मकवानपुर । अविरल वर्षासँगै पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ज्यामिरेमा पहरो खस्दा उक्त सडकखण्ड अबरुद्ध भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
निरन्तर परिरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सडक डिभिजन कार्यालयकाे समन्वयमा पहिरो खसेको स्थानमा बाटो खुलाउने प्रयास भइरहेको छ । प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यो सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ । प्रहरीका अनुसार हेटौंडा काठमाडो जाने अन्य सडक खण्डमा अवरोध रहेकाे छैन ।
मकवानपुर । भ्रामक सूचना बीच सत्य–तथ्य समाचारको जिम्मेवारी बढाउने बिषयमा हेटौंडामा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा जेन–जी आन्दोलनपछी पत्रकारिता क्षेत्रमा समस्या र चुनौती पनि उत्तिकै बढेको र अहिलेको अवस्थामा विभिन्न सामाजिक सञ्जालमा आएका भ्रामक खवरहरुलाई सञ्चार माध्यमहरुले चिरेर सत्य समाचार नागरिकलाई पस्कनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले अहिलेको अवस्थामा पत्रकार झनै जिम्मेवार भएर नागरिकलाई आधिकारिक सूचना प्रदान गर्नुपर्ने बताए । पत्रकारका लागि सरकारपक्ष र नागरिक पक्षबाट पनि निकै चुनौती खेप्नुपरेको उनकाे भनाई छ । तर, पत्रकारले लेख्ने विषयमा भने चुनौतीको सामना गर्दै अगाडी बढ्नुपर्ने उनले बताए ।
सामाजिक सञ्जालमा अहिले अराजक तत्वहरुले गर्दा थप समस्या भएको र उनीहरुले राखेका फेक समाचारका कारण पनि समस्या बढेको अध्यक्ष मगरले बताए । सामाजिक सञ्जालमा आएका नकारात्मक विषयलाई चिर्न जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले सामाजिक सञ्जालमा आएका नकारात्मक विषय आम नागरिक पत्याएकाे बताएका छन् । त्यसलाई बुझ्न जरुरी रहेकोले सत्य विषय समाचारका माध्यमबाट लिन पनि नागरिकलाई उनले आग्रह गरे । अहिले पनि फेक समाचारका पछाडी लाग्ने समाजका कारण थप समस्या भएको उनकाे भनाई छ ।
प्रस्तुतीकरण गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सामाजिक सञ्जालमा गलत सूचना, हल्ला र अपुष्ट समाचार बढेपछि परम्परागत सञ्चारमाध्यमले विश्वसनीयता कायम गर्न कठिन भएको जानकारी दिए । तुरुन्त र छोटो रूपमा सूचना चाहने भएकाले मिडियाले समाचारको गहिराइभन्दा गति र ट्रेन्डमा ध्यान दिनुपर्ने दबाब बढेको उनले बताए ।
‘अनलाइन माध्यममा निःशुल्क सामग्री र विज्ञापनमा गिरावटले परम्परागत सञ्चार माध्यमका आर्थिक स्रोत घटेका छन्। पुस्ताले बहुआयामिक सूचना स्रोत प्रयोग गर्ने भएकाले मिडियाले तथ्य–जाँचमा अझ कडा मापदण्ड कायम गर्नुपर्ने भएको छ‘ अधिकारीले भने ‘सामाजिक सञ्जालका समाचार वितरणमै प्रभुत्व जमाएका छन्, जसले परम्परागत माध्यमको पहुँच घटाएको छ ।’ अनलाइन प्लेटफर्ममा अभिव्यक्ति स्वतन्त्रताको नाममा अनियन्त्रित सामग्री आउँदा कानुनी र नैतिक दुवै चुनौती बढेको उनले बताए ।
बागमती प्रदेशसभाका प्रवक्ता मनोज कुमार गुप्ताले देशका सातै प्रदेशका सरकारका संरचना जलाइएको र बागमती प्रदेशसभा जेनजी आन्दोलनबाट ध्वस्त भएको बताए । प्रदेश संरचना र सरकारका राम्रा गरिएका काम बाहिर ल्याउन नसक्दा पनि प्रदेश प्रति जनताको वितृष्णा बढेको उनले बताए ।
प्रदेशसभाले गरेका कामहरुलाई हेर्न जरुरी रहेको बताउँदै उनले भने ‘प्रदेशसभाले ८२ वटा कानून निर्माण गर्ने भनिएको र हाल सम्म ५० वटा कानून मात्र निर्माण भएको छ । दोस्रो कार्यकालमात २२ वटा मात्र कानून निर्माण भएको छ ।’ प्रदेशसभाको विषयलाई लिएर अरु बाँकी कानून निर्माण किन हुन सकेनन् भनेर प्रश्न उठाउने ठाउँ रहेको उनले बताए । ‘प्रदेशसभाका संरचनामा आगोलागी हुँदा ३३ करोड रुपैयाँको क्षति भएको छ’ उनले भने ‘मुख्यमन्त्री कार्यालयको सभाहललाई मर्मत गरेर प्रदेशसभाको बैठक बस्ने तयारी गरिरहेका छौं ।’
कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार रामकुमार एलन, स्वतन्त्र पत्रकार संघका बागमती प्रदेश महासचिव सुरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष भावना रिजाल, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, बागमती प्रदेशसभाका रिपेश दाहाल, गंगा लामिछानेलगायतकाको आतिथ्यता रहेको थियो ।
जनपत्र मिडिया प्रालिको आयोजनामा कार्यक्रम गरिएको अध्यक्ष हरि हुमागाईले बताए।
मकवानपुर । मकवानपुर जिल्लाको जेनजी संयाेजकमा सुगम नेगी चयन भएका छन् ।
त्यसैगरि जेनजी जिल्ला सह-संयाेजकमा निश्चल रसाईली र नवीन परियारलाई जिम्मेवारी दिइएको छ। जेनजी बागमती प्रदेश संयोजक अफ्साना बानुका अनुसार जिल्ला संयोजक तथा सह संयोजक बहुमतको आधारमा छनौट गरिएको हो ।
संयोजक नेगी र सह–संयोजकद्वय रसाईली र परियारलाई सफल कार्यकालका लागि शुभकामना दिदै प्रदेश संयोजक बानुले नयाँ नेतृत्वले जनविश्वास, जवाफदेहिता र पारदर्शिताका सिद्धान्तअनुसार कार्य गर्ने बताइन् ।
चितवन । चितवनको टिकौली जंगलमा ट्रकमा बस ठोकिएर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा शुक्रबार बिहान इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जादै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको बस ठोक्किएर थियो । उक्त बसमा जनकपुरबाट काठमाडौंतर्फ जादै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको बससमेत ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
बस दुर्घटनापछि सडकमा पल्टिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनको सुरक्षा टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवनका विभिन्न अस्पताल पुर्याएको थियो । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
क्रेनको सहायताले दुर्घटना भएको सवारी साधन हटाएर सडक एकतर्फी सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । श्रम संस्कृति पार्टीकाे मकवानपुर जिल्लामा संगठन विस्तार गरिएकाे छ । तीव्रता दिएको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वकाे पार्टीकाे मकवानपुर जिल्ला तथा पालिका र वडा तहसम्म तदर्थ कमिटी गठन गरेकाे छ ।
पार्टीकाे जिल्ला तदर्थ समिति संयोजकमा युनेश लामा सिन्तान चयन भएका छन्। संगठनकाे सह–संयोजकमा ध्रुव दहाल, किशोर राना मगर, दिपक सिङ घलान रहेका छन् । यसैगरी सचिवमा मर्सी मोक्तान तथा सह–सचिव भुपेन्द्र राना मगर रहेका छन्। जिल्ला समिति सदस्यहरुमा मोहन वाइबा, महादेव घलान, दिपेन्द्र पुडासैनी लगायत २१ सदस्य रहेकाे बताइएकाे छ ।
त्यस्तै, पार्टीकाे मनहरी गाउँपालिका समितिको संयोजकमा पवन कुमार मोक्तान र सह–संयोजकमा पूर्णहरी अधिकारी चयन भएका छन्। मनहरी गाउँपालिका समिति १९ सदस्यीय रहेको जनाइएको छ। यसैगरी भीमफेदी गाउँपालिकामा दिपेन्द्र पुडासैनीकाे नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
वडा तहसम्म संगठन विस्तार थालेको पार्टीले भीमफेदी गाउँपालिका वडा नं. ४ मा शिव बहादुर केसीकाे संयोजकमा ११ सदस्यीय वडा समिति गठन गरिएकाे छ । चित्र बहादुर रुम्बा सह–संयोजक रहेकाे समितिमा प्रताप लामा सचिव, र बासुदेउ थिङलगायतका सदस्य रहेका छन्।
जिल्ला संयोजक युनेश लामा सिन्तानका अनुसार श्रम संस्कृति पार्टीले हरेक शनिबार श्रमदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। “हामी श्रमलाई संस्कृतिको रूपमा स्थापित गर्न चाहन्छौं र यही सन्देश गाउँ–गाउँ र वडा–वडासम्म पुर्याउँदैछौं”उनले भने ।
सिन्तानका अनुसार पार्टीले श्रमदानलाई पनि वडास्तरमा पुर्याउने योजना अघि बढाएको छ । श्रमदान संस्कृतिले समाजमा सामूहिक श्रम र सहयोगकाे भावना विकास हुने पार्टीले विश्वास लिएकाे छ।