मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बाल विवाह विरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम गाउँपालिका अध्यक्ष राज कुमार मल्लको उपस्थितीमा गरिएको हो ।
राक्सिराङ विकास संस्थाको अध्यक्ष जयकान्त प्रजाको अध्यक्षता भएको अभिमुखीकरणमा राक्सिराङ प्रजा जागृत माध्यमिक विद्यालय चैनपुरको ७० जना बालबालिकालाई बालविवाह बारे सचेतना अभिवृद्धि गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले बाल विवाह गाउँपालिकाको लागि चुनौती भएको स्विकार गरे । यसका विरुद्धको अभियानलाई प्राथमिकतामा राखेको बताउँदै बालबिबाह अन्त्य स्वयं बालबालिकाको प्रयासबाट हुने बताए ।
राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत देबचन्द्र गर्तौलाले बाल विवाहको कारणले बालबालिकाको जीवनमा नै नकारात्मक असर पर्ने, बाल विवाहले आमा र शिशुको मृत्यु समेत हुन सक्ने भएकोले लहैलहैमा आफ्नो जीवन खेर नफाल्न आग्रह गरे ।
कार्यक्रम बाल कल्याण समाजको अध्यक्ष प्रकाश खतिवडाले सहजिकरण गरेका थिए । उक्त कार्यक्रम राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गडतौलाको बिशेष आतिथ्यमा र ५ नम्बरको वडा अध्यक्ष हरीबहादुर प्रजा, विद्यालयको प्रधानाध्यापक सुर्यबहादुर प्रजा, विद्यालय ब्यवस्थापन समितीका सदस्य गणेश लामा, राक्सिराङ विकाश सस्थाका सचिव बिमला प्रजा, सदस्यहरु सोम चेपाङ, देब बहादुर थिङलगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान नाम थर नखुलेको महिलालाई ठक्कर दिदा मृत्यु भएको हो । महिलाको हेटौंडा अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुर । कुवाको सिमित पानी, दामासाही भागबन्डा गरेर कसरी गुजारा चल्छ ? यसको राम्रो अनुभव छ मकवानपुर जिल्ला थाहागरपालिकाकी सान्नानी कार्कीलाई ।
“एका विहानै कुवामा पानीको लागि लाम लाग्न पुगिएन भने दिनभर घरमा ‘थोप्पो’ पानी हुँदैनथ्यो” कार्की भन्छिन “पाहुना आउदा पानी पुर्याउन धौ धौ थियो ।”
यो उनको बिगत हो, अब त्यो बिगत जस्तो छैन दैनिकी । रातभरी कुवामा जम्मा भएको पानी विहान भेला भएका महिलाहरु मग (पानी उभाउने भाँडो) ले भाग लगाउँथे । कस्ले कति मग पानी उभाउन पाउने भनेर । कसैको घरमा पाहुना आएको भए एक वा दुई मग थपिदिन्थे छिमेकीको मायाले । नत्र सामन्यत: परिवार संख्या अनुसार पानीको बाँडफाँड हुन्थ्यो ।
वर्षौसम्म खानेपानीको अभाव खेपेका मकवानपुर थाहा नगरपालिका टिष्टुङ कुवापानीले धेरै पुस्ता फेर्यो । गाउँको नामै कुवापानी । गाउँमा प्रतिनीधि निर्वाचित भएर आएपछि खानेपानी घरघरमा पुर्याउने योजना बन्यो । घरघरमा पानीको धारा पाउने योजना सुनेरै उपभोक्ता उत्साहित भए ।
कुवापनीसंगै थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै कालोपानी ठाडोखोलामा पनि घरैपिच्छे शुद्ध खानेपानीसहित धारा पुर्याउने योजना थपियो । अहिले भने कुवापानीले मुहार फेरेको छ । अब मगले पानी भाग लगाउने दिनको अन्त्य भएको छ ।
निरन्तरको प्रयासपछि कुवापनी गाउँका २८ वटै घरमा धारा जडान भएको छ । धारामा नियमित पानी आउँछ, कुवापानीकी निरा घिसिङले भनिन् । ‘खानेपानी बोक्न जाँदा बालबालिकालाई समयमै खाना बनाउन नभ्याएर कतिपटक गाउँलेहरुले स्कूलसम्म पठाउन भ्याउँदैन थिए’ निराले पुराना दिन सम्झिइन् ।
