मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा दलहरु निर्वाचन प्रचारप्रसार र घरदैलाे अभियानमा छन् । दलका उम्मेदवारहरु घरदैलाे अभियान सँगै मतदाता शिक्षा समेत दिइरहेका छन् । निर्वाचनकाे मिति नजिकिएसँगै हेटाैडा उपमहानगरपालिका समेत उम्मेदवारहरु घरदैलाे अभियानसँगै मतदाता शिक्षा पनि दिदै आएका आएका छन् ।
हेटाैडा ५ काे नेकपा एमालेका उम्मेदवारहरुले पहिलाे चरणकाे घरदैलाे अभियान सकाएर मतदाता शिक्षा दिन थालेका छन् । देशमा संघीयता कार्यान्वयनमा आए पछी दोस्रो पटक हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा नेताहरु आअफ्नो चुनावी एजेन्डा बोकेर जनताको घर दैलोमा प्रचारप्रसारमा केन्द्रित रहेका छन् । चुनावी अभियान अन्तरगतको पहिलो चरणको घरदैलो अभियान सकेर उम्मेदवारहरुनै मतदाता शिक्षा दिदै टोलटोलमा जनताको घरदैलोमा पुगेका छन् ।
घरदैलाे अभियान सकाएर मतदाता शिक्षा दिन एमालेका उम्मेदवार ५ नम्बर वडाका टाेल टोलमा पुगेर मतदातालाई मतदाता शिक्षा कार्यक्रमलाई तीव्रताका साथ शुक्रवारबाट अघि वढाएका छन । बदर मत कम गर्नका लागि ५ नम्वर वडा एमालेका नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने शिक्षा दिदै आएका छन । शुक्रबार ५ नम्बर वडाकाे दक्षिणकाली टोल , महादेव टोल लगायतका वडा भित्र रहेका विभिन्न टोलहरुमा उम्मेदवारहरु स्वयम् उपस्थित भई मतदाता शिक्षा दिन सुरु गरिएकाे ५ नम्वर एमालेका वडाअध्यक्ष उम्मेद्वार सुसिल घिमिरेले बताए ।
‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुदैन, कतिपय स्थितिमा मतपत्र पट्याउन नआउँदा पनि मतपत्र बदर हुने संभावना रहन्छ’ उम्मेदवार घिमिरेले भने– ५ बर्षमा १ पटक हुने निर्वाचनमा आफूले पाएको आधिकारको सही प्रयोग गर्न सिकाउनु हाम्रो दायित्व भएकोले मतदाता शिक्षालाई प्राथमिकतामा राखिएकाे हाे ।’ ‘विहीवार आफ्नो वडामा पहिलाे चरणकाे घरदैलो कार्यक्रम सकिएकाे छ, आजबाट मतदाता शिक्षालाई प्राथमिकता दिने अभियानमा छाै ।’
यो अभियान सँगै घरदैलो अभियानको क्रममा छुटेका मतदाताहरुकाे मा पुग्ने कार्यक्रम रहेकाे उनले बताए । एमालेबाट ५ नम्बर वडामा सुशील घिमिरे अध्यक्ष सहित सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल, भगवती बि.क.चुनावी मैदानमा रहेका छन् ।
मकवानपुर । मकवानपुरमा शनिबारदेखि चुनावी माइकिङ गर्न र सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । यसैगरि बैठकले सार्वजनिक सवारीसाधनमा झण्डाको प्रयोग गर्न समेत रोक लगाउने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन मिति नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरका आकाक्षि अधिकारीलाई पार्टी अन्तिम समयमा आएर पन्छाउंदै दीपक बहादुर सिंहलाई मेयरको उम्मेदवार बनाएपछी उनी रुस्ट भएका थिए ।
विगतमा राप्रपामा कृयाशिल भई जीवनका उर्जाशिल समय ब्यतित गरेको उल्लेख गर्दै अधिकारीले भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो नरहने बताएका छन् । उनी ३२ बर्ष राप्रपामा सक्रिय भएर काम गरेका नेता हुन ।
यस्तो छ विज्ञप्तीको पुर्णपाठ:
