मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । जनतामा जाने कुरा लोकतन्त्रको विरुद्ध हुनै नसक्ने सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रहसमेत गरे ।
हेर्नुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लाे २४ घण्टामा थप ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । २० हजार ४ सय १४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २ सय ८ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।
मकवानपुरमा १ सय ९९ जना कोरोना मुक्त
पछिल्लो २४ घण्टामा मकवानपुरमा थप १ सय १९ जना काेराेना संक्रमण मुक्त भएका छन् । होम आइसोलेसनबाट १ सय ८२ र आइसोलेसनबाट १८ जना कोरोना संक्रमण मुक्त भएका हुन् । यो संगै मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेकाे संख्या ५ हजार ६ सय ८१ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय १५ पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा जिल्लामा थप १ सय ५१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जानकारी दिएकाे हाे । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ८ हजार २ सय १३ पुगेको छ । जिल्लामा अहिलेसम्म २ हजार ४ सय ४४ जना सक्रिय संक्रमित छन् । हालसम्म जिल्लामा कोरोना पुष्टि भएका ८४ जनाको मृत्यु भएकाे छ ।
२ जनाकाे मृत्यु
विहीबार मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका हेटौंडा अस्पतालमा १ पुरुष र मनहरी कोभिड अस्पतालमा १ महिला गरी २ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत बाराको निजगढ नगरपालिका वडा नम्बर–९ बस्ने ४९ वर्षका पुरुषको विहान ७ बजे निधन भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
त्यस्तै मनहरीको कोभिड अस्पतालमा मनहरी गाउँपालिका वडा नम्बर–७ रमन्टारकी ५० वर्षकी महिलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
बन्द काेठा भित्रबाट
सबैलाई लेखेकाेछु
बिपनीमा नभेटेनि
सपनिमा देखेकाेछु
बन्दिभई बसेकाे छु
निसास्सिंदै हावाबिना
काेराेनाकाे कहरमा
भाेलि देख्ने दावाबिना
आसागराैं भेटहाेला
प्राणवायु पाएँ भने
काेराेनकाे कालबाट
उम्किएर आएँ भने
मरेकाे त छैन
अझै हिम्मत र आस पनि
तर पनि लाग्दाेरैछ
कताकता त्रास पनि
घरभित्रै बसाैं सबै
काम धेरै भएपनि
बाच्नेले त हाेसगराैं
मर्ने मरी गएपनि
कहीं कतै कसैलाई
लाग्नहुन्न ब्याधीहरु
सुरक्षित भईबसाैं
हटिजान्छ आँधिहरु।।
रचनाकाल २०७८/२/७
हर्नामाडी मकवानपुर हाल काठमाडाै
मकवानपुर । घरेलु तथा साना उद्योगलाई सहयोगका कार्यक्रम ल्याउन माग गरिएकाे छ । मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लक डाउन तथा निषेधाज्ञाका कारण उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसंग माग गरेको हाे ।
संघका महासचिव कुमार पौडेलले बुधबार आज प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करीब डेढ बर्षको कोभिड १९ का कारण भएको लकडाउनका कारण घरेलु तथा साना उद्योगी आफ्ना व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले सरकारले आफूहरु लक्षित ठोस कार्यक्रमहरु ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा नेपाल सरकारले तोकेको भन्सार तिरी कच्चा पदार्थ बाहिरी देशबाट समेत आयात गरी तिनै देशहरुमा उत्पादित बस्तुको मूल्यसंग प्रतिस्पर्धा गर्दै उद्योग सन्चालन गर्नु परेको चुनौतीपूर्ण अवस्थामा घरेलु तथा साना उद्योगीहरु कोरोनाको माहामारीबाट थप प्रताडित बन्न पुगेको उल्लेख छ । यस्तै सरकारले आफूहरुको समस्या सुनुवाई नगरेको भन्दै विज्ञप्तिमा आफ्नो पेशालाई निरन्तरता दिन आफ्नो जायजेथा बैंकमा राखी ऋण लिई उद्योगहरु सन्चालन गरिरहेका धेरै घरेलु तथा साना उद्योगहरु ऋणको ब्याज मात्र होइन सावाँ पनि तिर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ ।