खानेपानी लिनकै लागि कुवापानीबासीलाई डेढ घण्टा धाउन पर्थ्यो । थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिनेश तामाङले भने–‘अन्नको भन्दा नि दुःख पानीको थियो, अहिले दुःख तोडियो नागरिकहरु खुसी छन् ।’ विकासका कामसंगै घरघरमा धारा पुर्याउँदा निकै खुशी लागेको वडाध्यक्ष तामाङले बताए । ‘नागरिकको लागि काम गर्ने हामी प्रतिनीधिलाई नागरिकको आवश्यकता पूरा गर्न पाउँदा खुसी लाग्ने रहेछ ।’
विद्युतको सहायताले मुहानदेखि २२ सय मीटर माथि लिफ्टीङ गरी वस्तीभन्दा माथि निर्माण गरिएको पानी ट्याङ्कीबाट अहिले कुवापानीवासीलाई खानेपानी वितरण भइरहेको छ ।
खानेपानी आयोजनाका लागि स्थानीय सरकारको मात्र लगानीले पुगेन । यसका लागि उपभोक्ताहरु कम्मर कसेर लागे । खानेपानीको अभाव टार्न २८ परिवारले ५३ लाख जुटाए । उनीहरु महिनौसम्म श्रमदानमा जुटेर यति धेरै लगानी गरेका हुन् ।
गाउँका लागि आएको योजनामा श्रमदान गर्दा योजनाप्रती अपनत्व हुने र दीगो पनि हुने वडाध्यक्ष तामाङले सुनाए । कुवापानी खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाले २० लाख, गैरसरकारी संस्था च्वाइस नेपालले २५ लाख लगानी गरेका छन् । बाँकी श्रमदानबाटै योजना निर्माण भएको हो ।
‘आयोजनाको लागि अझै ८५ हजारजति अपुग छ’–वडाध्यक्ष तामाङले भने । उनले नपुग रकमको लागि स्रोत जुटाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । यस योजनामा ६/६ हजारको दुईवटा र एउटा १० हजार लिटरको गरी तीनवटा खानेपानी ट्याङ्की रहेका छन् ।
कुवापानीबासीका जस्तै खानेपानीका लागि अभाव झेलीरहेका थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै फलाँटे, भट्टीडाँडा, तल्लो देउराली, माथ्लो देउरालीलगायतका क्षेत्रका बासिन्दाहरुको पनि घरघरमा खानेपानी धारा जडान भएको छ ।
यि दुवै आयोजना हालै उद्घाटन भएको छ । स्वच्छ पानी पिउने अधिकारको सम्मान गर्न खोजेको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताए ।
‘खानेपानी आयोजनामा टिष्टुङका उपभोक्ताको लगाव र लगानी उदाहरणीय छ, श्रमदानमा भएको उत्साह अतुलनीय छ’, नगर प्रमुख विष्टले भने । थाहा नगरपालिकाको विभिन्न किसिमका विकास र आयआर्जनको क्षेत्रमा समेत साँझेदारी गर्दै आएको च्वाइस नेपालको लगानी थाहानगरका लागि सहयोगी सावित भएको नगर प्रमुख विष्टले बताए ।
नागरिकसंग प्रत्येक्ष सरोकार राख्ने योजनामा गाउँपालिका साँझेदार बन्ने विष्टको भनाइ थियो । १ सय ६७ घरमा पानी पुयाइएको यस योजनामा मुख्य ५० हजार लिटरसहितको ३ वटा पानीट्याङ्की रहेको छ । टिष्टुङको यस योजनामा ‘एक घर, एक धारा’ अभियानलाई कार्यान्वयनमा ल्याइएको छ ।
कालोपानी ठाडोखोला खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाको ४५ लाख लगानी छ । उक्त योजनाका लागि गैरसरकारी संस्था च्वाइस नेपालले ८० लाख र स्थानीय उपभोक्ताले ५६ लाख बराबरको श्रमदान जुटाएका छन् । कुल १ करोड ८१ लाख कुल लागत रहेको योजनाको काम सकिएको छ । उपभोक्ताहरुले प्रतिवद्धताको साथ काम गरेकोले योजना सम्पन्न भइ घरघरमा धारा पुर्याउन सफल भएको वडा कार्यालयले जनाएको छ ।
यस आयोजनामा उपभोक्ताहरुले कार्यालय भवन समेत बनाएका छन् । उनीहरुले खानेपानी सेवालाई व्यवस्थित गर्न इस्टिमेट बाहेकको श्रमदान गरी भुईतले कार्यालय भवन निर्माण गरेका हुन् । भवनको लागत करिब २० लाख रहेको छ । खानेपानी आयोजना सम्पन्न भई घरघरमा पानी थाप्न पाएपछि स्थानीय ठूली स्याङ्तानले खुसी व्यक्त गरिन् ।
‘टाढाबाट बोकेर पानी खाइन्थ्यो, अब घरमै धारामा थापेर खाइन्छ’ स्याङ्तानले हर्षित हुँदै भनिन् । उनले यस आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
