मकवानपुर । मकवानपुरको हेटौंडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौंडा–५ र हेटौंडा–८ को सिमानामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई फायर गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले हवाई फायर गरि गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाउकाे छ । घटनाकाे विस्तृत विवरण निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार विशेष सुराकीकाे आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा ७/८ जना सेनाको टोलीले हेटौंडा आएका थिए । तस्कर भाग्न खोज्दा हवाई फायर गरिएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा न. ११ को धिरज लामा धोङलाई कोशिश संस्थाले घरेलु साना उद्योग सञ्चालनका लागि सहयोग गरेको छ ।
हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल, गैसस महासंघको अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरको कार्यक्रम संयोजक माया लामा, सानाहात नेपालको स्टेसन म्यानेजर डीकम्बर रुपाचा र प्रगति साथीसंगी समुहका सदस्य र कोशिश फिल्ड अफिसका कर्मचारीको उपस्थितिमा धोङलाई कोशिशकै कार्यलयमा जिविकोपार्जनका लागि सामग्री हस्तान्तरण गरिएको कोशिश मकवानपुरको पैरवी अधिकृत सुनीरा लामाले बताइन् ।
सहयोग उपलब्ध गराईएको र बिउँपुजी सामग्री व्यक्तिको सिप पहिचान, आवश्यकता, इच्छा शत्ति, स्रोत नक्सांकन, बजार व्यवस्थापन आदिको सुनिश्चितत्ता गरेर वडा अध्यक्ष्य नविन सिग्देलबाट हस्तान्तरण गरिएको कोशिश मकवानपुरको पैरवी अधिकृत लामाले बताइन् । धोङलाई पानी पुरी र चटपटे बनाउने सामग्री सहयोग गरिएको छ |
चटपटे बनाउनको लागि सामग्री उपलब्ध भएपछी कोशिश संस्था र प्रगति साथीसंगी समुहको सहयोगलाई आफूले सही तरिकाले आयआर्जन गरेर जिविकोपार्जन गर्ने प्रतिबद्धता व्यक्त गरे । सानो सहयोगले जीवनमा सकारात्मक उर्जा मिल्ने बताउँदै माइती नेपालकी माया लामाले व्यक्तिको लगाव सबैभन्दा महत्वपूर्ण हुने बताइन् ।
सिपलाई प्राथमिकता दिइ व्यवसाय गर्दा मानसिक स्वास्थ राम्रो हुने र घरेलु व्यवसायमा सकेसम्म स्थानीय सामग्री र स्वास्थ्यलाई ध्यानमा राखेर चटपटे पसल संचालन गरी आयआर्जन र स्वास्थ्य लाभका लागि जोड दिदै आगामी दिनमा यस क्षेत्रमा सबैको सामुहिक प्रयासबाट मानसिक स्वास्थ्यको प्रवर्धनमा प्रदेश सरकारदेखि स्थानीय तहसम्म वकालत गर्ने गैसस महासंघ सदैव तयार रहेको अध्यक्ष रमिला सापकोटाले बताइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलमा कारले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा हेटौडा १ चौकीटोल बस्ने ३५ वर्षीय युवराज लामा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सोमबार बेलुका हेटौंडा १ चौकीटोल स्थित हेटौंडा भैसे सडक खण्ड अन्तरगत तिरतिरे धारा नजिकै भैंसेबाट हेटौंडा तर्फ आउदै गरेको बा.प्र.०३-००२प ७२६७ नम्बरको स्कुटरलाई हेटौंडाबाट काठमाडौं जादै गरेको बीआर ०५ बा ०००६ (BR05BA 0006) नम्बरको ईन्डियन कारले ठक्कर दिँदा स्कुटर चालक लामाकाे मृत्यु भएकाे हाे ।
कारकाे ठक्करबाट घाइते भएका लामाको उपचारकाे क्रममा हेटौडा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनामा स्कुटरमा सवार हेटौंडा १ बस्ने २५ वर्षीय बबिता लामा घाइते भएकी छिन् । उनकाे हेटौंडा अस्पतालमा उपचार भइरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । कार र चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने बर्ष २४ वर्षीय सुकर्ण प्रताप सिङ प्रहरी नियन्त्रणमा रहेका छन् ।
मकवानपुर । सिविन नेपाल मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडामा बालबालिका सम्बन्धी गरिएको सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लास्थित सरोकारवाला निकायहरुको उपस्थितिमा सिविन मकवानपुरले हेटौंडाको १, ३, १०, ११ र १९ वडामा गरिएको स्थलगत आधारभूत घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क सावर्जनिक गरिएको हो ।
हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले बालबालिकाको सर्वेक्षणले बालमैत्री स्थानीय शासन अभियानलाई सहयोग पुग्ने बताइन् । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्न समेत तथ्याङ्कले सहयोग पुर्याउने उनले जानकारी दिइन् । यसैगरि तथ्याङ्क सर्वेक्षण गरिएका वडाका वडाध्यहरु सविन न्यौपाने, ढोलक बहादुर थापा, जुना दाहाल, फुर्वा दोर्जे लामा, नरनाथ सुवेदीले आफ्नो वडामा बालबालिकाको विवरणलाई विश्लेषण गरि सो अनुसार कार्य योजना बनाइ काम गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा सिविन नेपालको तर्फबाट विषय विज्ञ भास्कर खनालले ५ वटा वडाको ९ हजार ८०१ घरधुरीमा गरिएको सर्वेक्षणको आधारभूत तथ्याङ्क सार्वजनिक गरेका थिए । ५ वटा वडामा बालबालिकाको संख्या १३ हजार ४५ जना, जन्मदर्ता भएका घरधुरी ५३ प्रतिशत, नागरिकता प्रमाणपत्र भएका घरधुरी ९५.३१ प्रतिशत, घरधुरीको औसत मासिक आम्दानी ३५ हजार रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै विद्यालय भर्ना भएका बालबालिका १० हजार ६०२ जना, भर्नादर ८१.२७ प्रतिशत, विद्यालय छाड्ने बालबालिका ३६७ जना, विद्यालय छाड्ने सम्भावना रहेका ८९ जना बालबालिका, अपांगता भएका बालबालिका १.२ प्रतिशत (११७ जना), अपांगता प्रमाणपत्र प्राप्त गरेका ३१ प्रतिशत बालबालिका, ७३ घरधुरीका बालबालिका बालश्रममा संलग्न जसमध्ये पूर्णकालिन समय काम गर्ने बालश्रमिक ६७ प्रतिशत रहेको, बालबालिका श्रममा जाने वा पठाउने सम्भावना रहेका २६ जना बालबालिका, बालविवाहको उच्च जोखिममा रहेका ५३ जना बालबालिका, अभिभावक विहिन तथा हाल बुवा आमाको साथमा नरहेका बालबालिका २५३३ रहेको खनालले जानकारी दिए ।
