मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नव निर्वाचित जनप्रतिनिधिलाई जनताको दुख बुझेर काम गर्न निर्देशन दिएका छन् ।
स्थानीय तहको आवश्यकता अनुसार बनेका कानुन आँफैले कति कार्यान्वयन गरियो भनेर समिक्षा गर्न उनले आग्रह गरे । “पुरानाले के गर्नु भयो, अब तपाईंहरूले कानुन बनाउनु अघि घनिभुत छलफल गर्नुस् अनि बनेको कानुन अक्षरस कार्यान्वयन गर्नुस्” उनले भने । कानुन नबनाई शासन गर्छु भन्नु छाडा हुनु भएको उल्लेख्य गर्दै मुख्यमन्त्री पाण्डेले भने “कानुन बनाउनुस र पुरापुर कार्यान्वयन गर्नुस् ।”
“संघ सुन्ने सरकार हो, प्रदेश नजिक छ भन्ने सरकार हो, स्थानीय सरकार जनताले काखमा टाउको राखेर रूने सरकार हो, जनमुखी हुनुपर्छ । चुनावमा जे पनि गर्छु भन्ने,अनि ब्याक हुने काम नगर्नुहोस्” उनले भने “केन्द्रले नदेखेको कुरा तपाईंले देख्नु पर्छ ।”
बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन । भौतिक पुर्वाधारको विकासमा मात्रै ध्यान केन्द्रित नगरि सामाजिक विकासमा पनि लागिपर्न उनले आग्रह गरे । “मानवीय विकास भयो कि भएन, व्यवस्था बदलियो कि छैन त्यो हेर्नुस्” उनले भने ” हिजो बनेको कानुन जनताको पक्षमा छ भने जसले बनाको भएपनि कार्यान्वयन गर्नुस् ।”
संविधानको मर्म अनुसार काम गर्न उनले आग्रह गरे । “डोजरे विकासबाट बाहिर आएर एकल महिला, लोपोन्मुख, सीमान्तकृत जातिको लागि के गर्नु भयो, के गर्दै हुनुहुन्छ ध्यान दिनुस्, अब आउने बजेट मै यो कुरा ध्यान दिनुस् । बागमती प्रदेश स्थानीय सरकारसंगसंगै हिड्न चाहन्छ ” उनले भने ।
प्रदेशको ११२१ वडामा प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम ल्याउँन लागेको बताउँदै मुख्यमन्त्री पाण्डेले जातीय, धार्मिक विभेदको अन्त्य गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।
शहरको फोहोरको बैज्ञानिक व्यवस्थापन गर्नमा दीर्घकालीन कार्यक्रम बनाउन उनले आग्रह गरे । जनचेतनाको सवालमा पनि चासो र चिन्तन राख्न उनले आग्रह गरे ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापना गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने भएको छ । पुस्तकालय अभियान समूह मकवानपुरले अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार उपमहानगरपालिकाकै सभाहलमा आयोजना गरेको कार्यक्रममा सहभागी नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरुले पुस्तकालय स्थापनाका लागि बजेट विनियोजन गर्न सहमति जनाएका हुन् ।
पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि सञ्चालित अभियानको विषयमा जानकारी गराउँदै नगर प्रमुख र उपप्रमुखलाई अनुरोध पत्र समेत बुझाएको छ । पुस्तकालय अभियान समूहका सदस्य निमेष निखिल र प्रतिमा श्रेष्ठले नगर प्रमुख र उपप्रमुखलाई अनुरोधपत्र बुझाएको हो । पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले अभियानका बारेमा जानकारी गराएका थिए । सचेत र जागरुक नागरिक समाज निर्माणका लागि पुस्तकालयको आवश्यकता महसुस गरी अभियान नै सञ्चालन गरिएको र अब स्थानीय सरकारले पुस्तकालय अभियानको विस्तार र विकासमा ध्यान दिनुपर्ने श्रेष्ठले बताए । स्थानीय सरकारले पुस्तकालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन नै बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले सुझाव समेत दिएका छन् ।
अनुरोधपत्र बुझेपछि नगरप्रमुख मीना कुमारी लामाले पुस्तकालय स्थापना र सञ्चालनका लागि नागरिकस्तरबाट आएको प्रस्ताव महत्वपूर्ण रहेको बताउँदै पुस्तकालय स्थापनाको योजनालाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर कार्यान्वयन गरिने बताइन् । पुस्तकालय सञ्चालन र व्यवस्थापन गर्नु जटिल विषय भएको औँल्याउनुहुँदै नगरप्रमुख लामाले पुस्तकालय अभियान समूहसँगको सहकार्य र समन्वयमा नगरका सबै वडामा पुस्तकालय स्थापना गरिने प्रतिवद्धता व्यक्त गरिन् ।
नगर उपप्रमुख राजेश बानियाँले सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुहुँदै इतिहास जान्न पढ्नुको विकल्प नभएको र पढ्नका लागि पुस्तकालय आवश्यक भएको बताए । बानियाँले हाम्रो समाजमा अध्ययन संस्कृति नभएको स्वीकार गरदै धन भए ज्ञान चाहिँदैन भन्नेको बाहुल्य भएको समाजमा अब परिवर्तन जरुरी रहेको बताए । वडा अध्यक्षहरुको तर्फबाट १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले सकारात्मक सोँचको विकास गर्न पुस्तकालय आवश्यक भएको बताए । उनले हरेक वडाले पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने बताए ।
