मकवानपुर । मकवानपुर प्रहरीले सुन र चाँदीको गरगहनासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको सितामडी थाना परिहार पोष्ट अन्धौली ३ बिसनपुर बस्ने २२ वर्षीय सोलार साह भन्ने राजा साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
साहलाई बिहिबार ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएको २ लाख ५ हजार २ सय ६० रुपौयाँको सुन र ४ लाख ४० हजार ८ सय ६२ रुपैयाँ चाँदीको विभिन्न गरगहनासहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
विहीबार दिउँसो पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ८२४५ नम्वरको मोटरसाईकललाई हेटौंडा १५ राटोमाटे चेकपोष्टमा रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले साहको साथबाट तिलहरी, झुम्का, फुली, बाला, पाउँजु, सिक्री, ब्रासलेट, औठी, गणेश लक्ष्मीको मूर्ती, पाउजु लगायत गरी सुन २४ ग्रा. ०६२ मिलीग्राम र २ किलो १८ ग्राम चाँदी बरामद गरेको गरेकाे हाे ।
उक्त गरगहना फेला परेपछी साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको मकवानपुर प्रहरीले जनाइएको छ ।
मकवानपुर । स्तुती गुरागाईं ‘नवोदय स्टार अफ स्टार्स’ बनेकी छिन् । नवोदय शिशु सदनले आयोजना गरेको ‘नवोदय स्टार अफ स्टार्स’ २०७८ को उपाधि जित्दै स्तुती स्टार्स बनेकी हुन् । शुक्रबार भएको प्रतियोगितामा ९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी नवोदय स्टार अफ स्टार्स घोषित भएकी छिन् । स्टार्स घोषित भएकी उनलाई ट्रफी प्रदान गरिएको छ ।
नवोदय गायन स्टार, नवोदय नृत्य स्टार र नवोदय नाटक स्टारबाट उत्कृष्ट तीन छनौट भएका प्रतिस्पर्धीहरुले नवोदय स्टार अफ स्टार्स प्रतियोगितामा सहभागिता जनाएका हुन् । नवोदय गायन स्टारबाट उत्कृष्ट ३ मा आशुतोष पोखरेल, आयुष खरेल, चिराग डङ्गोल छनौट भएका थिए । यसैगरी नवोदय नृत्य स्टारबाट उत्कृष्ट तीनमा अपेक्षा विडारी, दर्शना सापकोटा, अस्मी घिमिरे, समीक्षा उप्रेती छनौट भएका थिए । नृत्य स्टारमा भोटिङ र निर्णायकको आधारमा अपेक्षा विडारी र समीक्षा उप्रेतीले समान अङ्क हासिल गरेका थिए । यसैगरी नवोदय नाटक स्टारमा स्वर्णिमा अधिकारी, स्तुती गुरागाईँ र प्रसिद्धि मिश्र उत्कृष्ट घोषित भएका थिए ।

कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालयले शिल्ड प्रदान गरेको थियो । क्रियटिभ आर्ट (सि.ए) का संयोजक प्रलय चौलागाईँको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगिता २०२२ मा प्रथम भई गोल्ड मेडल जित्न सफल सुशिला पाण्डे मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा तरङ्ग सांस्कृतिक परिषदका अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, गायिका सुनिता शर्मा लुईँटेल, गायक तथा सङ्गीतकार पूर्णविक्रम अधिकारी र कलिउड कला केन्द्रका सञ्चालक सुजन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले प्रतियोगिताले विद्यालयको प्रतिभा प्रस्फुटन हुने भएकाले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने बताए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराई, विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनाललगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएकाे छ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको बैठकबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हाे ।
जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुने । सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६:३० हुनेछ । मतदान प्रक्रिया फागुन १६ गते विहान ८ बजेबाट सुरु हुने उनले बताए ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो चुनावी प्यानल घोषणा गरेका छन् । लामिछानेले शुक्रबार हेटौंडामा उम्मेदवारी घाेषणा तथा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा आफ्नो उम्मेदवारी सहित अन्य पदाधिकारीको चुनावी प्यानल घोषणा गरेका हुन् । उनले आफ्नाे उम्मेदवारी संस्थापन इतर पक्षको तर्फबाट रहेकाे बताएका छन् ।
लामिछानेकाे चुनावी प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोलेले उम्मेदवारी दिने छन् । यसैगरी सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको लामिछानेले बताए । जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकी लगायत उम्मेदवार बनाउने तयारी रहेकाे बताइएकाे छ ।
कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, रामचन्द्र अर्याल ‘माइकल’, उमा दाहाललगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको फागुन १५ गते हुने अधिवेशनमा जिल्ला सभापति पदमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन तथा उम्मेदवारी घाेषणा कार्यक्रमकाे आयोजना गरी आफ्नो उम्मेदवारी घाेषणा गरे । उनले आफ्नाे उम्मेदवारी संस्थापन पक्षबाट रहेको दावी समेत गरेका छन् ।
पराजुलीले आफु सभापति पदमा विजयी भएमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, जनताको सुख दुःखमा साथ दिने र विकास निर्माणमा सधै लागि पर्ने प्रतिवद्धता जनाए । साथै उनले आफुलाई कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन रहेको दावी गरे ।
उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसका नेताहरु दामोदर खनाल, सुशान्त श्रेष्ठ, यतिराज सापकोटा, विश्वलाल लामा, राजवीर मोक्तान, प्रकाश बर्तौला, भूमिनन्द गौतमलगायत विभिन्न वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।

१४ बुँदे प्रतिबद्धता सार्वजनिक
शुक्रबार काँग्रेस मकवापुरको जिल्ला सभापतिकाे उम्मेदवार घाेषणा गरेका पराजुलीले १४ बँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै विहीबार प्रतिबद्धता सार्वजनिक गरेका हुन् । सभापति पदमा उम्मेदवार घाेषणा कार्यक्रममा उक्त प्रतिबद्धता पत्र समेत बाडिएकाे थियाे ।
पराजुलीले सार्वजनिक गरेकाे प्रतिवद्धता पत्रमा एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री काँंग्रेस निर्माण छन् । यसैगरी प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, काँग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख छ ।
पराजुलीले आफू सभापति हुँदा आर्थिक समृद्धिको लागि सुदृढ सुशासन, एकता समन्वय र सहकार्यका लागि लचकता सहितको अभियान र संगठन सुदृढिकरणका लागि विकास अभियान संचालन गरिने समेत प्रतिवद्धतामा दाबी गरेका छन् ।
जिल्लाको कुनाकन्दरासम्म पुगेर कार्यकर्तामाझ लोकप्रिय देखिएका उनले आफु सभापतिमा निर्वाचित भएपछि जिल्लामा गुटरहित पार्टी बनाएर सबैलाई एकबद्ध बनाउन जोड दिने समेत बताए ।