मकवानपुर । मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ जोगितालमा गैडाको आक्रमणबाट स्थानीय एक जना घाइते भएका हुन् । राप्ति नदिको बगर कासघारिमा बस्ने ५० वर्षिय भुपाल थिङ गैडाको आक्रमणबाट घाइते भएका हुन् ।
घर नजिकै जंगलमा गाई बस्तु चराउन जांदा गैडाले आक्रमण गरेको हो । उनको दाईने हातमा चोटलागेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनको उपचारको लागि भरतपुर पठाइएको छ । अहिले गैडा पर्सा निकुंज तर्फ गएको प्रहरीले जनाएको छ ।
मकवानपुर / व्यवसायकाे लागि घरकाे छतबाट गैरकानूनी रुपमा हालिएका छत (पाली) हटाउने कार्यलाई हेटाैडा उपमहानगरपािलकाले निरन्तरता दिएकाे छ । एक साता अघिबाट हेटौंडा बजार क्षेत्रका घरका छाना हटाउन शुरू गरिएको हाे ।
हालसम्म ३८० पालीहरु हटाइएकाे नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए। “केही घरधनीले आफैं छाना हटाएका छन्, धेरै ठाउँमा हामीले हटाइरहेका छौ,” ढकालले भने । उनका अनुसार हेटौंडाको सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएका एक हजार घरका यस्ता छानाहरु हटाउनुपर्ने छ। २५ मिटर राजमार्ग विस्तारकाे सवाल तातिरहेकाे बेला उपमहानगरपालिकाले पाली हटाउने कार्य सस्ताे लाेकप्रियता भएकाे टिप्पणी गरिएकाे छ ।




तस्बिरहरु साैजन्य : नेत्रप्रसाद ढकाल
मकवानपुर । दोस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता जेठ १५ गते साेमबारदेखि हुने भएको छ । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले बताए ।
नकआउट चरणमा हुने प्रतियोगिता अन्तर्गत फाइनल खेल जेठ २५ गते हुने बताइएकाे छ । प्रतियोगितामा सहभागी हुन उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको सिटौलाले जानकारी दिए । उपमहानगरपािलकाकाे पत्रमा प्रतियोगितामा सहभागीको लागि जेठ १३ गतेसम्म टिम दर्ता गर्न भनिएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०–५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने सिटौलाले जानकारी दिए ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्तरगत टोलस्तरमा गठित बालसमूहहरूलाई खेल सामग्री वितरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा न ५ भित्र गठित १६ वटा टोलस्तरीय बाल समूहहरूलाई पालिका सन्चार प्रा.लिले खेल सामग्री वितरण गरेको हो । हेटौंडा ५ वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार खेल सामग्री बितरण गरिएको हो । बाल क्लबका अध्यक्ष, सचिब र संरक्षकहरूलाई बाल समूह, बाल अधिकारलगायतको बिषयमा अभिमुखीकरण समेत गराईएको थियो ।

वडा अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा अभिमुखीकरण तथा खेल सामग्री वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष घिमिरेले बालबालिकाहरूलाई वितरण गरिएको खेल सामग्रीले खेलप्रतिको लगाब बढाउने र आगामी दिनमा खेलकुदमा सहभागी सङ्ख्या बढाउने बताए । “खेल जीवनको लागि अपरिहार्य पाटो हो, बालबालिकालाई अनुशासित बनाउन यस्ता अवसरहरू महत्त्वपूर्ण हुन्छन्” उनले भने ।
कार्यक्रममा वडा सदस्य तथा बालमैत्री सम्पर्क ब्यक्ति रन्जिता सिलवालले हरेक क्षेत्रमा बालबालिकालाई अग्रसर बनाउन शिक्षासंगै खेलकुदमा पनि अभिभावकत्व आवश्यक भएकोले वडाले यो कार्यालाई सकारात्मक रूपमा लिएको बताइन् ।

बालबालिकाहरूलाई चेस, डोरी, फुटबल, ब्याडमिन्टन, लुडोलगायतको सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा वडा सदस्यहरू रामबहादुर राई, बिमला बि. क, हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक बिष्णुकुमारी लामिछाने, शाखा प्रमुख बिना ठिके, वडास्तरीय टोल विकास संस्थाको अध्यक्ष टीकाबहादुर खड्का, पिप्ले शहरी स्वास्थ केन्द्रको प्रमुख दुर्गा दाहाल, ५ नम्बर वडामा रहेका विभिन्न टोल विकास संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू, बिद्यालयमा गठन बालसमूहका बालबालिका तथा संरक्षक शिक्षकहरू समेतको उपस्तिथि रहेका थियो ।
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको सन्दर्भमा पालिका सन्चार प्रा लि ले बालबालिकाको सवालमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष उज्वल अधिकारीले बताए ।
मकवानपुर । शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिले ध्यान दिनु पर्ने हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन । प्राथमिक शिक्षकलाई एकीकृत पाठ्यक्रम प्रवोधिकरण कार्यक्रममा वडा अध्यक्ष सिग्देलले स्थानीय तहले शिक्षामा पर्याप्त बजेट विनियाेजन गर्नुपर्ने बताए।
‘नगरलाई समृद्व र उत्कृष्ट बनाउन शिक्षालाई उत्कृष्ट बनाउनु पर्छ’ सिग्देलले भने -‘भाैतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, राेजगारी उत्पादनसम्बन्धी क्रियाकलाप समेत संगै गरिनु पर्छ ।’ शैक्षिक सुधार समिति, हेटाैँडा ४ का संयाेजक तथा श्रमिक माविका प्रधानध्यापक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयकाे माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेकाे बताए । कार्यक्रममा वडाले शैक्षिक सुुधारकाे लागि गरेकाे विभिन्न गतिविधि र भावी याेजनाबारे समेत जानकारी गराईएकाे थियाे ।
हेटौंडा ४ नम्बर वडा शैक्षिक समितिले प्राथमिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरण गरेको हो । प्राथमिक तहमा नेपाली, अंग्रेजी, सेरोफेरो, विज्ञान र गणित विषयको एकीकृत पठनपाठन प्रभावकारी रहने भएकोले शिक्षकलाई नै प्रशिक्षित गरिएको हो ।

४ नम्बर वडामा ३ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् । कार्यक्रममा ८ वटा विद्यालयका ७० जना शिक्षकको सहभागिता रहेको बताइएको छ । एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरणमा नेपाली विषयको वेदराज कोइराला, सामाजिक र सेरोफेरो विषयको राम सागर गुरागाई, अंग्रेजी विषयको सूर्यप्रसाद घिमिरे, गणित विषयको दीपक अधिकारी र विज्ञान विषयको सुवास खनालले सहजीकरण गरेका छन ।
वडा शैक्षिक सुधार समितिका अध्यक्ष एवम् श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष माेहमद समिम,भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पाेखरेल, वडा सचिव टीका कंडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।