मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, हटियामा रहेकाे जनप्रिय मावि प्राविधिक शिक्षालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । संघीय सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त ल्यापटप विद्यालयका पूर्णकालिन ३१ जना शिक्षकलाई हस्तान्तरण गरिएको हो ।
बुधबार बिहान एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । नमूना विद्यालयका लागि प्राप्त हुने ५० लाख रुपैयाँ अनुदान रकममध्ये १७ लाख रुपैयाँ लागतमा ३१ थान ल्यापटप खरिद गरिएको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष कोइरालाले वडा कार्यालयको तर्फबाट विद्यालयलाई स्रोतसाधन उपलब्ध गराउने, विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा, शिक्षक अभिभावक संघका सदस्यको पनि सहभागिता रहेको थियो ।

