मकवानपुरमा बैशाख १९ गते रातीबाट निषेधाज्ञा (निर्णय सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरमा बैशाख १९ गते आइतबार राती १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । काेराेना संक्रमितकाे सक्रिय संख्या मकवानपुरमा ५ सय माथि पुगेकाेले संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निषेधाज्ञा लगाइएकाे बताइएकाे छ ।
जिल्ला सुरक्षा समितिको शनिबार अपराह्नको बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाकाे सबै क्षेत्र तथा मनहरी गाँउपालिकाकाे राजमार्ग क्षेत्रकाे दाँयाबाँया ५ सय मिटर वरपर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार बैठकले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाका उक्त स्थानीय तहमा भोलि आइतबार राती १२ बजेदेखि लागू हुने गरी आगामी बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे हाे ।
यसअघी शनिबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे थियाे ।
त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा लगाउन पनि केन्द्रले सिफारिस थियाे । बजारका तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुला राख्न र पास बिना सवारी साधन संचालन गर्न नदिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।
निशेधाज्ञाकाे निर्णय हेर्नुहाेस


मकवानपुर । पछिल्लो १४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ९ सय ६९ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ । यस्तै नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना संक्रमण (कोभिड १९) काे जोखिम न्युनिकरणको र्यापिड रेस्पोन्स टिम बनाएको छ । प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा शनिबार भर्चुअल बैठकले र्यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष देवकोटाको संयोजकत्वमा गठित ११ सदस्यीय टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले (विक), कोषाध्यक्ष रमेश ढुङ्गेल, कार्य समिति सदस्यहरु प्रविण दत्त, ज्ञानु श्रेष्ठ, काजि श्रेष्ठ, पेमा लामा, श्याम प्रसाद खतिवडा रहेका छन् ।
बैठकले सबै जिल्ला शाखाहरुलाई र्यापिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीति निर्माण गरी काम गर्न आग्रह छ । टिमले संचारकर्मीहरूका लागि कोरोना जोखिम न्युनिकरणका लागि गाइडलाइन समेत तयार गर्नेछ भने काेराेनाकाे कारण जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन समेत गरिने छ।
बैठकले कोभिड १९ बिरुद्धको खोप लगाउन बाँकी रहेका सञ्चारकर्मीहरुलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्षत्रमा अटिन आग्रह गर्दै प्रदेश र जिल्लास्थित सम्बन्धित निकायहरुलाई आबश्यक खोपको प्रवन्ध गरी समन्वयको लागि अनुरोध गरेको छ । कोभिड १९ जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातारण निर्माणको लागि सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै महासंघले आफ्नो सञ्चारगृहमा रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।
काेराेना भाइरसकाे जोखिमको बहानामा सञ्चारकर्मीहरुलाई बेतलबी बिदामा नराख्न र निष्काशन नगर्न सञ्चारमाध्महरुलाई आग्रह गर्दै महासंघले कोभिड बहानामा बेतलवी बिदामा राख्ने र निष्काशन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।
कोभिड महामारीबाट प्रभावित बनेको संचारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकमा संक्रमणकाे जाेखिम कम गर्न र संक्रमितहरुकाे उपचारलाई व्यवस्थित बनाउन सरकारी प्रयास प्रभावकारी हुन सकेकाेले उपचारमा उचित व्यवस्था मिलाउन तीनै तहका सरकार जुट्नुपर्नेमा जोड दिइएको छ । साथै निषेधाज्ञाकाे प्रत्यक्ष मारमा पर्ने श्रमिक वर्गकाे राेजीराेटीका लागि आवश्यक प्याकेज ल्याउन पनि माग गरिएको छ ।
मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिवेशनहरूको मिति ताेकेकाे छ । एमालेले तहगत रूपमा गर्ने अधिवेशनहरूकाे मिति तय गरेको हाे । गत वैशाख ६, १० र १२ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार एमालेले तहगत अधिवेशनको मितिलाई अन्तिम रूप दिएको हाे ।
पार्टी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई केन्द्रीय कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशन मार्फत् जिल्ला तहमा सर्कुलर गरेको एमालेले जनाएकाे छ ।
अन्तरपार्टी निर्देशनमा २०७८ असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने भनिएकाे छ । सदस्यता नविकरण पश्चात स्थानीय र प्रदेश तहका अधिवेशनहरू गर्ने भनिएको निर्देशनमा उल्लेख छ । एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने निर्देशनमा भनिएकाे छ।
भदौ ५ गते वडा अधिवेशनको मिति तोकिएको छ। भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन गर्ने साथै ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरिएको छ । असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ। साे पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने कार्यक्रम सहितकाे तालिकामा उल्लेख गरिएकाे छ ।
मंसिर २ देखि ६ गतेसम्म दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ। फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटीले नै महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो।
मकवानपुर । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ । आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यकाे लागि हुने निर्वाचनमा मकवानपुरकाे हेटाैडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल ताेकिएकाे आयोगले जनाएकाे छ ।
मतदान स्थल २ वटा केन्द्र रहने भएकाे छ । प्रदेशसभा सदस्य १ सय १० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जनाका लागि केन्द्र (ख) गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकिएकाे आयोगले जानकारी दिएकाे हाे ।
राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम भुटनदेवी माविलाई मतदान स्थल तोकिएकाे आयोगले जनाएकाे छ ।
नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशकाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामबहादुर थापा बादल नेकपा एमालेमा प्रवेश गरे पछी केन्द्रले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएकाेले उनको पद रिक्त भएको थियो।
यसैगरी शुक्रबार निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भइ सकेकाे छ । यस अघी नै उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अायाेगले प्रकाशित गरि कार्य प्रारम्भ गरेकाे हाे ।