मकवानपुर । मकवानपुरको हेटौंडा-१९ का जेनिश उप्रेतीले बाल गायन रियालिटी शो द भ्वाइस किड्सको पहिलो उपाधि जितेका छन् । शनिबार राति उप्रेतीले ग्रान्ड फिनालेमा ७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।
हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो । द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट १ सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो ।ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।
उप्रेतीसँगै फिनालेमा टीम प्रमोदकै रुक्सना लिम्बु, टीम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टीम प्रविशाबाट अनुजा कडरियार सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए ।
उप्रेतीले द भ्वाइस किड्सको पहिलो उपाधि जितेसँगै देशव्यापी रुपमा शुभकामनाहरु सामाजिक सञ्जालमा आइरहेका छन् । मकवानपुरेहरु प्रायले शुभकामना दिएका छन् ।
द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको थियाे । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्यटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गरेका थिए ।
जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको …..यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाएका थिए ।
को हुन् जेनिस
जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उनको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । उनका बाबु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् । ४ बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षको भए ।
सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आएका छन् । उनी चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका थिए ।
हेटौडामा जन्मेको २ बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर गएका थिए । त्यसपछि उनको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा उनले संगीतको कक्षा पनि लिएका थिए । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको ४ बर्ष भइसकेको छ । उनको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।

