मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएकाे २ वटा छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा ८ मा ट्रकले माेटरसाइकललाई ठक्कर दिंदा १ जना तथा हेटौंडा १० पुरानो घरको जगबाट इँटा झिक्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको हाे ।
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–८ गुम्बाचोकनजिकै ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ। मृत्यु हुनेमा हेटौंडा –९ एचआइडी (HID) बस्ने ५५ वर्षीय श्याम कुमार तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिँदा तामाङ घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले घाइते तामाङलाई उपचारकाे लागि हेटौंडा अस्पताल पुर्याएकेमा उपचारका क्रममा बुधबार बिहान ७:५५ बजे मृत्यु भएको हाे ।
ठक्कर दिने ट्रक, मोटरसाइकल र सर्लाही धनकौल गाउँपालिका–१ का ४४ वर्षीय ट्रक चालक नागेश्वर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैगरी हेटौंडा उपमहानगरपालिका–१० मेनरोडमा पुरानो घरको जगबाट इँटा झिक्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्।
मृत्यु हुनेमा हेटौंडा १० पूर्वीलीटोलका करिब ४५ वर्षीय किरण राना मगर रहेका छन्। ढिस्कोले पुरिएर घाइते भएका मनहरी गाउँपालिका–६ का करिब २७ वर्षीय रोशन श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनको कम्मरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मगंलबार साँझ करिब ५:२५ बजे सडक छेउमा रहेको पुरानो घरको जगबाट इँटा निकाल्ने क्रममा माथिबाट अचानक माटो झरेर दुवै जना पुरिएका थिए। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएकोमा चिकित्सकले किरण राना मगरलाई साँझ ६:०२ बजे मृत घोषणा गरेका थिए।
उक्त घर न्युजिल्यान्डमा बस्दै आएकी उर्वासी श्रेष्ठको भएको र विगत १५/२० वर्षदेखि हेटौंडा–११ का वसन्त कप्रौलाले भाडामा लिँदै आएका थिए। हाल नयाँ घर बनाउनका लागि पहिले नै भत्काइएको पुरानो घरको जगबाट इँटा झिक्ने काम भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका ३ हजार मतदाताकाे नाम मतदाता सूचीबाट हटाएको छ । नागरिकता परित्याग गरेका, मृत्यु भएका र दोहोरो नाम दर्ता भएका समेत गरी करिब साढे ३ हजार मतदाताकाे नाम मतदाताकाे सूचीबाट हटाइएकाे हाे ।
सबैभन्दा धेरै मृत्यु दर्ता भएका १ हजार ९६४ मतादातालाई कार्यालयले सूचीबाट हटाएको छ । वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ताका आधारमा त्यस्ता नाम हटाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । यसैगरी दोहोरो मतदाता नामावली भएका १ हजार ५०२ मतदाताको नाम पनि सूचीबाट हटाइएको उनले बताए । त्यसैगरी नागरिकता त्यागेका ६ जनाको नाम पनि कार्यालयले सूचीबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागेको विवरणका आधारमा उनीहरूलाई सूचीबाट हटाएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।
निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामवाली सूचीबाट हटाइएको छ । निर्वाचन कार्यालयले हटाएको नामावली प्रकाशित गरेको छ । त्यसबारेमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा सन्चालन भएको चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको उपाधी तपोवन एफसीले हात पारेको छ ।
प्रथमपटक सहभागी तपोवनले सोमबार भएको फाइनलमा हाँडीखोला यूथ क्लवलाई १-० गोलले हराउँदै उपाधी जितेको हो । खेलको सातौं मिनेटमा विदेशी खेलाडी लिओसले गरेको गोल नै निर्णायक बन्यो ।
विजेता तपोवनले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता हाँडीखोला यूथले ५१ हजार ५१ रुपैयाँमै चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तपोवनका युवराज लामा घोषित हुँदा उत्कृष्ट गोलरक्षक तपोवनका आशिष मोक्तान, उत्कृष्ट डिफेन्डर हाँडीखोलाका पुस्कल भट्ट, उत्कृष्ट मिडफिल्डर तपोवनका सन्तोष गोङ्बा, उत्कृष्ट फरवार्ड हाँडीखोलाका पेम्बा तामाङ र उत्कृष्ट प्रशिक्षक तपोवनका सुमन पाख्रीन घोषित भए ।सर्वोत्कृष्ट खेलाडीले १० हजार र बाँकी विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, चैनपुर जेसीजका अध्यक्ष सुरेश गौतमलगायतले पुरस्कार प्रदान गरेका थिए ।
मनहरी गाउँपालिका ४ नम्बर वडाको मुख्य प्रायोजनमा चैनपुर जेसीज मनहरीले प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा जेसीज सप्ताह अन्तर्गत भएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा संचालित नगरस्तरीय क्रिकेटकाे उपाधी हेटौंडा ८ ले हात पारेकाे छ । हेटौंडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयकाे आयोजना तथा मकवानपुर जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएकाे प्रतियाेगिताकाे उपाधी ८ ले जितेको छ ।
आइतबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएकाे फाइनल खेलमा आयोजक हेटौंडा–४ काे टीमलाई ५३ रनले पराजित गर्दै हेटौंडा–८ ले उपाधि चुमेकाे हो । उपाधि विजेता हेटौंडा–८ ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हेटौंडा–४ ले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएकाे छ ।
टस जितेर पहिले व्याटिङ् गरेको हेटौंडा–८ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । टोलीका लागि विष्णु राउतले ५७ बलमा ५७ रन बनाउँदै अर्धशतक प्रहार गरे । विजय घलानले २९ बलमा २९ रन तथा सागर मगरले ११ बलमा १२ रनको योगदान दिए । १ सय १३ रनको लक्ष्य पछ्याएको हेटौंडा–४ ले १५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो । हेटौंडा–४ का विशाल फुयाँलले २० बलमा र उदिप श्रेष्ठले १२ बलमा समान १२–१२ रन बनाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका हेटौंडा–८ का प्रेम क्षेत्री म्यान अफ द म्याच घोषित भए । त्यस्तै, हेटौंडा–९ का युविन बुढाथोकी म्यान अफ द सिरिज घोषित भए । उनले ५ हजार रुपैयाँ नगद पुरसकार सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा हेटौंडा–८ का प्रेम क्षेत्री उत्कृष्ट बलर, युविन बुढाथोकी उत्कृष्ट व्याट्सम्यान तथा मेराज देवान उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा हेटौंडा–४ ले हेटौडा–९ लाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, शुक्रबार भएको दोस्रो सेमिफाइनलमा हेटौँडा–८ ले हेटौंडा–११ लाई ६ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंंडाबाट स्राेत नखुलेकाे २१ लाख ४० हजार रुपैंयासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सोमबार बेलुका हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौंडा-भिमफेदी सडक खण्ड अन्तरगत चौकिटोलमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ च ०२०९ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा कालो पोलोथिनको झोलामा राखी ल्याइएको १ हजार रुपैंया र ५ सय रुपैंया दरको गरी २१ लाख ४० हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उक्त गाडी तथा नगद रुपैयासहित चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय बिजय खाती तथा साेही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.१ बस्ने ४० वर्षीय सिंहराम रुम्बालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट नेपाल राष्ट्र बैंक ऐन – २०५८ काे व्यवस्था अन्तर्गतकाे कसुरकाे मुद्दामा १५ दिनकाे म्याद थप भई अनुसन्धान भईरहेको छ ।