एक वर्षको अवधिमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लामा १२ वटा तथा बारा र रौहतटमा एक/एक वटा गरी कुल १४ वटा पुस्तकालय स्थापना गरिसकेको छ । आगामी दिनमा पनि पुस्तकालय स्थापना गरी पठन संस्कृतिको विकास गरिने पुस्तकालय अभियान समूहका सदस्य सुशील राज गिरीले जानकारी दिए । पुस्तकालय अभियान समूहले २०७८ साल जेठ २९ गते पहिलो पुस्तकालय स्थापना गरेको एक वर्ष पूरा भएको दिन मकवानपुरको भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा अभियानअन्तर्गत नै स्थापित पुस्तकालयहरुले पनि स्थानीय सरकारसँग पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धमा छलफल गरेको छ ।

मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालले आयाेजना गरेकाे प्रथम राष्ट्रिय बालसाहित्य उत्सवमा ८ जना स्रष्टा सम्मानित भएका छन् । नवसर्जक साहित्य चौतारीले शनिबार हेटौंडामा आयोजना गरेको बालसाहित्य उत्सवको अवसरमा ८ जना स्रष्टालाई सम्मान गरिएको हो ।
१५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधान सम्मानित भएका छन् । यस्तै प्रदेश–१ नवसर्जक सम्मान–२०७९ बाट अन्वेषा चापागाई, मधेस प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अभिजित राम, बागमती प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुज्ञा नेपाल सम्मानित भएका छन् ।
यसैगरी गण्डकी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुराग सापकोटा, लुम्बनी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट पवन अधिकारी, कर्णाली प्रदेश नवसर्जक सम्मान–२०७९ बाट नवीन पाण्डे, सुुदुरपश्चिम प्रदेश नवसर्जक सम्मान–२०७९ बाट ऋष्टिना करिया प्रधान थारुलाई सम्मान गरिएको छ । जनही ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमूख प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । रमेशमोहन अधिकारी, विष्णुप्रसाद न्यौपाने, डिबी बर्तौला, पत्रकार सुरेश श्रेष्ठ, अर्चना दाहाल जयन्ती आचार्य, ओमकुमारी बन्जारा रानाभाट, रुबिना शर्मा, प्रभा पौडेल, पुस्कल नेपाल, सञ्जय साह, जागेश्वर नेपाल, अजमत अली अन्सारीको निर्णयबाट उक्त सम्मानबाट स्रष्टाहरुलाई सम्मान गरेका हुन् ।
नवसर्जक साहित्य चौतारी स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा गत पुसमा आयोजना गर्ने योजना बनाइएको कार्यक्रम कोभिडको दोस्रो लहरसँगै स्थगित गरिएको थियो । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट मुख्य प्रायोजक रहेको कार्यक्रममा प्याब्सन मकवानपुर र हेटौँडा नगर समितिकाे सहकार्य रहेकाे छ ।
मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार १ गरी २ जनाको मृत्यु भएको छ।
केहिबेर अघि हेटौंडा आउदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका हेटौंडा-९ का ५५ बर्षीय इश्वर तामाङ्ग र २६ बर्षिया अमिना तामाङ्गको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको क्रममा हेटौंडा अस्पतालमा ल्याईएकोमा अस्पतालले मृत्यु घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १७ मा अंगारेश्वर टोलविकास समिति गठन गरिएको छ। हेटौंडा १७ स्थित ठूलोगंगटेमा स्थानीय समाजसेवी ईश्वर बहादुर बिष्टको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले सिताराम वाइबा (सुरज)को अध्यक्षतामा टोलविकास समिति गठन गरेको हो।
वडा नं १७ का अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत भैरव बहादुर कुमालको विशेष आतिथ्यतामा भएको भेलाले वाइबाकाे अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकाे हाे । १३ सदस्यीय अंगारेश्वर टोविस उपाध्यक्षमा रमा खड्का, कोषाध्यक्ष विणा दाहाल, सचिव सन्तोषी खड्का, सह-सचिव राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
यसैगरी समिति सदस्यहरूमा उमेश गोन्बा, सन्तबहादुर विश्वकर्मा, शारदा अधिकारी, सीता दाहाल, अनिता भुजेल, अर्चना पुडासैनी (थापा), सेती कुमारी गोन्बा र गोमा तिमल्सिना रहेका छन् । कृष्णदेव भण्डारीले सञ्चालन गरेको भेलामा भैरव बहादुर कुमालले हेटौंडामा टोलविकास समितिको इतिहास, यसको उद्देश्य, महत्व र समितिले गर्नुपर्ने कार्यहरू बारेमा जानकारी गराएका थिए ।