मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म निर्धारण गरेको छ ।
‘देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ’, जिल्ला प्रशासन कार्यालयको बिज्ञाप्तिमा उल्लेख छ ।
प्रशासनले पटका तथा विष्फोटक पदार्थमा रोक लगाएको उल्लेख गर्दै यसप्रति सचेत हुन आग्रह गरेको छ । प्रशासनले तिहार र छठ पर्वमा पटका, भुइँचम्पा, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थहरूको भण्डारण, बिक्रीवितरण, ओसारपसार तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ।
नेपाल संवत् ११४७ र छठ पर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र अमनचयन कायम राख्न विभिन्न निर्देशन जारी गरेको छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई रोक्न प्रशासनले कडाइ गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई मर्यादित रूपमा मनाउन नियमहरूको पूर्ण पालना गर्न जिल्लावासीलाई आग्रह गरिएको छ।
सट्टेबाजी, जुवा, तास, लङ्गुर बुर्जा खेल्न–खेलाउने तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झैझगडा गर्नेजस्ता क्रियाकलापहरू नगर्न कडाइ गरेको छ। प्रशासनले प्लाष्टिकका फूलगुच्छा आयातमा रोक लगाएको छ ।
नेपाल सरकार राजपत्रको २०७९ साउन ११ को सूचनाअनुसार नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रोक लगाइएको प्रजिअ वसन्त अधिकारीले बताउनुभयो।
प्रशानले मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रशासनको निगरानी बढाएको बताएको छ। “बजारमा अखाद्य एवं म्याद गुज्रेका वस्तुहरूको बिक्रीवितरण, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना गर्ने उपभोक्ता हितविपरीतका गतिविधिहरू गर्न पाइने छैन” बिज्ञप्तिमा भनिएको छ।
चाडपर्व यातायातमा सहजताको लागि खबरदारी गरेको छ। सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएकोभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । प्रशासनले जारी गरेको निर्देशन विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।
शान्ति सुव्यवस्थामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि देखेमा नजिकैको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रूमको हटलाइन नम्बर १०० मा तत्काल खबर गर्न आग्रह गरिएको छ ।
मकवानपुर । पत्रकार सुदीप शिवाकोटीलाई नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
बुधबार युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नगद ५० हजार राशीको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ पत्रकार शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार स्थापनाको लागि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव चिरञ्जीवी ढकाल (हाल यूके) ले सहयोग गरेका हुन् ।
शुक्रबार शुभ दीपावलीको अवसरमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता शिवाकोटीलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
सम्मानित हुन लागेका शिवाकोटी पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता, नेपाल पत्रकार महासंघका पूर्व बागमती प्रदेश सदस्य तथा मकवानपुर शाखाका पूर्व कोषाध्यक्ष समेत हुन् । हाल उनी अमेरिका बस्दै आएका छन् ।
मकवानपुर । तिहारलगायतको चाडपर्वका अवसरमा प्लास्टिक तथा कृत्रिम फूलमालाको प्रयोग बढ्दै गएपछि हेटौंडा उपमहनगरपालिकाले यस्तो बजारलाई प्रतिवन्धित गरेको छ ।
प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले स्थानीय स्तरका ३१ जना पुष्प व्यवसायीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्दै प्लाष्टिक तथा कृत्रिम फूलमालाको प्रयोग नगर्न भनेको
हो ।
स्थानीय पुष्प व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीतिका साथ हेटौँडा उपमहानगरपालिकाले प्राकृतिक फूलमालाको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको हो ।
अघिल्लो वर्ष पनि उपमहानगरले प्लास्टिको फूलमाला विक्री गरिएको अवस्थामा पसलहरुबाट यस्ता मालाहरु जफत गरेको थियो ।
नेपालीहरूको महान् चाड तिहार तथा दीपावलीको अवसर पारेर उपमहानगरपालिकाले कात्तिक १८ गते जारी गरेको सूचनामा स्थानीय कृषकको उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने गरी प्राकृतिक फूलमाला प्रयोग गर्न र गराउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
