मकवानपुर । मकवानपुरको मनहरी गांउपालिकाले प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा फेरि भेटौला कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा स्वागत तथा फेरि भेटौला कार्यक्रम गरिएको हो ।
सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई स्वागत र सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा सरुवा भएका मोहन श्रेष्ठलाई बिदाई कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीले कर्मचारी व्यवस्थापनमा बिशेष ध्यान दिन र सबै वडाको विकासमा ध्यान दिन कार्यकारी प्रमुख सुवेदीलाई निर्देशन दिए। कर्मचारीको सरुवा प्रक्रियालाई स्वभाविक रुपमा लिंदै कार्यक्षमतामा ध्यान दिन आग्रह गरे ।
यसैगरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीले कर्मचारी र जनप्रतिनिधिबिचको समन्वयले पालिकाको समग्र विकासमा ध्यान दिन संभव भएको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रुपमा आएका सुवेदीले आफ्नो काममा स्पष्टता र दक्षतामा ध्यान दिने बताए । यसैगरी सरुवा भएका कार्यकारी श्रेष्ठले मनहरी गाउंपालिका समग्र कार्यप्रगतिमा समन्वय र सहकार्य रहेको र त्यो सिकाई बोकेर आफू बिदाई भएको बताए । ‘पालिकाले भौतिक पुर्वाधार विकासमा फड्को मारेकोमा गौरव लागेको छ’ श्रेष्ठले भने ।
कार्यक्रम पालिकाका वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईले बिगतमा समन्वय र सहकार्य उत्कृष्ट भएको बताउंदै आगामी दिनमा पनि उस्तै उत्कृष्ट समन्वयको अपेक्षा रहेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिव तथा अन्य कर्मचारीहरूकाे समेत उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध ५ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान र दिउँसोको समय हेटौंडा १५ रातोमाटेबाट उनीहरूलाई गाँजासहित नियन्त्रण लिइएको हो ।
आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट ९ केजी ९ सय ८० ग्राम लागूऔषध गाँजासहित मकवानपुर मनहरी गाउँपालिका–८ का १९ वर्षीय दीपक मुक्तान, ५० वर्षीय बुद्धीमान मुक्तान र ४० वर्षीय मंगल सिं थोकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बस जाँच गर्दा उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी आइतबार दिउँसो हेटौंडा –१५, रातोमाटेबाट १० केजी लागूऔषध गाँजासहित भारत बिहार राज्य मोतिहारी थानाआधापुर पोष्ट ग्राम औरया जमुनभार बस्ने २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश जिल्ला प्रयागराज थानाफुलपुर पोष्टग्राम मिर्जापुर बस्ने २४ वर्षीय रजनिस सिंङलाई नियन्त्रणमा लिइएको भण्डारीले जानकारी दिए ।
चितवन तर्फबाट बिरगंजतर्फ जादै गरेको ना.६ ख.६७५४ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार अन्सारी र सिङको साथबाट ५/५ केजी लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा गोबर ग्याँसको ट्याङ्की भित्र चुरोट सल्काउन खोज्दा आगलागी भएको छ ।
आगलागीबाट हेटौंडा–६ हात्तिलेट बस्ने २६ वर्षीय समित राई घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्याँसको ट्याङ्की सफा गर्न ट्याङ्कीभित्र पसेका थिए ।
उनले गोबर ग्याँस ट्याङ्कीभित्र बसेर चुरोट सल्काउदा आगोलागी हुँदा शरिरको विभिन्न भाग जलेको भण्डारीले बताए ।
घाइते राइलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मकवानपुर । जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह, २०२३ सम्पन्न भएको छ । गत कात्तिक १५ गते बुधबारबाट सुरु भएको जेसीस सप्ताह विभिन्न कार्यक्रम गरी शनिबार समापन गरिएको हो ।
जेसीज सप्ताह अन्तर्गत ८ वटा कार्यक्रममा सहभागी तथा विजेता बनेकालाई पुरस्कार वितरण गरिएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रम इन्दिरा बानियाँको संयोजकत्वमा भएको हो ।
हेटौंडा लेडी जेसीजले कार्तिक १५ देखि १८ गतेसम्म जेसीज सप्ताह आयोजना गरेको हो ।