पार्टी स्थापनाकाल देखीको ३२ बर्ष राप्रपालाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनबरत रुपमा रगत पसिना बगाईरहे । सकेको बल,बुद्धि,श्रम,सीप लगाईरहे । आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी परि गरिरहे । निष्ठा,सिद्धान्तलाई केन्द्रमा राखिराखे ।पार्टिमा बिभिन्न उतारचढाव आयो,शंधर्ष र कठिन दिनहरू पार गरे।यो बिचमा पार्टि सुन्य अवस्थामा पुग्यो यस्तो कठिन, असहज र चुनौतीपुर्ण अवस्थामा पनि पार्टीलाइ स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढे। पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भैरहे । पार्टीलाई विधि र प्रद्धतीमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो ३ दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको ईमान्दारिता, नैतिकता र जनताको स्नेह हो। मैले आफ्नो राजनैतिक जिवन भरी निष्ठाको राजनिती गरे कुनै लाभको पदमा बसेर फाईदा लिएको थाहा छैन, बरू सधै कठिन परिस्थितिमा दुख कष्ट गरे। तर पार्टी भित्र “काम गर्ने कालू, मकै खाने भालु” प्रवृत्ति मौलायो। पछिल्लो समय अनुकुलताको राजनिती , मौसमी राजनीति, सामन्ती र सर्बसत्ताबादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । तेहि प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो। नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शिर्ष नेताको निर्णय अदुरदर्शि, अपरिपक्व र अन्यायपुर्ण देखियो । नेतृत्वले गर्ने मुल्य,मान्यता र आदर्शको कुरा ढोङ्ग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मुल्यांकन त परै जावोस् , उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारको रुपमा प्रयोग भयो ।कस्ले दुख गरेको छ,कस्ले मेहनत गरेको छ,हेक्का राख्न नसक्ने लाचार निरिह नेतृत्व संग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरि काम गर्न सक्छ? राप्रपा भित्र योगदान दिने व्यक्तिको मुल्यांकन नहुने, र पछिल्लो समयमा काहिकतै भुमिका निर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्वीकार्य छ। सधै कठिन घडीमा पार्टीलाइ थाम्ने काम गरे तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावि भयो। पछिल्लो कालखण्डमा पार्टीमा योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भएर एउटा भुमिका बनाएको व्यक्तिको मान मर्दन गरियो। हामीले बनाएको जग र मेहेनतलाई अवमूल्यन गरियो। अराजक र अवसरवादीहरूले भोलि पार्टीलाई नै आफनो स्वार्थ पुर्तिको लागि जे पनि गर्न सक्ने सम्भावना टडकारो छ। पार्टी नेतृत्व पनि त्यस्मा संलग्न भयको देखिन्छ। यसले एउटा स्वाभिमानी राजनितीक ब्यक्तिको निष्ठा र आत्मसम्मान माथी गम्भीर प्रश्न उठाएको छ । अपमानित ,अपहेलित भएर स्वाभिमान माथी प्रश्न उठिसकेको अबस्थामा पनि अन्यायको विरुद्धमा बिद्रोह नगरि निरीह भई त्यसकै साक्षि बस्नलाई यो आत्माले स्वीकृत दिएन । अन्यायको विरुद्धमा सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु । मेरो निर्णय सहि या गलत भन्ने निर्क्यौल भबिष्यलाई छोडेको छु । यसलाई अबसर नपाउदाको पीडा वा रोदनको रुपमा मात्रै नबुझियोस् । मेरा यी भनाई कुनै आग्रह वा पुर्बाग्रह प्रेरित