थाहानगरको ११ नम्बर वडामा निर्माण सकिएको दुवै खानेपानी आयोजना शुल्कमा आधारित बनाई यसको दीगोपना दिइने वडाध्यक्ष दिनेश तामाङले बताए । योजनाको ३० वैशाखमा सार्वजनिक सुनुवाई गरी आम नागरिकलाई हिसाबकिताब सार्वजनिक गरिएको र ३ जेठमा आयोजनाको उद्घाटन गरिएको हो । केही समय परीक्षणका रुपमा खानेपानी वितरणसंगै आम उपभोक्ता भेला आयोजना गरिने वडाध्यक्ष तामाङले बताए । भेलाले महशुल दर तोक्ने, आयोजना निरन्तर संचालन गर्ने लगायतका विषयमा कार्ययोजना निर्माण गरी अघि बढ्ने उनको भनाइ छ । यसका लागि उपभोक्ता, थाहा नगरपालिका र सहयोगी संस्था च्वाइस नेपालको अभिभावकत्व सँधै आवश्यक रहने तामाङले बताए ।
मकवानपुर । अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा २ दिने उद्यमशीलता तालिम हेटौंडामा सुरू भएको छ ।
स्वरोजगारको लागि व्यवसायिक सीप र अवधारणा प्रदान गर्न विभिन्न प्रकारको अपाङ्गता भएका २० जना तालिममा सहभागी छन् ।
अपाङ्गता भएकाहरूलाई आर्थिक क्षमता विकास गराउने उद्देश्यले व्यवसाय सन्चालनको लागि पुर्वतयारी सैद्धान्तिक तालिम प्रदान गरिएको अध्यक्ष गणेश दवाडीले बताए । ‘तालिमपछि आगामी दिनमा कुन व्यवसायतर्फ लाग्ने भन्ने र आत्मानिर्भर बन्ने भन्नेबारे उहाँहरूलाई परिकल्पना बनाउने सफल हुनुभएको छ‘ अध्यक्ष दवाडीले भने ‘तालिमले सहभागीलाई आत्मनिर्भरता पनि बढाएको प्रतिक्रिया दिनुभएको छ।‘
तालिममा सहभागीलाई कमला नेपालीले स्थानीय कच्चापदार्थबाट उद्यम गर्न सकिने आधारहरूबारे सहजीकरण गरेकी थिइन् ।
तालिममा सरोकार केन्द्रका अध्यक्ष दवाडीले सफल व्यवसायी बन्नको लागि आवश्यक गुणबारे सकारात्मक प्रयास तथा चरीत्रमाथी चर्चा गरेका थिए ।
मकवानपुर । मकवानपुरको भिमफेदीमा रहेको कारागारका ३० जना बन्दीहरु अज्ञात रोगबाट बिरामी परेका छन् ।
आज सोमबार २९ जना कैदीबन्दी एकैपटक बिरामी परेको कारागार स्रोतले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।
कारागार प्रशासक पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो । दिनभर बिरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा हामीले कारागारमै उपचार गरिरहेको पौडेलले बताए भने ।
प्रशासक पौडेलका अनुसार २ जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी अहिले कैदीबन्दीको उपचार गरिरहेका छन् । ‘केही कैदीबन्दीले मानिस नै नचिनेको प्रतिकृया दिइपछि थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागेको उनले बताए ।
उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको हुनसक्ने बताइएको छ । विषाक्त खानाको कारण बिरामी भएको आशंकामा स्वास्थ्य परिक्षण गर्दा यस्तो नकारात्मक नतिजा नआएको पौडेलले बताए ।
ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले कैदिबन्दी बिरामी भएको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
विभिन्न मितिमा सजाय तोकी कारागारमा रहेको विभिन्न मुद्दाका २९ जना कैदिबन्दीहरुलाई अचानक झाडा पखला लागी बिरामी भएकोले निजहरुको सोही कारागारमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ जना डक्टर, ४ जना सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदी मकवानपुरबाट १ जना डक्टर, ४ जना सहयोगी गरी जम्मा ११ जनाको टोलीले आवश्यक औषधी सहित खटीएर सबै बिरामीलाई स्लाइन पानी दिई उपचार गराई रहेको इप्रका भिमफेदीले जनाएको छ । कारागारमा हाल ११०८ जना कैदीबन्दी रहेका छन् ।