मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको बताएकाे छ । पार्टीले निर्वाचनमा अन्तरघात भएकाे प्रमाण भेटिए कारबाही गरिने समेत बताएको छ ।
पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित भएकाे समाचार आधारहीन कुरामा विश्वास नगर्न पार्टी र गठबन्धका नेता कार्यकर्तामा आग्रह गरेको हो । विशेष गरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीमाथि गठबन्धन दल र पार्टीबाटै अन्तरघात भएको भनी आधारहीन प्रचार गरिएको पार्टीले जनाएको छ ।
‘हामी सबै पार्टी र गठबन्धनका उम्मेदवार जिताउन प्रतिवद्ध भएर लागेका थियौं । सबैको प्रयास हुँदा हुँदै पनि उहाँहरुको पराजय भयो, हामी दुखित छौं’ पार्टी जिल्ला सभापति बुद्ध लामाले भने । ‘केही माध्यमबाट पार्टीका जिम्मेवार व्यक्तिहरुकै नाम लिएर अन्तरघात गरियो भनेर कुप्रचार भएकाे छ’ लामाले भने पार्टी र गठबन्धनभित्र निर्वाचनको समीक्षा हुनै बाँकी छ, यदि कतै कसैले कमजोरी गरेको रहेछ भने हामी त्यसपछि के गर्नुपर्छ हामी गर्छौं ।’
पार्टीका उम्मेद्वारहरुको पराजयका सम्बन्धमा भएको प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुर एवम् नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति, बागमती प्रदेश सभापति लगायत जिल्ला तहका नेताहरु गठबन्धनको मर्म÷भावना अनुसारका क्रियाकलापहरुमा संलग्न भएको पार्टी जिल्ला प्रवक्ता अर्जुन चौलागाईले प्रष्ट पारे ।
मकवानपुर । मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बसामाडी जेसीजको आयोजनामा लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता मंसिर २८ गतेबाट हुने भएको हो । जेसीजले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरि २० औं संस्करणको भलिबल प्रतियोगिता मसिर २८ देखि पुष २ गतेसम्म संचालन गरिने जानकारी गराएको हो ।
प्रतियोगितामा १० देखि १२ वटा टिमको सहमागिता रहने आयोजक जेसिसका अध्यक्ष चिराग अग्रवालले बताए । हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष अग्रवालले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने टिमले मंसिर २६ गते सम्म टिम दर्ता गराउन सक्ने बताइएको छ ।
यस्तै प्रतियोगिताभर विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको लागि करिब साढे २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितालाई हेटौंडाको स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी, कार्यक्रम संयोजक बसामाडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सरोज पौडेल, सहसंयोजकमा उपाध्यक्षद्वय अनिल भण्डारी र असिमराज ढुंगाना लगाएतको उपस्थिति रहेको थियो ।
हेटौडामा अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन
Tags: No Comments
मकवानपुर । मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई हेटौडामा अभिनन्दन गरिएकाे छ । बुढ्यौली साहित्य समाज मकवानपुरकाे बार्षिक उत्सवमा थापालाई शनिबार नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरिएकाे हो ।
साहित्यका कथा, कविता, दाना कविता र नाटकमा विशेष कलम चलाउनु हुने थापाले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएकाेमा मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्तरुपमा अभिनन्दन गरेको हो । यस्तै कार्यक्रममै अभिनन्दन ग्रन्थको रुपमा तुल्सी थापाकै विषयमा विभिन्न व्यक्तिकाे लेख समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ । अभिनन्दन ग्रन्थमा थापाको व्यक्तित्व, कृतित्वका साथै उन विषयमा तयार पारिएका रचनासहित ३६ वटा लेख समेटिएको छ ।
लामाे समय शिक्षण सेवामा सेवारत थापा निवृत्त भएपछि साहित्य लेखनमा क्रियाशील थापाकाे सम्मानमा बुढ्यौली साहित्य समाज मकवानपुरले २ लाख रुपैयाँ बराबरको अक्षयकोष समेत स्थापना गर्ने भएकाे छ । अक्षयकोष स्थापना गरेर समाजले तुल्सी सरको सम्मानमा साहित्यकारलाई पुरस्कृत गरिने अध्यक्ष आरसी रिजालले जानकारी दिए ।