प्लास्टिक तथा कृत्रिम फूलमालाको प्रयोगले वातावरणीय प्रदूषण बढाउने भएकाले यसको सट्टा प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले यस्तो पहल गरेको जनाएको छ । स्थानीय किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्दै कृषि उत्पादनको प्रवद्र्धन र किसानको आयआर्जनमा समेत सहयोग पुर्याउने उपमहानगरपालिकाको उद्देश्य रहेको नगर प्रमुख मिना कुमारी लामाले बताउनुभयो ।
प्राकृतिक फूलमालाको खरिद–बिक्री तथा बजारीकरणमा सहजता ल्याउन उपमहानगरपालिकाले व्यावसायिक फूलखेती गर्दै आएका ३१ जना कृषकको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरणसमेत सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा सयपत्री फूलखेती गर्ने कृषकहरू रहेका छन् ।
सूचीमा हेटौँडा–४ का सन्तोष सापकोटा, हेटौँडा–६ का बालकृष्ण चौलागाईं र अनुराधा उप्रेती, हेटौँडा–८ की उर्मिला चौलागाईं, हेटौँडा–१० की ललिता उप्रेती तथा हेटौँडा–१२ र १३ का विभिन्न कृषक समेटिएका छन् । विवरण छुटेका तर पुष्प व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई उपमहानरको रेकर्डमा आफूलाई दर्ज गराउन समेत आग्रह गरेको छ ।
उपमहानगरपालिकाले फूलमाला खरिद गर्न चाहने उपभोक्ता तथा व्यवसायीलाई सार्वजनिक गरिएको सम्पर्क विवरणका आधारमा उत्पादक किसानसँग प्रत्यक्ष सम्पर्क गर्नसमेत सहज हुनेछ ।
तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थान सजाउन फूलमालाको माग बढ्ने गर्दछ । यस्तो समयमा बजारमा प्लास्टिकका कृत्रिम फूलमाला भित्रिने र प्रयोगपछि लामो समयसम्म नष्ट नहुने फोहोरका रूपमा रहने समस्या भएकोले आफूहरुको ध्यानाकर्षण भएको नगरप्रमुख लामाले बताउनु भयो ।
प्राकृतिक फूलमालाको प्रयोगले वातावरण संरक्षणसँगै स्थानीय उत्पादनको खपत बढाउन र किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।
स्थानीय उत्पादनको प्रवद्र्धन, वातावरण संरक्षण र किसानको आर्थिक सशक्तीकरणलाई एकैसाथ जोड्ने उद्देश्यसहित उपमहानगरपालिकाले प्राकृतिक फूलमालाको प्रयोगलाई प्राथमिकता दिन नगरवासी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
उपमहागरको कार्यलाई लक्ष्यित गर्दै पुष्ष व्यवसायी बालकृष्ण चौलागाई भन्नुहुन्छ ‘यो धेरै सर्हानिया कार्य भएको छ तर यति मात्रै ले पुग्दैन । बजार अनुगमनको अत्यन्तै जरुरी छ । बजारमा परारको बर्षको भन्दै बजारलाई नै कुरुप बनाउने प्लास्टिकका सजावटका सामाग्रीहरु बन्द गरिदा धेरै सुन्दर हुन्छ ।’
मकवानपुर । मकवानपुरकाे हेटौंडामा १ लाख ४० हजार रुपैयाँ बराबरको पटका नष्ट गरिएको छ । सोमबार सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण हेड क्वाटर मकवानपुरले उक्त पटका बरामद गरि नष्ट गरिएको छ ।
हेटौंडा – १५ स्थित पुर्व पश्चिम राजमार्गमा सशस्त्र प्रहरी बल १४ नं. गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिर बहादुर लामा सहित खटिएको १० जनाको टोलीले बिरगंजबाट हेटौडा आउदै गरेको ईभीलाई जाँच गर्ने क्रममा प्रतिवन्धित आतिसवाजी प्रज्वलनशिल पदार्थ बरामद गरिएको थियो ।
जसमा रकेट पटका ४० प्याकेट, झिरझिरे १८० प्याकेट, नागिन पटका १५ प्याकेट र किङ्ग कोब्रा पटका ८८० प्याकेट बरामद गरिएको गण प्रमुख निभन खड्काले जानकारी दिनुभयो । बरामद गरिएको पटाका गण परिसरमा खाल्डोमा पुरी नष्ट गरिएको हो ।
तिहार नजिकिदै गर्दा व्यापारको लागि पटकाको अबैध ओसारपसार बढेपछि सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्व सुरक्षा योजना अन्तरगत सवारी जाँचको क्रममा विद्युतीय गाडी उक्त परिमाणकाे पटका बरामद गरिएकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकास्थित फास्ट्याक नजिक ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा–सिन्धुली खण्डकाे बकैया ५, तीनतलेमा डिजल लोड ट्याङ्कर दुर्घटना भएकाे हाे ।
शुक्रबार बेलुका हेटौंडाबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ ख २९४९ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्कर चालक सिन्धुली घ्याङ्लेख गाउँपालिका–२ का ४० वर्षीय रमेश कुमार रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।