छैनन् । मेरो कोहि कसै प्रती कलुशित भावना थियन, छैन र कहिल्यै रहदैन पनि । राप्रपाको बिचार बोकेका कारण तिरस्कृत भएको अपहेलित भएको मात्र होइन मृत्यु सङ्ग नजिकै पुगेको त्यो कारुणिक दृश्य अहिले सम्झिदा भावुक हुन्छु । राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भाबी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथिहरु सङ्ग नजिक भए। माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिन हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार भगवती बिकसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
म दलित समूदायको प्रतिनिधित्व गरेर वडा सदस्यको रुपमा उठेको छु । अघिल्लो कार्यकाल पनि मैले यही समुदायबाट निर्वाचन जितेको थिए । वडावासीलाई अघिल्लो मौकाको लागि हाद्र्धिक धन्यवाद । मैले अघिल्लो कार्यकालमा पनि सकेको काम गरेको छु, यो कुरा वडावासीहरु जानकार नै हुनुहुन्छ ।
तर मैले जुन समुदायको प्रतिनिधित्व गरेर गएँ, त्यो समूदायमा धेरै कामहरु बाँकी नै छन् । हाम्रो वडाको दलित समूदायमा अझै सशत्तिकरणको काम भएकै छैन । वडाले दिने सेवा सुविधा लिन आउनुहोस् भन्दा समेत वडामा आउन सक्ने हुनुहुन्न उहाँहरु । सेवा लिन झण्झटिलो छ बरु नलिने भनेर पछि हट्नुहुन्छ दलित समूदायका व्यक्तिहरु उहाँहरुलाई उहाँहरु बस्नुभएकै टोलबाट सशक्त बनाउनु जरुरी देखेको छु मैले ।
हामी स्थानीय सरकारमा वडाको प्रतिनिधि सबैभन्दा नजिक छौ, तर दलित समूदाय वडैसम्म पनि पहुँच छैन, अब हाम्रो टीम ले जितेर आएपछि दलित समूदायलाई उहाँहरुकै घरघर र आँगनमा सेवा प्रदान गर्ने छौ । उहाँहरुको आवाजलाई स्थानीय सरकारको हैसियतले सम्बोधन गर्ने छौ । सरकारले प्रदान गरेको समाजिक सुरक्षाको सेवा लिनदेखि उहाँहरुको सामाजिक हैसियत उकास्नको लागि म र मेरो टीम लाग्ने छ ।
यि त भए दलित समूदायको कुरा ।
नेकपा एमालेले उठाएको हाम्रो टीमले जितेर आएपछि हामीले यो ५ वर्षको कार्यकालमा के के गर्ने भनेर योजना बनाएका छौ, हामी ति सबै योजनाहरु क्रमैसँग पुरा गर्दै जाने छौ । महिला तथा बालबालिकाको लागि पनि हामीले दीर्घकालीन योजनाहरु बनाएका छौ । महिलालाई उद्यमशिलता प्रवद्र्धनका लागि विभिन्न ब्यवसायिक तथा सिपमुलक तालिमहरु प्रदान गर्ने र घरेलु उद्यमको विकास गर्ने योजनाहरु छन् । महिलाहरुबाट उत्पादित सामग्रिहरु विक्रि वितरणको उपयुक्त ब्यवस्था गर्न सहजीकरण गरिने, उद्यमि महिलाहरुको अनुभव आदानप्रदान तथा अभिप्रेरणा कार्यक्रम संचालन गरि अन्य महिलाहरुलाई व्यवसायमा जोडिन प्रेरित गरिनेछ ।
किशोरीहरुलाई किशोरी शिक्षा तथा जीवन उपयोगी सिप विकास कार्यक्रम संचालन गरिनेछ । साथै, सेल्फ डिफेन्स तालिमहरु प्रदान गरिनेछ । निरक्षर वा अर्ध साक्षर महिलाहरुलाई साक्षरता कक्षा संचालन गरी पुर्ण साक्षर बनाईनेछ । यसैगरी यस वडालाई बाल श्रममुक्त क्षेत्र बनाईनेछ । यस वडामा निर्माण गरिने हरेक पुर्वाधारहरु बालबालिका र अपाङग मैत्री बनाउने हाम्रो टीमको योजना छ ।

