मकवानपुर । मकवानपुर प्रहरीले गाँजासहित १ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ बाट लागुऔषध गाँजा ४ किलोसहित राम बहादुर घलानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा घलानको घुम्ति पसलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा बरामद भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै प्रतियोगिता स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने तयारी रहेको थियो । संघका महासचिव युनाल मल्लले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् ।
मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

मकवानपुर । मकवानपुरको हेटौंडा-१९ का जेनिश उप्रेतीले बाल गायन रियालिटी शो द भ्वाइस किड्सको पहिलो उपाधि जितेका छन् । शनिबार राति उप्रेतीले ग्रान्ड फिनालेमा ७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।
हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो । द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट १ सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो ।ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।
उप्रेतीसँगै फिनालेमा टीम प्रमोदकै रुक्सना लिम्बु, टीम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टीम प्रविशाबाट अनुजा कडरियार सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए ।
उप्रेतीले द भ्वाइस किड्सको पहिलो उपाधि जितेसँगै देशव्यापी रुपमा शुभकामनाहरु सामाजिक सञ्जालमा आइरहेका छन् । मकवानपुरेहरु प्रायले शुभकामना दिएका छन् ।
द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको थियाे । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए ।
जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको …..यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाएका थिए ।
को हुन् जेनिस
जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उनको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनका बाबु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् । ४ बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षको भए ।
सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आएका छन् । उनी चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका थिए ।
हेटौडामा जन्मेको २ बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको ४ बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।
मकवानपुर । सामुदायिक रेडियो शक्ति एफएम १०३.४ मेगाहर्जले लगातार ३ घण्टा समाचार बुलेटीन बजाउने भएकाे छ । माघ १ गते शनिबारदेखि साँझको कार्यक्रमहरुलाई रेडियाेले पूर्णरुपमा समाचारमूलक बनाउने भएको छ । साँझ ६ बजे उज्यालो नेटवर्कको नेपालखबर प्रसारणबाट लगातार राति ९ः१५ सम्म समाचार बुलेटिनहरु मात्र बजाउने एफएमले जनाएको छ ।
साँझ ६ः१५ बजे शक्ति एफएमको आफ्नै प्राइम बुलेटिन ‘शक्तिखबर’, ७ बजे रेडियो नेपालको समाचार, ७ः१५ मा शक्ति एफएमकै बुलेटिन ‘बागमती दिनभर’, ७ः३० बजे सिआइएनको ‘साझाखबर’ प्रसारण हुनेछ । यस्तै, ८ बजे नेपाल एफएम ९८.१ को ‘नेपाल सेरोफेरो’, ८ः३० बजे मनहरी एफएम १०४.३ मेगाहर्जको मनहरी सेरोफेरो र राति ८ः४५ बजे बिबिसी नेपाली सेवा प्रसारण गरेर आफ्ना स्रोतालाई ३ घण्टा १५ मिनेट लगातार समाचार पस्कने एफएम व्यवस्थापनले जनाएको छ ।
केही समयपछि नै नेपाल एफएम नेटवर्क र रेडियो पालुङ १०७.२ मेगाहर्जसँग सहकार्य गरेर अन्य समाचारमूलक कार्यक्रमहरु थपेर मकवानपुरको सबै भूगोलमा शक्ति एफएम सुन्न सकिने बनाउने तयारी भइरहेको रेडियोले जनाएको छ ।
बिहान ४ बजेदेखि प्रसारणमा रहेको रेडियो राति १० बजेसम्म प्रसारणमा रहेको छ । छिट्टै बिहान पनि ६ बजेदेखि सवा ९ बजेसम्म समाचारमूलक कार्यक्रम र बलुेटिनहरु थपिने एफएमले जनाएको छ । रेडियो www.shaktikhabar.com, www.hamropatro.com र www.hamro.com बाट पनि अनलाइनमा सुन्न सकिन्छ ।
मकवानपुर । जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरको आठौं वार्षिक साधारण सभा शुक्रबार भएको छ । हेटौंडा–९, स्थित संघमा आवद्ध सदस्यहरुको उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरेर साधारण सभा आयाेजना गरिएकाे हाे ।
संस्थाको आर्थिक वर्ष २०७७/०७८ मा शेयर पुँजी एक लाख १५ हजार, बचत २० लाख ६७ हजार ७६५, जगेडा कोषमा २९ हजार १७ रुपैयाँ, अन्य कोषमा ५८ हजार ४०८, आयकर व्यवस्थापनमा एक हजार ४१८ रुपैयाँ र भुक्तानी दिनुपर्ने १६ लाख ७४५ रुपैयाँसहित कुल ३८ लाख ७२ हजार ३५४ रुपैयाँको कारोबार गरेको जनाईएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष रामहरी न्यौपानेले संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष न्यौपानेले जिल्ला स्थित ३२ वटा मध्ये १९ वटा बहुउद्देश्यीय सहकारीहरु आवद्ध भई स्थापना भएको संघमा जिल्लाका सबै बहुउद्देश्यीय सहकारीहरुलाई अबद्ध गराउने आगामी योजना रहेको जानकारी दिए ।
बहुउद्देश्यीय सहकारीहरु सुदृढ र गतिशील हुन आवश्यक रहेको बताउँदै उनले संघमा आयस्रोतको कमीका कारण समेत काम गर्न समस्या रहेको बताए । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै समेत आएको र संघको आयस्रोत बृद्धिका लागि सहकारी पसलसमेत सञ्चालन गरेको उनले जानकारी दिए । उनले राज्यको तिन खम्बे अर्थनीति मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको तर राज्य पक्षबाट भने आवश्यक सहयोग प्राप्त नभएको गुनासो गरे ।
अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा हेटौंडा–९, का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता थियो । साधारणसभामा बागमती प्रदेश बचत संघकी उपाध्यक्ष राधा सिन्तान, नारयणी बचत तथा ऋण सहकारीका अध्यक्ष जंगबहादुर गुरुङ्, शिवम सिमेन्टका क्षेत्रीय बिक्रि प्रबन्धक सनद गोतामेलगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा नारायणि बहुउदेश्यका उपाध्यक्ष रामचन्द्र दाहाललगायत संघका कार्यसमिति सदस्यहरु र विभिन्न बहुउदेश्यीय सहकारीहरुका प्रतिनिधिहरुको उपस्थिती थियो ।