मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा अविश्वासकाे प्रस्तावकाे बखेडा साथै अन्य आराेप लगाउँदै संसद अवरुद्ध गरेको हो ।
सांसदहरुले अवरुद्ध गरेसँगै बैठक स्थगित भएको छ । मंगलबार अपराह्न सुरु भएको प्रदेशसभा बैठक नेकपा माओवादीका सांसदहरुले विभिन्न कुराको माग गर्दै अवरुद्ध गरेपछि माओवादी केन्द्रका सांसदहरुको अवरोध पछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि चैत्र २५ गते दिउँसो ११ बजे बस्नेगरी बैठक स्थगित गरेकाे प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले तत्कालिन नेकपाको प्रदेशसभाका बहुसंख्यक सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नै नदिएको आरोप लगाए ।
उनले भने, ‘सभामुख संवैधानिक रुपमा स्वतन्त्र हुनुहुन्छ, तर उहाँलाई पनि सरकारले दबाबमा राख्यो । सो दबाबका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण बनाउन सक्नु भएन ।’ ‘प्रदेशसभाको विभिन्न समिति र कार्य परामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य दलहरुलाई सूचना नै नगरी एकलौटी ढंगबाट छलफल अगाडि बढाउनु भएका छ यो भन्दा दुःखद क्षण के हुनसक्छ,’ उनले भने । नेता जम्मकट्टेलले आफ्नो धारणा राखिसकेपछि माओवादी केन्द्रका प्रदेशसभाका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए ।

प्रदेशसभा बैठक बस्नु अघि आज बिहान बसेको कार्य परामर्श समितिको बैठकले मुख्यमन्त्री पौडेलको विरुद्धमा ल्याएको अविश्वासको प्रस्ताव फिर्ता गरियोस् भनि ल्याएको प्रस्ताव, अर्थ तथा विकास समितिको प्रदेश सार्वजनिक सडक तथा परिवहनसम्बन्धी प्रतिवेदन र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश पर्यटन विकास सम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्ने तयारी गरेको थियो ।
माओवादी केन्द्रको अवरोध पछि बैठक अवरुद्ध हुँदा सबै कार्यसूचीहरू स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । आजकाे प्रदेशसभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ भने अपस्थित थिए ।
मकवानपुर । झलनाथ खनाल–माधव नेपाल समूहले नेकपाकाे बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १ सय ७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको समूहले घाेषणा गरेकाे कमिटीकाे सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । कमिटीकाे सदस्यहरुमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनीलगायत रहेका छन् ।
कार्यक्रममा घोषणा गरिएकाे १ सय ७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएकाे छ।
मकवानपुर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी नेपाल पक्षका आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।
लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै आज १ बजे बैठक बस्ने जनाएको हो ।
प्रदेशसभा बैठक आज १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।
गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । अविश्वास प्रस्ताव गत माघ ९ गते बसेको प्रदेशसभा बैठकमा टेबल भएपनि छलफल हुन सकेन । माघ १९ गते बस्ने गरी स्थगित भएको बैठक बस्न सकेको छैन ।
त्यसयता प्रदेशसभा बैठक विषेश कारण देखाउँदै दुई पटकसम्म स्थगित भएको थियो । चैत १७ गते प्रदेशका पूर्व वनमन्त्री अरुण नेपाल नेतृत्वको टोलीले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन संसद सचिवालयमा दर्ता गराएपछि बागमती प्रदेशसभा बैठक बस्ने भएको हो ।
आज हुने बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ताबारे सभालाई जानकारी दिने, यसअघि प्रदेशसभा बैठकमा छलफल भएर प्रतिवेदनसमेत तयार भइ बैठकले पास गर्न बाँकी रहेको प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ का विषयमा छलफल हुन सक्ने प्रवक्ता विनोद अमात्यले बताए ।
मकवानपुर । बागमती गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजनामा मकवानपुरको बागमतीमा भएकाे चौथो बागमती गोल्डकपकाे उपाधी थ्रीस्टार क्लब ललितपुरले कब्जा जमाएकाे छ । जनता मावि फापरवारीकाे खेल मैदानमा चैत २३ गते भएकाे फाइनल खेलमा अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुनलाई ३–२ गाेल अन्तरले हराउँदै थ्रीस्टारले उपाथी अाफ्नाे पाेल्टामा पारेकाे हाे ।
पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इन्ज्युरी समयमा एनआरएका खेलाडीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाएका थिए । प्रशिक्षक उज्जन श्रेष्ठले थ्री स्टारको प्रशिक्षकका रुपमा पहिलो प्रतियोगितामा नै उपाधि जितेका छन् । बागमती गोल्डकप खेल्नु अघि थ्री स्टारले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
खेलको १२ औं मिनेटमा एमफोमले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनी टोलीलाई २–० ले अघि बढाए । पहिलो हाफमा केहि कमजोर प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा भने सानदार पुनरागमन ग¥र्यो । मनिष डाँगीले ५८ औं मिनेटमा गोल गर्दै ललितपुरे टोलीलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै निशान खड्काले फ्रिकिकमा गोल गर्दै २–२ को बराबरीमा ल्याए ।
थ्रीस्टार क्लब, बागमती युवा क्लब सर्लाहीलाइ हराउँदै र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन जाबलाखेल युथ क्लबलाइ हराउँदै फाइनल प्रवेश गरका थिए । विजेता वन्दै थ्रीस्टारले नगद ८ लाख शिल्ड र प्रमाण पत्र हात पारेकाे छ । अफ्रिकन रुट् एसोसिएसन उपविजेतामा चित्त बुझाउँदै नगर ४ लाख प्राप्त गरेकाे छ ।

अफ्रिकन रुट्स् एसोसिएसनका गोलकिपर डीए सिल्भा प्रतियोगिताका उत्कृष्ट किपर, अफ्रिकन रुट्स् एसोसिएसनकै आखामी उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट वेस्ट फरवार्ड माउसा बन्न सफल भए भने सर्वोकृष्ट डिफेण्डर थ्रीस्टारका जीवन गुरुङ र थ्रीस्टारकै उर्जन थापा उत्कृष्ट कोच बन्न सफल भए ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी थ्रीस्टारका निशान खड्का बन्न सफल भए । प्रतियोगिताका विधागत सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, विधागत उत्कृष्ट खेलाडीले प्रतिखेलाडी १० हजार र म्यान अफ दी म्याचले प्रतिखेलाडी ५ हजार प्रदान प्राप्त गरेका छन् ।
खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियाेगितामा अायाेजक बागमती खेलकुद विकास समिति , नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका थिए ।