सरकारले लकडाउन भरी ऋणको ताकेता नगर्नु भनी बैंकहरुलाई परिपत्र गरेको भएतापनी त्यसको खासै असर आफूहरुले नदेखेको विज्ञप्तिमा लेखिएको छ । ‘लकडाउन खुकुलो हुनासाथ बैंकको किस्ता, ब्याज, बत्ती, पानी, भाडा र श्रमिकको पारिश्रमिक कसरी बुझाउने भन्ने सोच र चिन्तामा व्याकुल साना उद्योगीहरुलाई आफ्नो उद्योग टोक्नु न बोक्नु अवस्थामा पुगेको छ ।’ विज्ञप्तिमा उल्लेख गर्दै घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई बैंकको व्याज, बत्ती, पानी, घरभाडामा विशेष सरकारी प्याकेजको खाँचो परेको अवस्थामा पनि आमनागरिकको जीवन जोगाउन व्यक्तिगत वा समूहगत रुपमा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेकोबारे गराउन गराइएको छ ।
कोभिडका कारण लागू गरिएको निषेधाज्ञाका कारण हाल प्राय सम्पूर्ण उद्योग बन्द रहेकाले सरकारले ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु सधैंका लागि बन्द हुने हुँदा सम्बन्धि निकायलाई ध्यान दिन माग पनि प्रेस विज्ञप्तिमार्फत गरिएको छ । ‘माहामारीमा ज्यानको सुरक्षाले प्राथमिकता पाउने भएता पनि त्यसपछिका दिनहरुमा नेपाल सरकारले कुनै ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु बन्द हुने अवस्थामा रहेको हुँदा समयमा नै सम्बन्धीत निकायको ध्यान जाओस् भनी यो प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहान्छौं ।’ विज्ञप्तिमा लेखिएको छ ।
अहिले कोरोनाको कहरमा उपचारको निम्ती अस्पतालमा बेड नहुँनु, आइसीयु, अक्सीजन अभाव हुनु तथा खोपको पर्याप्त उपलब्धता गराउनुपर्नेमा सरकार तथा राजनीतिक दलहरुको प्रभावकारी भूमिका नखेलेको बताउँदै सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य उपचारमा लगाउन ध्यानाकर्षण गराउँदै घरेलु उद्योगी व्यवसायीहरुलाई खोपको व्यवस्था मिलाउन पनि महासचिव पौडेलले विज्ञप्तिमार्फत माग गरेका छन् ।

मकवानपुर । हेटाैडा ६ चाैघडामा रहेकाे मकवानपुर स्वास्थ्य चाैकीलाइ स्वास्थ सामग्री सहयाेग गरिएकाे छ । हेटौंडा-६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर,मास्क,ग्रोल्बस (सर्जिकल पञ्जा), लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको स्वास्थ्य चाैकी प्रमुख ताेयानाथ ढुंगेलले जानकारी दिए ।
अस्पतालका डाक्टर अभन गौतमले स्वास्थ्य सामाग्री हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई र हेटौंडा उपमहानगरपालिका सिअहेब अधिकृत भोलानाथ चौलागाई हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै चौलागाईले संकटको अवस्थामा सिद्धस्थली सामुदायिक अस्पतालले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री दिएकोमा खुशी व्यक्त गरेका छन। सामाग्री हस्तान्तरण गर्दै डाक्टर गौतमले संकटको अवस्थामा सबैले सहयोग गरी महामारी नियन्त्रणमा लाग्नु पर्ने भएकोले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए।
हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संचलक समिति सदस्य उत्सव चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल,अस्पताल संचालक गोमा गौतम लगायतको उपस्थिती रहेको थियो।