान निर्माण प्रक्रियासम्म जनपक्षीय अभियान /आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेको थियो ।
त्यस्तै, भूमि समस्या समाधानका लागि स्थानीय तहसम्म संरचना भएको अधिकार सम्पन्न आयोगको माग गरी अभियानका साथै २०६५ मा गठित उच्चस्तरीय बैज्ञानिक भूमि सुधार आयोग र २०६६ मा गठित बैज्ञानिक भूमि सुधार सम्बन्धि उच्चस्तरीय आयोगमा मञ्चले सदस्यको जिम्मेवारी निभाएको बताईएको छ ।