जेसीज सप्ताह अन्तर्गत असोज १५ गते पहिलो दिन हेटौंडा १ स्थित ब्लड बैँकमा रक्तदान कार्यक्रम र दिउँसो १ बजे हेटौंडा क्याम्पसमा स्वर्गीय बुद्धरत्न शाक्य स्मृति खुल्ला वतृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।
त्यस्तै कात्तिक १६ गते बिहान हेटौंडा १ स्थित ओम बृद्धाश्रममा खाद्यान्न वितरण, दिउँसो बैठक सञ्चालन प्रणाली तालिम आयोजना गरेको हो ।

कार्तिक १७ गते विहान सितलमहल चोकमा स्लो स्कुटी प्रतियोगिता, दिउँसो श्री प्रावि मनहरी चकरीमा स्वर्गीय बाशु प्रसाद पौडेल स्मृतिमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको सह–मुल कार्यक्रम संंयोजक नम्रता श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार कार्तिक १८ गते विहान हेटौंडा ५ स्थित हाम्रो घर परोपकारी संस्थालाई सरसफाइ सामग्री हस्तान्तरण गरिएको थियो ।
जेसीज सप्ताह–२०२३ अन्तर्गत आयोजित स्व. बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा सुनिल न्यौपाने प्रथम भएका थिए।
देशको आर्थिक सुधारमा युवाको भूमिका” विषयक् वक्तृत्वकला प्रतियोगितामा कृतिका लौँडारी द्वितीय हुँदा उचित बजगाई तृतीय भएका थिए ।
खुल्ला वतृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै स्लो स्कुटी रेसमा विजयी हुनेलाई हेलमेट पुरस्कारस्वरुप प्रदान गरिएको थियो । स्लो स्कुटी प्रतियोगितामा बबी थापा भएकी थिइन् । सोविता केसी द्वितीय र सिर्जना लामिछाने तृतीय भएकी हुन् । समापन कार्यक्रममा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
समापन कार्यक्रम हेटौंडा लेडी जेसीज वर्ष–२०२३ का अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
जेसीज सप्ताह समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ र प्रेमबहादुर पुलामी (छिन्तु), हेटौंडा उपमहानगरपालिकाव १५ नम्बर वडाध्यक्ष सुनिल मोक्तान, ८ नम्बर वडा वडाध्यक्ष राम थापा, ४ नम्बर वडा वडाध्यक्ष नवीन सिग्देल, जेसीज सप्ताह मुल संयोजक अस्मिता न्यौपाने, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, लेडी जसीज पुर्व अध्यक्ष शुसिला पौडेललगायतको सहभागिता रहेको थियो ।
बेचविखन नियन्त्रणमा स्थानीय तहको भूमिका बारे प्रशिक्षण
Tags: No Comments
मकवानपुर । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड र शान्ति फाउण्डेशको आयोजनामा मानव बेचविखन नियन्त्रणमा बारे स्थानीय तहको भूमिका बारे प्रशिक्षण गरााइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र जिल्लाका गैससका प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो । मानव बेचविखन नियन्त्रणमा स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रशिक्षण गराइएको हो ।
बेचविखनको संभावित जोखिमबाट बचाउन, प्रभावितहरुको उद्दार तथा पुनर्स्थापनामा लागि पर्नको लागि स्थानीय सरकारको रुपमा गर्नुपर्ने भूमिका बारे प्रशिक्षण गराइएको थियो । प्रशिक्षणले आफूहरुलाई ऐन कानुनबारे पुनर्ताजगी भएको सहभागीहरुले बताए ।
हेटौंडामा दुई दिनसम्म चलेको कार्यक्रममा संघीय सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका रामहरि गैरे, सेलर्डका कपिल अर्याल, सुखदेव सापकोटा, रत्न श्रेष्ठ तथा शान्ति फाउण्डेशकी सिता गुराङले सहजिकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रमपछि सहभागीहरु मनहरी गाउँपालिका उपाध्यक्ष रेखा पुलामी, हेटाैंडा ११ वडा अध्यक्ष जुना दाहाल, समेतकाे उपस्थिति रहेकाे थियाे । प्रशिक्षणपछि मनहरी गाउँपालिका वडा ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, बकैया गाउँपालिका कार्यालय महिला बालबालिका शाखाकी होमकुमारी सञ्जेल, हिमराइट्स नेपाल मकवानपुरकी कुमारी वाइबालगायतले प्रशिक्षणले कार्यक्षेत्रमा खटिएर काम गर्दा विशेष ध्यान दिनुपर्ने सवालमा पुनर्ताजगी प्रतिकृया दिए ।
पीडितलाई उद्दार गर्दादेखि पुनर्स्थापना तथा सहज न्यायको लागि आफूहरुले गर्दै आएका काममा अझै प्रभावकारी बनाउन ज्ञान प्राप्त भएको उनीहरुले बताए । कार्यक्रम युएसएआडीकाे अर्थिक सहयोग विनरक ईन्टरनेशनलकाे सझेदारी र हाम्रो सम्मान परियोजनाकाे प्रविधिक सहयोगमा भएकाे थियाे ।