मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, हटियामा रहेकाे जनप्रिय मावि प्राविधिक शिक्षालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । संघीय सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त ल्यापटप विद्यालयका पूर्णकालिन ३१ जना शिक्षकलाई हस्तान्तरण गरिएको हो ।
बुधबार बिहान एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । नमूना विद्यालयका लागि प्राप्त हुने ५० लाख रुपैयाँ अनुदान रकममध्ये १७ लाख रुपैयाँ लागतमा ३१ थान ल्यापटप खरिद गरिएको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष कोइरालाले वडा कार्यालयको तर्फबाट विद्यालयलाई स्रोतसाधन उपलब्ध गराउने, विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा, शिक्षक अभिभावक संघका सदस्यको पनि सहभागिता रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरेका छन् । मन्त्री लामाले हेटौंडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गरेका थिए ।
मन्त्री लामाले अस्पताल र निर्देशनालयले कोरोना जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिएका हुन् । निरीक्षणपछि उनले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्व तयारीको काम अघि बढाउन निर्देशन दिए । उनले स्वास्थ्यकर्मीहरुले कोभिडको अघिल्लो चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिए । प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिवद्ध रहेको भन्दै उनले अस्पताल टिम पनि सोही अनुसार प्रतिबद्ध हुन निर्देशन दिए । निरीक्षणका क्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा। रामचन्द्र सापकोटासहितको टोलीले अस्पतालले गरिरहेका कामहरुबारे जानकारी गराएको थियो ।
त्यस्तै, स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि बागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्य अनुसार खोप अभियान संचालन हुन नसकेको भन्दै यसका लागि प्रभावकारी ढंगले अभियान संचालन गर्न निर्देशन दिए । खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य इकाईहरुले जनचेतनामुलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ लगायतले निर्देशनालयले खोप अभियान र गरिरहेका कामहरुको बारेमा जानकारी दिएका थिए ।
मकवानपुर । मकवानपुरमा काेराेना संक्रमित ८२ जना थपिएका छन् । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो क्रममा रहेकाेमा बुधबार एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका ५४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी थाहानगरपालिकाका १ जना र मनहरी गाउँपालिकाका २७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमणमुक्त हुने ३ जना र संक्रमणका कारण मृत्यु हुने १ जना हेटौंडा उपमहानगरपालिकाका भित्रका रहेकाे बताइएकाे छ । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३३ जना पुगेका छन् ।
यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकाका १ सय २० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आउला त संचालनमा? मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । मकवानपुर जिल्ला र सिन्धुली जिल्लालाई यातायत संजालमा जाेड्ने बागमती पुल माघबाट संचालन हुने निर्माण कम्पनीले जनाएकाे छ। निर्माण कम्पनीले ३ वर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो । ठेक्का लागेको १० वर्ष पछी पुलबाट आवतजावत गर्न पाइने भएकाे हाे ।
मकवानपुर । लोपोन्मुख बनकरिया जातिका किशोरीहरुलाई नेतृत्व विकास र वकालत तालिम दिईएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना तथा क्यानडा सरकारको सहयोगमा तालिम दिइएकाे हाे ।
तालिममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यसोकान्ति भट्टचनले आदिवासी, आदिवासी महिला, नेतृत्व विकास, संस्थागत विकास, अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ), आईएलओको धारा १६९, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र(यूएनड्रीप), महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलनसम्बन्धी महासन्धी(सिड), जलवायु परिवर्तन लगायतको बिषयमा प्रशिक्षण दिएकी थिईन् ।
कार्यक्रममा सहभागी किशोरी, महिलाहरुले तालिम धेरै जानकारीमुलक रहेको भन्दै नेतृत्व विकाससँगै आफ्नो अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए । मकवानपुरको मनहरी गाउँपालिका ४ हाँडिखोलास्थित बनकरिया टोलमा आयोजित ४ दिने तालिममा बनकरिया समुदायका २२ जना सहभागी थिए ।
यसैगरी लोपोन्मुख बनकरिया जातिका सबैलाई जाडोको कपडा प्रदान गरिएको छ । बनकरिया बृद्ध, महिला, युवा, किशोरकिशोरी र बालबालिकालाई जाडोको टोपी, पछ्यौरा, ट्रयाकसुट लगायतका कपडा हस्तान्तरण गरिएको थियो । कार्यक्रम मनहरी गाउँपालिका ४ का वडा अध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्य तथा बनकरिया महिला विकास संघकी अध्यक्ष सन्तमायाँ बनकरियाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।