मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगर ९ नं. समितिले सरसफाई कार्यक्रम गरेकाे छ । तरुण दल हेटौडा ९ समितिले वडाका विभिन्न स्थानहरुमा सरसफाई गरी ठाँउ ठाँउमा डस्विन समेत राखेकाे छ ।
सरसफाई कार्यक्रम प्रगति माध्यामिक विद्यालय अगाडिबाट सुरू गरी गुम्बा चोक, कुश्माण्ड सरोवर त्रिवेणीधाम अगाडी रहेको घाटमा सरसफाई गरी डस्विन राखि समापन गरिएकाे थियो ।
नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला सदस्य माधव आचार्यकाे प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसको बागमती प्रदेशको उपाध्यक्ष कुमार पौडेल, तरुण दल नगर सचिव सुशील सिग्देल, तरुण नगर सदस्य किरण लामा लगायत उपस्थिति रहेकाे थियाे । कार्यक्रम तरुण दल ९ नम्बर वडाका अध्यक्ष पुर्णबहादुर हिस्कि मगरको अध्यक्षता भएको हाे ।
मकवानपुर । डा. मानवी भट्ट छायादेवी स्मृति सम्मान २०७८ बाट सम्मानित भएकी छिन् । सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व आयुक्त डा. मानवी भट्ट शनिबार नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल मानव अधिकार संगठन मकवानपुरको बार्षिक साधरण सभाको अवसरमा डा. भट्टलाई सम्मान गरिएको हो ।
साधारण सभाको अवसरमा मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको प्रभाव बिषयक अन्तर सम्बाद कार्यक्रम गरिएकाे हाे । नेपाल मानव अधिकार संगठन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्य, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष बस्नेतले मानव अधिकार रक्षकलाई कोभिड–१९ ले पारेको असरका बारेमा कार्यपत्र तथा बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सर्मिला श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इन्द्र नेपाल, कानुन व्यावसायी कृष्णप्रसाद अर्याल, इन्सेक प्रतिनिधि गणेश भण्डारी लागायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरको भीमफेदी स्थित प्राकृतिक पोखरीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका १ जना मृत भेटिएका छन् ।
शनिबार भीमफेदी गाउँपालिका वडा नंबर ८ को सिस्नेरी नेचुरल स्विमिङ्ग पुलले चिनिने प्राकृतिक पौडी पोखरी संगैको ढुङ्गामा बसेका ललितपुर लुभुका १९ वर्षीय सितब बडाल चिप्लिएर पोखरीमा बेपत्ता भएका थिए ।
बडाल सहित ६ जना साथीहरु शुक्रबार मार्खु घुम्न आएकाे बताइएकाे छ । शनिबार पोखरीमा पौडी खेलेर ललितपुर फर्कने तयारीमा रहेका ६ जना मध्ये ५ जनालाई पाैडन आउने भएकाले पौडी खेल्दै गरेकाे थिए । पोखरीकै ढुङ्गामा बसेर पाैडी खेलिरहेका साथीहरू हेरिरहेका बडाल एक ढुङ्गाबाट अर्को ढुङ्गामा हाम फाल्ने क्रममा चिप्लिएर पोखरी झरेका हुन् ।
करिब १६ फिट गहिराईको पोखरीमा बेपत्ता भए उनकाे शव शनिबार साँझ फेला पारेकाे हाे । नेपाल प्रहरी,आर्मी र स्थानीयहरुकाे सक्रियतामा पोखरीको पानी सुकाउने क्रममा बडाल मृत अवस्थामा फेला परेका हुन् । मृतक बडालकाे शव घटनास्थलमै रहेकाेमा मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडाको फ्रेन्डसिप भेट्रान्स र सिमरा भेट्रान्सबिच शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । सिमरा भेट्रान्सको निमन्त्रणामा बाराको सिमरा रंगशालामा प्रतियोगिता भएको हाे । ९ ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हेटौंडाले सिमरालाई ४–३ गाेल अन्तरल पराजीत गरेकाे छ ।
निर्धारित ६० मिनेटको खेलमा फ्रेन्डसिप भेट्रान्स हेटौंडाले सिमरा भेट्रान्सलाई पराजित गर्दै जीत हात पारेको हो । जीत दिलाउनका लागि फ्रेन्डसिप भेट्रान्स हेटौंडाका कृष्ण गुरुङ र मनोज लामाले २/२ गोल गरेका थिए । सिमराको तर्फबाट हरि चौधरी, बिनोद परियार र रुपेन्द्र लालचन्दले समान १/१ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

युनाल मल्लको कप्तानीमा मैदानमा उत्रिएको हेटौंडाको टिम र सिमराको टिमले मायाको चिनो समेत आदानप्रदान गरेका थिए । २ स्थानका भेट्रान्स खेलाडीहरु बिच आपसी चिनजान बढाउन तथा मित्रतालाई प्रगाढ बनाउनका लागि प्रतियोगिता भएको हेटौंडाका खेलाडी सुविन घिमिरेले बताए । फ्रेन्डसिप भेट्रान्स हेटौंडाको आयोजनामा सिमरा भेट्रान्सले हेटौंडा आएर केही दिन पछी मैत्रीपूर्ण खेल खेल्ने बताइएकाे छ ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३१० औँ साहित्य सन्ध्या भर्चुअल माध्यमबाट भएकाे छ । ३१० औँ नियमित साहित्य सन्ध्या कार्यक्रम शनिबार भएको हाे । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा सन्ध्या कार्यक्रम भएको हो ।
साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपानेले स्वागत गरेकाे कार्यक्रममा सहभागी साहित्यकार तथा नवसर्जकहरुले गजल, कवितालगायतका साहित्यिक रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार शम्भु प्रसाद बासकोटा, विष्णु गौतम, दिपक मुढावारी, रमेशमोहन अधिकारी, चिरञ्जीवी लामिछाने, देवराज तिवारी, मसान उपासक, सुभाष सञ्जाल, डिबी बर्ताैला लगायतको उपस्थिति रहेको थियो ।