वडावासीलाई हाम्रोलाई माया गरेर मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाललाई जिताइदिनु हुन मेरो अनुरोध छ ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिन हामीले म बनाउँछु मेरो वडा / पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार रामबहादुर राईसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
सबैभन्दा पहिले वडावासी सबैमा मेरो नमन छ । म यसअघि पनि सामाजिक काममा थिए । फेरी पनि सामाजिक कामको नेतृत्व गर्न अभिलाषा बोकेर वडावासीको माझमा आएको छु । नेकपा एमालेबाट उम्मेदवार रहेको हाम्रो टीमलाई वडावासीमा न्यायो साथ छंदै छ, अझै साथको अपेक्षा राखेका छौ । घरदैलोको क्रममा धेरै राम्रो समर्थन गर्नु भएको छ, जसले हामीलाई थप उत्साही बनाएका छ ।
नेकपा एमाले हेटौंडा ५ ले जनताको न्यानो माया, अमुल्य साथ र सहयोगको अपेक्षा राखेको छ । हाम्रो टीमले जनताको दैनिकीसँग प्रत्यक्षरुपमा जोडिएको सवाललाई लिएर निर्वाचनको लागि मैदानमा आएका छौ । स्थानीय सरकारको आधारभुत तहमा रहेको राजनीतिक तथा प्रशासनिक ईकाईमा हामीले नेतृत्व गर्दा वडावासीलाई यही वडाको वासिन्दा भएको गौरव गर्न लायक हामी बनाउने छौ । यस वडाको समग्र विकास प्रतिको दृष्टिकोण र आगामि पाँच वर्षका लागि हाम्रो टीमले के गर्ने भन्नेबारेको नीति, कार्यक्रम र योजना समेटेर हामीले हाम्रो संकल्प बारे वडावासीलाई जानकारी गराएका छौ ।
वडाको नमुना स्कल बालज्योति मा।विलाई प्रविधि मैत्री बनाउने योजना हामीले ल्याएका छौ । यो स्कुलमा स्थानीय आवश्यकता र विद्यार्थीको रुचि संम्भाव्यता अध्ययन गरी दश जोड दुई (प्लस टु) संचालन गरिनेछ । यहाँ अध्ययन गर्दै आएका दृष्टिविहिन विद्यार्थीहरुको आवासीय भवन, बर्षाको समयमा हुने डुबानको समस्यालाई हामीले समाधानको योजना बनाएका छौ ।
खेलकुद, संगित, कलाकारिता लगायतका विषयहरुमा प्रतिभा भएका विद्यार्थीको रोष्टर अनुसार उनीहरुका लागि उपयुक्त तालिम, क्षमता अनुसारको कार्यक्रम ल्याउने छौ ।
यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजनाहरु छन् । युवा तथा खेलकुदका कार्यक्रहरु छन् । वडाका युवाहरूलाई रोजगारीसंग जोड्न प्राविधिक तालिमहरुको योजनाहरु छन् । तालिम प्राप्त युवाहरुलाई रोजगारीसंग जोड्न वडा कार्यालयमा रोजगार समन्वय डेक्सको स्थापना गरिनेछ ।
युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम, आधारभुत संचारसीप विकास तालिम, आत्मविश्वास तथा क्षमता विकासका तालिमहरु आयोजनामा छन् । युवाहरुलाई लागुऔषध दुर्व्यसनीबाट टाढा राख्न सचेतनात्मक अभियान संचालन गरिनेछ । वडाको भाषा, कला, संस्कृतिको संरक्षण, विभिन्न सचेतनात्मक अभियान, राष्ट्रिय भावनाको जागृति, मानवीय मुल्य, सदाचार र नैतिकताको प्रवर्ध्दन गरिने कार्यक्रमहरु हाम्रो योजनामा छन् ।

वडावासीलाई मेरो विनम्र अनुरोध हाम्रो टीमलाई एक चान्स दिनुहोस् हामीले यहाँहरुकै सल्लाह, सुझाव अनुसार काम गर्ने छौ । हाम्रो घर अर्थात वडालाई नमुना वडा बनाउने छौं । आशा छ यहाँहरुले अमुल्य मतदानले हामीलाई नेतृत्वमा पुर्याउने छ र हामीले यहाँहरुसँगै वडाको समृद्धिको लागि मेहनत गर्न पाउने छौं । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु ज्ञानबहादुर थापा, रञ्जिता सिलवाल र भगवती बिकलाई जिताइदिनु हुन मेरो अनुरोध छ ।