भक्तपुरका साहित्यकार कविराज घिमिरेको बुढ्यौली खण्डकाव्य समेत विमोचन गरिएकाे कार्यक्रममा सुदर्शन अधिकारी, निमेष निखिल, प्रताप विष्ट र पुरुषोत्तम आचार्यले थापाको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गरेका थिए ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार एवम् एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) को विशिष्ट आतिथ्य रहेकाे थियाे ।
मकवानपुर । हेटौंडा भेट्रान्स क्लब हेटौंडाको ८ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा रमेश उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटाैडामा भएकाे साधारण सभाबाट उप्रेतीकाे अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएकाे हाे ।
४० वर्ष नाघेका पूर्व खेलाडी तथा फुटबलप्रेमीहरुको क्लब हेटौंडा भेट्रान्सकाे कार्यसमितिको प्रथम उपाध्यक्ष नवराज बज्राचार्य र द्वितीय उपाध्यक्ष ज्ञान बहादुर क्षेत्री, सचिव कविन सांगामी, सह–सचिव अतुल शर्मा र कोषाध्यक्ष सरोज राजथला चयन भएका छन् । यस्तै सदस्यहरुमा अनुप लामा, प्रशान्त पाख्रिन, राज कुमार श्रेष्ठ (ए), राजकुमार श्रेष्ठ (बी), अजय मानन्धर, मणिराज गौतम र सञ्जय थापा चयन भएका छन् ।
भेट्रान्सकाे ८ औं वार्षिक साधारण सभाकाे उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख लामाले फुटबल एकेडेमी निर्माणका लागि उपमहानर लागि परेको बताइन् । लामाले क्लबसँगको सहकार्यमा विभिन्न खेलसँग सम्बन्धित कार्यक्रम गरिने जानकारी दिइन् ।
क्लबका अध्यक्ष दीपक बज्राचार्यको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे, ६ नम्बर वडाध्यक्ष विष्णु बहादुर दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की र जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामा लगायतको आतिथ्य रहेको थियो ।
आँचलको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको बहस
Tags: No Comments
मकवानपुर । महिला साहित्यकारहरूको संस्था आचल साहित्य कला पुन्जले लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत हिंसा न्यूनीकरणको सवालमा बहस कार्यक्रम गरेको छ ।
‘सभ्य समाजकाे पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्राे सराेकार’ विषयक बहस कार्यक्रम गरेको हो ।
कार्यक्रममा बाेल्दै प्रहरी निरिक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चुडा कुमारी खड्काले ‘प्रहरी चाैवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने भएको हुँदा जन चाहना अनुसार प्रहरीले काम नगरेकाे भन्ने गुनासा आउने गरेकाे पाइएकाे भए पनि कानुनी दायरा मिलाएर दर्ता भएर आएका मुद्दा सुनुवाइ हुने बताइन् ।
‘पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने कुरा राख्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने र याे देशकाे नागरिक भएर जन्मिएपछि अन्य नागरिक सरह याैनिक तथा लैङ्गिक अल्प सङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने ‘ फ्रेन्ड्स हेटौंडाकी किरण थापाले बताइन ।
यसैगरी अधिवक्ता अप्सरा बस्नेले कानुन प्राप्त गर्नका लागि कानुनी बाटाे अपनाउनुपर्ने घरमा बसेर न्याय प्राप्त नहुने बताइन् । कवि शान्ति प्रियवन्दनाले ‘लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु पर्ने बताएको कार्यक्रम संयाेजक निर्मला व्लाेनले जानकारी गराइन ।
आँचलकी अध्यक्ष भावना सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चुडा कुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापाले समाज ब्यक्त हिंसाको सवालमा बहस गरेको पुन्जकी सदस्य रजनी पाैडेलले बताइन् ।
कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