यसैगरी कुल विवाह मध्ये ८९ प्रतिशतको प्रमाण पत्र लिएका देखिएको छ । ६३९ जना शारीरिक तथा मानसिक समस्या भएको,४१९ घरधुरीमा शौचालय नरहेको पाइएको छ । यसका साथै खनालले वडागत रुपमा छुट्टाछुट्टै विश्लेषण गरिएको तथ्यांक प्रस्तुत गरेका थिए । सिविन नेपालले साप्लानीरसँगको साझेदारी हेटौडाको १, ३, १०, ११ र १९ वडामा शिक्षा र सामाजिक कार्य मार्फत बालश्रम न्यूनीकरण परियोजना संचालन भइरहेको सिविन नेपाल मकवानपुरका प्रवन्धक झबिन्द ज्ञवालीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षहरु, बालमैत्री सम्पर्क व्यक्ति एवम् वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष, बालमैत्री सहजकर्ताहरु, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, गैरसरकारी संस्था महासंघ मकवानपुर, नगर बाल सञ्जालका सदस्यहरु, साप्लानिरका सुजना श्रेष्ठ, सिविन नेपालका परियोजना ब्यवस्थापन कृष्ण तामाङ लगायतकाे उपस्थिति रहेको थियो ।
दक्षिण एसियाको मानव निर्मित पहिलो सुरुङ मार्गमा प्रवेश खुला
Tags: No Comments
मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुनर्निर्माण सकिएको १७ महिनापछि स्थानीय सरकारलाई हस्तान्तरण गर्दै सर्वसाधारणको लागि खुला गरिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण कार्य २०८० साउन २२ गते सकिएको थियो । सुरुङमार्ग पुनर्निर्माणको लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो । आइतबार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई जोड्न चन्द्र शम्मशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणपछि अब सर्वसाधारणले तोकिएको शुल्क तिरेर वारपार गर्न पाउने छन् ।
प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणी पौडेल, हालका मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितीमा भौतिक पूर्वाधार मन्त्री अमन मास्केले हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई चावि हस्तान्तरण गरे । सुरुङ मार्गको भने प्रदेशको पहिलो मुख्यमन्त्री पौडेलले रिवन काटेर उद्घाटन गरेका थिए । यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो ।
ऐतिहासिक यो यो सुरुङ मार्गमा २०२० सालसम्म सवारी नै आवतजात हुने गर्दथे । अहिले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको पौडेलले बताए । “यो सुरुङमार्ग पर्यटकीय र अध्ययन थलो हो” पौडेलले भने “अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको थियो ।”
चुरियामाई सुरुङ विक्रम संवत १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ । जसको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो ।
माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक “दी हिमालयन किंडम अफ नेपाल”मा पनि चर्चा गरेका छन् ।
राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो । चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्गबाट सीधा मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको तत्कालिन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।
प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यस बीचमै यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । २०७२ सालको भुकम्पले यसका अझै बढी क्षति गराएपछि सुरुङमार्ग गुमानाम बन्दै आएको थियो । प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको हो ।
पुरानो सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गरिएको हो ।
३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ देखाउँदै दुई पटक म्याद थपेर काम गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको पालामा ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण थालिएको थियो । २०७८ साउनमा थालिएको पुनर्निर्माण २०८० जेठमै वारपार गर्न मिल्ने बनाइएको थियो । १०६ वर्ष पुरानो सुरुङ पुनर्निर्माणसँगै एक अर्को इतिहास सुरु भएको प्रदेशका मुख्यमन्त्री बहादुरसी लामाले बताए ।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले भारतीय सिमानाको नजिकै रहेको सुरुङ मार्ग पर्यटकीय संभावना रहेको बताए । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले सहकार्य र समन्वय गर्ने पौडेलले बताए ।
अवलोकन शुल्क कति ?
उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । पाँच वर्ष मुनिका बालबालिका, अपा· र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।
चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीय स्थलको रुपमा विकसित गर्नेगरी अगाडि बढेको उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै सञ्चालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।
राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजंग थापाले सुरुङमार्ग निर्माण गरेका थिए । नेपाली प्रविधि प्रयोग गरेर थापाले सुरुङमार्ग निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ हुँदै मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट भीमफेदी हुँदै काठमाडौं पु-याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।