मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा एमालेका देबकृष्ण पुडासैनी बिजयी भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे । कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए ।
उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरिन् । उनले ३ हजार ७२५ मत पाइन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन् ।
मकवानपुर । नेपाल विवेकशील पार्टीले मकवानपुर हेटौडा उपमहानगरपालिका १७ को मतदान केन्द्र सरसफाइ गरेको छ। विवेकशीलले हेटौंडा १७ स्थित लक्ष्मी आधारभूत विद्यालय मतदान केन्द्र सरसफाइ गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष नवीन विष्टको नेतृत्वमा नेपाल विवेकशील पार्टीका हेटौंडा १७ का उम्मेदवारहरू र सदस्यहरूको सहभागितामा मतदान केन्द्र सरसफाइ गरेको हो । लक्ष्मी आधारभूत विद्यालय मतदान केन्द्रमा रहेको पानीको बोतल र प्लास्टिकजन्य पदार्थ ८ बोरा संकलन गरेको गरेको अध्यक्ष बिष्टले बताए ।
सानो काम, ठूलो परिणाम (Small ACT, Big IMPACT) भन्ने नाराका साथ नेपाल विवेकशील पार्टीले सफाइ कार्य गरेको हो। “आज लक्ष्मी आधारभूत विद्यालयमा गरेको कामको निरन्तरता दिनेछौं। यस कार्यबाट प्रेरित भएर देशैभरका सबै टोलका युवाहरू सरसफाइ लगायतका अन्य सामाजिक काममा लाग्न आग्रह गर्दछु।” अध्यक्ष विष्टले भने।
सफाइ कार्यमा विद्यालयका सहयोगी अर्जुन चापागाईंले सहयोग गरेका थिए।

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् ।
उनले गठवन्धन तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरि विजयी हुँदा उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५ हजर २ सय ९ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गर्दा एमालेकी पार्वती रानाले ५ हजार २ सय ९९ प्राप्त गरिन ।
राना १६ मतान्तरले पराजित भएकी छन् । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।
यसैगरी भीमफेदीको वडा नम्बर १ को वडा अध्यक्षमा काग्रेस, २ को वडा अध्यक्षमा एमाले, ३ को वडा अध्यक्षमा माओवादी, ४ को अध्यक्षमा एमाले, ५ को वडा एमाले, ६ को वडा अध्यक्षमा काग्रेस, ७ को वडा अध्यक्षमा काग्रेस, ८ को वडा अध्यक्षमा एमाले र ९ को अध्यक्षमा एमाले विजयी भएका छन ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नंबर ५ मा नेकपा एमाले विजयी भएको छ ।
थाहा ५ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार विष्णु बहादुर गुरुङ विजयी भएका हुन् ।
उनले नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेद्वार मान सिंह दोङलाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङ २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य भइरहेकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको ३६ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ ।
हालसम्म मतगणना सम्पन्न भएको ३६ वटा वडामध्ये नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । मकवानपुरमा माओवादीले १० वटा र एमालेले ७ वटा वडामा विजयी भएको छ । कांग्रेसले भीमफेदी, मनहरी, कैलाश राक्सिराङमा ३/३ वटा वडा, इन्द्रसरोबर, गढी, वकैया गाउँपालिकामा २/२ वटा र हेटौंडाको एउटा वडामा जितेको छ ।
माओवादीले थाहा नगरपालिकामा चारवटा, वकैयामा २ र भीमफेदी, कैलाश, राक्सिराङ र वागमतीमा एउटा/एउटा वडामा विजयी भएको छ । एमालेले भीमफेदीमा ३, इन्द्रसरोबरमा २, कैलाश र राक्सिराङमा १ वडामा जित हात पारेको छ । जिल्लाको दशवटा स्थानीय तहमध्ये नौवटामा सत्तारुढ गठबन्धन र इन्द्रसरोबरमा एमालेले प्रमुखमा अग्रता कायम गरेको छ ।