मकवानपुर । मकवानपुरकाे हेटौंडा ११ थानाभर्याङमा सुरक्षाजाँचका लागि खटिएका ट्राफिक प्रहरीलाई घाइते बनाएर भागेको कारसहित चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार राजमार्गमा सुरक्षाजाँचका लागि हेटौँडा–११, थानाभ¥याङस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि जाँचका लागि खटिएको प्रहरीसँग भाग्ने क्रममा कारको सिसामा अल्झिएर झण्डै १० मिटर टाढासम्म प्रहरी जवानलाई घिसारेको प्रहरीको भनाइ छ । मापसे जाँच गर्ने ब्रेथलाइजर पनि कारमै छुटेको थियो ।
नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको कारका चालकको मापसे जाँच गर्न खोज्दा भागेको कारलाई प्रहरीले शुक्रबार चितवन जिल्लाको भरतपुर महानगरबाट बा ६ च ८४०९ नम्बरको कार र चालक हेटौँडा–५, गर्दोइ बस्ने ४६ वर्षीय बासुदेव आचार्यलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले आचार्यको साथबाट ब्रेथलाइजर मेसिन पनि बरामद भएको छ । प्रहरीले आचार्यलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली सार्वजनिक गरिएकाे छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने पर्या कविता प्रतियोगिताकाे लागि मंगलबार सङ्गमले १० वटा कविता र कविको नामावली प्रकाशन गरेको हो ।
प्रतियोगिताका लागि १ सय ६४ वटा कविता प्राप्त भएकाे मध्ये अन्तिम चरणको प्रतियोगिताका लागि १० वटा कविता छनोट गरिएकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई प्रोत्साहन स्वरुप समान ५/५ हजार रुपैयाँ प्रदान गरिने छ ।
अन्तिम चरणमा छानिएका कविहरुले प्रतियोगितामा भाग लिने छन् । वाचनका लागि छनोट भएका कवि तथा कविताहरुमा मकवानपुरका किशन पौडेलकाे दोहन र सुवास सजलकाे मौनधारण रहेका छन् । यसैगरी सुनसरीका किरन सिवाकाे मौन प्रकृती, तनहुँका नरोत्तम श्रेष्ठकाे विउकाे रक्तिम घोषणापत्र, सिन्धुलीका निरुपम श्रेष्ठकाे हरियाे विद्राेह, कास्कीका मदन घिमिरेकाे एक आरोहीकाे डायरी, कैलालीका मोहित जोशी समयकाे अन्त्यकाे किनारमा उभिएर, काठमाडौंका यशोदा अधिकारीकाे धर्तीकाे विघटन, धादिङका राजु झल्लुप्रसादकाे तर र लमजुङका सुरेशचन्द्र घिमिरेको प्रकृति र जीवन कविता छनोट भएकाे हो ।
उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुबीच पुस २६ गते अन्तिम चरणको प्रतियोगिता हेटौंडामा हुने संगमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनाेज पोखरेलले बताए ।
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले एकै मञ्चमा ६ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे छ । मातृभूमिले मकवानपुरकाे हेटौंडामा पुष १९ गते शनिबार ‘स्रष्टा सम्मान, परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएकाे हाे ।
मकवानपुर श्री सम्मान, २०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावती सुमार्गी पराजुली सम्मानित हुने भएकी छिन् । यसैगरी मातृभूमि राष्ट्रिय पुरस्कार, २०८१ बाट साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम सम्मानित हुने भंएका छन् । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार गौतमलाई प्रदान गर्न लागिएकाे समाजका सचिव किशन पौडेलले बताए ।
यसैगरी नित्य गोविन्द स्मृति-मातृभूमि सङ्गीत पुरस्कार, २०८१ गायिका कुन्ती मोक्तानलाई सम्मानित गरिने भएकाे छ । २५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार नेपाली सुगम संगीतकी सुप्रसिद्ध गायिका मोक्तानलाई प्रदान गरिने पौडेलले जानकारी दिए । यस्तै २१ हजार रुपैयाँ राशीकाे मायादेवी मातृभूमि पुरस्कार, २०८१ नियात्राकार भवानी खतिवडा, १५ हजार रुपैयाँ राशीकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०८१ बाट युवा कवि रोशन परियार तथा १० हजार रुपैयाँ राशीकाे शारदा उप्रेती स्मृति मातृभूमि सम्मान २०८१ बाट कला-साधक जीवन के.सी. सम्मानित हुने उनले जानकारी दिए ।
सचिव पौडेलका अनुसार समाजले आगामी शनिबार सम्मानसहित नारी स्रष्टा र सिर्जना परिसंवाद तथा नारी स्रष्ट्रा विशेष रचना वाचन कार्यक्रम समेत गर्नेछ । नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएकाे मातृभूमि साहित्य समाजले विभिन्न विधामा १७ वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आइरहेको छ ।
मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिध सभा निर्वाचनकाे लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुरकाे २ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारकाे नाम सिफारिस गर्दा विरोध खतिवडाकाे नाम दुवै तिर अटाएकाे छ ।
जिल्लाकाे क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ सिफारिस भएकामा पुराना नेता खतिवडा, संविधान सभा सदस्य प्रल्हाद लामिछाने, युवा नेता विजय गौतमसम्म छन् । वाम घटकहरुकाे एकतामा नेकपामा समेटिएका खतिवडाले विगतमा पटक पटक सांसदमा प्रतिनिधित्व गरेका छन् । यसैगरी विद्यार्थी राजनीतिबाट आएका गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्।
क्षेत्र नम्बर १ बाट वहालवाला जनप्रतिनिधि सहित १३ जनाकाे नाम आगामी निर्वाचनकाे लागि उम्मेदवार सिफारिसमा परेका छन् । सिफारिस हुनेमा खतिवडा, गौतम र लामिछानेसहित घनप्रसाद गौतम, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ रहेका छन्। सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान रहेका छन्।
त्यसैगरी पुर्व सांसद खतिवडाको नाम क्षेत्र नम्बर २ बाट पनि सिफारिसमा परेकाे छ। मकवानपुर २ बाट वहालवाला जनप्रतिनिधिसहित ८ जनाको नाम उम्मेदवारमा सिफारिस गरिएकाे छ । खतिवडासहित रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती , किशोर बर्तौलाको नाम सिफारिस छ। त्यस्तै सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम् थिङ् रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान सिफारिस भएका छन्। समानुपातिक तर्फकै विभिन्न क्लस्टर अन्तर्गत सिफारिस हुनेमा कृष्ण चेपाङ , रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरे रहेका छन्।
मकवानपुर । जेसीआई हेटौंडा वर्ष २०२६ अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीआई हेटौंडा शाखाकाे शनिबार नेतृत्व चयनका लागि भएको निर्वाचनमा पराजुलीकाे प्यानल नै विजयी भएकाे हाे ।
शनिबारकाे अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई २९ मत अन्तर पराजित गर्दै पराजुली विजयी भएका हुन् । पराजुलीले १ सय ७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ७८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल १ सय ८७ मत खसेकोमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसँगै पराजुलीको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्षमा विवेक बानिँया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्मअनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीआई हेटौंडालाई थप उचाइमा पुर्याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।
जेसीआईले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्दै आएकाे छ ।